युएईमा समस्यामा परेका नेपालीलाई सेञ्चुरी बैंकले दियाे राहत
युएई । सेञ्चुरी बैंकको सेन्चुरी रेमिटले युएईमा समस्यामा परेका नेपालीका लागि सहयोग गरेको छ। सेञ्चुरी बैंकले खाद्यन्न तथा दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो । सेञ्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलमार्फत आइतबार आबुधाबीको राहत वितरण टोलीलाई ३ सय केजी चामल र ५४ लिटर तेल लगायतको खाद्यन्न सामाग्री उपलब्ध गराइएको हो । आबुधाबीमा राहत वितरण टोलीका तर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतका प्रतिनिधीले उपलब्ध सहयोग सामाग्री बुझेका थिए । यस्तै बैंकले गैर आवासीय नेपाली संघ (नेपाल एसोसिएसन) युएईको राहत वितरण टोलीलाई १ हजार दिहराम बराबरको राहत सामाग्री उपलब्ध गराएको छ । टोलीलाई २ सय केजी चामल, १ सय केजी आलु , १ सय केजी प्याज, ५५ लिटर तेल र अन्य खाद्यन्न सामाग्री उपलब्ध गराइएको सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए । उक्त सामाग्री नेपाल एसोसएसनका उपाध्यक्ष नरेश शेन, गैर अवासीय नेपाली संघका आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष विश्वदिप शाह र केशव नेपालले बुझेका थिए । परदेशमा नेपालीहरुले आर्जन गरेको धनलाई सरल, सहज, छिटो र भरपर्दो रुपमा परिवारसम्म पुर्याउन मात्र नभएर दुःखमा पनि साथ दिन सेन्चुरी सधै तत्पर रहेको पौडेलले बताए । विभिन्न दाताहरुबाट प्राप्त सहयोगले समस्यामा परेकाहरुलाई सहायता गरिने बैंकले जनाएकाे छ ।
नेपाल राष्ट्र बैंकले ल्यायो पुनःकर्जा कार्यविधि मस्याैदा
काठमाडौं । नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ मस्याैदा ल्याएको छ । कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त कार्यविधि ल्याएको हो । बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनःकर्जा लिन सकिने गरी प्रबन्ध गरेको छ । लघु, घरेलु तथा साना उद्यमका लागि केन्द्रीय बैंकले दुई प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई ऋण उपलब्ध गराउने छ । बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशत ब्याज लिएर त्यस्तो कर्जा प्रवाह गर्न सक्नेछन् । यस्तै विशेष पुनःकर्जामा राष्ट्र बैंकले एक प्रतिशतमा रकम दिनेछ । सो रकममा बैंक तथा वित्तीय संस्थाले तीन प्रतिशत ब्याज लिन सक्नेछन् । साधारण पुनःकर्जामा राष्ट्र बैंकले तीन प्रतिशत ब्याजदरमा रकम दिनेछ । त्यस्तो रकम बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशतसम्म ब्याज लिएर लगानी गर्न पाउनेछन् । पुनःकर्जा कोषको सीमा सञ्चालक समितिले समय निर्धारण गरेबमोजिम हुनेछ । केन्द्रीय बैंकका अनुसार प्रतिग्राहक रु १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनःकर्जा, रु १० करोडसम्मका विशेष पुनःकर्जा र साधारण पुनःकर्जा इजाजतपत्र प्राप्त क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्टरूपमा प्रदान गरिनेछ । राष्ट्र बैंकको निर्देशनानुसार बैंक तथा वित्तीय संस्थाले समय तोकेर कर्जाका लागि आह्वान गर्नेछ । तोकिएको कागजातसहित ग्राहकले बैंकका सम्बन्धित शाखामा निवेदन दिनुपर्नेछ । निवेदन प्राप्त भएको एक महिनाभित्र उक्त पुनःकर्र्जासम्बन्धी निर्णय गरिनेछ । बैंकका प्रतिशाखा पाँच ग्राहकले मात्रै त्यस्तो कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । यस्तै उद्योगको सञ्चालन अवस्था राम्रो रहेको वा विगत तीन वर्षको मुनाफा हेर्दा औषतमा प्रतिवर्ष पूँजीमा प्रतिफल २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायले भने त्यस्तो कर्जा पाउने छैनन् । चुरोट, सिगार, सुर्ती, खैनी, गुट्खालगायत सूर्तीजन्य उद्योग व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जासमेत अयोग्य हुनेछ ।
बैंक अफ काठमाण्डूले बीर अस्पताललाई दियो २०० थान पीपीई
काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत बीर अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) हस्तान्तरण गरेको छ । बैंकले श्री चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उप कुलपति प्रो. डा. देव नारायण शाहलाई एक कार्यक्रमका बिच उक्त पीपीई सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । जस अन्र्तगत बैंकले २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण, २०० थान मास्क र २०० थान फेस सील्डहरु हस्तान्तरण गरेको छ । उक्त पीपीईहरुले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनकाबीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्र्तगत यस बैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग माध्यमहरुको अत्याधिक प्रयोग लाई उचित बढावा र प्रोत्साहन दिदै आईरहेको जानकारी समेत गराएको छ ।