गोरखामा यामाहाको नयाँ थ्रीएस शोरुम उद्घाटन, नयाँ एफजेट र एमटी भेरियन्ट सार्वजनिक

काठमाडौं । यामाहा नेपालले गोरखा–०६ मा अवस्थित नयाँ थ्रीएस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) चन्दा सप्लायर्सको औपचारिक शुभारम्भ गरेको छ । नयाँ शो–रुमको उद्घाटन प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख मसलीमाया थोकर र प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा विशेष अतिथिका रूपमा एमएडब्ल्यूराइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दीपक कुमार अग्रवाल पनि उपस्थित थिए । अत्याधुनिक पूर्वाधार र अनुभवी टोलीसहित चन्दा सप्लायर्सले एकै छानामुनि बिक्री परामर्श, भरपर्दो बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पार्ट्स उपलब्ध गराउने सुविधा प्रदान गरेको छ । उद्घाटन समारोहकै अवसरमा यामाहा नेपालले आफ्ना लोकप्रिय एफजेट र एमटी श्रृंखलाका नयाँ भेरियन्ट सार्वजनिक गर्‍यो । यी मोडलहरूले ताजा डिजाइन र आधुनिक फिचरमार्फत नेपाली राइडरहरूलाई लक्षित गर्दै यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै एमएडब्ल्यूराइड्सका कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले गोरखामा नयाँ शो–रुम सुरु हुनु यामाहाका उच्च प्रदर्शनयुक्त उत्पादन र उत्कृष्ट सेवालाई ग्राहकसम्म अझ नजिक ल्याउने महत्त्वपूर्ण कदम भएको बताए । उनले नयाँ मोडलहरूले गोरखा तथा आसपासका ग्राहकलाई स्टाइल, प्रदर्शन र भरोसाको संयोजनसहित थप विकल्प उपलब्ध गराउने उल्लेख गरे । त्यसैगरी, चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दन बाबु खत्रीले यामाहा दुईपांग्रे सवारीसाधन बिक्री मात्र नभई दीर्घकालीन विश्वास कायम गर्ने उद्देश्यसहित भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । यस नयाँ शोरुम र नयाँ एफजेट तथा एमटी भेरियन्टको लन्चसँगै यामाहा नेपालले आफ्नो फैलिँदो डिलर सञ्जाललाई अझ सबल बनाएको छ । अब गोरखा तथा आसपासका क्षेत्रका ग्राहकहरूले यामाहाका सम्पूर्ण मोटरसाइकल, स्कुटर, विज्ञ सर्भिस र स्पेयर पार्ट्स सहजै पाउनेछन् । एमएडब्ल्यूराइड्स अन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्तिप्रतिको प्रतिबद्धताका कारण नेपालको सबैभन्दा विश्वासिलो दुईपांग्रे ब्रान्डको रुपमा अग्रस्थान कायम राख्दै आएको जनाएको छ ।

बीवाईडीको समर्थनमा ‘काठमाडौं क्रोनिकल्स’ सम्पन्न

काठमाडौं । एमक्यूबले बीवाईडीसँगको साझेदारीमा आयोजना गरेको ‘काठमाडौं क्रोनिकल्स’ कार्यक्रम नक्सालस्थित मेरिएट काठमाडौँमा सम्पन्न भएको छ । संस्कृति, सहकार्य र अन्वेषणलाई जीवन्त उत्सवका रूपमा प्रस्तुत गरिएको यस कार्यक्रमले सहभागीहरूलाई काठमाडौं उपत्यकाको ऐतिहासिक सम्पदामाझ अनुभव दिलाएको छ । मेरिएटको मआइसीइ ग्राहकहरूलाई लक्षित गरी डिजाइन गरिएको यस कार्यक्रममा सहभागीहरूले बीवाईडी कारमार्फत दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथलगायत सम्पदास्थलहरूको भ्रमण गरे । ट्रेजर हन्ट शैलीमा तयार गरिएको यस यात्रामा टोलीहरूले रिडल हल गर्ने, सांस्कृतिक चुनौती पूरा गर्ने र काठमाडौंको इतिहाससँग जोडिएका कथाहरू प्रत्यक्ष अनुभव गर्ने अवसर पाए । एमक्यूबले परम्परागत बैठकको दायराबाट बाहिर निकाल्दै साहसिकता, संस्कृति र सहकार्यलाई जोड्ने नविन प्रयास गरेको छ । कार्यक्रममा सहभागीहरूले नेपाललाई केवल बैठक स्थल मात्र नभई व्यापार, संस्कृति र अन्वेषणको गन्तव्यका रूपमा पनि चिन्ने अवसर पाएका थिए । कार्यक्रमको समापन फेयरफिल्ड बाइ मेरिएट काठमाडौंमा भव्य उत्सव र सम्मान समारोहसँगै भयो । विजेता टोलीलाई ‘काठमाडौं एक्सपर्ट्स’ को उपाधि प्रदान गरिएको थियो । मेरिएट इन्टरनेशनलका उत्तर भारत, नेपाल र भुटानका लागि मार्केट भाइस प्रेसिडेन्ट अरुण कुमारले भने, 'काठमाडौं क्रोनिकल्स ले शहरको सम्पदा र संस्कृतिलाई बैठकभन्दा बेग्लै, एकदमै अर्थपूर्ण अनुभवका रूपमा प्रस्तुत गर्यो । हस्पिटालिटीको वास्तविक अर्थ नै अर्थपूर्ण अनुभव सिर्जना गर्नु हो भन्नेमा हाम्रो विश्वासलाई यस कार्यक्रमले मजबुत बनाएको छ ।' एमक्यूब, बीवाईडी र मेरिएटबीचको सहकार्यले इनोभेसन, हस्पिटालिटी र सम्पदालाई एउटै अनुभवमा जोड्दै मआइसीइ उद्योगमा नयाँ आयाम प्रस्तुत गरेको आयोजकले जनाएको छ ।

नाडा अब महासंघ बन्ने, २४ गते बोलायो भेला

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले संस्थालाई विधानत: महासंघमा रूपान्तरण गर्ने एजेन्डासहित विशेष साधारण सभा आह्वान गरेको छ । गत भदौ ८ गते बसेको नाडाको २१औं केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षापछि यस ऐतिहासिक निर्णयमा पुग्दै भदौ २४ गते, मंगलबार बिहान ११ बजे ललितपुरको झम्सिखेलस्थित द प्लाजा मा विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो । नाडाका अनुसार यो निर्णयले नाडालाई वास्तविक अर्थमा राष्ट्रिय स्तरको संस्था बनाउनेछ र सदस्यहरूको हकहितलाई अझ प्रभावकारी ढंगले संरक्षण गर्नेछ ।