वैदेशिक रोजगारबाट फर्केकाले पाए २० करोड सहुलियत कर्जा, बाँकीलाई कहिले ?
काठमाडौं। वैदेशिक रोजगारबाट फर्केका २ सय जनाले २० करोड सहुलियत कर्जा लिएका छन् । वैदेशिक रोजगार बोर्डमा आवेदन परेकाे मध्ये २ सय जनाले सहुलियत कर्जा पाएका हुन् । प्रत्यकले १० लाखका दरले सहुलियत कर्ता लिएका छन् । सहुलियत कर्जाका लागि वैदेशिक रोजगारीबाट फर्केका १८ हजार ७६७ युवाले बोर्डमा आवेदन दिएका थिए । ती मध्ये २ सय जनाले मात्रै सहुलियत कर्जा पाएका हुन् भने बाँकी १८ हजार ५ सय ६७ जनाले अझै पाएका छैनन् । एनएबी बैंक, राष्ट्रिय बणिज्य बैंक र कृषि विकास बैंकले सहुलियत कर्जा दिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । साथै, बैंकले सहुलियत कर्जा दिए मात्रै सरकारले बैंकमा रकम जम्मा गर्दिने उनले बताए । ‘आवेदन आएका मध्ये राम्रो आवेदकले मात्रै सहुलिएत कर्जा पाएका छन्, आवेदकले विदेशमा सिकेको सीप अनुसार नै आवेदनमा समावेश गरि सहुलियत कर्जा माग गर्नुपर्छ, तर सीप नै नजानेकाहरुले पनि हामी विदेशमा बेल्चा चलाउ छौं, हामीलाई सहुलियत चाइयो भनेर आउने गरेका छन्,’ श्रेष्ठले भने । सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई विदेशमा सिकेका सीप र दक्षताको प्रयोग गरी स्वदेशमै स्वरोजगार बन्न सहयोग गर्ने उद्देश्यले सहुलियत कर्जा उपलब्ध गराउन थालेको हो । बोर्डले २०७५ मङ्सिर १३ गतेदेखि पुस मसान्तसम्म आवेदन सङ्कलन गरेको थियो । बोर्डले तोकिएको मापदण्ड पूरा गरेका १७ हजार ७३७ पुरुष र ८९३ महिलालाई सहुलियत कर्जाका लागि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसमक्ष सिफारिश गरेको थियो । सरल कर्जाका लागि सिफारिशमा परेकामध्ये सबैभन्दा बढी मलेसियाबाट फर्केका युवा रहेका थिए । सहुलियत कर्जा माग गर्नेमा मलेसियाबाट फर्केका ६ हजार ४ सय ८ जना, साउदीबाट फर्केका ४ हजार ३ सय ९२ जना, यूएईबाट फर्केका २ हजार ६ सय १७ जना रहेका छन् । त्यस्तै जापानमा रोजगारी गरेर फर्केका ३९ जनाले समेत सरल कर्जा माग गरेका थिए । सरकारले आव २०७५/७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाखसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । सरकारले सरल कर्जा कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ जारी गरिसकेको छ । स्वरोजगार बन्न चाहने युवालाई सहुलियत कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई निर्देशन समेत दिएको थियो । ६७ प्रतिशतले १० लाखभन्दा बढीले कर्जा मागे सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई विदेशमा सिकेको ज्ञान र सीपको प्रयोग गरी स्वरोजगार हुन चाहने युवालाई परियोजनामा आधारित रहेर १० लाखसम्म सहुलियत कर्जा दिने बताए पनि ६७ प्रतिशत आवेदकले व्यवसाय सञ्चालन गर्नका लागि १० लाखभन्दा बढी कर्जा माग गरेका थिए । व्यवसायिक योजनाका आधारमा उद्यम वा स्वरोजगार हुनका लागि कूल सूचीकृत सङ्ख्यामध्ये १२ हजार ६ सय ६५ ले दश लाखभन्दा बढी रकम प्रस्ताव गरेका छन् । पाँच हजार ८ सय युवाले १० लाख र बाँकी ३ सय २ जनाले दश लाखभन्दा कम रकमको प्रस्ताव गरेका बोर्डले जनाएको छ ।
एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई सहयोग, ४ सय ७६ विद्यार्थी लाभान्वित हुने
काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुली जिल्लाको श्री देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । बैंकले फर्निचर सामग्री खरिद गर्नका लागि उक्त विद्यालयलाई सो मात्राको सहयोग गरेको हो । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकको सहयोगले विद्यालयमा अध्ययनरत ४ सय ७६ विद्यार्थीहरू लाभान्वित हुनेछन् । उक्त सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई पोखराको हेरिटेज होटेलमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले पोखराको हेरिटेज होटेल स्विट एण्ड स्पाको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहकले हेरिटेज होटेल स्विट एण्ड स्पा पोखरा बाट प्राप्त गर्ने सेवामा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले ९३ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।