राप्ती प्रादेशिक अस्पतालमा ५० शय्याकै जनशक्तिले २०० शय्या धान्दै
तुलसीपुर । विसं २०६४ मा राप्ती प्रादेशिक अस्पताल ५० शय्याको थियो । यसपछि अस्पतालले दुई वर्षदेखि २०० शय्याको सञ्चालनको अनुमति पायो । दुईसय शय्याको सञ्चालनमा आए पनि अहिले अस्पतालमा ५० शय्याकै जनशक्तिले काम गरिरहेका छ । विगत दुई वर्षदेखि जनशक्ति थप गर्नका लागि दरबन्दी सिर्जना गर्ने अस्पतालको कार्यले पूर्णता पाउन सकेको छैन । दरबन्दी नहुँदा प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको जनाउँदै अस्पतालले पटक–पटक मन्त्री, सांसद तथा अन्य जनप्रतिनिधिसँग यो गुनासो राख्ने गरेका छन् । आइतबार मात्रै अस्पतालमा पुगेका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीसँग पनि अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले यही दरबन्दीकै गुनासो पोखे । केही दिनअघि अस्पतालका प्रतिनिधिले लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुलाई सोही गुनासो गरेका थिए । ‘जनशक्ति व्यवस्थापनका लागि ओएमएन सर्वे गर्ने काम दुई वर्षदेखि प्रक्रियामै छ, अहिले त्यो फाइल मुख्यमन्त्री कार्यालयमा पुगेको छ, भन्ने सुनिएको छ’, अध्यक्ष न्यौपानेले भने, ‘त्यो फाइल किन अघि बढ्न सकिरहेको छैन, त्यो बुझ्न सकिएको छैन ।’ मुख्यमन्त्री कार्यालयबाट संघीय स्वास्थ्य मन्त्रालयदेखि अर्थमन्त्रालयसम्म पुग्नुपर्ने भएकाले प्रक्रिया अझै लामो रहेको जनाउँदै त्यो फाइल छिटो अगाडि बढाउनुपर्ने उनको भनाइ छ । फाइल अघि नबढेमा अझै पनि प्रभावकारी सेवा प्रदान गर्न समस्या हुने उनको भनाइ छ । अहिले प्रादेशिक अस्पताल ‘रेफर’ अस्पताल भनेर आलोचना गर्ने गरिएको जनाउँदै यसलाई सुधार गर्न दक्ष जनशक्ति आवश्यक पर्ने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहले बताए । अस्पतालको छुट्टै आम्दानी नभएकाले पनि आफैँले कर्मचारी थप गर्न सक्ने अवस्था पनि नभएको उनको गुनासो थियो । ‘अस्पतालमा एमआरआइबाहेक भिडियो एक्सरे, सिटीस्क्यान, एक्सरेजस्ता ठूला सेवा सञ्चालनमा छन्, त्यसले गर्दा बिरामीको चाप बढिरहेको छ’, उनले भने, ‘त्योअनुसार अब जनशक्ति चाहिन्छ ।’ अस्तपालमा आइसियू सेवा पनि सुरु गर्नुपर्ने गरी तयारी भए पनि जनशक्ति नहुँदा त्यो सेवा पनि तत्काल सुरु गर्र्न सकिने अवस्था नरहेको डा सिंहको भनाइ छ । त्यस्तै पूर्वाधार पनि आवश्यक पर्ने डा सिंहको भनाइ छ । कोरोनाको बेला नियुक्त गरिएको जनशक्ति पनि साउनदेखि नवीकरण नगर्ने भएकाले पनि जनशक्तिको थप अभाव सिर्जना हुने भन्दै सरकारले उनीहरुको नियुक्ति थप गर्न आवश्यक रहेको उनको भनाइ छ । राप्ती प्रादेशिक अस्पताल प्रदेशस्तरीय भएकाले प्रदेशले त्यसलाई हेर्ने जिम्मा पाएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री केसीले बताए । ‘अस्पतालको पनि जिम्मेवारी बाँडफाँट भएको छ, प्रतिष्ठान सङ्घीय सरकार मातहत हुन्छ, यो अस्पताल प्रदेश सरकार मातहत छ, प्रदेश सरकारले पनि अस्पतालकालागि धेरै काम गरेको छ’, उनले भने, ‘सङ्घीय सरकारको तर्फबाट हामीले जे–जे गर्नुपर्छ, यसमा प्रतिबद्ध भएर लाग्ने छौँ ।’ अस्पतालमा हाल ६४ को दरबन्दीे छ । तीमध्ये स्थायी दरबन्दी जम्मा ३३ छन् । करारमा ११ , छात्रवृत्तिबाट १४ र सङ्घ संस्थाबाट १३ जना छन् । अस्पतालमा केही दिनअघि मात्रै ‘टोकन’ प्रणाली सुरु भएको छ, भने प्रदेशस्तरीय स्वास्थ्यकर्मी तालिम केन्द्र पनि सुरु भएको छ । रासस
