विकासन्युज

निक्षेपभन्दा कर्जाको वृद्धिदर दोब्बर बढी, घरजग्गामा मात्रै ६६ प्रतिशत ऋण प्रवाह

काठमाडौं । पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेपभन्दा कर्जा प्रवाहको वृद्धिदर दोब्बरभन्दा बढी देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ जेठ मसान्तसम्ममा निक्षेप ५.७ प्रतिशतले बढ्दा कर्जा प्रवाह भने १३.५ प्रतिशतले बढेको छ । यद्पि यो वृद्धिदर भने अघिल्लो वर्ष (२०७८ जेठसम्म) को तुलनामा कम हो । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप १५.३ प्रतिशतले बढेको हो । त्यस्तै, अघिल्लो वर्ष निजी क्षेत्रमा प्रवाह हुने कर्जा भने २४.९ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.८ प्रतिशत, २७.१ प्रतिशत र ५७.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३४.३ प्रतिशत र ४८.५ प्रतिशत रहेको थियो । त्यस्तै, २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.५७ प्रतिशत रहेको छ । २०७८ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४१.२२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २९ प्रतिशतले बढेको छ । २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घर जग्गाको धितोमा प्रवाह भएको छ । त्यस्तै, १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । २०७८ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो ।

बढ्यो सङ्क्रमण, १६८ सङ्क्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । आज १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हिजो असार २६ गते १२१ मा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार तीन हजार २० परीक्षण गर्दा आज सो सङ्ख्यामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७७० रहेको छ । सो अवधिमा ३७ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७२४ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् । काठमाडौँमा २०० बढी सक्रिय सङ्क्रमित छन् । होम आइसोलेशनमा ७४९, संस्थागत आइसोलेशनमा २१ रहेका छन् । सघन उपचार कक्ष (आइसियु) मा १२ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।

एनएमबि र फ्लाईवायरबीच सम्झौता, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाईनबाटै

काठमाडौं । एनएमबि बैंकले फ्लाईवायर कर्पोरेशनसँग द्विपक्षीय सम्झाैता गरेको छ । बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीको लागि फ्लाईवायर सम्झाैता गरेकाे हाे । यो सम्झाैतासँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका १७ सयभन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागी नेपालको एकमात्र बैंक भएको छ । नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाईवायर मार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागी कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सकिनेछ । अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरुका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त रहेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताउँछन् । उनले यस सुम्झाैताले ग्राहकलाई सजिलाे बनाइदने विश्वास व्यक्त गरे ।  

एक वर्षमा भित्रियो ९ खर्ब बढी रेमिट्यान्स, २०८ प्रतिशतले लिए पुनः श्रम स्वीकृति

काठमाडौं । पछिल्लो एक वर्षमा ९ खर्ब ४ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो वर्षको तुलनामा ३.८ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ जेठसम्ममा सो मात्राको रेमिट्यान्स भित्रिएको हो । जुन अघिल्लो वर्षको वृद्धिदर भन्दा कम हो । २०७८ जेठसम्ममा भने विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ०९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई १० खर्ब ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो ।

समृद्धि फाइनान्सले बालाजुमा गर्यो वृक्षारोपण

काठमाडौं । समृद्धि फाइनान्सले काठमाडौँको बालाजुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले सोमबार बालाजुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । फाइनान्सले असार महिनामा आफ्नो पाँच वटै शाखाहरुबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरिसकेमने छ । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

धोबीखोलामा फोहोर फाल्नेलाई २५ हजार जरिवाना

काठमाडौं । धोबीखोलामा फोहोर फाल्नेलाई काठमाडौं महानगरपालिकाले २५ हजार रुपैयाँ जरिवाना गरेको छ । हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको सार्वजानिक भएपछि छानविन गरि महानगरपालिकाले सो कार्यमा संलग्नलाई जरिवाना गरेको हो । महानगरले यस्ता कार्य नगर्न र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन सबैलाई अनुरोध गरेको छ ।

कुनै पनि परियोजनामा पाइप कति महत्वपूर्ण छ ?

