गरिमा विकास बैंकले संचालन गर्यो अनलाइन खाता
काठमाडौं । गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयाँ व्यवस्था शुरु गरेको छ । यससँगै अब संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्धारा गरिमा विकास बैंकमा खाता खोल्न सकिनेछ । अब विदेशमा रहने सेवाग्राहीले आफै खाता खोली आफ्नै खातामा जम्मा हूने गरी रकम पठाउन समेत सक्नेछन् । कसरी खोल्ने ? गरिमा विकास बैंकको वेवसाइटमा जाने र अनलाइन अकाउन्ट ओपनिङलाई क्लिक गर्ने । उपयुक्त खाताको प्रकार छनोट गर्न(एप्लाई नाउ)मा क्लिक गर्ने । अनुरोध बमोजिम आफ्नो बिवरण भरी कागजात अपलोड गर्ने त्यसपछि इमेलमा आउने जानकारीको आधारमा सुविधा उपयोग गर्न सकिन्छ । गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९१ शाखा ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकको प्रधान कार्यालय काठमाडौंको लाजिम्पाटमा रहेको छ ।
‘न्यानो नानी’ परियोजनालाई ज्योति विकास बैंककाे सहयोग, सेयर कारोबारको लागि शुरू गर्याे नयाँ सुविधा
काठमाडौं । ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि ८ लाख सहयोग गर्ने भएके छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष”मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको “न्यानो नानी” परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको हो। नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा “न्यानो नानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि ८ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा उक्त निर्णय गरेको हो । विकास बैंकले श्रावण ९ गते शुक्रबारको दिन स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ। साे अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ जसमा ३४ जना व्यक्तिले रक्तदान गरेका छन् । अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंक अझ सफल रुपमा विस्तारित हुंदै ग्राहकवर्ग, शेयरधनी र कर्मचारीको उज्ज्वल भविष्यको लागि निरन्तर प्रयास गरिने बताए । अध्यक्ष खड्काले ज्योति विकास बैंकले राष्ट्र बैंकले हालको कोभिड महामारिलाई मध्यनजर गरी ल्याएको कर्जाको व्याजमा २ प्रतिशत छुटको व्यवस्थालाई बिना कुनै शर्त सम्पूर्ण कर्जाग्राही ग्राहकहरुलाई दिईसकेको जानकारी पनि गराए । १२औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत ४ वटा नयाँ शाखाको पनि औपचारिक उद्घाटन गरेको छ। कार्यक्रमका विशिष्ट अतिथि हरि प्रसादले बैंकको केन्द्रीय कार्यालयबाटै डिजिटल प्रविधिमार्फत सामरी, बेनी, बागलुङ, फुटुङ शाखा र घोराहि शाखास्थित बैंकको ६१औं एटीएमको पनि डिजिटल उद्घाटन गरेका थिए । वार्षिकोत्सवकै अवसरमा ग्राहकलाई सेयर कारोबारको लागि थप सुविधा प्रदान गर्न बैंकले “डि पि सेवा” सुचारु गरेको छ। सो सेवा ज्योति विकास बैंकको देशभरिको १०५ वटै शाखाबाट उपलब्ध हुने छ। सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ। सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय र मुल्य मान्यताहरुको अधीनमा रहि अझ सफलताउन्मुख हुने र समाजको वृहत्तर हितको लागि योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे। समारोहमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनले ज्योति विकास बैंकले केन्द्रको परियोजनामा गरेको सहयोग उदाहरणीय रहेको र यस सहयोगले राष्ट्रिय आविष्कार केन्द्रको लागि संस्थागत साझेदारीको बाटो खोलिदिएको बताए । हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३७ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब ३१ अर्ब रूपैयाँ लगानी गर्न सफल भएको छ ।
मेगा बैंकले ल्यायो किसान कार्डसहितको ‘मेगा स्मार्ट कृषि’ सेवा
काठमाडौं । मेगा बैंक नेपालले व्यावसायिक किसानहरुलाई प्राथमिकता दिँदै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा बजारमा ल्याएको छ । स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुल मन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुको सम्मान स्वरुप ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको हो । किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारी नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको बैंकले जनाएको छ । यो नेपालकै नवीनतम् बैंकिङ अफर हो । मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादन संग सम्बन्धित विभिन्न सामानहरु तोकिएका सेवा केन्द्रवाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने बैंकले विश्वास लिएको छ । व्यावसायिक कृषि तथा पशु पालन र महिला उद्यमीलाई यसअघि देखि नै प्राथमिकता दिएको मेगा बैंकले कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै व्यापक कृषि उत्पादनमा जोड दिने उद्देश्य लिएको छ । जसअनुसार, मेगा बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनसँग सम्झौता समेत भइसकेको छ । किसानहरुको प्रबर्धन गर्दै प्राविधिक सेवा समेत उपलब्ध गराँउदै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज मिल्ने मेगा बैंकको विश्वास छ ।