विकासन्युज

सबैको लघुवित्तले मन्दिरमा बनाइदियो प्रतिक्षालय

काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाले लमजुङकाे उदिपुर कालिकामाई मन्दिर परिसरमा प्रतिक्षालय निर्माण गरेकाे छ । लघुवित्तले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा प्रतिक्षालय निर्माण गरेकाे हाे । कार्यक्रममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले उदिपुर कालिकामाई मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीलाई चेक पनि हस्तारण गरेका थिए । त्यसैगरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीले संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेललाई कदर पत्र प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन विष्णु प्रसाद अधिकारीले गरेका थिए । सबैको लघुवित्त ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ । संस्थाले २०७९ आषाढ २४ गतेसम्ममा ७४ हजार ७५५ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । यस्तै संस्थाकाे २०७९ आषाढ २४ गतेसम्ममा लगानीमा रहेको कर्जा ४ अर्ब ४१ करोड रहेको छ भने ग्राहक सदस्यहरुको १ अर्ब ३२ करोड बचत परिचालन गरेको छ ।

मूल्यवृद्धि ८.५६ प्रतिशत पुग्यो, विदेशी मुद्रा सञ्चितिमा निरन्तर दबाब

काठमाडौं । जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ । यस्तै, २०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११७६ अर्ब ८४ करोड कायम भएको छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु आयात २७।५ प्रतिशतले वृद्धि भई १७६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो ।

चीनका बैंक संकटमा पर्दा निक्षेपकर्ताको बिजोक, ‘मेरो बचत फिर्ता गर’ भन्दै हजारौं सर्वसाधारण सडकमा

एजेन्सी । चीनमा निक्षेप फिर्ताको माग गर्दै सर्वसाधारणहरु लामो समयदेखि सडकमा उत्रिएका छन् । आफुहरूले बैंकमा निक्षेपका रूपमा राखेको रकम फिर्ता पाउनु पर्ने माग गर्दै उनीहरू सडकमा उत्रिएका छन् । आइतबार मात्रै हजारौं निक्षेपकर्ता चीनको केन्द्रिय बैंक ‘पिपुल्स बैंक अफ चाइना’को अगाडि प्रदर्शन गरेका थिए । उनीहरुले ‘मेरो बचत फिर्ता गर’ भन्दै विरोध गरेका हुन् । उनीहरुले विशेष गरेर चीनको हेनान प्रान्तमा ४ वटा साना ग्रामिण बैंकहरू विरुद्द विरोध गर्दै आएका छन् । हेनान प्रान्तका युझाउ सिनमिन शेङ भिलेज बैंक, शाङ्काई हुइमिन भिलेज बैंक, झेचेङ हुआङहुई कम्युनिटी बैंक र काइफेङ न्यू ओरिएन्टल ग्रामिण बैंकले निक्षेप फिर्ता नदिएको उल्लेख छ । साना चार वटा ग्रामिण बैंकहरूले निक्षेप अरबौं रकम निक्षेप फिर्ता नगरेको भन्दै उनीहरू तीन महिनादेखि विरोधमा रहेको बताइएको छ । पछिल्लो समय चीनका साना ग्रामिण बैंकहरु समस्यामा भएको कारणले निक्षेप फिर्ता गर्न नसकेको अन्तर्राष्ट्रि सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमका अनुसार १० लाख निक्षेपकर्ताहरूले आफ्नो निक्षेप फिर्ता पाउन सकेका छैनन् । चार वटा बैंकहरुले अर्बौं मिलियन युआन फिर्ता गर्न बाँकी छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण बैंकहरु समस्यामा पर्दा निक्षेप नै फिर्ता गर्न नसकेको उल्लेख अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेका हुन् । केही बैंकहरूले यही बिचमै अनाधिकृत रूपमा र उच्च ब्याजदरमा बचतका स्कीम ल्याउँदा अहिले बचत फिर्ता गर्न नसकेको पनि बुझिएको छ । बैंकहरुले अधिकांश लगानी घरजग्गामा गर्दा र कोभिडको समयमा घरजग्गा व्यवसाय संकटमा पर्दा बैंकहरुलाई समस्या सिर्जना भएको उल्लेख छ । अहिले चिनीयाँ बैंकहरुको खराब कर्जाको अनुपात बढेको बताइएको छ । ती चारवटै बैंकहरुको सेयरधनी हेनान न्यू फर्च्यून समूह हो । सो समूहले निक्षेपकर्ताको रकम फिर्ता नदिनुको कारण पटक–पटक परिवर्तन गर्दै आएको छ । ती बैंकहरुले कहिले बैंकलाई प्रणालीमा मर्मतसम्भार गर्नु परेको, कहिले ठगी भएको बताउँदै आएको छ भने कहिले आर्थिक संकटले निक्षेप फिर्ता दिन नसकेको बताउँदै आएको छ । पछिल्लो समय तरलताको अभावले नेपाली बैंकहरु पनि समस्यामा छन् । नेपाली बैंकहरुले पनि निक्षेप तान्नतकै लागि उच्च ब्याजदरमा निक्षेपका बिभिन्न स्कीम ल्याइरहेका छन् ।

