सामलिङ्ग पावरको आइपिओकाे विक्री प्रबन्धक र शेयर रजिष्ट्रारमा नेपाल एसबिआई बैकिङ्ग नियुक्त
काठमाडौं । सामलिङ्ग पावर कम्पनीकाे आइपिओकाे विक्री प्रबन्धक र शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग कम्पनि नियुक्त भएकाे छ । कम्पनिकाे प्रति शेयर अंकित मूल्य एक सय दरको १२ लाख ३० हजार कित्ता (बाह्र करोड तिस लाख) आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई बैकिङ्ग कम्पनी नियुक्त भएको हाे । यसका साथै कम्पनिले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई उक्त कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौता समेत गरिएको छ । सामलिङ्ग पावर कम्पनीकोे रजिष्टर्ड कार्यालय, सानेपा–२, ललितपुरमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिङ्ग पावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सामलिङ्ग पावर कम्पनी लिमिटेडको कम्पनीे अध्यक्ष विजय बहादुर राजभण्डारी तथा संचालक मोहनदास मानन्धर र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख वित्तीय अधिकृत कृष्ण सिग्देलको उपस्थिती रहेको थियो । उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
मुक्तिनाथ विकास बैंकद्धारा धनगढी बसपार्कलाई शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण
काठमाडाैं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । उक्त शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि श्री दिपक थापाले मुक्तिनाथ विकास बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी भई गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा गरेका थए । धनगढी उप–महानगरपालिकाको बसपार्क सुदुरपश्चिमकै केन्द्र विन्दु रहेकोले यात्रुको आवतजावत धेरै हुने भएकोले यात्रुको सहजताको लागि शुद्ध पिउने पानी ट्याङकीको निर्माण गरिएको बैंकले जनाएकाे छ ।
बैंक अफ काठमाण्डूले शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने
काठमाडाैं । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७६–७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई श्री नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई लाभांश वितरण गरीने बैंकले जानकारी दिएको हो ।