कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ्ग सेवा थप तीन स्थानमा
काठमाडाैं । कामना सेवा विकास बैंकले थप तीन नयाँ स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले मोरङ्ग जिल्लाको केराबारी गा.पा. वडा नं. १० को थापाटारमा, सुन्दर सरैंचा न.पा. वडा नं. १२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गा.पा. वडा नं. ०१ को नमुना चोकमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले थापाटारकाे लागिकेराबारी भ्यु होटल एण्ड बार (प्रो. धन बहादुर लिम्बु), शुक्रबारेकाे लागि आरजु कस्मेटिक एण्ड रेडिमेड (प्रो. राजन भगत) र नमुना चोककाे लागि बबि सप्लायर्स (प्रो. नन्द कुमार याफु राई) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेकाे छ । शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएकाे छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको जनाएकाे छ ।
साउनदेखि माथिल्लो दोर्दी ‘ए’ बाट २५ मेगावाट बिजुली उत्पादन हुने
लमजुङ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ । कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । आयोजनाले पटक–पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद आगामी साउन महिनासम्म रहेको र सो भित्रै जसरी पनि बिजुली उत्पादन हुने उनको भनाइ छ । आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ । गतवर्ष दोर्दी खोलामा आएको बाढीले क्षति बनाएको खण्डको काम भइरहेको छ । ‘यतिबेला पेनस्टक पाइपमा, टनेलमा पानी भर्ने काम भयो, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएको आधा काम बाँकी छ’, प्रवद्र्धक वस्तीले भने, ‘आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा झारिने छ ।’ यसको सफल परीक्षणसमेत भइसकेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार उक्त लाइन निर्माण भएसँगै परीक्षण उत्पादन थाल्ने र सफल भएसँगै व्यावसायिक रुपमा बिजुली उत्पादन हुनेछ । आयोजना निर्माणका क्रममा तीन अर्ब ९६ करोड लगानीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । रासस
पूँजी र प्रविधि भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक संकटका संकेतहरुबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् । आइतबार नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाकाे अवसरमा लन्डनमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्ताे आग्रह गरेका हुन् । ‘विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन, त्यो समस्या हामी पनि झेलिरहेका छौँ,’ उनले भने । उनले नेपाललाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाईराख्न संसारभरमा रहेका नेपालीहरुले नेपालमा पूँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गरे । उनले भने, ‘नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ, यसबाट लाभ लिनुहोस् र नेपालमा बढीभन्दा बढी लगानी ल्याउनुहोस् भन्ने मेरो आग्रह छ ।’ लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक रहेको उनले बताए ।
आधा घण्टामै ४२ अंकले घट्यो सेयर बजार
काठमाडौं । सेयर बजार ४२ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४२.०१ अंकले घटेको हो । यो समाचार तयार पार्दा सम्म अर्थात बिहान ११ बजेर ३९ मिनेट जाँदा ८ लाख ४२ हजार १६२ कित्ता सेयर खरिदबिक्रीबाट कुल ३६ करोड ६२ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।
अनुमति नलिई प्याराग्लाईडिङ उडान गर्नेलाई कारवाही हुने
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले अनुमति नलिई प्याराग्लाईडिङ उडान गर्नेलाई कारवाही गर्ने जनाएको छ । प्राधिकरण अन्तरगतको फ्लाइट स्उाण्डर्डस विभागले सोमबार एक सूचना जारी गर्दै अनुमति नलिई प्याराग्लाईडिङ उडान गर्नेलाई कारवाही हुने जनाएको हो । कुनै सभा, सम्मेलन, महोत्सव र नयाँ व्यवसायिक कम्पनी खोल्ने प्रयोजनका लागि सम्भाव्यता अध्ययन गर्न भन्दै देशका विभिन्न ठाउँमा प्याराग्लाईडिङ्ग उडान भएका सूचना प्राप्त भएकोले त्यसो नगर्न प्राधिकरणले आग्रह समेत गरेको छ । विभिन्न कम्पनीहरुले मनोरञ्जनात्मक उडड्यन सञ्चालन प्रमाणपत्रमा उडानका लागि तोकिएको आधार क्षेत्रभन्दा वाहेकका क्षेत्रमा अनुमति बेगर उडान सञ्चालन नगर्न प्राधिकरणले प्याराग्लाईडिङ कम्पनी, तीनका पाईलटहरु तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ । अनुमति नलिई उडान गरेको पाइए प्राधिकरणले सम्बन्धित प्याराग्लाईडिङ कम्पनीको सञ्चालन प्रमाणपत्र, उडान गर्ने प्याराग्लाईडिङ पाईलटको लाईसेन्स निलम्बन वा खारेजीसम्मको कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
