८० प्रतिशत बैंकहरू बन्द हुन सक्ने विनोद चौधरीको चेतावनी

काठमाडाैं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले ८० प्रतिशत बैंक बन्द हुन सक्ने बताएका छन् । ऋणिले बैंकलाई तिर्नु पर्ने कर्जाको व्याज तथा किस्ता तिर्ने समय पटक पटक पर सार्दै जाने, ऋणिले तिर्नु पर्ने व्याज सरकारले घटाई दिने तर सरकारले बैंकहरुलाई छुट दिएको व्याज बराबर अनुदान नदिने हो भने ८० प्रतिशत बैंक तथा वित्तीय संस्था बन्द हुन सक्ने वा रुग्ण हुने निश्चित भएको उनकाे भनाइ छ । ‘बैंकहरु पनि ठूलो समस्यामा पर्नेवाला छन् । उनीहरुको सबै ग्राहक आर्थिक संकटमा परेका छन् । ८० प्रतिशत बैंकहरु समस्यामा पर्न सक्छन् । बन्द हुन सक्छन’ उनले भने । उनी विहीबार साँझ नेपाल उद्योग परिसंघले आयोजना गरेको वेविनार सम्मेलनमा बोल्दै थिए । उनले दुई दशकअघि सरकारी बैंक समस्यामा परे झै अब निजी क्षेत्रका बैंकहरु समस्यामा पर्ने जोखिम औल्याए । ‘पहिला सरकारी बैंकहरु गम्भिर संकटमा परेकाे थिए। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक डुब्ने अवस्थामा पुगेपछि विश्व बैंक र एशियाली विकास बैंकबाट ऋण लिएर पुनउत्थान गर्नु परेको थियो । अब निजी क्षेत्रका बैंकहरु पनि त्यहि अवस्थामा पुग्न सक्छन्’ उनले भने । उनी निजी क्षेत्रकाे लगानीमा खुलेकाे सबैभन्दा पुरानाे र लिडिङ बैंक नविल बैंककाे ५१ प्रतिशत भन्दा बढी सेयरका मालिक पनि हुन् । उनले वित्तीय क्षेत्र गम्भिर अवस्थामा पुगिसकेको बताए । बैंकहरुले यसअघि देखाएको नाफा नगद प्रवाहमा आधारित नभएकोले कागजी नाफा देखाउनेहरु पहिला समस्यामा पर्ने उनको भनाई छ । ‘बैंकका सबै ग्राहक संकटमा परेका छन् । यो अवस्थामा बैंकहरुले जोखिम मुक्त हुनै सक्दैनन्’, उनले भने । उद्याेगि व्यवासायी संकटमा परेकाे र यति बेला नै व्यवसायीलाई  अप्ठ्याराेमा पार्ने काम भएकाे उनकाे भनाइ थियाे । विम्बात्मक रूपमा उनले भने ‘उद्योग भनेको दुध दिने गाई जस्तै हाे तर अहिले गाई विरामी परि हस्पिटल राखिएको छ । यस्तो बेलामा दुध दिएन भनेर गाईलाई यातना दिनु मूर्खतापूर्ण काम हाे ।’ उत्पादन क्षेत्र, निर्माण क्षेत्र सबै समस्यामा रहेको उनले बताए । निर्माण क्षेत्र पुरै बन्द छन् । उनीहरुलाई समस्याको आधारमा वर्गिकरण गर्नुपर्ने र राहात दिनुपर्ने उनले बताए । ‘कृषिमा पनि समस्या छ । उत्पादन लागत ३० प्रतिशत बढी छ । र, बजारीकरणमा ठूलो समस्या छ । देशभर उत्पादित तरकारीहरु गार्भेजमा परिणत भएका छन्’ उनले भने ।

सेञ्चुरी बैंकले सबै कर्मचारीको कोरोना बीमा गराउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सबै कर्मचारीहरुको कोभिड-१९ बीमा गराउने भएकाे छ । बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मार्फत आफ्ना सबै कर्मचारीहरुको बीमा गराउने निर्णय गरेको हो । बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि बीमा गराउने निर्णय गरेको हो ।

सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई दियो पीपीई

काठमाडौं । सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ । बिहिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी बिमल ज्ञवालीलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा सिमित स्रोत साधनका साथ अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि निभाउनु भएको भूमिका अतुलनीय रहेको बताए । यस सहयोगले अस्पतालका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने बैंकको विश्वास छ । त्यसैगरी, बुधबार बैंकले महाभारत गाउँपालिकालाई १० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई र एक हजार थान मास्क हस्तान्तरण गरेकोे थियो । उक्त सामाग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले गाउँपालिकाका मेयर हरि सिंह बिष्टलाई हस्तान्तरण गरेका हुन् ।