अहिले देश बजेट विहिन छ, निश्कर्ष नआउँदासम्म कार्यान्वयन गर्नु हुँदैन : पूर्व अर्थमन्त्री पौडेल

काठमाडाैं । पुर्व प्रधानमन्त्री र उपाध्यक्ष विष्णु पाैडेलले यतिबेला मुलुक बजेट बिहिन अवस्थामा पुगेको बताएका छन् । साेमबार काठमाडाैंमा आयाजित कार्यक्रममा बाेल्दै पाैडेलले यस्ताे बताएका हुन् । उनले बजेटको निर्माण प्रक्रियामा नै प्रश्न उठेर छानबिन कार्यदल बनेको अवस्थामा बजेट कसरी कार्यान्वयन हुन्छ भन्दै प्रश्न गरे । ‘हो सदनले नै बजेट पास गरेको हो तर बजेट बनाउने प्रक्रियामा जे जस्ता अवैधानिक पात्रको सहभागिता भयो, अपराधकर्म भयो त्यसको कार्यदल नै स्वयं सदनले बनाएको छ । त्यसैले त्यो कार्यदलको निश्कर्ष नआउने बेलासम्म बजेट कार्यान्वयन हुनसक्दैन,’ उनले भने ।

गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू

तम्घास । गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू गरिएको छ । जिल्लाको धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार गाउँपालिका एवं रेसुङ्गा र मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेका हुन् । धुर्कोट गाउँपालिकाले शैक्षिकसत्र २०७७ देखि स्थानीय पाठ्यक्रम लागू गरेको थियो । कक्षा ५ सम्म लागू गरिएको स्थानीय पाठ्यक्रम यसै शैक्षिकसत्रदेखि कक्षा ८ सम्म सञ्चालन गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख दामोदर घिमिरेले जानकारी दिए । यो वर्षदेखि कक्षा ८ सम्म नै स्थानीय पाठ्यक्रम लागू गर्ने गाउँपालिकाको तयारी छ । ‘पाठ्यक्रम तयार गरी यसै वर्षबाट लागू हुन्छ’, उनले भने, ‘पाठ्यपुस्तक अर्को वर्ष आइपुग्छ ।’ पाठ्यक्रममा धुर्कोटका धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थल, भूगोल, आर्थिक पक्षलगायत विषय समेटिएको गाउँपालिकाले जनाएको छ । गुल्मी दरबार गाउँपालिकामा अघिल्लो शैक्षिकसत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यक्रम लागू गरिएको थियो । पाठ्यक्रम कक्षा ३ सम्मका लागि तयार भए पनि पाठ्यपुस्तक लेखनको काम बाँकी रहेकाले लागू नगरिएको शिक्षा शाखा प्रमुख नरेन्द्रप्रसाद शर्माले जानकारी दिए । ‘कक्षा दुई र तीनको पाठ्यपुस्तक लेखन कार्य चल्दैछ, यही वर्षदेखि कक्षा २ मा लागू हुन्छु, उनले भने, ‘संस्कृति, आर्थिक स्थिति, स्थानीय सीपलगायत विषयलाई प्राथमिकतामा राखेका छौँ ।” गुल्मी दरबारमा दुई वटा निजी र २९ वटा सामुदायिक विद्यालय छन् । पुस्तकका लागि छपाइ खर्च रु डेढ लाख र लेखन खर्च रु तीन लाख लागेको शाखा प्रमुख शर्माले बताए । कालीगण्डकी गाउँपालिकाले गत वर्षदेखि नै कक्षा १ र २ मा स्थानीय पाठ्यक्रम लागू गरेको थियो । यो वर्ष कक्षा ३, ४, ६ र ७ मा लागू गर्ने शिक्षा शाखा प्रमुख अग्निधर लोहनीले बताए । पाठ्यक्रममा कालीगण्डकीको परिचय, विपद्सम्बन्धी योजना, विपद् न्यूनीकरणमा गाउँपालिकाको योजना, दैवी प्रकोपलगायत विषय समेटिएको छ । पुस्तकका लागि गत वर्ष छपाइ खर्च रु दुई लाख ५२ हजार र बैठक, खाजा खर्च एवं लेखाइ खर्चमा रु एक लाख खर्च भएको उहाँले जानकारी दिए । अर्को वर्ष कक्षा ५ र ८ मा पनि स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी छ । कालीगण्डकीमा रहेका दुई वटा निजी विद्यालयमा पनि पाठ्यक्रम लागू गरिएको छ । सबै विद्यार्र्थीले पाठ्यपुस्तक निःशुल्करुपमा प्राप्त गरेका छन् । रेसुङ्गा नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम कक्षा ८ सम्म लागू गरेको छ । कूल २५० थान पुस्तक छापेर विद्यालयलाई प्रदान गरिएको शिक्षा शाखा प्रमुख विष्णु ज्ञवालीले जानकारी दिए । पाठ्यक्रम १०० पूर्णाङ्कको रहेको छ । यसका लागि कूल रु तीन लाख ५० हजार खर्च भएको उनको भनाइ थियोे । दुई पालिकामा यसै वर्षबाट लागू हुने मुसिकोट नगरपालिकामा पाठ्यक्रम निर्माणको अन्तिम चरणमा छ । यसै वर्ष कक्षा ५ सम्म लागू गर्ने आगामी वर्ष कक्षा ८ सम्म लागू गर्ने तयारी रहेको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिए । साउनको अन्तिमसम्म विद्यालयको पहुँचमा पाठ्यक्रम पुगिसक्ने उनले बताए । सत्यवती गाउँपालिकामा पाठ्यक्रम बनेर पनि पाठ्यपुस्तक लेखनको काम हुँदैछ । पाठ्यक्रम लेखनको काम यही आर्थिक वर्षमै सकिने शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । कूल १० लाखको लागतमा सत्यवतीले कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्दैछ । पाठ्यक्रममा स्थानीय संस्कृति, स्थानीय सीप, कला, धर्म, भाषा, भूगोल अर्थात् समग्र पालिकाको परिचय समेटिएको छ । पुस्तक विद्यार्थीका लागि निःशुल्क प्रदान गर्ने योजना रहेको छ । रासस