मुख्यमन्त्री पोखरेलले भने : ट्रस्टका नाममा छुट्याइएको बजेट प्राथमिकताका क्षेत्रमा खर्चिनु
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिको नामसँग जोडिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा रकम विनियोजन भएको नागरिकस्तरबाट व्यापक विरोध आएपछि मुख्यमन्त्री पोखरेलले उक्त निर्देशन दिएको उनका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रमहरुमा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन माननीय मुख्यमन्त्री ज्यूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसक्नु भएको व्यहोरा जानकारी गराइन्छ ।’ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रममा समावेश गरेका गोवर्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस भवन निर्माण, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायतका कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट असन्तुष्टी व्यक्त भएकामा माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलज्यूको ध्यानाकर्षण भएको उक्त विज्ञप्तिमा जनाइएको छ ।
अधिकांश म्युचुअल फण्ड घाटामा हुँदा ६ वटा फाइदामा
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत २५ वटा म्युचुअल फण्डमध्ये ६ वटा मात्रै फाइदामा छन् । गत शुक्रबारसम्मको तथ्यांक हेर्दा ६ वटा फाइदामा र बाँकी १९ वटा घाटामा देखिएका हुन् । फाइदामा रहेका म्युचुअल फण्डमा एनएनबी क्यापिटलको दुई वटा, एनआईसी एशिया क्यापिटलको २ वटा, सानिमा क्यापिटल र सनराइज क्यापिटलको एक/एक वटा रहेका छन् । अहिलेको अवस्थामा एनएमबी ५०, सानिमा इक्विटी फण्ड, एनएमबी हाइब्रिड फण्ड एल १, एनआईसी एशिया ग्रोथ फण्ड, सनराइज फर्ष्ट म्युचुअल फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड फाइदामा छन् । जसमध्ये एनएनबी क्यापिटलको म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबी ५० अहिलेको अवस्थामा सबैभन्दा बढी फाइदामा देखिएको छ । हाल उक्त फण्डको इकाई मूल्य १२.७१ रुपैयाँ रहेको छ । जसको प्रतिइकाई न्यून्तम १०.७२ रुपैयाँदेखि अधिकतम १८.४७ रुपैयाँसम्म किनबेच भएको छ । त्यस्तै, दोश्रोमा सानिमा इक्विटी फण्ड छ । हालै उक्त फण्ड प्रतिइकाई १२.६० रुपैयाँसम्म किनबेच भएका छन् । एनएमबी हाइब्रिड फण्ड एल १ को प्रतिइकाई ११.०८, एनआईसी एशिया ग्रोथ फण्डको १०.९३, सनराइज फर्ष्ट म्युचुअल फण्डको १०.८२ र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको प्रतिइकाई १०.५० रुपैयाँमा किनबेच भएको छ । जुन अंकित मूल्य भन्दा बढी हो । म्युचुअल फण्डको आधारभूत अर्थात अंकित मूल्य १० रुपैयाँ हो । पछिल्लो समय अधिकांश म्युचुअल फण्डको मूल्य आधारभूत मूल्यभन्दा पनि तल छ । सूचीकृतमध्ये १९ वटा म्युचुअल फण्ड घाटामा छन् । दोश्रो बजार निरन्तर घटेसँगै त्यसको प्रभाव अन्य कम्पनीको सेयरमाजस्तै अधिकांश म्युचुअल फण्डमा पनि देखिएको हो । नेप्सेका अनुसार आठ वटा फण्डको मूल्य ९ देखि १० रुपैयाँसम्म, नौ वटाको ८ देखि ९ रुपैयाँसम्म र बाँकी दुई वटाको मूल्य ८ रुपैयाँभन्दा पनि तल छ । प्रतिइकाई आठ रुपैयाँभन्दा तल हुनेमा एनआईबीएल सम्बृद्धि फण्ड २ र मेगा म्युचुअल फण्ड १ रहेका छन् । पछिल्लो कारोबारमा यी फण्डको मूल्य प्रतिइकाई क्रमशः ७.८६ र र.७५ रुपैयाँ छ । ४ फण्ड : जसमा लगानी गर्ने निरन्तर फाइदामा हालसम्म ४ वटा फण्ड भने निरन्तर फाइदामा छन् । एनएमबी ५०, सानिमा इक्विटी फण्ड, एनएमबी हाइब्रिड फण्ड एल १, एनआईसी एशिया ग्रोथ फण्ड बजारमा सूचीकृत भएदेखि अहिलेसम्म कुनै दिन पनि घाटामा गएर कारोबार भएको रेकर्ड छैन । बजार जति पनि घटेपनि यसमा लगानी गर्ने लगानीकर्ताहरु भने हालसम्म फाइदामा नै छन् । कुनको कति ?
