कुमारी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा सेतीखोला हाइड्रोमा ३ अर्ब कर्जा लगानी
काठमाडाैं । कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेतीखोला हाइड्रोमा ३ अर्ब २५ करोड कर्जा लगानी गर्ने सम्झौता भएको छ । सेती खोला हाइड्रोपावर प्रालिले कास्की जिल्लाको पोखरा महानगरपालिकामा निर्माण गर्न लागेको २२ मेगावाट विद्युत उत्पादन क्षमता रहेको सेती खोला हाइड्रोपावर परियोजनामा यि दुई बैंकबिच कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता भएको हाे । उक्त सम्झौता अनुसार कुमारी बैंकबाट २ अर्ब र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट १ अर्ब २५ करोड गरी जम्मा ३ अर्ब २५ करोड रुपियाँ बराबरको कर्जा सीमा स्वीकृत भएको छ । कुमारी बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा कुमारी बैंकको तर्फबाट नायव महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र परियोजनाको तर्फबाट अनुप आचार्य लगायतको उपस्थिति रहेको थियो ।
एनआईसी एशियाका कार्ड प्रयोगकर्ताले सुजुकीकाे दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार छुट पाउने
काठमाडौं । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा नगद छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले भिजि अटोमोबाईल्सबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट तथा ३ हजार नगद फिर्ता गरी कुल १५ हजार रकम छुट पाउने भएका हुन् । यस सम्बन्धमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यू तथा भिजि अटोमोबाईल्सको तर्फबाट उप–महाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
अब प्रभु बैंकका ग्राहकले खल्तीमा सिधै रकम लोड गर्न सक्ने
काठमाडौं। प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । प्रभु बैंकका प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहल स्थित बैंकको प्रधान कार्यालयमा आयोजित समारोहमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यस साझेदारी अनुसार प्रभु बैंकका देशभरका ग्राहकले मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवाको उपयोग गरेर आफ्नो खल्ती वालेटमा नगद लोड गर्न सक्नेछन् । खल्तीमा लोड गरिएको रकमबाट यसको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्छन् । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्याउने अपेक्षा प्रभु बैंक र खल्ती डिजिटल वालेटले गरेका छन् । सम्झोता अनुसार बैंकले स्प्यारो पेलाई भर्चुअल मेसिन उपलब्ध गराउने छ । जसबाट बैंकको अनलाइन वा अफलाइन बैंकिङ्ग माध्यमबाट खल्तीमा रकम लोड गर्न सकिने छ । स्प्यारोलले बैंकका विभिन्न माध्यमहरू बैंक खाता लिंक गर्ने, ई बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, बैंक स्मार्ट, बैंकिङ्ग चेकआउट आदानप्रदानका लागि लोड खल्ती सेवा उपलब्ध गराउने छ ।