व्यवसायको नयाँ मोडल ‘आकाशमा पदयात्रा’

काठमाडौं । उत्प्रेरकहरुले भन्छन्, ‘सफलताको लागि नयाँ काम गर्नुपर्छ ।’ नेपालको सन्दर्भमा नयाँ प्रकृतिको व्यवसाय थालेको छ वन्डर्स नेपाल प्रालिले । स्काईवाक अर्थात आकाशमा पदयात्रा । इन्जिनिरिङ पढेका, देशविदेश घुमेका, फरक काम गर्न रुचाउने प्रवद्र्धकहरुको प्रयासमा ‘आकाशमा पदयात्रा’ गराउने व्यवसाय शुरु भएको छ । त्यो पनि एकै पटक तीन ठाउँमा-कमलादी, भेडेटार र कन्याममा । प्रवद्र्धक कम्पनी फरक छन्, ठाउँ फरक छन्, संरचना फरक छन्, तर व्यवसायको प्रकृति एउटै हो । भूईबाट धेरै माथि चढ्ने र पूर्ण पारदर्शी शीशाको संरचनामा पदयात्रा गर्ने । हिड्दा आकाशमा हिँडेको अनुभूति हुन्छ । माथि अविराम आकाश देखिन्छ । दायाबाँयाँ चारैतिर खुला र दुर दृष्य । तल जमिन । कही बगैचा । कहि पार्किङ । कही जंगल । कही चिया बगान । कमलादीको संरचनामा लिफ्ट चढेर सिधै माथि पुगिन्छ । टपको शीशामा हिड्दा ७८ मिटर तलको बगैचा, पार्किङ, बजार देखिन्छ । नजिकका सडकमा शान्तसँग सवारी वगिरहेको देखिन्छ । काठमाडौं उपत्याकाको पुरै दृष्यावलोकन गर्न सकिन्छ । भेडेटारमा भ्यूटावर चढेर धरान तर्फको भिर माथिको आकाशमा पदयात्रा शुरु हुन्छ । पैताला अडिने शीशा मुनि ठूलो भीर, जंगल । अलि टाडा धरान । वेगमा आएको हावाको चाप, ध्वानी । आँखाको तेजले भ्यासम्मको दुरदृष्य । इलामको कन्याममा अलि फरक छ । टावर पनि सानो छ । हल्का उकालो हुँदै टावर चढिन्छ । इलामको चिया बगान आकाशबाट नियाल्न सकिन्छ । यसका प्रवद्र्धक सबै महिला हुन् । पढ्दा लाग्ला कल्पनाको खेती गरे जस्तो । साहित्यको पाना पढे जस्तो । तर प्रवद्र्धकले तिथिमिति तोकिसके आकाश पदयात्रा सञ्चालनमा ल्याउने बारे । भ्याएसम्म दशैंको घटस्थापनाको दिन व्यवसाय शुभारम्भ गर्ने कम्पनीको योजना छ । ढिलै भएपनि सन् २०२३ को जनावरीसम्ममा उद्घाटन गरिने स्काईवाक टावरका सञ्चालक तथा इन्जिनियर संजिव रोक्काले बताए । सहासिक पर्यटकको लागि नयाँ गन्तव्य, मनोरञ्जनको नयाँ क्षेत्र उघार्न लागेको रोक्का बताउँछन् । वन्डर्स नेपाल प्रालिले कमलादीमा १३ रोपनी जग्गा २३ वर्षसम्मको लागि लिजमा लिएर स्काई वाक टावर बनाउँदैछ । यो टावरको निर्माण कार्य २०७७ सालबाट सुरु गरिएका थियो । करिब साढे २ वर्षको अवधिमा ९० प्रतिशत काम सम्पन्न भइसकेको रोक्काले जानकारी दिए । फलाम नै फलामले बनेको टावर ७८ मिटर अग्लो छ । र, जग कंक्रिटले बनेको छ । ‘भवन विभागको मापदण्ड अनुसार यसको सम्पूर्ण संरचना तयार पारेका छौं, यस भवनमा चढ्दा कुनै असुरक्षित हुन्छ कि भनेर कुनै संङ्का गर्नु पर्दैन, यो टावर सत