ठमेल पर्यटन विकास परिषद्को नेतृत्वको लागि दुई समूहबीच प्रतिस्पर्धा हुँदै
काठमाडाैं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यको रुपमा मानिन्छ । विदेशी होस् या स्वदेशी काठमाडौं उत्रेपछि एक पटक ठमेल नपुग्ने सायदै होलान् । पर्यटक लक्षित विभिन्न पेसा र व्यवसाय अङ्गालेर बसेका ठमेल क्षेत्रका पर्यटन व्यवसायीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को नेतृत्व निकै आकर्षण मानिन्छ । सोही संस्थाको आगामी अधिवेशनबाट नयाँ नेतृत्व हत्याउनका लागि व्यवसायीले दुई समूहमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षसहितका पदाधिकारी सदस्यका लागि दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । यही असार ३२ गते हुने परिषद्को निर्वाचनमा अध्यक्ष पदका लागि पर्यटन व्यवसायी भविश्वर शर्माले उम्मेदवारी दिएका छन् भने अर्का व्यवसायी धुर्व अधिकारीले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । यी दुवै उम्मेदवारले पत्रकार सम्मेलन गरी प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारप्रसारमा जुटेका छन् । परिषद्का वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । उनले ठमेल क्षेत्रको सुरक्षाका लागि ५०० सिसी क्यामरा जडान गर्ने, सादा पोसाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे । आफू अध्यक्षमा निर्वाचित भए ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरबेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने अध्यक्ष पदका उम्मेदवार शर्माको प्रतिबद्धता छ । अध्यक्ष शर्माको समूहबाट उपाध्यक्षमा सहदेव धमला, सुरेन्द्र श्रेष्ठ, प्रश्रय राजभण्डारी र महासचिवमा बद्री तिमल्सिना, सचिवमा स्वजेशमान मालाकार र कोषाध्यक्षमा उज्जल थपलियाले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै सदस्यमा चेतनाथ पुडासैनी, कोपिला सिङ्खडा, रोशन अधिकार, लालबाबु चौधरी, पूर्णियमा मालाकार, अमृत थोकर इन्दिराकुमारी चौलागाई (गौतम) र तेन्जिङ लामा नै उम्मेदवारी दिएका छन् । अधिकारी समूहमा उपाध्यक्ष पदमा महेश महर्जन, गीता गुरुङ, राजुमान डङ्गोल, महासचिवमा राजीव पाण्डे, सचिवमा रामचन्द्र गिरी र कोषाध्यक्षमा पून्यराम लागेजुले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै सदस्यमा कमल भण्डारी, विनोद श्रेष्ठ, रञ्जयमान प्रधान र कृष्ण थपलियाको उम्मेदवारी परेको छ । रासस
मेयर बालेनलाई रिलायन्स लाइफका डीसीईओको ५ सुझाव
काठमाडौं । बीमा कम्पनीका एक नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई विभिन्न सुझाव दिएका छन् । शाहलाई रिलायन्स लाइफका डेपुटी सीईओ निराजन कँडेलले विभिन्न ५ वटा बुँदासहितको सुझाव दिएका हुन् । कँडेलका अनुसार जोश, उत्साह र केहि गर्न इच्छुक देखिने मेयर शाहले तत्काल आफ्नो योग्यता प्रमाणित गराउन आवश्यक रहेको छ । बैंक तथा वित्तीय क्षेत्रमा १६ वर्ष काम गरेका तथा व्यवस्थापन तहको समेत अनुभव बटुलिरहेका कँडेलले शाहलाई सबै कुरा व्यवस्थापन गर्ने कोशिस नगर्न आग्रह गरेका छन् । यस्ता छन् सुझाव प्रणाली बुझ्न अलिकति समय निकाल्नुहोस् । प्रणाली र प्रक्रियाहरू बुझेका मानिसहरूलाई सुन्नुहोस् । सबै कुरा व्यवस्थापन गर्ने कोशिस नगर्नुस् । किनभने सबै व्यवस्थापन राम्रो हुन सक्दैन । एकैपटक पूर्ण बनाउने प्रयास नगर्नुहोस् । खराब परम्परा र प्रणालीलाई एकैचोटि तोड्न गाह्रो हुन्छ । एकैपटक हटाउन सकिन्न । त्यसैले तपाईले यो प्रक्रिया क्रमिक छ भनेर बुझ्न जरुरी छ । सबैभन्दा महत्वपूर्ण कुरा, पहिले नै यस्तो एक्सपोजर भएको कसैलाई सल्लाहकार/गाइडरको रुपमा लिनुहोस् । उनीहरुलाई सुन्नुहोस् । जसले तपाईंलाई मार्गदर्शन गर्न सक्छ । यो उपलब्धि केवल एक सानो उपलब्धि हो । धेरै चलाख मानिसहरू त्यहाँ छन् । महशुस गर्नुहोस् कि तपाईंले वास्तवमै धेरै सिक्नु आवश्यक छ । मेयर बन्नु एउटा सानो उपलब्धिसँगै तपाईंले धेरै लामो यात्रा गर्न बाँकी छ । यसलाई महशुस गरेर अघि बढ्नुभयो भने नम्रता स्वतः आउँछ । अन्त्यमा, कसैले भने जस्तै ठूलो शक्तिको साथ ठूलो जिम्मेवारी आउँछ । हामी तपाईंमा विश्वास गर्छौं र हामीलाई थाहा छ की तपाईंले हामीलाई कहिल्यै निराश पार्नु हुने छैन । (सामाजिक सञ्जालबाट)
कलामा नेपाली ‘क्यारिकेचर’, बालेन र हर्कका चित्र आकर्षक
काठमाडौं । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को खुबै चर्चा भयो । स्वतन्त्र रुपमा निर्वाचनमा उठेर अत्यधिक मतसहित विजयी उनीहरूका चर्चा चुलिनु स्वभाविक थियो । सामान्य साइकलमा हिँड्ने राइको जीवनयात्राले धेरै नेपालीको मन जित्यो । अहिले पनि राई नगरका सामान्य काममा आफैँ खटिएका दृष्य सामाजिक सञ्जालमा देखिँदा उनीप्रति सकारात्मक भाव बढ्दो छ । दुवै मेयरले समग्र नगरको विकासमा कसरी योगदान गर्नुहोला ? त्यो मूल्याङ्कन हुने समय आइसकेको छैन । यता चित्रकार रामकृष्ण थापा (आरके थापा) र प्रकाश थापा (प्रथा) ले उनका मुहार उतारेर कोरेको क्यारिकेचरले नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान (नाफा) को कला प्रदर्शनस्थलमा पनि उत्तिकै स्थान पायो, जति चुनावका बेला पाएको थियो । प्रथाले लामालामा कपालमाथिले नेपाली ढाका टोली पहिरिएका र पुक्क फुकेको गालासहितको राइको क्यारिकेचर बनाएका छन् भने आरके थापाले आँखामा कालो चस्मा र झुम्म दारीलाई केन्द्रमा राखेर शाहको क्यारिकेचर बनाएका छन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शित ‘नेपाली क्यारिकेचर २०७९’ शीर्षकमा प्रस्तुत गरिएको उनी (काठमाडौं महानगरका प्रमुख शाह र धरान उपमहानगरपालिकाका प्रमुख राई) का क्यारिकेचर चित्र आकर्षक बन्न पुगेको छ । आगन्तुक दर्शकले क्यारिकेचर नियाल्दै निर्वाचनको चर्चालाई पुनःस्मरण गरे । क्यारिकेचरले समाजसँग प्रत्यक्ष सम्बाद गर्छ । त्यसैले समाज रुपान्तरणको सम्बाहक पनि हो क्यारिकेचर । कार्टुनभित्र हुने क्यारिकेचर सन्देश प्रवाहको सशक्त माध्याम हो । कार्टुन विधालाई गहकिलो बनाउन क्यारिकेचर महत्वपूर्ण भूमिका खेल्ने अग्रज कलाकारको प्रतिक्रिया छ । प्रदर्शनमा राखिएका क्यारिकेचरले पनि समसामयिकतालाई उर्जागर गर्ने प्रयास गरेको पाइन्छ । क्यारिकेचर र विषयको तालमेल भएन भने अर्थ दिँदैन । सही कार्टुनका लागि विषय र क्यारिकेचरको तालमेल हुनैपर्नेमा कलाकार एकमत छन् । हास्य वा विचित्र प्रभाव सिर्जना गरी व्यक्तिको मुहारलाई विशिष्ट नक्कल गरी बढाइचढाइ गरिनु नै क्यारिकेचर हो । बोलेर वा चित्र कोरेर पनि क्यारिकेचर गरिन्छ । बोल्दा आवाज र हाउभाउलाई ध्यान दिइन्छ तर लेख्य विधामा भने उसको पहिचान र व्यक्तित्व उतार्न सकियो भने मात्रै त्यो सफल क्यारिकेचर हुन्छ । मुहारलाई हुबहु उतारेर अतिरञ्जना गर्नु नै क्यारिकेचर हो । कलाभित्रको तिखो व्याङ्ग्य कार्टुन हो भने त्योभन्दा फरके व्यक्तिलाई छुट्टै विधाबाट चिनाउन मुहारमाथि अतिरञ्जना गर्ने विधा भने