काठमाडौं । सिद्धार्थ बैंकले भाेलि (असोज १६ गते) देखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले ३० लाख कित्ता ‘८.५० प्रतिशत एस.बि.एल. डिबेन्चर २०८४’ बिक्री खुला गर्न लागेकाे हो ।
बैंकले ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र १८ लाख कित्ता विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ । जसमा लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर पाउने छन् । उक्त ऋणपत्रमा आवेदन दिन इच्छुकले न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताकाे लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र निष्काशन बन्द हुने छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गते हुने बिक्री प्रबन्धकले जनाएको छ ।
बैंकको ऋणपत्रलाई इक्रा नेपालले पर्याप्त मात्रामा सुरक्षा जनाउने “[ICRANP-IR] A-@” रेटिङ्ग दिएको छ ।