‘१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६’लाई नेप्सेमा सूचिकृत

काठमाडौं । सिटिजन्स बैंकले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६”लाई नेप्सेमा सूचिकृत गर्ने सम्बन्धी सम्झौता गरेको छ । विहीबार आयोजित एक विशेष समारोहकाबीच एक समझेदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले उक्त सूचिकरण हस्ताक्षर गरेका हुन् । अब उपरान्त उक्त ऋणपत्र नेप्सेमार्फत कारोबार गर्न सकिनेछ । २ अर्ब ५० करोड बराबरको (१ हजार रुपैयाँ अंकितमूल्यका २५ कित्ता) “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” मिति २०७६/११/२० गतेदेखि २०७६/१२/४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सम्पूर्ण ऋणपत्र बिक्री भएको थियो । सोहीबीच नेपाल राष्ट्र बैंकको नीतिलाई शिरोधार्य गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजतप्राप्त सहयोगी विकास बैंक (जनकपुर केन्द्रीयकार्यालय रहेको) लाईप्राप्ति गरीमिति २०७७ सालअसार २० गते बाट एकीकृत कारोबार शुभारम्भ गरिसकेको छ । प्राप्तिपश्चात बैंकको कुलशाखा १०९ पुगेको छ । प्राप्तिपश्चात बैंकको चुक्तापूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

किस्ता तिर्न ताकेतापछि १ सय ५५ गाडीको चाबी बैंकलाई

काठमाडाैं । कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १ सय दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् । ऋण लिएर गाडी सञ्चालन गरेका यातायात व्यवसायी अहिलेको सङ्कटपूर्ण अवस्थामा समेत बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि बारम्बार ताकेता हुन थालेको भन्दै ऋण लिँदा धितो राखेको गाडी नै बैंकलाई बुझाउने अभियानमा छन् । पोखरामा प्रधान कार्यालय रही देशभर सार्वजनिक यातायात चलाउँदै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले गत सोमबारबाट चाबी बुझाउन शुरु गरेकामा बुधबार पोखरामा विभिन्न चार बैंकमा थप ६५ गाडीका चाबी बुझाए । मेगा बैंकमा १८, कामनामा १७, सिद्धार्थमा १४ र साङ्ग्रिला बैंकमा १६ गाडीको चाबी बुझाइएको प्र्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । यसअघि ९० गाडीको चाबी बुझाइएको थियो । व्यवसायीले अहिलेको विषम अवस्थामा किस्ता भुक्तानी गर्न नसकिने र न्यूनतम छ महिना म्याद थप गर्न सरकारसँग माग गरे पनि सुनुवाई नभएपछि गाडीको चाबी नै सम्बन्धित बैंकमा बुझाएर दबाब शुरु गरेका हुन् । आफूहरुसँग यसबाहेक अन्य कुनै पनि विकल्प नभएकाले बाध्य भएर ऋण लिँदा राखेको धितो बैंकलाई नै सुम्पनुपरेको गुनासो यातायात व्यवसायीको छ । सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेकोे र विषम अवस्थामा समेत थप प्रताडित बन्नुपरेको अध्यक्ष केसी बताए । “हामीले सरकारलाई किस्ता तिर्न, खाना खानका लागि राहत माग गरेकोे होइन, यो बेला सरकारसँग राहत माग्ने बेला पनि होइन”, अध्यक्ष केसीले थपे, “हामीले अहिलेको सङ्कटपूर्ण अवस्थामा किस्ता तिर्न न्यूनतम छ महिनाको समय व्यवस्थापन गरिदिनु मात्र भनेका हौं, बैंक तथा वित्तीय संस्थाले यही असार मसान्तमा खाने नाफा छ महिनापछि खाँदा के बिग्रन्छ र रु” बैंक तथा वित्तीय संस्थाबाट ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत लगानीमा यातायात व्यवसाय सञ्चालन हुँदै आएको बताइन्छ । देशभर ३ लाख यात्रुवाहक तथा ६० हजार मालवाहक सवारी साधन अहिले ठप्प हुँदा १२ लाखले प्रत्यक्ष तथा ४० लाख जनाले अप्रत्यक्ष रोजगारीबाट बञ्चित हुनुपरेको भनाइ व्यवसायीको छ । कामना सेवा विकास बैंकका गण्डकी प्रदेश टुवराज बाँस्तोलाले यातायात व्यवसायीलाई ऋण तिर्न ताकेता गर्न भन्दा पनि सहजीकरण मात्र गरिएको बताए । तिर्र्न इच्छा भएकाहरुलाई बन्दाबन्दीमा फोन गरेर सहजीकरण र सहयोग गरिए पनि कसैलाई पनि तिर्नै पर्दछ भनेर दबाब नदिइएको उनको भनाइ छ । “राष्ट्र बैंकको निर्देशनानुसार हामीले असार मसान्तसम्म कुनै पनि ऋणको जरिवाना लिंदैनौं, किस्ता तिर्न सक्नेहरुलाई बैंकको शाखा खुलेको छ, पछि एकैचोटी तिर्दा गाह्रो होला, सक्नुहुन्छ भने अहिले भुक्तानी गर्दा राम्रो हुन्छ भनेर मात्र फोन गरिएको हो ।” बाँस्तोलाले भने, “बैंकको सहजीकरणलाई ताकेता र दबाबको रुपमा नलिऔं ।” कतिपय बैंक तथा वित्तीय संस्थाले भने आर्थिक वर्षको अन्तिम असार मसान्तमा संस्थाको हिसाब मिलान गर्न ऋणीलाई ताकेता गर्ने गरेको बताइन्छ । बैंकबाट ताकेता हुन थालेपछि व्यवसायी आन्दोलित भएका हुन् ।

