बैंकहरुको कर्जा प्रवाह र निक्षेप संकलन बृद्धिदर घट्यो, रेमिटान्स पनि घट्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा संकलन हुने निक्षेप र प्रवाह हुने कर्जाको बृद्धिदर कम भएको छ । गत आर्थिक वर्ष (आव) को तुलनामा चालु आवको चैत मसान्तसम्म निक्षेप संकलन र कर्जा प्रवाहको बृद्धिदर कम भएको देखिएको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । गत चैत मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०.६ प्रतिशतले बढेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप बृद्धिदर करिब १ प्रतिशतले घटेको हो । गत चैत मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः ८.५ प्रतिशत, ३२.२ प्रतिशत र ४९.३ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३३.६ प्रतिशत र ४७.३ प्रतिशत रहेको थियो । गत चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.४ प्रतिशत रहेको छ । २०७५ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४५.२ प्रतिशत रहेको थियो । कर्जा प्रवाह चैत मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.५ प्रतिशतले बढेको थियो । गत वर्षको चैत मसान्तसम्मको तुलनामा चालु आवको चैत मसान्तसम्ममा कर्जा प्रवाहको बृद्धिदर ५ प्रतिशतले कम देखिएको हो । बैंक तथा वित्तीय संस्थाको गत चैत मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.१ प्रतिशत घरजग्गाको धितोमा र १३.३ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । गत वर्षको चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ प्रतिशत र १४.१ प्रतिशत रहेको थियो । रेमिटान्स गत चैत मसान्तसम्मको अवधिमा विप्रेषण (रेमिटान्स) आप्रवाहमा ४ प्रतिशतले कमी आई ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाा कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो । चैत मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो । एक वर्षको अवधिमा खुद ट्रान्सफर आयमा ४.४ प्रतिशतले कमी आई ७ खर्ब १३ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २०.९ प्रतिशतले बढेको थियो । चालु खाता १ खर्ब ३५ अर्ब घाटामा, शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड बचतमा एक वर्षको अवधिमा चालु खाता घाटा १ खर्ब ३५ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ४ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा १ अर्ब ८० करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब १८ करोड रहेको छ । पुँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब १० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको नौ महिनासम्ममा ५६ करोड ८५ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको छ । निर्यात १३ प्रतिशतले बढ्यो, आयात साढे ७ प्रतिशतले घट्यो चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात १२.९ प्रतिशतले वृद्धि भई ७८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७.७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २५.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः २८.१ प्रतिशत र ७.५ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जडिबुटी, दन्तमन्जन लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात घटेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु आयात ७.५ प्रतिशतले घटेर ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा अन्य मुलुकबाट भएको आयात ३.१ प्रतिशतले बढेको छ भने भारत तथा चीनबाट भएको आयात क्रमशः १२.३ प्रतिशत र १.० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, एमएस बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ वीरगंज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा कमी आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । व्यापार घाटा ९ खर्ब चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले संकुचन भई ९ खर्ब ३ अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २१.५ प्रतिशतले वृद्धि भएको थियो । निर्यात–आयात अनुपात ८.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.६ प्रतिशत रहेको थियो । गत चैत महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क ०.६ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ३.२ प्रतिशतले घटेको छ । २०७५ चैत महिनामा वार्षिक बिन्दुगत आधारमा १.९ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ चैत महिनामा ३.९ प्रतिशतले बढेको छ । मूल्यबृद्धि करिब ७ प्रतिशत गत चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यबृद्धि ६.७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.६८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.४८ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ । काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ७.०४ प्रतिशत, पहाडमा ५.८४ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ चैतमा यी क्षेत्रहरुमा क्रमशः ४.७४ प्रतिशत, ३.९५ प्रतिशत, ४.८० प्रतिशत र ६.२० प्रतिशत मुद्रास्फीति रहेको थियो ।
ऋण ४ खर्बले बढ्दा प्रोभिजनिङ् साढे २ अर्ब बढ्यो, वितरणयोग्य नाफा १८ अर्ब कम
काठमाडौं । बैंकहरूकाे कर्जामा बृद्धी भएसँगै खुद प्रोभिजन रकम पनि बढेकाे छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको साेही अवधिमा बैंकहरूकाे ऋण लगानी ४ खर्ब ८८ करोड रुपैयाँ र प्रोभिजन २ अर्ब ४४ करोड ८२ लाख रुपैयाँले बढेकाे हाे । बैंकहरूले प्रकाशित गरेकाे चैत मसान्तसम्मकाे परिष्कृत वित्तीय विवरण अनुसार प्राइम कमर्शियल बैंकले सबैभन्दा बढी ऋण लगानी गरेको छ । कैलाश विकास बैंकलाई प्राप्ति (एक्वायर) गरेको प्राइमले सो अवधिमा ४२ अर्ब ८७ लाख रुपैयाँभन्दा बढीको ऋण लगानी गरेको छ । एनआईसी एशिया बैंकको भने ऋण लगानी घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा एनआईसी एशिया बैंककाे ऋण रकम ४ लाख ३ हजार रुपैयाँले घटेको छ । त्यस्तै, बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १४ वटा बैंकबाहेक बाँकी बैंकको प्रोभिजन बढेको छ । सबैभन्दा बढी ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेको एनएमबि बैंकको प्रोभिजन १ अर्ब ३० करोड २६ लाख रुपैयाँले बढेको छ । कृषि विकास, सेञ्चुरी, एभरेष्ट, हिमालयन, जनता, कुमारी, मेगा, नबिल, नेपाल, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबीआई, प्रभु, प्राइम र स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्राभिजन गत वर्षको भन्दा घटेको छ । जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकको प्रोभिजन ४२ करोड ८० लाख रुपैयाँले घटेको छ । त्यस्तै, बैंकहरुले प्रकाशित गरेका चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा र वितरण योग्य नाफा भने घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तमा नाफा ४२ करोड १७ लाख रुपैयाँले र वितरणयोग्य नाफा १८ अर्ब २५ करोड रुपैयाँले घटी हो । सो अवधिमा १३ बैंक बाहेक बाँकीको नाफामा वृद्धि भएको छ । सबैभन्दा बढी ग्लोबल बैंकसँग मर्ज भएको जनता बैंकको नाफा एक अर्ब रुपैयाँले घटेको छ । गत वर्षको तुलनामा यस वर्षको चैत मसान्तसम्ममा ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी नाफा कमाएको छ । सो अवधिमा बैंकले ८३ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, सो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बाहेक बाँकी सबै बैंकहरुको वितरणयोग्य नाफा घटेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले एक वर्षको अवधिमा २० करोड ६८ लाख रुपैयाँले वितरणयोग्य नाफामा वृद्धि गरेको छ । वितरणयोग्य नाफा घटाउनेमध्ये राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा बढी घटेको छ । गत आवको चैत मसान्तको तुलनामा बैंकको वितरणयोग्य नाफा २ अर्ब २५ करोड रुपैयाँ कम रहेको छ । त्यस्तै, ६ वटा बैंकको वितरणयोग्य नाफा एक अर्ब रुपैयाँ बढीले घटेको छ ।
डिजिटल भुक्तानी सेवामा अघि बढ्दै सिभिल बैंक, गर्यो सेलपेसँग सहकार्य
काठमाडौं । सिभिल बैंकले नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । बैंकले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिल कुमार पोखरेल र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट सिभिल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् । यसमार्फत मोबाइलको टप-अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन(पाउन, बिमा रकम भुक्तानी, इएमआई भुक्तानी गर्न सकिने छ । बैंकले हाल ११३ शाखाहरु, २ एक्स्टेन्सन काउन्टर र ८५ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।