व्यवसायी नाइमा र नाडा अटो शोमा बुक भएका गाडी ल्याउन केन्द्रित, दशैंका लागि छैन विशेष योजना
काठमाडौं । दशैं–तिहारको मुखमा चीनसँग जोडिएका प्रमुख व्यापारिक नाकाहरू रसुवागढी र तातोपानी बाढी–पहिरोका कारण बन्द हुँदा सवारीसाधन लगायतका सामग्रीको आयात प्रभावित भएको छ । चाडपर्वको समयमा सवारीसाधनको माग उच्च हुने भए पनि नाका अवरुद्ध हुँदा व्यवसायीहरूले नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोमा बुक भएका गाडीहरू समयमै डेलिभरी गर्न नसक्ने चिन्ता बढेको छ । रसुवागढी नाका जोड्ने पुल बाढीले बगाएपछि र स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको १८ किलोमिटर सडक पहिरोले क्षतविक्षत भएपछि उक्त नाका पूर्ण रूपमा बन्द छ । बाढीले नेपाल र चीनसँग जोड्ने पुल बगाएको छ । त्यसपछि के गर्ने भन्नेबारे नेपाल सरकार र चीन सरकारबीचको उच्चस्तरीय छलफलपछि मात्र टुङ्गो लाग्छ । क्षति धेरै भएकाले तत्काल निर्णय हुन सकेको छैन । यसैगरी, तातोपानी नाका पनि चीनतर्फ ‘लिपखुफिर’ भन्ने ठाउँमा पहिरो गएकाले नाका २० बन्द रहेको थियो । रसुवागढी नाका बन्द भएपछि तातोपानी नाकामा चाप बढेको छ । तर, तातोपानी भन्सार कार्यालयसँग सीमित स्रोतसाधन र पूर्वाधार रहेको भन्सार अधिकारीहरू बताउँछन् । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले कार्यालयसँग करिब ८० देखि १०० वटा गाडी भण्डारण गर्न सक्ने क्षमता मात्र रहेको जानकारी दिए । रसुवागढीबाट आउने गाडीहरू पनि यतै डाइभर्ट भएर आउँदा भण्डारण र जाँचपासमा थप चुनौती सिर्जना हुने देखिएको छ । नाकामा सामानको फ्लो बढेपछि पहिलो समस्या भण्डारणकै रहेको उनको भनाइ छ । यसैगरी, नाकामा जनशक्तिको पनि अभाव रहेको छ । भन्सार विभागसँग थप जनशक्ति माग गरिएको र सामानको चाप बढेमा बिहान ८ बजेदेखि साँझसम्म काम गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । भन्सार अधिकृत चुडालले भने, ‘तातोपानी नाकाको चीनतर्फ पनि पहिरो परेको थियो । नाका २० दिन ठप्प रह्यो । सामानहरु बाटोमै रोकिएको थियो । आज नाका खुलेको ४ दिन भएको छ । अझै पानी पर्यो भने पहिरो जान सक्छ।’ अटो व्यवसायी चिन्तित, डेलिभरीमा ढिलाइ हुने दशैं–तिहारलाई लक्षित गरी ‘नाडा अटो शो’ र ‘नाइमा एक्स्पो’ मा हजारौं गाडी बुक भएका छन् । तर चीनबाट आयात हुने गाडीहरू नाका बन्द हुँदा भन्सारमै रोकिएका छन्, जसले गर्दा डेलिभरीमा ढिलाइ हुँदा व्यवसायीहरू चिन्तित बनेका छन्। अटो व्यवसायी तथा नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले भने, ‘नयाँ लन्च भएका गाडीहरू नाडा अटो शोमा ल्याउने क्रममा पनि केही रोकिए । बाटो बन्द भएका कारण आउन सकेनन् । डेलिभरीमा ढिलाइ हुने सम्भावनाले व्यवसायी चिन्तित छन्।’ दशैंअगाडि नाका खुलेमा मात्रै नयाँ गाडीहरू ग्राहकसम्म पुग्नेछन् । नाडा र नाइमाले आयोजना गरेको अटो शोमा गाडी किन्नेलाई दिएको अफर दशैं–तिहारमा पनि निरन्तर रहने व्यवसायीहरूले बताएका छन् । जगदमाबा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नाइमा एक्स्पोमा रहेका अफर दशैंतिहारमा पनि दिइने बताए । उनले भने,‘ दशैंतिहार भनेर अफर छुट्याएका छैनौं । जे–जे अफर एक्स्पोमा दिएका थियौं त्यही हुन्छन्, नयाँ थप केही छैन ।’ व्यवसायीहरूले हाल बजेटअघि आयात गरिएका पुराना स्टकका गाडीहरू बिक्री गरिरहेका छन् । तर ग्राहकको रोजाइमा परेका नयाँ मोडल र निश्चित रङका गाडीहरू स्टकमा नहुँदा आयात नै गर्नुपर्ने बाध्यता छ । अर्का व्यवसायी तथा नाडाका सदस्य आकाश गोल्छाले भने, ‘हामी स्टक पनि बेचिरहेका छौं र नयाँ गाडी पनि मगाइरहेका छौं । तर बाटोको अवस्था अनिश्चित छ । बाटो कहिले खुल्छ, कहिले फेरि भत्किन्छ, थाहा छैन ।’ यद्यपि भारतबाट गाडी आयात गर्ने र नेपालमै एसेम्बल गर्ने कम्पनीहरूलाई भने यो समस्याले खासै असर पारेको छैन । उनीहरूले आफ्नो योजनाअनुसार गाडीको उत्पादन र बिक्री–वितरण गरिरहेको बताउँछन् । हुन्डाई गाडीको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले भारतबाट गाडी आयात गरिरहेको जानकारी दिए । यस्तै, टाटा मोटर्स नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले भने दशैंतिहारका लागि नयाँ गाडी ल्याउनेबारे कुनै योजना नबनाएको बताए । चीनसँगका नाकाहरू समयमै नखुलेमा दशैंको बजारमा नयाँ गाडीको अभाव हुने र ग्राहकले बुक गरेको गाडी पाउन लामो समय कुर्नुपर्ने अवस्था देखिएको छ । साउनमा कुन क्षमताका कति भित्रिए गाडी ? चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामै विद्युतीय सवारीसाधनको आयात उत्साहजनक देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा मात्रै नेपालमा विभिन्न नाकाहरुबाट ५२ करोड ४० लाख रुपैयाँभन्दा बढीका विद्युतीय कार, जीप, भ्यान र माइक्रो बस भित्रिएका छन् । कुल १ सय ९७ वटा विद्युतीय सवारीसाधन आयात भएका हुन् । यी सवारीको आयातबाट सरकारले ३० करोड ५५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । साउन महिनामा आयात भएका विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका रहेका छन् । विभागको तथ्यांकअनुसार ५० किलोवाटसम्मका २१ वटा कार, जीप र भ्यान छन् भने ५१ देखि १०० किलोवाटसम्मका १०७ वटा कार, जीप र भ्यान रहेका विभागले जनाएको छ । यस्तै, १०१ देखि २०० किलोवाटसम्मका ३१ वटा तथा ११ देखि १४ सिटे माइक्रोबस ३८ वटा आयात भएका छन् । पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन र वातावरणमैत्री यातायातलाई प्रवर्द्धन गर्न विद्युतीय सवारीमा कर छुट तथा विभिन्न सहुलियत दिँदै आएको छ । यसैको प्रभावस्वरूप नेपाली बजारमा विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण तीव्र गतिमा बढिरहेको हो ।
होन्डाको दशैं योजना सार्वजनिक, यस्ता छन् अफर
काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ । यो योजना कार्तिक १४ गतेसम्म नेपाल अधिराज्यभरका सबै होन्डा शोरूमहरूमा लागू हुनेछ । यस योजनाअन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । कम्पनीले ४ लाखसम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ । यसका साथै ग्राहकहरूले ५ वर्षको लागि निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, र १ वर्षको लागि सडक करमा छुट जस्ता सुविधा पनि पाउनेछन् । पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकहरूका लागि २५ हजार बराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको छ । यसबाहेक ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पनि प्राप्त गर्नेछन् । यो योजना होन्डाका लोकप्रिय मोडेलहरू जस्तै होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीहरूमा उपलब्ध हुनेछ। स्याकार ट्रेडिङ्ग कम्पनीले विगत लामो समयदेखि नेपाली बजारमा उच्च गुणस्तरीय गाडी र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको छ ।
एमक्यूब र बीवाइडीको सहकार्यमा काठमाडौं क्रोनिकल्सको घोषणा
काठमाडौं । नेपालको सौन्दर्य, इतिहास र संस्कृतिलाई उजागर गर्ने उद्देश्यसहित सुरु गरिएको 'काठमाडौं क्रोनिकल्स' एक अनौठो र रमाइलो अनुभवका रूपमा सार्वजनिक गरिएको छ । एमक्यूब नेपाल अन्तर्गत म्यारियट काठमाडौंद्वारा हरेक वर्ष आयोजना हुने रिट्रिट स्वरूप ल्याइिएको यो पहलले सहकार्य र सम्बन्धलाई सम्मेलन हलमा मात्र सीमित नराखी नेपालको जीवित सम्पदासम्म पुर्याउने प्रयास गरेको हो । कार्यक्रम विशेष रूपमा म्यारियटका एमआइसी (मीटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) पार्टनर र सरोकारवालाहरूका लागि तयार पारिएको हो । यसले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै काठमाडौंको सांस्कृतिक सम्पदालाई पर्यटकीय यात्रामार्फत चिनाउने लक्ष्य राखेको आयोजकहरूले जनाएका छन् । काठमाडौं क्रोनिकल्सको मुख्य आकर्षण भनेकै उपत्यकाका तीन प्रमुख सम्पदा स्थलहरू काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथमा आयोजना गरिने 'ट्रेजर हन्ट' हो । सहभागीहरूलाई बीवाइडीका गाडीमार्फत यी स्थलहरूमा पुर्याइनेछ, जहाँ उनीहरूले पजल समाधान गर्ने, टास्क पूरा गर्ने र ऐतिहासिक स्थलका कथालाई जीवन्त तरिकाले अनुभव गर्ने अवसर पाउनेछन् । यो अनुभवले काठमाडौंलाई अन्तर्राष्ट्रिय स्तरमा एमआइसी गन्तव्यका रूपमा प्रस्तुत गर्दै यहाँका व्यवसायिक सम्मेलनलाई सांस्कृतिक पर्यटनसँग जोड्न सकिने प्रमाणित गर्ने आयोजकहरूको विश्वास छ । ऐतिहासिक चौतारोदेखि प्राचीन मन्दिरसम्म, प्रत्येक स्थल सहभागीका लागि रमाइलो गर्ने, ज्ञान साटासाट गर्ने र टिम स्पिरिट जगाउने अनौठो अनुभवमा परिणत हुनेछ । कार्यक्रम म्यारियट काठमाडौंबाट सुरु भई फेयरफिल्ड बाइ म्यारियटमा समापन हुनेछ । समापन समारोहमा विजेता टोलीलाई 'काठमाडौं एक्सपर्ट्स' को उपाधि प्रदान गरिनेछ । एमक्यूब र बीवाइडीबीचको यस सहकार्यले सहभागीलाई केवल मीठा सम्झनाहरू मात्र नभई काठमाडौंलाई सम्पदा र अतिथ्यको सहरका रूपमा चिन्ने नयाँ दृष्टिकोण समेत प्रदान गर्ने अपेक्षा गरिएको छ ।