दुर्गमका बैंकका शाखाको पीडाः बैंकिङ नबुझ्ने ग्राहक, परिस्थिति नबुझी नाफा खोज्ने व्यवस्थापन

विगतमा नेपाल राष्ट्र बैंकको निर्णय र योजनाले धमाधम बैंक, वित्तीय संस्था, माइक्रो फाइनान्स लगायत बैंक वित्तीय संस्थाहरु खुल्न थाले । वित्तीय स्रोत उपलब्ध गराउने संस्थाहरुको देशव्यापी उपस्थितिपछि स्थानीयस्तरमा विभिन्न उद्योग व्यवसाय सुरु हुन थाल्यो । जलविद्युत कम्पनीहरु खुल्न थाले । यसपछि नै नेपालमा विगत दुई दशकमा सबैभन्दा बढि परिवर्तन र फड्को वित्तीय क्षेत्रमा देखियो । देश संघीयतामा गएपछि सरकार र नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्नै पर्ने योजना आयो । यो योजनाले आमजनतामा वित्तीय चेतना, साक्षरता र पहुँच अभिबृद्धिमा सहयोग पुग्यो । र, नाफामुखी र शहर केन्द्रिको आरोप खेप्दै आएका वाणिज्य बैंकहरु ७ सय ५३ वटा स्थानीय तहमा पुगे । यसले गाँउगाँउ तथा विकट दुरदराजमा बैंक पुगे, वित्तीय साक्षारता र वित्तीय स्रोत परिचालनको राम्रो अवसर सिर्जना भयो । वित्तीय क्षेत्र आफैमा एउटा जोखिमको र संवेदनशील क्षेत्र हो । तथापि शहर बजार र तराईका सुरक्षित स्थानीय तहमा शाखा खोल्न र चलाउन त्यति गाह्रो नहोला । तर, विकट र दुर्गम स्थानमा बैंक र यसका शाखा खोल्न र चलाउन अवश्य नै चुनौतिहरु छन् । आजको समयमा विकट र दुर्गम स्थानीय तहमा बैंक र यसका शाखाले विशेष प्रकारका चुनौतिहरुको सामाना गर्नु परेको छ । वित्तीय साक्षरता विकट र दुर्गम स्थानीय तहको बैंकमा प्रमुख समस्या भनेको नै वित्तीय साक्षरताको अभाव होे । आजको युवा पुस्ता गाँउमा नबस्नु र अधिकांश जनसख्या बालबच्चा र वृद्ध हुनुले समस्या सिर्जना गरेको छ । बैंकको विश्वासभन्दा पनि चलिरहेको साहु महाजन प्रथा हालसम्म पनि कायमै छ । पहिलो पटक बैंकले शाखा खोलेको अवस्थामा पनि ‘खाएर भाग्ने पो हो कि’ भन्ने जस्ता सोचले अझै पनि गाँजेको अवस्था छ । लेखक चेतना, साक्षारता र शिक्षाको अभावले बैंकले शाखा खोलेको दुई तीन वर्षसम्म त सेवाग्राहीलाई बैंकसम्म ल्याउनै गाह्रो परेको हुन्छ । बैंकप्रतिको विश्वास जित्नको लागि अधिकांश समय कर्मचारीहरुले वित्तीय साक्षरतामा नै ध्यान दिनु पर्ने देखिन्छ । प्राविधिक समस्या बही खाताको ढड्ढा युगबाट कम्प्युटराइज्य युगमा आज हामी आएका छौं । झन् बैंकको हरेक काम पूर्णतः प्राविधि मै भर पर्दछ । तर, दूरदराजका शाखाहरुमा राम्रोसँग इन्टरनेट नचल्ने, कम्प्युटर, प्रिन्टर, जेनेरेटर जस्ता प्राविधिक उपकरणमा समस्यामा भएमा दक्ष प्राविधिकको अभावले बनाउन लामो समय लाग्ने जस्ता प्रमुख समस्या समाधानमा अझै अझै पनि कठिनाइ भोग्नु परेको छ । जनशक्ति अभाव