काठमाडौं । नेपाल भौगोलिक रूपले विकासका लागि चुनौतीपूर्ण भए तापनि विगत दुई दशक यता हामीले धेरै विकासात्मक परियोजनाहरू भइरहेको देख्न सक्छाैँ । हाम्रा नेपाली निर्माण उद्योगहरूमा पनि उल्लेखनीय प्रगति भएको पाईन्छ । नेपाली निर्माण उद्योगहरू मुख्यतया पूर्वाधार निर्माण, जल–विद्युत, सिँचाइ, भवन र अन्य घरजग्गा निर्माणमा संलग्न छन् । निर्माण उद्योगले नेपालमा अशिक्षित, बेरोजगार देखि दक्ष, अदक्ष र मौसमी श्रमिकहरूको ठूलो जनसंख्यालाई रोजगारीको अवसर प्रदान गरी दोश्रो ठूलो रोजगारदाताको रूपमा रहेको छ जसले हाम्रो राष्ट्रिय अर्थतन्त्र र जीविकोपार्जनमा ठूलो भूमिका खेल्छ । परियोजना सानो ठूलो जस्तो भए पनि निर्माण कार्यमा चाहिने निर्माण सामाग्रीहरू जस्तै ढुंगा, गिट्टी, बालुवा, सिमेन्ट, काठ तथा रडहरु हुन् । निर्माण सामाग्रीमा पनि हरेक निर्माण सामग्री गुणस्तरीय छान्नु अत्यन्तै महत्वपूर्ण रहेको छ । कुनै पनि एक निर्माण सामग्री कच्चा वा गुणस्तरहिन भएमा, त्यसले समग्र निर्माण परियोजनामा नै दिर्घकालीन असर गर्दछ । हामीले रड, सिमेन्टको बारेमा त राम्रै बुझेका छाैँ, गुणस्तरीय नै खोज्छाैँ तर हामीले निर्माण गर्दा पाइप र फिटिङलाइ पनि उतिकै महत्व दिएर गुणस्तरीय छान्नुपर्ने हुन्छ । निर्माणको क्रममा राम्रा गुणस्तरको पाईप छनोट गर्न नसक्दा पाईपहरु फुट्ने, चुहिने, खिइएर जाने, पाइप भित्र जीवाणुहरु फैलिने, पाइपमा प्रयोग भएको केमिकल पानीमा मिसिने इत्यादी जस्ता समस्याहरू आउने गर्दछन् । पाइप पर्खालको भित्रपट्टि प्रयोग हुनाले कुनै पनि समस्या आइपर्दा पर्खाल नै सबै भत्काएर पाइप झिक्नुपर्ने हुन्छ । जसले संरचनाको स्वरुप नै बदल्छ । यो सबै हुन नदिन सुरुमा नै गुणस्तरीय तथा प्रमाणित पाइपहरुको प्रयोग गरे यस्ता समस्याहरुबाट जोगिन सकिन्छ । एउटा सामान्य घर बनाउँदा प्राय ३ किसिमको पाइपहरु लाग्दछन्; भान्छा र बाथरुमको लागि सिपिभिसि, ड्रेनेजको लागि ड्रेनेज पाइप (जस्तै मंगलम प्रोड्रेन) र वायरिङ्गको लागि इलेक्ट्रिकल कन्डुएट पाइप (जस्तै मंगलम वायर–सेफ)। खानेपानी र ड्रेनेजको लागि छुट्टा–छुट्टै किसिमको पाइपहरु प्रयोग गरिए पनि वायरिङ्गको लागि भने कालो एचडिपिइ पाइप नै अझै पनि प्रयोग गरिन्छ । वायरिङ्गको लागि नै बनेको इलेक्ट्रिकल कन्डुएट वायर–सेफ पाइप प्रयोग नगर्दा विभिन्न किसिमको विद्युतीय दुर्घटनाहरु हुने जोखिम बढी हुन्छ ।  

यो बजेट पास हुन दिनु हुँदैनथ्यो, अब कार्यान्वयन हुन दिनु हुँदैन-पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री डा. यूवराज खतिवडाले अहिलेको सरकारले ल्याएको बजेट कुनै हालतमा कार्यान्वयन हुन नदिन बताएका छन् । आज (साेमबार) राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री खतिवडाले सो कुरा बताएका हुन् । ‘अहिलेको बजेट पास नै गर्न हुुँदैनथ्यो, अब यसलाई कुनै हालतमा कार्यान्वयन गर्न दिनुहुँदैन’ उनले भने, ‘८ प्रतिशत आर्थिक वृद्धिको लागि निजी क्षेत्रले मात्रै १५ खर्ब भन्दा धेरैको लगानी गर्नुपर्छ, बैंकिङ क्षेत्रमा अहिले लगानी गर्ने रकम खर्ब होइन अर्बमा पनि छैन ।’ देशमा आर्थिक वृद्धिको लागी गरिने लगानीको ७५ प्रतिशत हिस्सा निजी क्षेत्रबाट आउने बताउँदै उनले अहिलेको अवस्था त्यो कुरा सम्भव नभएको बताए । अहिले बैंकहरु ऋण दिन सक्षम नभएको तर, ऋण दियो भनेपनि व्यापार घाटा थप बढ्ने स्थिति रहेको उनको भनाइ छ । आर्थिक वृद्धिदरअनुसारको ऋण प्रवाह गरेमा भुक्तानी सन्तुलन ३ अर्ब नाघ्ने उनले बताए । अहिलेको बजेटमा जनअनुमोदित एजेण्डा नभएको र कुनैपनि पार्टीले घोषणापत्रमा शमावेश गरेको विषय नभएको खतिवडाले बताए । ‘कुन पार्टीले आफ्नो घोषणापत्रमा वृद्धभत्तालाई ६८ वर्षको उमेर कायम गर्ने भनेको थियो र अनुमोदित भएको थियो भने त हामी सबैले स्वीकार गर्थ्यौं नी’, खतिवडाले भने । ठूला राजनीतिक पार्टीहरुले बजेट बनाउँदा लामो समयसम्म कार्यान्वयन गर्न सकिने प्रकारको बनाउनुपर्ने भन्दै खतिवडाले अहिलेको बजेट हुवहु कार्यान्वयन गर्ने प्रकारको नभएको बताए । पूर्वअर्थमन्त्री रहेका खतिवडाले निर्वाचन गराउनुपर्ने र जनताबाट म्यान्डेट लिएर नआएको सरकारले ल्याएको बजेट सबैले कार्यान्वयन गर्नुपर्ने कुरा नहुने बताए । बजेटमा भएका कमजोरीलाई सच्याउनुपर्ने खतिवडाले बताए । उनका अनुसार अहिलेको बजेटमा धेरै अनियमितताका विषयहरु जोडिएका छन् । उनले भने, ‘यो बजेटमा भएका अंकहरु र करमा भएका व्यवस्थाहरु पालना गर्ने हो भने अर्थतन्त्र संकटको ठाउँमा पुग्छ, बजेटमा फोर्स करेक्सन जरुरी छ ।’