एनआईसी एशिया बैंकमा कर्जाको लागि अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ । बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै उक्त व्यवस्था गरेको हो । बैंकले ग्राहकमैत्री एवं सुरक्षित रुपले वेवसाइट  मार्फत उक्त अनलाइन कर्जा आवेदन प्रणालीको सुरुवात गरेको छ । यस बैंकले आफ्नो ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरुप आफ्नो सम्पूर्ण व्यवसायिक प्रक्रिया तथा क्रियाकलापलाई डिजिटलतर्फ परिमार्जन गर्न लागिपरेको अवस्थामा विद्यमान कर्जा आवेदन प्रक्रियालाई समेत अनलाइन माध्यमबाट सहजपूर्ण तरिकाले अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको हो । कर्जाको आवेदन अनलाइन दिन सकिने उक्त नवीनतम सुरुवातले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाट समेत ग्राहकले मुक्ति पाउने बैंकले विश्वास लिएको छ । यसमार्फत ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफुले इच्छाएको कर्जाको आवेदन दिन सक्नेछन् । ग्राहकले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निक्र्यौल गर्न सकिने व्यवस्था गरिएको छ भने कर्जा लिनका लागि योग्य भए नभएको देखाउनेछ र योग्य भएपश्चात् सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहकले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था गरिएको छ । यसपछि ग्राहकलाई कर्जा लिनका लागि छनौट गर्नुभएको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधीले सम्पर्क गर्नेछन् र सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको छ । साथै, आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्था बारेमा समेत यस बैंकले एसएमएस मार्फत जानकारी गराउँदै आएको छ र ग्राहकले बैंकको वेबसाइटमा गई लोन स्ट्याटस् समेत आफै ट्रयाक गर्न सक्नेछन् । बैंकको कुनै पनि कर्जा सम्बन्धी जानकारी लिनको लागि लोन टाइप गरी ३४४८८ मा एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी वा बैंकको वेबसाइटमा राखिएको फिडब्याक फर्ममा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

मेगा बैंकले शुरु गर्यो कार्डसहितकाे स्मार्ट कृषि सेवा, किसानलाई अनुदान ऋण लिन सजिलो हुने

काठमाडौं । मेगा बैंक नेपालले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै आज(असोज १६ गते)बाट ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ । बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सुर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुभारम्भ गरेकी हुन् । स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुलमन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुको समयानुकुल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको हो । किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको मेगा बैंकले जनाएको छ । ‘यो कृषि क्षेत्रमा नेपालकै नवीनतम् बैंकिङ सुविधा हो । ‘मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका कृषि सेवा केन्द्रहरुबाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने विश्वास पनि लिएका छौं ।’, मेगा बैंककी सीईओ खुञ्जेलीले भनिन् । व्यावसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई यसअघि देखि नै प्राथमिकता दिंदै आएकोे मेगा बैंकले कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै किसानहरुको कृषि उत्पादकत्व वृद्धि गर्ने उद्देश्य लिएको छ । जसअनुसार यस अभियानलाई प्रभावकारी बनाउन मेगा बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनसँग सम्झौता समेत भइसकेको छ । किसानहरुको प्रबर्धन गर्दै प्राविधिक सहायता समेत गर्दै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज हुने बैंकको विश्वास छ ।

सिद्धार्थ बैंककाे ३ अर्बकाे ऋणपत्र बिक्री खुला, वार्षिक साढे ८ प्रतिशत ब्याज पाइने

काठमाडौं । सिद्धार्थ बैंकले आज (असोज १६ गते) देखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले ३० लाख कित्ता ‘८.५० प्रतिशत एस.बि.एल. डिबेन्चर २०८४’ बिक्री खुला गरेकाे हाे । बैंकले ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र १८ लाख कित्ता विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ । जसमा लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर पाउने छन् । उक्त ऋणपत्रमा आवेदन दिन इच्छुकले न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताकाे लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र निष्काशन बन्द हुने छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गते हुने बिक्री प्रबन्धकले जनाएको छ । बैंकको ऋणपत्रलाई इक्रा नेपालले पर्याप्त मात्रामा सुरक्षा जनाउने “[ICRANP-IR] A-@” रेटिङ्ग दिएको छ ।