क्यारिकेचर हो भन्छन् कला समीक्षक रमेशनाथ खनाल । उनका अनुसार नेपालमा प्रताप मल्लको पालादेखि नै गाईजात्राका अवसरमा दिवङ्गत आत्मा शान्तिका लागि भनेर प्रदर्शन गरेर हिँड्ने परम्परालाई क्यारिकेचरको रुपमा लिइन्छ । नेपालमा परिस्कृत क्यारिकेचरको विकास भने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिष्ट क्लबअफ नेपालको स्थापनापछि भएको हो । कला समीक्षक खनाल चित्रगत स्वस्थता, रङ्गत सुन्दरता, भावगत सम्प्रेशण र पूर्णताको प्रभावले मात्रै राम्रो क्यारिकेचर बन्ने बताउँछन् । क्यारिकेचरबारे बताउँदै नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष वासु क्षितिज भन्छन्, ‘अनुहारको व्याङ्ग्यात्मक हाउभाउ, रङ र रेखाद्वारा व्यक्तिको भावसहितको अतिरञ्जना गरिएको चित्र नै क्यारिकेचर हो ।’ यसपटक नाफा र कार्टुनिष्ट क्लबले क्यारिकेचर विधामा महिला कलाकारलाई समेट्ने प्रयासस्वरुप गएको पुसमा प्रशिक्षण दिएको थियो । त्यहाँबाट उत्पादन भएका र पुराना गरी ४१ चित्रकारका क्यारिकेचर तीनदिने प्रदर्शनमा राखिएको छ । विसं २०७४ देखि नै नियमित रुपमा क्यारिकेचर कला प्रदर्शनी हुँदै आएको छ । कोरोन महामारीका समयमा भने भर्चुअल रुपमा प्रदर्शन गरिएको थियो । अध्यक्ष क्षितिज नेपालमा पछिल्लो समयमा क्यारिकेचरको महत्व बढेर गएको स्मरण गर्नुहुन्छ । यसपटकको प्रदर्शनीमा समाजमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरू छनोट गरी क्यारिकेचर बनाइएको छ । जसमा कलाकार हरिवंश आचार्य, केदार घिमिरे (माग्नेबुढा) का चार वटासम्म क्यारिकेचर समावेश छ । अन्य कलाकार नीर शाह, भुवन केसी, सन्तोष पन्त, सुनिल थापा, सिताराम कट्टेल (धुर्मस) देखि शताब्दी पुरुष सत्यमोहन जोशी, अग्रज कलाकार किरणमानन्धर तथा अन्य कलाकार तथा पत्रकारका क्यारिकेचर चित्र प्रदर्शनीमा देख्न पाइन्छ । कूल ४१ कलाकारमध्य १७ नयाँ कलाकारले आफ्नो कला प्रस्तुत गरेका छन् । रासस
बैंकको जागिर खानु भन्दा बहुलाउनु निको
‘मर्नुभन्दा बहुलाउनु निको’ नेपालीमा एउटा पुरानो भनाई हो । तर म भन्छु बैंकको जागिर खानुभन्दा बहुलाउनु निको । तपाईं अचम्म मान्नुहोला कस्तो खालको मान्छे यो । यत्रो बेरोजगार भइरहेको नेपालमा बैंकको जागिर खानुभन्दा बहुलाउनु राम्रो पो भन्छ त । अँ तपाईको मनमा प्रश्न आउन सक्छ साच्चै यो मान्छे बहुला त होइन । हो म बहुला नै हो । यो लेख बहुलाले लेखेको रहेछ भनेर तपाईंले मलाईभन्दा मलाई कुनै फरक पर्दैन । नपत्याए तपाईं मात्र एकदिन मसँगसँगै हिड्नुहोस् । हेर्नुहोस् त, मेरो टेबल भरी छरप्रष्ट कागजहरु, फाइलहरु, वरिपरि मानिस ग्राहकहरु । हेर्नुहोस् त, ऊ त्यहाँ बसेको सेतो लुगा लगाएको छ नि उसले एटीएमको पासवर्ड बिर्सियो रे, रिसेट गरिदिनु पर्यो रे । दश मिनेट भयो मलाई कुरेको । ऊ त्यो रातो साडी लगाएकी महिला छन् नि उनले काउन्टरबाट चेक दिई पैसा निकाल्न खोज्दा सहि मिलेन रे । मैले सिग्नेचर कार्ड, केवाईसी भराएर इमेज अहिल्यै लोड गरिदिनु रे । अनि पल्लो पट्टी तिन जना छन् नि, केटाहरु । उनीहरुको स्टेटमेन्ट निकाल्नु पर्ने रे । १५ मिनेटदेखि पर्खिरहेका छन् । हिजो चेक बुक बनाउन आउने ग्राहकले १० अटा जति रिक्विजिसन स्लिप छोडेको छ चेक बुक पनि बनाउनु पर्नेछ । उफ् फेरि आजै इन्टर्न भाई पनि ज्वरो आएर आएनन् । इन्टर्न त कर्मचारी होइन हुन त, तर हेल्प चाहि हुन्थ्यो । उफ् के के भ्याउनु । मेनेजरसँग साप्ताहिक मिटिङ्गमा म एक्लैले