बैंक अफ काठमाण्डूको लाभांश घोषणा, नगद भन्दा बाेनस बढी

काठमाडौं । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । समितिले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा घटी हो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा बैंकले सेयरधनीलाई ११ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरी १७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले कात्तिक ६ गते बोलायो वार्षिक साधारणसभा

काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी कात्तिक ६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले प्रस्तावित १०.३७ प्रतिशत लाभांश पारित गर्न सो दिन २२औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा सो दिन बिहान ११ बजे पोखराको होटल पोखरा ग्राण्डमा बस्दै छ । कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा भिडियो कन्फ्रेन्स मार्फत सहभागी हुन सेयरधनीलाई जुम आईडी र पासकोड उपलब्ध गराउने जानकारी गराएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ७.०३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । त्यस्तै, सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने सामान्य प्रस्तावलाई पारित गर्दै छ । साथै, बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक सबै काम अगाडि बढाउन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ । सभामा जाने प्रयोजनको लागि बैंकले असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सम्बन्धित समाचारः लाभांश घोषणा गर्नेमा पहिलो बन्यो माछापुच्छ्रे बैंक, बोनस र नगद कति ?

कामना सेवा विकास बैंकबाट अजिरा विल्डर्सका ग्राहकहरुले सजिलै घर कर्जा पाउने

काठमाडौं । कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच व्यावसायिक सहकार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यो सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबाट सिफारिस भई आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १२४ वटै शाखाबाट घर कर्जा प्रदान गर्नेछ । यसबाट “आफ्नै व्यक्तिगत घर होस“ भन्ने सपना बोकेका ग्राहकहरुले अभिलासा पुरा गर्न सहज हुने कुरामा आफु विश्स्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अजिरा बिल्डर्स एण्ड कन्ट्रयाक्टर्सका प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए ।