कमजोर बिक्रीको बाबजुत पनि टेस्लाले साइबरट्रक झन् महँगो बनायो

काठमाडौं । टेस्लाले अमेरिकामा आफ्नो सबैभन्दा महँगो साइबरट्रक पिकअप ट्रक मोडेलको मूल्य १५ हजार डलरले बढाएको छ । टेस्लाले बिक्री अपेक्षाअनुसार नभएको अवस्थामा पनि मूल्य बढाएको हो । पिकअपले टेस्लाले गरेको प्रारम्भिक वाचा पुरा गर्न संघर्ष गरेको छ र हालसम्म बिक्री अपेक्षाभन्दा निकै कम देखिएको छ । अब १ लाख १४ हजार ९९० डलर पर्ने 'साइबरबिस्ट' भेरियन्ट नयाँ 'लक्ज प्याकेज' सहित आउनेछ जसमा सुपरभाइज फूल सेल्फ ड्राइभिङ र सुपरचार्जर नेटवर्कमा निःशुल्क पहुँच समावेश छ । अन्य साइबरट्रक मोडेलहरूको मूल्य भने परिवर्तन भएको छैन । यस मोडेलको मूल्य २०१९ मा सीईओ एलन मस्कले प्रस्तुत गरेको करिब ४० हजार डलरको प्रारम्भिक मूल्यभन्दा निकै माथि पुगेको छ । तर सन् २०२३ को अन्त्यमा सार्वजनिक हुँदा टेस्लाले आधारभूत मोडेलको मूल्य ६० हजार ९९० डलर तोकेको थियो, जुन अघिल्लो लक्ष्यभन्दा ५० प्रतिशत बढी हो । फोर्डको एफ- १५० लाइटनिङ र शेभ्रोलेट सिल्भेराडो ईभी साइबरट्रकका प्रतिस्पर्धी मोडेलहरू हुन् । टेस्लाले स्टकमा रहेका केही साइबरट्रक युनिटमा करिब १० हजार डलरसम्म छुट पनि दिइरहेको छ । मस्कले पहिले टेस्लाले वार्षिक १ लाख २५ हजारभन्दा बढी साइबरट्रक उत्पादन गर्ने क्षमता भएको बताएका थिए र सन् २०२५ मा करिब २ लाख ५० हजारसम्म पुर्‍याउने सम्भावना रहेको बताएका थिए । तर उनले उत्पादन विस्तार चुनौतीपूर्ण हुने चेतावनी पनि दिएका थिए । तर, यो पिकअपले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन । कम्पनीको कुल डेलिभरीको सानो अंश मात्रै यसले ओगटेको छ र बारम्बार हुने रिकल तथा गुणस्तरसम्बन्धी समस्याका कारण माग कमजोर हुँदै गएको छ । हाल टेस्लाले साइबरट्रक डेलिभरीको आँकडा सार्वजनिक नगरे पनि मार्चमा गरिएको रिकलमा ४६ हजार सवारीसाधन समावेश भएको तथ्यले देखाउँछ कि सन् २०२३ नोभेम्बरमा डेलिभरी सुरु भएसँगै २०२५ फेब्रुअरी २७ सम्म बनेका ट्रकहरूको कूल बिक्री वार्षिक उत्पादन क्षमताभन्दा निकै तल छ ।

चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता

काठमाडौं । चीनको प्रख्यात कमर्शियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ । हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो । कमर्शियल सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल आउने भएका छन् । चीनमा करिब दुई दशकदेखि कमर्शियल सवारी उत्पादन गरिरहेको अक्वेल ईभी ९चाइना० लिमिटेड पछिल्लो समय विद्युतीय सवारी उत्पादनलाई प्राथमिकतामा राखेको छ । अक्वेल ईभी चाइना र ईभी गो नेपाल प्रालिबीच नेपालका लागि एक्सक्लुसिभ एग्रिमेन्ट भएको हो । अक्वेलले कमर्शियल सवारीको सम्पूर्ण लाइनअप उत्पादन गर्दै आएको छ । ११ सिट क्षमताको विद्युतीय भ्यानदेखि ठूला विद्युतीय बस तथा विद्युतीय पिकअपसमेत उत्पादन गरिरहेको छ । अक्वेल ब्रान्डका विद्युतीय कमर्शियल सवारी ७० भन्दा बढी देशहरूमा बिक्री हुँदै आइरहेको छ । अब अक्वेलका विद्युतीय कमर्शियल सवारी ईभी गो प्रालिमार्फत नेपालमा उपलब्ध हुने भएका छन् । सुरुमा अक्वेलका ११, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस नेपाल आउने ईभी गो नेपाल प्रालिका प्रबन्ध निर्देशक अनुमकुमार बरालले जानकारी दिए । यी माइक्रोबस नेपाल आएपछि कम्पनीले अक्वेलका १९ सिट, २५ सिट र २६ सिटभन्दा ठूला विद्युतीय बस नेपाल ल्याउने तयारी गरेको छ । कम्पनीले बजारको माग र आवश्यकताअनुसार कार्गो ईभी भ्यान, विद्युतीय पिकअप, मध्यम खालका विद्युतीय ट्रक ल्याउने उल्लेख गरेको छ । अक्वेलको विद्युतीय सवारी उत्पादन प्लान्ट चीनको फुजियान प्रान्तमा रहेको छ भने कम्पनीको केन्द्रीय कार्यालय सान्डोङ प्रान्तमा रहेको छ । अक्वेलको आफ्नै आर एन्ड डी सेन्टर पनि छ, जहाँ सवारी उत्पादनसँग सम्बन्धित अनुसन्धान र विकासको काम हुन्छ । अक्वेल ब्रान्डको मुख्य विशेषताका रूपमा सवारी उत्पादनसँगै स्पेयर पार्ट्समा स्पेसियालिटी रहेको छ । चीनका अन्य विद्युतीय कमर्शियल सवारी उत्पादकको तुलनामा अक्वेलले उत्पादन गरेका स्पेयर पार्ट्स कम मूल्यमा उत्पादन तथा उपलब्ध गराउँदै आएको छ । अक्वेलको आधिकारिक बिक्रेता ईभी गो नेपाल प्रालिले विद्युतीय माइक्रोबस र भ्यान आयातसँगै सर्भिस सेन्टरको निर्माण थालिसकेको छ । सुरुमा काठमाडौंमा सर्भिस सेन्टर निर्माण थालेको कम्पनीले अक्वेलको माइक्रोबस बिक्री हुन थालेसँगै देशका प्रमुख शहरहरूमा सर्भिस सेन्टर विस्तार गर्दै जाने जनाएको छ । त्यस्तै कम्पनीले अक्वेलका विद्युतीय माइक्रोबस र भ्यानका लागि आवश्यक स्पेयर पार्ट्सको पर्याप्त उपलब्धताका लागि काम सुरु गरिसकेको छ ।

नाडा अटो शो २०२५ ले तोड्यो रेकर्ड, ४ दिनमै एक लाखभन्दा बढी अवलोकनकर्ता

काठमाडौं । नाडा अटो शो २०२५ ले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शो सुरु भएको चार दिनमै १ लाख ४ हजार ३४७ दर्शकले अवलोकन गरिसकेका छन् । यसले नेपाली जनतामा अटोमोबाइल प्रविधिप्रतिको चासो र उत्सुकता उच्च रहेको प्रष्ट पारेको छ । यसपटकको अटो शो अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्च राजनीतिक नेतृत्व उपस्थित भएका थिए । यस्तै, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना र नेपाल प्रहरीका उच्च अधिकारी, पूर्व गभर्नर, बैंक तथा वित्तीय संस्थाका शीर्ष व्यक्तिहरू, उद्योगी–व्यवसायी, खेलकुद क्षेत्रका प्रतिनिधि तथा महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सबित्रा भण्डारीसम्मले समेत अटो शोको अवलोकन गरेका छन् । अन्तर्राष्ट्रिय स्तरबाट पनि सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चर्स (सियाम) र अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चर्स एसोसिएशनका प्रतिनिधिहरूले अवलोकन गरेका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षले यस सफलतालाई नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउनको लागि नयाँ प्रेरणा भएको बताए । नाडाले यो अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव बनेको जनाएको छ ।