भ्याउँदिन एक जना कर्मचारी सिएसडिमा थप्नु परयो भनेर भन्यो, मेनेजर खाउला झै आँखा पारेर के नै काम हुन्छ र ? कति नै काम हुन्छ र ? हप्तामा २० वटा त खाता खोलेको छैन भनेर मलाई मुखमा बुझो हाल्छन् । रिस उठ्छ मलाई । भन्न मन लाग्छ सिएसडिमा एक दिन मसँग बस्नु न के के काम हुन्छ भ्याइन्छ भ्याइदैन थाहा पाई हाल्नु हुन्छ नि । तर म हरेक मिटिङ्गमा मेनेजरसँग आखा नजुधाई चुप लाग्छु । के गर्नु जवाफ फर्कायो भने साउनमा फेरि परफरमेन्स एप्राइजलमा नम्बर नदेलान् । साना कर्मचारीको विवसता भन्यो । चुप्प लाग्यो । आज एटीएममा पैसा पनि हाल्नु पर्नेछ । हेड अफिसबाट एटीएम रिफिल गर भनेर मेल आकोआइ छ । असार अन्तिम लागिसक्यो । टेलर र कि एलोन्स रिपोर्ट पनि पठाउनु छ । साँच्चि अफिसको टीडीएस, बिजुलीको बिल, टेलिफोनको बिल र एडवान्स इन्ट्री पनि कति हान्नु छ । अँ, सम्झे घरको पनि पो तिर्नु छ । बैंकको जागिर छुट्टि कहिल्यै पाइदैन । घरको बिजुली टेलिफोन, घर बहाल कर ढिलो तिरेर म जहिल्यै जरिवानामा पर्छु तर त्यहि बैंकको अफिसको बिजुली, टेलिफोन र कर समयमै तिरेर बरु कर छुट पाउछु । अब मलाई पागल नभनेर के भन्ने त ? आम्मुइ ! यी दिदी आईन् बाबा । थर्काउने भइन् अब । हिजै एकाउन्ट खोल्नलाई फर्म भरेकी हिजै एकाउन्ट ओपनिङ्ग डिपार्टमेन्टमा पठाउनु पर्ने । नभ्याएर आज बिहानै पठाएको हेड अफिसले एप्रुभ पनि गरेको छैन । सेन्टरलाइज एकाउन्ट ओपनिङ्गका कर्मचारी पनि कस्ता । फोन गर्यो उठ्दैन । उठाइहाले नास्ता खान गएको छु भन्छन् । बेला न कुवेला नास्ता खानुपर्ने । अलि चाडो हेरिदिनु पर्यो अरजेन्ट छ भन्दा उल्टै मलाई भन्छन् । तपाईसँग एउटा ब्रान्चको मात्र खाता छ र यहाँ ? यहाँ ५०० जति खाता छ । १५० वटा ब्रान्चको पालो आउँछ पर्खनुस् । भरे साँझ सम्ममा हेर्छु । काठमाडौं हेड अफिस कार्ड डिपार्टमेन्टमा फोन गर्यो । त्यस्तै, सर्कुलर पढ्नुभएको छैन । के लेखेको छ हेर्नु त भन्छन् । हेड अफिसकाको पो एउटा डिपार्टमेन्ट छ र आफूलाई काम लाग्ने सर्कुलर एउटा पढ्दा भयो । हामी शाखामा काम गर्नेले त १०/१५ थरी काम गर्नुपर्छ । ब्रान्चमा बसेर मेल हेर्न त भ्याइदैन, सर्कुलर रे । भनिदिउकी जस्तो लाग्छ । भनेर के गर्नु फेरि छुच्चो भइयो भने हेड अफिसकाले रिसाएर मेनेजर वा ओआईलाई पोल लगाउछन् । अनि, घुमिफिरि आफ्नै टाउकोमा गाली ठोकिन्छ । ब्रान्चमा बसेर ग्राहकलाई मरिमरि फकायो । बल्ल बल्ल खाता खोलायो । बल्ल बल्ल एटिएम भिडायो । बल्ल बल्ल क्युआर भिडायो । हेड अफिसकाले सपोट नगरिदिँदा, मै जान्ने हुँ भनेर शाखाकालाई हेप्दा, सात बजेसम्म बसेर काम गर्दा, काम पर्दा सात बजे फोन गर्दा नउठाईदिँदा दिक्क चाहि लाग्दो रहेछ । म पनि त यहि संस्थाको कर्मचारी हुँ नि । हाम्रै लागि हाम्रै सहयोगको लागि हेडअफिस होइन र ? ब्रान्चलाई चेक एन्ड व्यालेन्स गर्नलाई हेड अफिसको डिपाटमेन्ट होइन र ? नाफा त ब्रान्चले दिने हो नि । र, ब्रान्चकै नाफाबाट हेडअफिसकाले तलब र बोनस खाने होइन र ? उफ्, धेरै सोचिएछ कि क्या हो तल्लो पेट पो कटक्क खायो । साँच्चि बेला पुगो मिन्स हुने । उफ सेनिटरी प्याड पनि ल्याउन बिर्सिएछु । ओआई पनि केटै छन् । मरेँ बाबा पेट दुखेर । टेलरको लेडिज स्टाफलाई प्याड छ भनेको छैन रे । केटा ओआईलाई के भनेर प्याड किन्न जानु । मेनेजर पनि केटै छन् हिम्मत आउदैन एकछिन तल पुगेर आउछु भन्नलाई मलाई । फेरि भर्खरै १२ बज्दैछ । तीन बजे खाजा खाने समय हो । कत्ति खेर