यसपालीको दशैंमा नयाँ नोट नपाइने सम्भावना तर राष्ट्र बैंकले गरिसकेको छैन निर्णय

<p>काठमाडौं । अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष दशैंमा नयाँ नोट साट्न नपाइने सम्भावना बढेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासको कारण नयाँ तथा सफा नोट वितरण नगर्ने मनस्थितिमा नेपाल राष्ट्र बैंक छ । राष्ट्र बैंकले यसअघि प्रत्येक दशैंमा नयाँ तथा सफा नोट सटही गर्दै आएको भएपनि यसपाली के गर्ने भन्ने दुविधा रहेको नेपाल राष्ट्र [&hellip;]</p>

काठमाडौं । अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष दशैंमा नयाँ नोट साट्न नपाइने सम्भावना बढेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासको कारण नयाँ तथा सफा नोट वितरण नगर्ने मनस्थितिमा नेपाल राष्ट्र बैंक छ ।

राष्ट्र बैंकले यसअघि प्रत्येक दशैंमा नयाँ तथा सफा नोट सटही गर्दै आएको भएपनि यसपाली के गर्ने भन्ने दुविधा रहेको नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । कोभिड–१९ संक्रमण बढिरहेको बेलामा नयाँ नोट सटही गर्दा सक्रमण अझ विस्तार हुने हो कि भन्ने शंकाको कारण अहिले छलफल भइरहेको शिवाकोटीको भनाइ छ ।

‘परापूर्वकालदेखि मनाइदै आएको चाड तथा पर्वहरुको आफ्नै महत्व र गरिमा छ, दशैं तिहार जस्ता चाड पर्वमा नयाँ नोट चढाउने चलन भएकोले नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष दशैं सुरु हुनु केही अघिदेखि सर्वसाधारणलाई नयाँ तथा सफा नोट सटही गर्दै आएको थियो, यसपालीको सन्दर्भ फरक छ, कोभिड संक्रमणको सम्भावना र सन्त्रास कायमै छ, त्यसैले नयाँ नोट सटही गर्ने कि नगर्ने भन्ने छलफल गरिरहेका छौं,’ वरिष्ठ डेपुटी गभर्नर शिवाकोटीले भने ।

राष्ट्र बैंकले दशैं विदा सुरु हुनुभन्दा सामान्यतः एक साता अघिदेखि ७ दिनसम्म नयाँ तथा सफा नोट सटही गर्ने गरेको थियो । तर, गत वर्ष भने १० दिनसम्म नोट सटही गरिएको थियो ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा नोट वितरण गर्ने गरेको थियो । गत वर्ष राष्ट्र बैंकले प्रतिव्यक्ति २७ हजार रुपैयाँ बराबरका नयाँ र सफा नोट सटही गरिदिएको थियो । नयाँ नोट लिनको लागि आउने सर्वसाधारणमा कोरोना भाइरस संक्रमण हुन सक्ने सम्भावना देखिएको कारण राष्ट्र बैंकले यसपाली नयाँ नोट सटही गर्ने कि नगर्ने भनेर थप छलफल गरेको हो ।

Share News