प्रतिशत सुरक्षित छ,’ उनले भने । यो टावर २६ तलाको हुन्छ । २६ औ तला स्काईवाक र सिटी भ्यूको लागि बन्दैछ । टावरको माथि सीमा हिँड्ने इस्पेश २ हजार स्कवायर फिट हुन्छ । वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ हुन्छ । टावरको २ साइडमा लिफ्ट  हुन्छ । लिफ्टबाट एकै चोटिमा ४८ जना तलमाथि गर्न सक्नेछन् । ७८ मिटर अग्लो टावरको माथि लिफ्टबाट २८ सेकेन्डमा पुग्न सकिन्छ । स्काईवाक एरियामा एकै पटक ५ सय जनासम्म अट्ने बताइएको छ । उक्त टावर माथि लिफ्ट मात्र नभई भर्याङबाट पनि चढ्न तथा ओर्लन सकिने सुविधा छ । स्वास्थ्य लाभको हिसावले पर्यटकलाई भर्याङबाट यात्रा गर्न प्रोत्साहित गर्न झर्याङबाट हिड्दा आनन्दित हुने म्यूजिक सिस्टम राखिनेछ । साथै, भर्याङ प्रयोग गर्नेलाई टिकटमा १०० रुपैयाँ छुट दिने सोच प्रवद्र्धकले बनाएका छन् । ‘टावरको माथि चढेर हेर्नुको मज्जा बेग्लै छ, यसको जति वर्णन गरेर सम्भव छैन, माथिबाट काठमाडौंको सबै ठाउँ देखिन्छ, रातको समयमा झलमल्ल काठमाडौं देख्नुको आनन्द बेग्लै छ, अग्लो ठाउँमा पुगेर शीशामाथि हिँड्नु आफैमा अनौंठो कुरा हो, त्यसैले जब हामीले सिसामाथि टेकेर तल हेरिन्छ तब फरक अनुभूति मिल्छ,’ उनले भने । टावरको २४ र २५ तलामा रेस्टुरेन्ट रहनेछन् । सो रेस्टुरेन्ट लिजमा दिने हो कि आफै चलाउने भन्ने विषयमा प्रवद्र्धहरुबीच आन्तरिक छलफल भइरहेको उनले बताए । भूई तलको साइटमा गार्डेन, सपिङ सेन्टर, रेष्टुराँ हुनेछन् । त्यस क्षेत्रमा ७० वटा गाडी र ३ सय वटा मोटरसाइकल पार्किङ गर्न ठाउँ हुन्छ । २ अर्ब लगानी निर्माणकर्ता वन्डर्स नेपाल प्रालिले यसमा करिब २ अर्ब रुपैयाँ लगानी हुने जनाएको छ । यसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । छोटो अवधिमा नै लगानी उठाउन सक्ने प्रवद्र्धकहरुको भनाई छ । टिकट प्रतिव्यक्ति १००० रुपैयाँ तोक्ने सोच बनेको तर अन्तिम निर्णय हुन बाँकी रहेको उनले बताए । वर्षमा २/३ लाख मानिस यस टावरमा स्काई वाक गर्न आउने अनुमान निर्माताहरुको छ । त्यसबाहेक टावरको वाहिरी क्षेत्रमा दुई तलाको भवन बन्दैछ । जहाँ दर्जनौ सटरहरु हुनेछन् । ‘सटरहरु भाडामा लगाउँछौं, रेष्टुरेन्टहरु पनि लिजमा दिन्छौं होला । यो प्रजेक्टको लगानी छिटै उठ्ने हाम्रो विश्वास छ’ एक प्रवद्र्धकले भने । ‘राष्ट्रको गौरवशाली आयोजनामध्ये यो पनि एक हो, जसले मुलुकको नाम र नेपालीको परिचय फराकिलो बनाउने कुरामा हामी विश्वस्त पनि उत्तिकै छौं,’ उनले भने । रोक्काका अनुसार जग्गा विनोद विक्रम सिंहसँग लिजमा लिएको हो । लिज अवधि सकिएपछि सबै संरचना जग्गाधनीलाई छोडिदिनुपर्छ ।