तीन बज्छ र प्याड किनुम् मलाई हतार छ आज । म अविवाहित हुदाँ ममीले व्यागमा मैले बिर्से पनि सुटुक्क सेनिटरी प्याड हालिदिनु हुन्थ्यो तर के गर्नु सासु भनेको सासु नै हो सासुले हालिदिने कुरै भएन । उफ् सात बजिसक्यो, आज पनि टेलरको हिसाव नमिलेर क्याससर्ट भयो । आज पनि हिजोको जस्तो आठ बज्ने भयो । नयाँ यो टेलर बहिनी आएदेखि जहिल्यै क्यास सर्टका सर्ट । यो सिएसडिको काम पनि कहिल्यै नसकिने भयो । थाकेर लोत भइसक्यो । आठ बजिसकेछ । काम कहिल्यै सकिँदैन एउटा बैंकको सिएसडिमा बस्ने साथीले भन्थिन् माइक्रोमा चड्दा काम कहिल्यै सक्किदैन आफू त आजको डेक्स क्लिन गर्ने हो । भोलिका काम देखाजाएगा । हो साच्चै रहेछ म पनि त्यस्तै गर्न थालेकी छु । काम सक्ने भन्दा पनि आजको डेक्स क्लिन गर्ने । सवा आठ बजिसक्यो म हत्त न पत्त सुन्धारामा माइक्रो चढछु । उफ ! कस्तो भिड, रात पनि परिसक्यो । माइक्रो भरि भराउ छ । महिला सिटमा पुरुष बसेको छ । उठाउने हिम्मत आउदैन । सह-चालकले एउटा सानो मुढा दिन्छन । टुसुक्क बस्छु । मेरो दाया बाया दुवै तर्फको छेउछेउको सिटमा पुरुष बसेका छन् । माइक्रो बनेपातिर हुइकिन्छ । अफिसबाट निस्केर माइक्रो बस्दा अफिसको सबै टेन्सन हलुका हुन्छ । कामको बोझ हटेझै लाग्छ आजलाई । नजानिदो पाराले छेउमा बसेको अन्दाजी ४०/४५ वर्षको अर्धवैसे मानिसको खुट्टा मेरो खुट्टमा टासिन्छ । मान्छे पनि के साह्रो पात्तिएका । भिढभाढको फइदा उठाउँछन । नारी माथि किन पुरुषको सधैं बक्रदृष्टि । मलाई झल्यास्स सम्झना आउछ नेपाल प्रहरीले टिभिमा एक कार्यक्रममा भनेको सेप्टीपिन अभियान । म व्यागबाट सेप्टीपिन निकाल्छु । उसले देख्ने गरि, ऊ अनुहार कालो बनाउँदछ र आफनो खुट्टा अलि पर सार्छ । मेरो मन हलुका हुन्छ । करिव सवा नौ बजे बनेपा चौकमा माइक्रोबाट उत्रन्छु । उफ ! साँच्चि घरमा तरकारी पनि छैन । विहान पनि तरकारी नभएर गुन्द्रुकमा झोल हालेर खाएको । तरकारी लगेन भने त सासु आमाले मार्छिन । म इस्कुस, बोढी र लौका किन्छु । घर पुग्दा साडे नौ बज्छ । घर पुग्दा विहानको जुठो भाडा पनि जुठै रहछ । उफ ! घर वस्नेले कम्तिमा भाढा त माझिदिएको भए हुन्थ्यो । तरकारी त ल्याइदिए हुन्थ्यो । केहि सहयोग त गरिदिए हुन्थ्यो । कम्तीमा दाल सम्म बसाइदिए हुन्थ्यो । बुहारीकै बाटो हेर्नु पर्छ र श्रीमती कै बाटो हेनुपर्छ र श्रीमान्ले पनि कम्तीमा श्रीमती जागिरे छे, बैंकमा जागिर खान्छे, भ्याउदिन भनेर घरकाले कम्तिमा सहयोग गरिदिए हामी बंैकर बुहारी, बैकर श्रीमतीलाई कत्ति सहयोग हुन्थ्यो । कत्ति खुसी हुन्थ्यो हाम्रो मन । सासु आमाले आज त बोडी मिठ्ठो भएछ बुहारी भनेर फुर्काउदा म झसङ्ग हुन्छु । ला ! नछुइने भएको वेला खाना पो झुक्किएर पकाएछु । मनमनै मुसुमुसु हास्दै ‘बोडी साच्चौ मिठो भएछ है आमा’ भनेर जवाफ फर्काउछु । ओछयानमा जाने वित्तीकै कत्तिखेर भुसुक्क हुन्छु थाहा नै हुदैन । श्रीमान कत्तिखेर ओछयानमा आइ मलाइ माया गर्दै गाला सुमसुमाउछन । म भने उसको कानमा साउती गर्दै भन्छु ‘म मिन्स भएको छु’ भर्खर । कहिले काही त लाग्छ नि घर भनो, परिवार भनो, उनीहरुकै लागि मरिहत्ते गरो । घर परिवारकाले नबुभिदिदा कत्ति गाह्रो हुन्छ हामी महिलालाई । कहिलेकाहि त लाग्छ नोकरी छोडिदिम । बरु गृहणि भएर बसुम, बरु आनन्दले घरमै बसुम, सास भि कभि वहु थि भन्ने सिरियल हेरुम, कुम कुम भाग्य हेरुम । अनि श्रीमानलाई खुशी राखेर, सासुलाई खुशी राखेर, ससुरालाई