राष्ट्र बैंकले भन्योः संस्थागत निक्षेपको ब्याज नबढाउनु, व्यक्तिगत लगायतमा ०.५% बढाए हुन्छ
काठमाडौं । नेपाल राष्ट बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थागत निक्षेपको व्याजदर नबढाउन निर्देशन दिएको छ । बैंकले बुधबार एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई कल डिपोजिट तथा संस्थागत मुद्दती निक्षेपमा तोकिएको न्यूनतम ब्याजदरभन्दा बढी ब्याजदर नतोक्न निर्देशन दिएको हो । बैंकले जारी गरेको सर्कुलरका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत र बचत निक्षेपमा भने तोकिएको न्यूनतम ब्याजदरमा ०.५ प्रतिशतसम्म ब्याजदर बढाउन पाउने छन् । उक्त सर्कुलर अनुसार बैंक वित्तीय संस्थाहरूले प्रकाशित ब्याजदर भन्दा बढी ब्याज सँस्थागत निक्षेपकर्तालाई दिन पाउने छैनन्। याे सर्कुलरले केही संस्थागत निक्षेपकर्ता भने अवश्य नै प्रभावित हुनेछन् । तर, यसले व्यक्तिगत र बचत लगायतका निक्षेपकर्तालाई भने कुनै असर गर्ने छैन । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत बिनर्देशन २०७६ मा व्यवस्था गरिएका बुँदामा संशोधन गर्दै सो व्यवस्था गरेको हो । [pdf id=217620]
नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई पीसीआर मेसिन खरिद गर्न सहयोग
काठमाडौं। नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई उक्त प्रदेशको अस्पतालमा पीसीआर मेसिन खरिद गर्न वित्तीय सहयोग प्रदान गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिन खरिदका लागि वित्तीय सहयोग गर्ने भएको हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २८ लाख २५ हजार आर्थिक सहयोग गरेको छ । सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमूना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग मिल्ने र पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने बैंकले विश्वास लिएको छ ।
कोरोनाको प्रभाव न्यून गर्न नेपाललाई एसियाली विकास बैंकको ३० अर्ब सहुलियत ऋण
काठमाडौं । एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै रु ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त परिमाणको सहुलियतपूर्ण ऋणले कोरोनाविरुद्ध लड्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । यस सहुलियतपूर्ण ऋणबाट कोरोनाको महामारीसँग जुध्ने उपायलाई निरन्तरता दिन, गरिब र कमजोर वर्गका लागि सामाजिक संरक्षणका कार्यक्रम विस्तार गर्दै तीव्र आर्थिक सुधारको चरणलाई तय गर्न सहयोग पुग्ने बैंकका अध्यक्ष मात्सुगु असकावाले जानकारी दिए । कोरोनाका कारणले हाल सार्वजनिक स्वास्थ्यमा समस्या देखिएको र नेपालको समग्र सामाजिक र आर्थिक विकासमा उल्लेखनीय असर पार्ने आशङ्का गर्दै उनले समन्वयपूर्ण तरिकाले बैंकले सरकार र अन्य विकास साझेदारसँग मिलेर काम गर्नेसमेत उल्लेख गर्नुभयो । बैंकले उक्त सहयोग ‘एक्टिभ रेसपोन्स एण्ड एक्पेन्डिचर सपोर्ट’ (केरेस) कार्यक्रम अन्तर्गत प्रदान गर्न लागेको हो । उक्त रकमबाट सातै प्रदेशमा महिला र पुरुषका लागि छुट्टै वार्ड भएका कम्तीमा दुई लाख मानिसका लागि क्वारेन्टिन सुविधा प्रदान गर्न र प्रतिदिन कम्तिमा तीन हजार परीक्षणका लागि सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । यसैगरी कोरोनाको विपद्बाट अतिप्रभावित लघु साना र मझौला उद्योगमा अनुदानपूर्ण ऋण दिइने र त्यसमा कम्तिमा ३० प्रतिशत महिलाको नेतृत्वमा रहेका र कम्तिमा आधा पिछडिएको समुदायबाट आबद्धता भएको हुनुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।