बेनी–सिमखण्ड कालोपत्र भएपछि डेढ घण्टा यात्रा २० मिनेटमा छोटियो
फाइल फाेटाे म्याग्दी । बेनी–दरवाङ सडकको बेनी–सिमखण्ड कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । १२ किलोमिटर ५०० मिटर दूरीको सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको हो । मङ्गला गाउँपालिका–२ सिमलचौरका अशोक पौडेलले यसअघि एक घण्टादेखि डेढ घण्टा लाग्ने सडकको यात्रा अवधि कालोपत्र भएपछि १५ देखि २० मिनेटमा छोटिएको बताए । ‘म्याग्दीको पश्चिमी भेगका नागरिकलाई आवज जावतमा सहज भएको छ’, उनले भने, ‘ढुवानी र आवतजावतमा सहजतासँगै यस क्षेत्रको ब्यापार व्यवसायमा पनि फरक हुन थालेको छ ।’ बेनी नगरपालिका–४ तातोपानीका कृषक भविलाल सापकोटाले बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्याबाट मुक्ति पाएर सहज, सुरक्षित र छिटो यात्रा गर्न पाएको बताए । ‘हिलो, धुलो, खाल्डाखुल्डी र साँघुरो सडकमा हिड्नै गाहे थियो’, १२ वर्षदेखि बेनीमा मोटरसाइकलमा दूध ढुवानी गर्दै आएका उनले भने, ‘सडकका कारण कुनै दिन बजारमा दूध पुर्याउन सकिँदैनथ्यो ।’ बेनीदेखि मङ्गला गाउँपालिका–२ सिमसम्मको सडक कालोपत्र भएपछि जिल्लाको पश्चिमी भेगमा पर्ने तीन पालिकाका बासिन्दा लाभान्वित भएका छन् । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि सिमखण्ड पूर्वाधार विकास कार्यालयले कालोपत्र भएको हो । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी–सिमखण्डको सडक कालोपत्र सकिएको जानकारी दिए । ‘पहिरोको समस्या र जग्गा विवाद भएकोबाहेकका ठाउँमा कालोपत्र सकिएको छ’, उनले भने, ‘११ मिटर फराकिलो सडकमा सात मिटर चौडाइका दरले कालोपत्र गरिएको हो ।’ डिबिएसटी प्रविधिको कालोपत्र गरिएको हो । कार्यालयका सडक इन्जिनियर सञ्जय सुवेदीले गत चैत पहिलो हप्तादेखि थालिएको कालोपत्र गर्ने काम असार अन्तिम साता सकिएको बताए । सडक विस्तार गरेर फराकिलो, नाली र पर्खाल निर्माण सकिएपछि प्राइम कोट, बिटुमिन र चिप्स राखेर दुई चरणमा कालोपत्र गर्नुअघि रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो । विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । कालोपत्र भएको खण्डको ढुवानी र यात्रु भाडा समायोजन गर्न स्थानीयवासीले माग गरेका छन् । जिल्लाको ‘लाइफलाइन’ मानिने बेनी–दरवाङ सडकको २०६३ मा मार्ग खुलेको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । पछिल्लो एक वर्षयता निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको यो सडकमा हिलो, धुलोको समस्याका साथै दुर्घटनाको जोखिम बढेको मङ्गला गाउँपालिका–२ बाबियाचौरका श्रीराम पौडेलले बताए । यो खण्डको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति छ । मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता गरेका निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेका छन् । चार किलोमिटर सडक कालोपत्रे गर्न २०७८ पुुस १८ गते ओमबुद्ध निर्माण सेवा वसुन्धराले रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौताको म्याद १८ महिनाको हो । सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । रासस