खुशी राखेर घरमै बसुम, बैंकको जागिर छोडुम । तर, आट आउदैन । होम लोन कसरी सेटल गर्नु । वर्षै पिच्छे आउने बोनसको खुसी कसरी बिर्सिनु, फोर्सलिभको एक महिनाको तलव कसरी बिर्सनु । अहिले कम्तिमा आफै कमाउने छु, श्रीमानसँग पैसा माग्नु परेको छैन, हुदैन हुदैन । यो नोकरि छोडे भने मेरो आत्मस्वाभिमानमा ठेस पुग्छ । मैले श्रीमानसँग पैसा माग्नुपर्छ ङ्गिक्च दात देखाउदै । कमाउदा त मलाई हेप्छन, नकमाउने बुहारी, श्रीमती भएँभने त झन हेप्छन । जे पर्ला पर्ला, नोकरी छोडदिन । फेरि बुबाले नोकरी चाहि नछोडेस भनेको सम्झन्छु । छोरा छोरी सानो हुदा त छोडिएन, अब त हुर्किसके, भो बरु दुःखै गर्छु । ‘खाना पकाउने वेला भएन ? एक त डिलो आउने, कसैको नभएको जागिर ।’ म थाकेर यस्सो के ओछयानमा पल्टेको मात्र थिए सासु आमाले रिसले कराउदै भन्नु भयो । म चुप्प लाग्दै भान्सातिर लागे । रहरको दाल बसाउदै वोडि केलाउन थाल्छु । टिभि हेरिरहेका श्रीमान भान्सामा आई मलाइ पछाडिवाट च्याप्प समाउदै ‘चिया पकाउन’ भन्छन । म ‘तपाई मलाई माया गर्नु हुन्न’ भन्छु रिसाउदै । ऊ म आज रिसाएकी छु भनेर फकाउदै ‘माया गर्छु नि’ भन्छन । म भने कम्तिमा तपाई अफिसबाट चाढो आएपछि दाल त वसाइदिएको भए हुन्थ्यो भन्छु । उ सहयोग त गर्न मन लाग्छ नि आमाको अगाडि जोइटिग्रे भन्छ नि भनेर मुसुक्क हास्दै फरक्क फर्केर जानुहुन्छ । म पनि बुझछु । हुनत मेरो श्रीमान न सहयोगि चाहि पक्कै होइन तर नन्द, सासु, ससुरा भएको बेला पुरुष इगोले खान्छ । नभएको बेला चाहि सबै काम मेरो श्रीमाले गर्ने चाहि हो । खाना पाकिसकेपछि म डाइनिङ्गमा खाना पस्कन्छु । अनि सबै जना मिलेर खान्छुम । सासु आमाले आज त बोडी मिठ्ठो भएछ बुहारी भनेर फुर्काउदा म झसङ्ग हुन्छु । ला ! नछुइने भएको वेला खाना पो झुक्किएर पकाएछु । मनमनै मुसुमुसु हास्दै ‘बोडी साच्चौ मिठो भएछ है आमा’ भनेर जवाफ फर्काउछु । ओछयानमा जाने वित्तीकै कत्तिखेर भुसुक्क हुन्छु थाहा नै हुदैन । श्रीमान कत्तिखेर ओछयानमा आइ मलाइ माया गर्दै गाला सुमसुमाउछन । म भने उसको कानमा साउती गर्दै भन्छु ‘म मिन्स भएको छु’ भर्खर । म ढाँटिदिन्छु । म ओछयानमा पल्टदै मन मनै सोच्छु यो भागदौडको जिन्दगी कत्ति दिनसम्म ? जागिरको तनाव कहिले सम्म ? टारगेटको पिडा कहिलेसम्म ? अचेल म सपनामा पनि श्रीमानसँग डुलेको, छोरा छोरीसँग खेलेको आफनो नीजि जिन्दगीको सपना देख्दिन । देख्छु त केवल अचेल सपनामा केवाइसी, एटीएम, एकाउन्ट ओपनिङ्ग । अनि जत्ति कोसिस गरे पनि कहिल्यै खुशी नहुने ओआईका रिसउठदो अनुहार । के काम छ ? कामै पो के छ र सिएसडिमा ? भनेर मिटिङ्गमा थर्काउने विएमका डरलाग्दा आँखा । अचेर मेरो सपनामा आइरहन्छन । म बैंकको जागिर छोडन मात्र सकेकी छैन । म बहुलाउन मात्र सकेकी छैन । सम्झन्छु होम लोन, वोनस,फोर्सलिभको एक महिनाको तलव । अस्ति भर्खर मेरो प्रमोसन भएको प्रमोसनको तलव । सायद म वहुला नहुदो हो त, बहुला जस्तो काम नगरेको हुदोहु त, म बैंकमा टिक्दीन थिएँ होला । १०,००० मेरो ग्राहकलाई सिएसडिमा बसेर चित्त नबुझाउथे त मेरो शाखाको नाफा यत्ति धेरै हुदैनथ्यो । हामीले अझ नाफा कमाउनुछ । अझ वोनस खानु छ । मैले घर–अफिसको सामन्जस्यता मिलाउदै अझ बौलाउनु छ । बैकका कर्मचारी साच्चै साँझ विहान नभनी कत्ति काम गरेका । वहुल्यै हुन बैंक र हामी सबै बैंकका कर्मचारी । गुनासो केवल यत्ति हो काम त गर्नैपर्छ । प्राइभेट नोकरी हो पेलिन त पेलिनै पर्छ । तर घर परिवारले बुहारी बैंकमा काम गर्छे, गह्रो छ, प्रेसर छ भनेर छोरी जत्तिकै हरेक सासुले बैंकर बुहारीलाई माया गरे, श्रीमानले पनि मेल इगोलाई अलि पर राखेर बैंकर श्रीमतीलाई इ सहयोग गरे हामी बैंकर महिलाहरु अलि धेरै खुसि हुन्थीम की । विन्ती यो मेरो मात्र पीडा, होइन हामी बैकर सबै महिलाका भाेगाइ हो ।
