बाउन्स चेक काटेका चित्रकारलाई साढे ६ लाख र सुवाललाई १० लाख जरिवाना
काठमाडौं । पाटन उच्च अदालतले बाउन्स चेक काट्ने सुनिता चित्रकार र मनोजलाल सिंह सुवाललाई बैंकिङ कसुर अन्तर्गत जरिवाना सुनाएको छ । अदालतले चित्रकारलाई तीन दिन कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ । काठमाडौं ताम्सिपाखाकी ४८ वर्षे उनलाई असार २५ गते स्वयम्भूबाट पक्राउ गरिएको हो । त्यस्तै, सुवाललाई ७ दिन कैद र १० लाख रुपैयाँ जरिवाना सुनाएको हो । कलंकीका ४९ वर्षे सुवाललाई अदालतको टोलीले असार २६ गते रविभवनबाट पक्राउ गरिएको हो । उनीहरुले आफ्नो खातामा प्रयाप्त रकम नभएको भन्ने जानी जानी जाहेरवालाहरलाई झुक्याउन विभिन्न बैंकहरुको चेक काटेर दिएपछि उनीहरु विरुद्ध बैंकिङ् कसुर मुद्दा दायर भएको थियो ।
ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेशलाई दियो १० लाख रुपैयाँ
काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको कर्णाली प्रदेशको प्रादेशिक कार्यालय प्रमुख मदन कुमार मुल्मीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। कोभिड-१९ ले विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने बैंकको विश्वास रहेको छ । स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जानेछ ।
कुमारी बैंकको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने, यस्तो छ कारण
काठमाडौं । कुमारी बैंकको सम्पूर्ण कारोबार दुई दिन अर्थात शुक्रबार र शनिबार बन्द हुने भएको छ । बैंकले डाटा माइग्रेशन गर्नको लागि असार २६ गते र २७ गते दुई दिन सबै बैंकिङ् सेवा बन्द गर्न लागेको हो । देवः विकास बैंकलाई प्राप्ती गरेको यस बैंकले असार २८ गते आइतबारदेखि कुमारी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्ने भएको छ । सो प्रयोजनको लागि बैंकले डाटा माइग्रेशन गर्न लागेको हो । साथै, डाटा माइग्रेशनको तयारीको लागि एटीएम, कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ्ग लगायतका सबै डिजिटल कारोबारहरु उक्त दुई दिन बन्द हुने बैंकले जानकारी गराएको छ ।