कामना सेवा र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता
काठमाडाैं । कामना सेवा विकास बैंक र रेमिट टु नेपालबीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धि कारोबार गर्ने गरी सम्झौता भएको छ । बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा रेमिट टु नेपालका तर्फबाट माहाप्रबन्धक सन्तोष भेटुवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । काठमाडौंकाे ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै एबीबीएस्, एसएम्एस बैंकिङ्ग, मोबाइल , सी एएस्बीए, अनलाइनमार्फत खाता खोल्नलगायतका सेवाहरु प्रदान गरिरहेको छ । यसबाट ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने बैंकको अपेक्षा रहेको छ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ भने रेमिट टु नेपालले स्वदेश तथा विभिन्न देशहरुममा रेमिट्यान्स कारोबार गर्दै आइरहेको छ ।
के तपाईंको एनआईसी एशिया बैंकको कर्जामा ९.९९ प्रतिशतभन्दा बढी ब्याजदर छ ?
काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना सकिन अब मात्र ८ दिन बाँकी रहेको छ । यस बैंकबाट कर्जा लिएका ग्राहकले असार मसान्तसम्मको सबै साँवा तथा ब्याजको बक्यौता रकम २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा साउन १ गतेदेखि लागू हुने गरी उक्त योजना ल्याएको थियो । यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण ग्राहकले २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सबै किस्ता तथा ब्याज रकम २०७७ असार समान्तभित्रै भुक्तानी गरेमा साउन १ पश्चात ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिने व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंकद्वारा २०७६ चैत १६ गते निर्दिष्ट गरिए अनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरूले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा समेत गरिएको छ । बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । उक्त योजना अनुरुप हुन आउने १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहकको खातामा जम्मा समेत गरिएको बैंकले जनाएको छ । बैंकले ल्याएको आषाढ महिनाको योजनाको म्याद मात्र ८ दिन बाँकी रहेको हुँदा २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ असार समान्तभित्रै चुक्ता भुक्तानी गरी समयमै मौकाको फाईदा उठाउन बैंकले आग्रह गरेको छ ।
मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरको प्रयासले तिब्रता पाएको छ । इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि निकै अघिदेखि प्रस्ताव गरेको भएपनि हिमालयन बैंकले बेलायती लगानीकर्ता सीडीसी भित्र्याउन पहल गर्दा केही ढिला भएको थियो । पछिल्लो समय बैंकिङ क्षेत्रमा नकारात्मक असर पारेकोले मर्जरको विकल्प नभएको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले जानकारी दिए । नेपाल राष्ट्र बैंकले मर्जरको पहल के कस्तो भइरहेको छ भनेर पत्राचार नै गर्न लागेपछि ठूला बैंकहरु पनि मर्जरको आन्तरिक गृहकार्यमा लागेका हुन् । ‘राष्ट्र बैंकले पनि बैंकको संख्या घटाउन मर्जरमा जानुस् भनिरहेको छ, कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्न पनि मर्जर आवश्यक देखिएको छ, राम्रो बैंक खोजेर मर्जरमा जाने हाम्रो प्रयास छ,’ अध्यक्ष पाँडेले भने । अध्यक्ष पाँडेले आगामी आर्थिक वर्षको मौद्रिक नीतिपछि मर्जरको लागि थप गृहकार्य हुने जानकारी दिए । आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन पहिलो साता आउँदैछ । सीडीसीले हिमालयन बैंकमा रहेको पाकिस्तानको हविब बैंकको संस्थापक सेयर किन्न खोजेको थियो । तर, यही प्रसंग चलिरहेको बेलामा कोरोना भाइरस (कोभिड १९) संक्रमण विस्तार भएपछि सीडीसीले सेयर किन्ने चासो नदेखाएको हिमालयन बैंक स्रोतले जानकारी दिएको छ । हिमालयन बैंक हविब बैंकको सेयर सीडीसीले किनेपछि आवश्यक परेमा अन्य बैंकसँग मर्जरमा जाने तयारीमा थियो । नेपाल राष्ट्र बैंकले मर्जरमा गएर बैंकको संख्या घटाउन सहयोग गर्न भनेको, सीडीसी आउन केही ढिला हुने देखिएको र कोरोना भाइरस (कोभिड १९) का कारण अर्थतन्त्रमा मन्दी आएर बैंकले आफू सुरक्षित हुने थप प्रबन्ध गर्नुपर्ने भएकोले राम्रो बैंकसँग मर्जरमा जाने समझदारी बनेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए । उनले मर्जरका लागि सबैभन्दा पहिलो रोजाइमा नेपाल इन्भेष्टमेन्ट बैंक नै परेको पनि बताए । ‘हिमालयन बैंकसँग चुक्ता पुँजी धेरै नभएपनि सम्पत्ति धेरै छ, लामो समयदेखि संचालनमा रहेको, बैंकिङ नम्समा चलेको र राम्रो गुडविल भएको बैंक भएकोले जो पायो त्यही बैंकसँग मर्जरमा जाने भन्ने कुरा पनि भएन, राम्रो बैंक खोजेर मर्जरमा जानुपर्छ भन्नेमा संचालक समिति पनि सहमत भएको छ, राम्रो बैंकसँग मर्जरमा जाने भन्दा नेपाल इन्भेष्टमेन्ट बैंक परिहाल्छ,’ प्रमुख कार्यकारी अधिकृत राणाले भने । सीडीसी भित्रने सम्भावना कम देखेपछि हिमालयन बैंक पनि अर्काे उपयुक्त बैंक खोजेर मर्जरमा जान हतारिएको छ । मर्जरका लागि इन्भेष्टमेन्ट बैंक नै उपयुक्त हो भन्नेमा हिमालयन बैंक पनि सहमत छ । केही दिन अघि मात्रै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकका संचालकहरुबीच अनौपचारिक बैठक भएको थियो । स्रोतका अनुसार सो बैठकमा मर्जरका लागि हिमालयन र इन्भेष्टमेन्ट बैंक नै एक अर्कालाई उपयुक्त भएको भन्दै थप प्रक्रिया अघि बढाउने समझदारी भएको छ । सो बैठकमा कन्सल्ट्याण्ट नियुक्त गरेर मर्जरको प्राविधिक काम अघि बढाउने अनौपचारिक समझदारी बनेको छ । दुबै बैंकको वर्किङ कल्चर राम्रो भएको र केही प्रमोटर पनि साझा भएकोले यी दुई बैंकबीच मर्जरमा लान प्रयास भएको छ । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर गर्ने विषयमा आवश्यक गृहकार्य गर्ने भनेर हिमालयन बैंक संचालक समितिले औपचारिक निर्णय भने गरेको छैन । हिजो (असार २२ गते) बसेको बैंक संचालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा अर्काे एक कार्यकालको लागि राणालाई नै निरन्तरता दिने निर्णय गरेको थियो । सो बैठकले मर्जरका विषयमा थप निर्णय गर्न नभ्याएकोले मौद्रिक नीतिपछि बैठक बसेर आवश्यक निर्णय गर्ने भनिएको छ । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत राणाको कार्यकाल थप भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको कार्यकाल पनि असार मसान्तमा सकिदैछ ।