एनआइसी एसिया र एनएमबीबीच मर्ज भए कस्तो बैंक बन्ला ?

काठमाडौं । एनआइसी एसिया बैंक ‘चमत्कार’ शब्द प्रयोगमा असाध्यै चासो देखाउँछ । उनका कर्जा प्रडक्टमा पनि ‘चमत्कारिक कर्जा योजना’ हुन्छन् भने निक्षेप योजनामा पनि ‘चमत्कारिक निक्षेप योजना’ हुन्छन् । अर्थात चमत्कार शब्द छुट्दैन । पछिल्लो समय बैंकले गरेको प्रगति पनि करिब चमत्कारिक नै छ । शाखा संजाल, निक्षेप तथा कर्जाको बृद्धि, नाफा जस्ता अधिकांश परिसुचकले एनआइसी एसिया बैंक चमत्कार नै गरिरहेको छ भन्ने संकेत दिन्छ । कतिपय आलोचकहरु एनआइसी एसिया बैंकको बैंकिङ क्रियाकलाप्रति ‘डर’ मान्छन् । एनआइसी एसियाले बढी जोखिम लिएर बैंकिङ गरिरहेको र सो बैंकमा कुनै प्रकारको समस्या आयो भने समग्र बैंकिङ क्षेत्रमा नै समस्या आउन सक्ने आकलन आलोचकले मात्रै होइन, नेपाल राष्ट्र बैंकका केही उच्च अधिकारीहरुले पनि गरिरहेका छन् । यद्यपि, एनआइसी एसिया बैंक एकपछि अर्काे सफलताको सिढी चढिरहेको छ । यही सफलताको कारण आलोचक र शंका गर्नेहरुको मुख बन्द भएको छ । प्रुडेन्ट बैंकिङलाई आफ्नो आधारभूत मान्यता बनाएको अर्काे वाणिज्य बैंक एनएमबी बैंकको ग्रोथ धेरैले अनुकरणीय मान्छन् । ‘सस्टेनेवल विजनेस ग्रोथ’मा अघि बढिरहेको एनएमबी बैंक ‘समृद्ध नेपालका लागि’ भन्ने नारा लिएर आएको छ । नेपाल राष्ट्र बैंकका अधिकारीहरु यी दुबै बैंक एकापसमा मर्जर गराउने अभियानमा छन् भन्ने चर्चा बजारमा चलेको छ । राष्ट्र बैंकका अधिकारीहरु औपचारिक रुपमा केही नबताए पनि एउटै परिवार तथा व्यवसायिक समुहले प्रबद्र्धन गरेका यी दुबै बैंक मर्जर गराउनु पर्छ भनेर अनौपचारिक रुपमा बताइरहेका छन् । त्यसैले एनएमबी बैंक र एनआइसी एसिया बैंकबीच मर्जर हुने चर्चा पछिल्लो समय व्यापक रुपमा चलेको छ । अहिले चलेका चर्चा अनुसार नै एनएमबी र एनआइसी एसिया बैंकबीच मर्जर भएमा कस्तो बैंक बन्ला त भन्ने सन्दर्भमा यी दुबै बैंकका केही महत्वपूर्ण परिसुचक राखेर केही व्याख्या गर्ने प्रयास यहाँ गरिएको छ । एनएमबी बैंक एनएमबी बैंक तत्कालिन नेपाल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबाट सन् २००८ मा एनएमबी बैंकको रुपमा स्तरोन्नति भएको बैंक हो । यो बैंकमा नेदरल्याण्डको स्थापित वित्तीय संस्था एफएमओको १४.१८ प्रतिशत प्रमोटर सेयर छ । एनएमबीले सन् २०१७ र सन् २०१८ मा बैंक अफ दि एयर अवार्ड प्राप्त गरेको छ । बैंकको वेबसाइटमा उल्लेख भएअनुसार उसको अहिले १ सय ६४ वटा शाखा र १ सय ३३ वटा एटिएम बुथ संचालनमा छन् । बैंकको संचालक समिति अध्यक्षमा स्थापित उद्योगी पवनकुमार गोल्यान छन् । संचालकहरुमा एफएमओको तर्फबाट निको पिजल, कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले, सर्वसाधारण सेयरधनीको तर्फबाट योगेन्द्रलाल प्रधान, उत्तम ब्लोन र सिरिश कुमार मुरारका तथा स्वतन्त्र संचालकको रुपमा प्रदीपराज पाण्डे छन् । बैंकको व्यवस्थापकीय टीमको नेतृत्व अनुभवी बैंकर सुनिल केसीले प्रमुख कार्यकारी अधिकृतको रुपमा संहालिरहेका छन् । यस्तै, प्रदीप प्रधान चिफ अपरेटिङ अफिसर (सीओओ), शब्नम लिम्बु जोशी चिफ ह्युम्यान रिसोर्सेज अफिसर, शरद तेजी तुलाधर चिफ रिक्स अफिसर, सुदेश उपाध्याय, चिफ विजनेस एण्ड स्ट्राटेजी अफिसर, गोविन्द घिमिरे चिफ विजनेस अफिसर, नविन मानन्धर चिफ फिनान्स अफिसर, प्रमोदकुमार दाहाल कम्पनी सचिव तथा चिफ इन्टरनल अडिट र रोशन रेग्मी रिटेल बैंकिङको प्रमुखको रुपमा व्यवस्थापकीय तहको जिम्मेवारीमा छन् । एनएमबीमा सेयरधनीको सम्पत्ति १७ अर्ब ४० करोड ३० लाख रुपैयाँ छ भने गत असार मसान्तसम्ममा बैंकले १ खर्ब १५ अर्ब ७० करोड ३२ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । यस्तै, बैंकले सो अवधिसम्ममा १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । एनआइसी एसिया बैंक एनआइसी एसिया बैंक नेपालको बैंकिङ इतिहासमा नै सबैभन्दा पहिला दुई वाणिज्य बैंक मर्ज भएर बनेको बैंक हो । सन् १९९८ मा स्थापना भएको तत्कालिन एनआइसी बैंक सन् २०१३ मा तत्कालिन बैंक अफ एसियासँग मर्ज भएपछि एनआइसी एसिया बैंक बनेको हो । एनआइसी एसिया बैंकले सन् २००७ र सन् २०१३ मा गरी दुई पटक बैंक अफ दि एयर अवार्ड पाएको छ । बैंकको वेबसाइटमा उल्लेख भएअनुसार एनआइसी एसिया बैंकका देशभर अहिले ३ सय २३ वटा शाखा छन् । यस्तै, ४ सय ६६ वटा एटिएम बुथ संचालनमा छन् । बैंकको संचालक समिति अध्यक्षको जिम्मेवारीमा स्थापित व्यवसायी तुल्सीराम अग्रवाल छन् । यस्तै, संचालकहरुमा त्रिलोकचन्द अग्रवाल, रामचन्द्र संघाइ, निकुन्ज अग्रवाल, राजेन्द्र प्रसाद अर्याल, विनोदकुमार प्याकुरेल र गनेशमान श्रेष्ठ छन् । एनआइसी एसिया बैंकको व्यवस्थापकीय टीमको नेतृत्व युवा, मेहेनती र सिर्जनशील व्यक्तित्व रोशनकुमार न्यौपानेले संहालिरहेका छन् । यस्तै, सुधिरनाथ पाण्डे डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा सन्तोषकुमार राठी, राजेश रावल, कपिल ढकाल, जयन्द्र रावल र भेषराज खतिवडा र रञ्जन खतिवडा छन् । यस्तै, अर्जुनराज खनियाले चिफ विजनेस अफिसर, विशाल सिग्देलले चिफ एक्सपिरियन्स ट्रान्सफरमेन्स अफिसर, प्रशास बरालले चिफ क्रेडिट अफिसर, वपिन राजभण्डारीले चिफ टेक्नोलोजी अफिसर, दिनेश भारीले लिगल हेड, नारायण सुन्दर शिल्पकारले एक्सपरियन्स एसुरेन्स इकोसिस्टमको डेपुटी चिफ, रुपेश लुइटेलले चिफ फाइनान्सिल अफिसर, राजुप्रसाद अधिकारीले इन्टरनल अडिटको प्रमुख तथा दीपेन कार्कीले कम्पनी सचिवको जिम्मेवारी वहन गरिरहेका छन् । एनआइसी एसिया बैंकमा सेयरधनीको सम्पत्ति १७ अर्ब २३ करोड ५५ लाख रुपैयाँ छ । बैंकले १ खर्ब ६० अर्ब १८ करोड ५६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ भने २ खर्ब १ अर्ब ६३ करोड रुपैयाँ सर्वसाधारणबाट निक्षेप संकलन गरेको छ ।

