काठमाडौं । ग्रेट वाल मोटरको विद्युतीय गाडी ओरा-०५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक भएको छ । सोमबार नेपालका लागि जीडब्लूएम गाडीको आधिकारिक विक्रेता भिजी इम्पेक्स प्रा.लिले एक कार्यक्रमका बीच ओरा-०५ गाडीलाई बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार नेपाली सडक अनुकूल डिजाइन गरिएको यस ओरा-०५ मा सुरक्षा र क्षमतालाई उच्च प्राथमिकता दिइएको छ ।
गाडीमा आगो र पानीबाट पूर्ण सुरक्षित प्रमाणित भएको अत्याधुनिक ड्र्यागन आर्मर ब्याट्री प्रयोग गरिएको छ ।
जसले एक पटकको फुल चार्जमा ५२० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । नेपाली बाटोका लागि उपयुक्त २०० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यस एसयूभीमा सुरक्षाका लागि ७ वटा एयरब्याग र २० भन्दा बढी इन्टेलिजेन्ट ड्राइभर असिस्ट फिचरहरू समावेश रहेको कम्पनीले दाबी गरेको छ ।
यसको इन्टेरियरलाई विलासी बनाउन ३६० डिग्री क्यामेरा सिस्टम, सनरुफ र आकर्षक एम्बिएन्ट लाइट जस्ता लक्जरी सुविधाहरू राखिएका छन् ।
कम्पनीले नेपाली बजारमा यो गाडी दुईवटा भेरियन्टमा उपलब्ध रहेको जनाएको छ । जसमा मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार र हाई भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
कार्यक्रममा भिडियो सन्देशमार्फत शुभकामना दिँदै जीडब्लूएम इन्टरनेशनलका अध्यक्ष एन्डीले ओरा-०५ आधुनिक र प्रिमियम जीवनशैली चाहने नेपाली ग्राहकहरूका लागि उत्कृष्ट विकल्प हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, जीडब्लूएमका प्रबन्धक टोबीले नेपालको अटोमोबाइल बजारलाई ग्रिन ट्रान्सफर्मेसन (हरित रूपान्तरण) तर्फ लैजान कम्पनी प्रतिबद्ध रहेको बताए । उनले हावल, ट्याङ्क र ओरा जस्ता ब्रान्डले नेपाली ग्राहकको मन जितिरहेको दाबी गरे ।
भिजी इम्पेक्सका प्रबन्धक प्रतीक जालानले ओरा-०३ को सफलतापछि नयाँ मोडलले बजारमा नयाँ उचाइ लिने दाबी गरे । उनले कम्पनीले बिक्रीपछिको सेवामा विशेष जोड दिने प्रतिबद्धता जनाए ।
यो इलेक्ट्रिक एसयूभी अब देशभरका जीडब्लूएम सोरुमहरूमा बुकिङ र अवलोकनका लागि उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।