अब कनेक्ट आइपीएसमा नेपाल बङ्गलादेश बैंककाे खाता अनलाईनबाट जाेड्न सकिने
काठमाडाैं । नेपाल बङ्गलादेश बैंकले कनेक्ट आइपीएसमा खाता लिंक गरी भेरीफाई गराउने सम्पूर्ण प्रकृयालाई स्वचालित गरी अनलाईनबाटै गर्न सकिने व्यवस्थाको थालनी गरेको छ । यस व्यवस्थासँगै बैंकका ग्राहकहरुले अनलाईनबाटै कनेक्ट आइपीएसमा आफ्नो खाता भेरीफाई गराउन सक्नेछन् भने बैंकको शाखा नै पुगेर फारम बुझाई भेरीफाई गराउने बाध्यताको पनि अन्त्य भएको छ । बैंकका ग्राहकले कनेक्ट आइपीएसमा लिंक अकाउन्ट भित्र आफ्नो खाता लिंक गरिसकेपछी सेल्फ भेरिफाई अकाउन्टमा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्दछन् । यस प्रकृयामा ग्राहकको विवरण वान टाइम पासवड वोटिपी र माइक्रो डिपोजिट्सको आधारमा सुरक्षित रुपमा अनलाईन भरिफिकेसन हुने व्यवस्था रहेको छ । नेपाल बङ्गलादेश बैंकबाट सुरुवात गरिएको यस व्यवस्थालाई अन्य सदस्य बैंक वित्तिय संस्थाहरुमा पनि चाँडै नै सुरुवात गर्न आवश्यक तयारी भइरहेको बैंकले जनाएकाे छ ।
एनआईसी बैंककाे नयाँ क्युआर रिफर गर्दा प्रतिव्यक्ति ७५० रुपैयाँ पाइने
काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ क्युआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘ क्युआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । बैंकका क्युआर मर्चेन्ट तथा ग्राहकहरूले भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी हुन सक्नेछन् । यस योजना अन्तर्गत बैंकसँग रहेका क्युआर मर्चेन्ट एवं ग्राहकहरुले उक्त २ महिनाको अवधीमा नयाँ क्युआर मर्चेन्ट रिफर गरी उक्त नयाँ क्युआर मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर क्युआरमा आवद्ध भएमा रिफर गर्ने क्युआर मर्चेन्ट एवं ग्राहकहरुलाई बैंकले प्रति रिफर मर्चेन्ट ७५० खुद रकम प्रदान गर्नेछ । साथै सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्युआर मर्चेन्टहरू बैंकमा आवद्ध गराउने १० जनालाई थप ५० हजार रकम प्रदान गरिने समेत व्यवस्था गरिएको बैंकले जनाएकाे छ ।
कृषि विकास बैंकले २४ अर्बको ऋणपत्र ल्याउँदै
काठमाडौं । कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने तयारी गरिरहेको छ । बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले १० वर्षका लागि ‘कृषि बण्ड’ निश्कासन गर्ने तयारी गरिरहेको जनाएको छ । बैंकका अनुसार २४ अर्ब रुपैयाँको ऋणपत्र २ करोड ४० लाख कित्ताको हुनेछ । बैंकले पहिलो चरणमा भने ५ देखि ६ अर्ब रुपैयाँसम्मको ऋणपत्र निश्कासन गर्ने तयारी गरिरहेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए । ‘हामी अहिले आन्तरिक तयारीमै छौं, ऋणपत्र कहिले निश्कासन गर्ने भन्ने यकिन भएको छैन, पहिलो चरणमा भने ५÷६ अर्ब रुपैयाँसम्मको निकाल्ने कि भन्ने कुरा भइरहेको छ,’ उनले भने । उनका अनुसार सो ऋणपत्रका लागि बैंकहरुले मात्र आवेदन दिन सक्नेछन् । ऋणपत्र सर्वसाधारणरणका लागि नभई सम्पूर्ण बैंकहरुका लागि भएको उनको भनाई छ । उनका अनुसार पहिलो चरणमा निश्कासन हुने ऋणपत्र ५ अर्बको भए ५० लाख कित्ता र ६ अर्बको भए ६० लाख कित्ता ऋणपत्र निश्कासन हनेछ । ‘पहिलो चरणमा निश्कासन गरेको ऋणपत्रको मागका आधारमा विस्तारै निश्कासन गर्दै जान्छौं, कोभिडको समस्या समाधान भएर सहज वातावरण बन्यो भने ऋणपत्र जारी गर्दै जानेछौं, अहिदे बैंक सम्पूर्ण तयारीमा जुटेको छ,’उनले भने । अहिले बैंकले आन्तरिक कमिटी गठन गरेर काम गरिरहेको छ । बैंकले यो रकम कृषिमा लगानी गर्ने उनको भनाई छ । न्युनतम कति कित्ता र अधिकतम कति कित्तासम्म आवदेन दिन सकिने त्यो विस्तारै थाहा हुने उनको भनाई छ ।