एनएमबि बैंकका ग्राहकले सरल किस्तामा सामसङ्गको मोबाईल किन्न पाउने

काठमाडौं ।  एनएमबि बैंक र आईएमएस बीच मोबाईल फोनको खरीदमा शुन्य प्रतिशत ईएमईमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी भएकाे छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख-रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक-सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषालले हस्ताक्षर गरेका हुन् । यस अन्तर्गत एनएमबिका ग्राहकहरुले सामसङ्ग मोबाईलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत ९ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् । एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

कामना सेवा विकास बैंकका ग्राहकलाई पीसीआर परिक्षणमा विशेष छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले पीसीआर परिक्षणमा १५ प्रतिशतको विशेष छुट पाउने भएका छन् । जसको लागि विकास बैंकले सूरिया हेल्थ केयर प्रा. लिसँग सहकार्य गरेको छ । बैंक र हेल्थ केयरको यस सहमति अनुरुप अब कामना सेवा विकास बैंकका सबै ग्राहकले सूरिया हेल्थ केयरमा कोरोना संक्रमण सम्बन्धी गरिने पीसीआर परिक्षण गर्दा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्नेछन् । यस सहमति अनुसार ग्राहकले आर्थिक सहुलियत सहित सहज रुपमा कोरोना परिक्षण गरी लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) ले ल्याएको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकले उक्त सेवा सुविधा उपलब्ध गराउने भएको हो ।