तरकारी जोन कार्यक्रमबाट नवलपुरका किसान लाभान्वित

कावासोती । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासीको नवलपुरपूर्वमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका किसान लाभान्वित भएका छन् । नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटी उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । कावासोती नगरपालिका–४, ९, १० १२, १५ , १६ र १७ , मध्यविन्दु नगरपालिका–१, २, ३, ६, ९ र हुप्सेकोट गाउँपालिका– १, २ ,३ ४ वटा वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रम आर्थिक वर्ष २०७६/७७ देखि सुरु भएको हो । परियोजना सुरु हुनुपूर्व यी क्षेत्रमा तरकारी खेती ५१२ हेक्टर जमिनमा गरिने गरिएकामा हाल क्षेत्रफल विस्तार भएर ६६० हेक्टर पुगेको छ । तीन स्थानीय तहका ९९ समूह, छ सहकारी र ५२ उद्यमी गरेर १५७ तरकारी जोनमा आवद्ध छन् भने दुई हजार ३५५ घरधुरी सम्लग्न छन् । नवलपुर कृषिमा अब्बल मानिन्छ । यहाँ व्यावसायिकरूपले तरकारी खेती गर्ने किसानको सङ्ख्या बाक्लै छ । परियोजना सुरु हुनु अघि नै धेरै किसान तरकारी खेतीमा लागेकामा परियोजना लागू भएपछि किसान थप हौसिएका छन् । धेरै नयाँ किसानसमेत तरकारी खेतीमा आकर्षित भएका छन् । परियोजनाबाट प्राप्त सहयोग र परामर्शले तरकारी खेती गर्ने किसानलाई ठूलो राहत मिलेको छ । जोनमा आबद्ध हुप्सेकोट १ जुकेपानीको लेकबेँसी किसान समूहका किसान शङ्कर थापाले उक्त परियोजना लागू भएपछि मलचिङ, स्प्रे टङ्की, जोख्ने काँटालगायत सामग्री पाउदा किसान निकै उत्साहित भएको बताए । ‘परियोजनाबारे जानकारी नहुँदा पालिकामा मात्रै निर्भर रहनुपरेको र पालिकाबाट सानो सहयोग मत्र हुने गरेकामा परियोजनामा आवद्ध भएपछि किसानलाई आवश्यक सामग्री अनुदानमा पाउँदा लागत घटेको छ,’ उनले जोड दिए, ‘परियोजनाले विभिन्न सहयोग गरिरहेको छ, प्राविधिक ज्ञानसमेत प्रदान गर्ने गरेको छ, यसले धेरै सहज बनाउनाका साथै पेशागत बनाउन उत्पे्ररित पनि गरेको छ ।’ जुकेपानीकै सुनौलो महिला किसान समूहकी अध्यक्ष कृष्णमाया राना मगरले तरकारी जोन कार्यक्रमबाट किसानलाई धेरै कुरामा सहज भएको बताए । विशेष गरेर कृषि सामग्रीमा ५० प्रतिशत अनुदान कार्यक्रमले किसान बढी लाभान्वित भएको उनको भनाइ थियो। निर्वाहमुखी खेती गरिँदै आएकामा अहिले व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएको उनको भनाइ थियो । हुप्सेकोटको जुकेपानी क्षेत्रमा अधिकांश किसान काँक्राखेती गर्छन् । जुकेपानीबाट मात्रै एकै याममा रु १० करोड बराबरको काँक्रा बिक्री गरिएको छ । त्यसबाहेक गोलभेडा, आलु, बोडी, रामतोरिया, करेलालगायत खेती गर्ने गरिएको छ । यस्तै कावासोती १७ का किसान जोगबहादुर महतोले पनि परियोजना किसानका लागि निकै फलदायी भएको बताए । परियोजनाबाट प्राप्त बीउबिजन राम्रो हुने भएकाले