७७ प्रतिशत उम्मेदवारले बुझाएनन् खर्च विवरण, आयोगले कारबाही गर्ने
दमौली । निर्वाचन परिणाम सार्वजनिक भएको एक महिना बितिसक्दा पनि तनहुँमा ७७ प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाउन अटेर गरेका छन् । स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भएको एक महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान रहे पनि जिल्लामा ७७ प्रतिशत उम्मेदवारले खर्च विवरण नबुझाएका हुन् । दश स्थानीय तहमा एक हजार ६३६ उम्मेदवार रहेकामा ३७२ जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार एक हजार २६४ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । ‘खर्च विवरण बुझाउन सूचना प्रकाशित गर्यौं, तोकिएको मितिभित्र सबै उम्मेदवारले खर्च विवरण बुझाउनुभएन,’ ढकालले भने, ‘खर्च विवरण नबुझाउनेलाई निर्वाचन आयोगले कारबाही गर्छ ।’ निर्वाचन आयोगले असार मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको छ । ‘हालसम्म खर्च विवरण बुझाउनको विवरण सफ्टवेयरमा भर्दैछौं’, उनले भने, ‘असार महिनाभित्र आउने सबैको विवरण सफ्टवेयरमा भर्छौं, त्यसमा कहिले बुझाएको भन्ने मिति राखिनेछ ।’ नगरप्रमुख, उपप्रमुख पदका उम्मेदवारले रु चार लाख ५० हजार, वडाध्यक्षले दुई लाख रुपैयाँ, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ र अन्यले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाइने आयोगले व्यवस्था गरेको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (२), स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ । रासस
कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा जोशी निर्वाचित
महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको १७औँ कार्यकारिणी समितिको निर्वाचनमा युवा व्यवसायी पिताम्बर जोशी अध्यक्ष पदमा निर्वाचित भएका छन् । सङ्घको आज सम्पन्न मतगणनामा सङ्घका पूर्वअध्यक्षसमेत रहेका अध्यक्षका अर्का प्रत्यासी गणेशदत्त जोशीलाई फराकिलो मतअन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । निर्वाचित जोशीले एक हजार २९९ मत प्राप्त गर्नुभयो भने पराजित जोशीले ७८३ मत पाएका निर्वाचन समितिले जनाएको छ । त्यसैगरी वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल ७५८ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी वासुदेव जोशीले ४८८ मत प्राप्त गरेका छन् । त्यसैगरी महासचिव पदमा निर्मला सापकोटा भट्टलाई पराजित गर्दै खगेश्वर बोहरा निर्वाचित भएका छन् । महासचिव पदमा बोहराले एक हजार २०१ मत पाए भने अर्का प्रत्यासी भट्टले ८०० मत प्राप्त गरेका छन् । शनिबार भएको मतदानमा दुई हजार १८४ मत खसेको वाणिज्य सङ्घ कञ्चनपुरले जनाएको छ । यसअघि सङ्घको वरिष्ठ उपाध्यक्षमा पिताम्बर जोशी प्यानलका दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ, सचिवमा राहुल भट्ट, कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका थिए । त्यसैगरी सङ्घको सात सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन् । रासस