मानिस स्वभावले नै प्रगतिवादी हुन्छ । सुगम र सुरक्षित ठाउँँमा बस्न रुचाउँछ । त्यसैले बैंकमा पनि कर्मचारीहरु बिकट शाखामा जान नरुचाउने, गइहाले पनि सरुवा गर्न खोज्ने, कामप्रतिको चाहना कम राख्ने जस्ता समस्या बैंकका ग्रामीण शाखाले भोगिरहेका छन् । यस्तै, एउटा बैंकबाट प्रमोशन भएर अर्को बैंकमा फड्को मार्ने जस्ता प्रबृत्ति पनि देखिएको छ । जसले गर्दा दक्ष र असर जनशक्तिको अभाव बैकको प्रमुख समस्या हो । भौगोलिक विकटता बिकट पहाडी क्षेत्रका गाँउपालिका र स्थानीय तहको धेरै ठाउँमा अहिले पनि यातायातको साधन पुग्न सकेको छैन । सवारी साधनको अभाव तथा घरहरु एकआपसमा टाढा हुँदा बैंकका कर्मचारी तथा सेवाग्राही हिडेरै बैंकसम्म आउजाउ गर्नुपर्छ । यसले गर्दा सेवाग्राही र बैंकबीच दुरी कम गर्न समस्या भएको छ ।  यो समस्याले वित्तीय साक्षरता अभिबृद्धि मात्र समस्या भएको छैन, गाँउगाँउका सेवाग्राहीहरु घन्टौं लगाएर पाँच दश हजार जम्मा गर्न बैंकसम्म आउनुभन्दा घरमै राख्न रुचाउँछन् । यस्तो वाध्यताले बैकिङ बानी बसाल्न, बैंकको साना साना निक्षेप समेटेर राष्ट्रिय पुँजी संकलन गरी लगानीको स्रोत उपलब्ध गराउन र सर्वसाधारणको नगदको सुरक्षा हुने परिपाटी विकास गर्न अप्ठेरो परेको छ । नाफा कमाउनु पर्ने दबाव बैक एउटा व्यवसायिक संस्था भएकोले जे जस्तो भएपनि व्यवस्थापक र संचालकले शाखा खोलेको दुई वर्षपछि नाफाको अपेक्षा गरेका हुन्छन् । शुरु शुरुमा बैंक खुल्नु चुनौति हुन्छ भने बिस्तारै शाखा मेनेजरदेखि कर्मचारीमा नाफा कमाउनु पर्ने दबाब हुन्छ । तर, कम जनसख्या र न्युन आर्थिक गतिविधि भएको स्थानीय तहमा दुई वर्षमै नाफातिर जानु पर्ने दबाव प्रमुख समस्या हो । असुरक्षित महशुस बिगतको द्वन्दकालमा असुरक्षित महशुस गरेर धेरै बैंकहरु विस्थापित भएको अनुभव हाम्रै पुस्तासँग छ । बैंक भनेकै नगद कारोबार हुने र करोडौं रकम राखिने संस्था भएकोले जहिले पनि एक हिसावले भन्दा असुरक्षित नै महसुस हुन्छ । त्यसमा पनि बिकट पहाडी क्षेत्रमा शहर बजारको जस्तो सरकारी सुरक्षा दस्ता नहुनाले अझ बढी हदसम्म असुरक्षित महसुस हुन सक्दछ । यसका अलावा बैंकभित्र पनि पहाडको बैंक हो के काम हुन्छ र, के नै पो गरेको छ भन्ने जस्ता संस्था भित्रै पनि कर्मचारीलाई हेयको दृष्टिकोणले हेर्ने गरिएको अनुभव पनि केही कर्मचारीले गरेका छन् । सुगम र दुर्गमका कर्मचारीलाई एउटै मुल्याङ्गनमा राख्ने नगरी दुर्गम शाखाका कर्मचारीलाई तिनीहरुको योगदानको सम्बन्धित बैंक र राष्ट्र बैंकले अलिक फरक ढंगले गरेमा केही हदसम्म दुर्गम र विकट स्थानमा काम गर्ने बैंकका शाखाका कर्मचारीको मनोबल अलि बढ्ने थियो ।