उत्पादन पनि राम्रो भएको र अनुदानमा सामग्री पाउँदा किसानलाई धेरै राहत मिलेको उनको भनाइ थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपरासी पूर्वको कार्यालयका कर्मचारी किसान समस्या समाधान गर्न लागिपरिरहेका छन् । कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले परियोजना लागू भएका तीन पालिकाका १६ वटा वडामा तरकारी जोनअन्तर्गत कार्यालयले गर्ने सहयोगमा क्षेत्र विस्तारका लागि बीउबिजन उपलब्ध गराउनाका साथै उत्पादन सामग्रीमा ५० प्रतिशत र सिँचाइमा ८५ प्रतिशतसम्म अनुदान दिइएको जानकारी दिए । तरकारी खेतीले छोटो समयमा उत्पादन दिने र आम्दानी गर्न सकिने पेशा भएका कारण अहिले युवासमेत तरकारी खेतीतर्फ आकर्षित भएका र कतिपय वैदेशिक रोजगारीमा जाने युवालाई गाउँमै रोक्न सफल भएकोसमेत उनले बताए । उक्त परियोजनाअन्तर्गत जिल्लामा विशेष गरेर काँक्रा र गोलभेडा खेतीलाई प्राथमिकता दिइएको छ । त्यसबाहेक आलु, बोडी, रामतोरिया करेला, घिरौँला, खुर्सानीलगायत तरकारी खेती यहाँ गरिन्छ । परियोजना नहुँदा किसानले उत्पादन सामग्री सबै आफ्नै खर्चमा किन्नुपर्दा लागत बढी लाग्ने गरेको थियो । अहिले अनुदानमा सामग्री पाएपछि भने उत्पादन लागत घट्दा नाफा बढी भएको सम्बद्ध किसानले बताए । रासस

एकैदिन ३.८९ प्रतिशतले परिसूचक घट्दा कारोबारमा देखियो सुधार

काठमाडौं । साताको पहिलो दिनको सेयर बजार ३.८९ प्रतिशतले घटेको छ । कारोबार खुलेदेखि निरन्तर घटेको बजारमा नेप्से परिसूचक अन्तिममा ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा झरेको हो । बजारमा परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । गत शुक्रबार १ अर्ब १६ करोडमा सीमित भएको कारोबार आइतबार भने २ अर्ब ३२ करोड रुपैयाँ बराबरको भएको छ । जुन एकैदिन १ अर्ब १५ करोड रुपैयाँले बढी हो । २२७ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ११ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने एकैदिन १५२ रुपैयाँले घटेर ३२५५ रुपैयाँमा झरेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा ८ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा टप गेनरको शीर्ष स्थानमा सोल्टी होटल्ससहित अधिकांश ऋणपत्रहरु रहेका छन् । बैंक अफ काठमाण्डू, गुडविल फाइनान्स र सानिमा बैंकको विभिन्न २ प्रकारको ऋणपत्रको भाउ बढेको छ । त्यस्तै, मेगा म्युचुअल फण्डको बढेर ७.७९ रुपैयाँ पुगेको छ । आइतबार टप लुजरको शीर्ष स्थानमा दुई लुघवित्त रहेका छन् । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले घटेर प्रतिकित्ता ६७८.६० रुपैयाँमा झरेको छ । त्यस्तै, किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.१५ प्रतिशतले घटेर प्रतिकित्ता ७९२.४० रुपैयाँमा झरेको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।