ज्योति विकास बैंकको धुलाबारी र अत्तरिया शाखा उद्घाटन
काठमाडाैं । ज्योति विकास बैंकले थप दुई नयाँ स्थानमा शाखा संचालनमा ल्याएकाे छ । बैंकले साेमबारबाट धुलाबारी र अत्तरियामा दुई नयाँ शाखाको उद्घाटन गरेको हाे । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले बैंकले नयाँ शाखाहरू सञ्चालनमा ल्याएको हो। मेचीनगर नगरपालिका वडा नं. १०, झापास्थित धुलाबारी शाखाको समुद्घाटन बैंकका पुर्व अध्यक्ष तथा बैंकका संस्थापक शेयरधनी ध्रुब कुमार उप्रेती र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । साथै, गोदावरी नगरपालिका वडा नं .२, कैलालीस्थित अत्तरिया शाखाको समुद्घाटन गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्ट र बैंकका संस्थापक शेयरधनी तथा साबिक राप्तीभेरी विकास बैंकका अध्यक्ष प्रेम बहादुर भण्डारीले संयुक्त रुपमा गरेका थिए । नयाँ शाखाहरुको उद्घाटन अवसरमा बैंकले धुलाबारी र अत्तरिया शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै त्तच् ऋयमभ, निस्शुल्क डलर कार्ड जारी, नि:शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, नि:शुल्क डेबिट कार्ड, नि:शुल्क मोबाईल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०।२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।
सिमेन्ट निर्यात गर्ने तयारीमा आधा दर्जन उद्योग, विदेशी मुद्रा बढ्ने आशा
काठमाडौं । सरकारले निर्यातमा सहजीकरण गर्ने भएसँगै सिमेन्ट उद्योगले निर्यात सुरू गर्न थालेका छन् । लामो समयदेखि निर्यातको तयारीमा रहेका उद्योगीहरुले सरकारले छुटको घोषणा गरेसँगै सिमेन्ट निर्यातमा जुटेका हुन् । पाल्पा सिमेन्ट उद्योगले शुक्रबारदेखि भारत सिमेन्ट निर्यात सुरु गरिसकेको छ । सो उद्योगले पहिलो दिन ३ हजार बोरा सिमेन्ट भारत पठाएको हाे । दैनिक १८ सय टन क्लिङ्कर उत्पादन क्षमताको प्लाण्ट रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए । पाल्पासँगै अन्य सिमेन्ट उद्योगहरुले समेत निर्यातको तयारी थालेको बताउँदै आएका छन् । उद्योगीहरू नेपाली सिमेन्ट भारत निर्यातका लागि भारत सरकारबाट समेत गुणस्तर प्रमाणिकरण अनुमति लिनुपर्ने प्रावधान भएकाेले साेकाे अनुमतिकाे प्रक्रियामा छन् । अहिले भारतसँग सिमाना जोडिएका क्षेत्रमा सञ्चालित सिमेन्ट उद्योगहरूले सिमेन्ट निर्यातको तयारी थालेका हुन् । अर्घखाँची, जगदम्बा, सर्वाेत्तम, सौर्य लगायतका सिमेन्ट उद्योग निर्यातको अन्तिम तयारीमा जुटेका हुन् । सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब्रवहादुर थापा सरकारले सिमेन्ट निर्यातमा सहजीकरणको घोषणा गरेसँगै निर्यात सुरू भएको बताउँछन् । उनका अनुसार करिब आधा दर्जन उद्याेग निर्यातका तयारीमा छन् । ‘नेपाल सिमेन्टमा आत्मनिर्भर भैसकेकोे छ, हामी व्यवसायीले लामो समयदेखि निर्यातमा सहजीकरणको माग गर्दै आएका थियौँ, सरकारले आगामी आर्थिक वर्षको बजेटमा निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई विद्युत महसुलमा छुटको घोषणा गरेसँगै निर्यात सुरु भएकोे हो,’ उनले भने । नेपाली सिमेन्ट भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणीकरण अनुमति लिनुपर्ने भन्दै उनले सबै उद्योगले निर्यात गर्न केही समय लाग्ने बताएका छन् । ‘नेपाली सिमेन्ट भारत निर्यातका लागि पहिला देखि नै गुणस्तरको अनुमति लिने तयारी गरेका उद्योगले छिट्टै निर्यात सुरु गरिहाल्छन, बजेटपछि अनुमति पत्रको तयारी गरेका उद्योगलाई २ देखि ६ महिनाको समय लाग्नसक्छ’, उनले भने । बजेट आउनुअघि नै पाल्पा सिमेन्टले निर्यातको तयारी थालेको भन्दै गुणस्तरको इजाजत्र छिट्टै पाएको उनले बताए । अर्घखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवाल सिमेन्ट निर्यातको प्रक्रियामा रहेको बताउँछन् । ‘भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर मापदण्डको अनुमतिको प्रक्रियामा रहेका छौँ, हामीले अनुमति माग गरेको ५ महिना बढी भैसक्यो, अबको एक डेढ महिनामा अनुमति पाउँछौँ होला, अनुमति पाएपछि निर्यातको बाढो खुल्छ,’ उनले भने । भारत सरकारले गुणस्तर प्रमाणीकरणको अनुमति दिन नै १० देखि १ वर्षसम्मको समय लाग्ने उनको भनाइ छ । सरकारले निर्यातका लागि अनुदान दिने भनेको ८ प्रतिशत रकम पाउने टुङगो नहुँदासम्म सिमेन्ट निर्यातको सम्भावना नभएको उनको भनाइ छ । उनका अनुसार अर्घाखाँची सिमेन्टको वार्षिक रुपमा १३ लाख टन उत्पादन क्षमता रहेकोमा ६ लाख टन सिमेन्ट निर्यात गर्ने तयारी भएको छ । ‘१३ लाख टन उत्पादन क्षमता रहेको उद्योगले हाल ५ लाख टन मात्र उत्पादन गर्ने गरेको छ, खपत खासै छैन, हामीले क्षमताभन्दा आधा मात्र सिमेन्ट उत्पादन गर्दै आएका छाैं’, उनले भने, ‘निर्यात सुरु भएपछि क्षमताअनुसार उत्पादन गर्न सकिने हाम्रो अनुमान छ ।’ उनले हाल सञ्चालनमा रहेका सबै सिमेन्ट उद्योगले क्षमताभन्दा धेरै कम सिमेन्ट उत्पादन गर्ने गरेको बताए । ‘सरकारले निर्यातमा ८ प्रतिशत अनुदानको घोषणा गरेको छ, त्यो दियो भने मात्र हामीलाई निर्यात गर्न केही राहत हुन्छ, अहिले हामी ६ प्रतिशत नोक्सानमा रहेका छौँ, सरकारले दिने भनेको ८ प्रतिशत अनुदान दियो भने मात्र हामी २ प्रतिशत नाफामा जान सक्छौँ’, उनले भने । उनले सरकारले अनुदान नदिएसम्म नोक्सान खाएर सिमेन्ट निर्यात गर्न नसक्ने दाबी गरे । नेपालमा सञ्चालनमा रहेका सिमेन्ट उद्योगको वार्षिक रुपमा १० देखि १२ मिलियन टन खपत क्षमता रहेकोमा उत्पादन क्षमता नै २० मिलियन टन रहेको उनको भनाइ छ । बजेटमा छुट सरकारले औद्योगिक क्षेत्रको विकास गर्न, वैदेशिक लगानी आकर्षित गर्न र उत्पादन एवं निर्यात पर्वद्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी मासिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई विद्युत महसुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिने भएको छ । सरकारले उत्पादन र निकासीको आधारमा कार्यबिधी बनाएर २ देखि १५ प्रतिशतसम्म छुट दिने तयारी गरेको छ । तत्कालीन अर्थमन्त्री शर्माले उच्च निर्यात सम्भावना भएको क्लिङकर, सिमेन्ट, स्टील, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित पहिचान गरी निर्यात प्रबर्द्धन गरिने र यस्ता वस्तुमा ८ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने बताएका थिए । कार्यविधि बनाउन आग्रह सिमेन्ट उद्योगीले सरकारले निर्यातमा छुटको घोषणा गरेतापनि निर्यातका लागि छिट्टै कार्यविधि बनाउनुपर्ने बताएका छन् । सरकारले घोषणा गरे अनुसार उद्योगीले नाफा नोक्सानको कुनै ख्याल नै नगरी ट्रायलका रूपमा नेपाली सिमेन्ट भारत निर्यात सुरु गरेको भन्दै कार्यविधि छिटो बन्नुपर्ने बताउँछन् । सिमेन्ट उत्पादक संघका अध्यक्ष थापा सरकारले निर्यातमा दिने छुट कार्यविधिमा समावेश हुनुपर्ने बताउँछन् । निर्यातले पलाएको आशा शुक्रबारदेखि तानसेन ब्राण्डको सिमेन्ट भारतमा निर्यात हुँदा सिमेन्ट उद्योगी हर्षित छन् । सरकारले २०७२ को भूकम्पपछि पुनर्निर्माणका कामलाई तीव्रता दिँदा पछिल्ला केही वर्षमा सिमेन्ट उद्योगले तीव्र व्यापार गरेका छन् । उत्पादनको मात्रा अहिलेको आन्तरिक मागभन्दा बढी छ । सरकारले सिमेन्ट उद्योगलाई प्रोत्साहन, उद्योगको खानीसम्म बिजुली पु¥याउने काम गरेकाले पनि पछिल्लो वर्षहरूमा सिमेन्ट उद्योग निकै फस्टाएको उद्योगीहरू बताउँछन् । सिमेन्टमा आत्मनिर्भर भएपछि उद्योगीहरूले सिमेन्ट निर्यातमा सहजीकरण गर्नु पर्ने माग सरकारसँग गर्दै आइरहेका छन् । २ खर्ब रुपैयाँ हाराहारी लगानी अनुमान गरिएको सिमेन्ट उद्योगमा विदेशी लगानीकर्ता पनि आकर्षित भइरहेका छन् । अर्घाखाँची, होङ्सी सिमेन्टसहित अन्य केही सिमेन्ट उद्योगमा वैदेशिक लगानी छ । सरकारले सिमेन्टको बजार खोज्न सहजीकरण तथा विदेश निर्यातको आधार तयार गर्न सकेमा थप लगानीकर्ता आउन सक्ने नेपाली उद्योगी बताउँछन् । नेपालका सिमेन्ट उद्योगीहरु भारतमा वार्षिक १ खर्ब बराबरको सिमेन्ट निर्यात गर्न सकिने दाबी गर्दै आएका छन् । सरकारले पनि सिमेन्ट उद्योगलाई प्रोत्साहन तथा प्रबद्र्धनका कार्यक्रम ल्याएर सिमेन्ट निर्यात गर्न सकेमा अहिलेको ब्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा पर्दै गएको चाप केही कम गर्न सकिने उनीहरूको धारणा छ ।
एउटै व्यापारीक घरनाले कर्जा सुविधा लिँदा अर्थतन्त्रमा जोखिमः गभर्नर
काठमाडाैं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा पनि मूल्यवृद्धि लक्ष्यभन्दा माथि नै हुने बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीति सम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले यसरी व्यवसाय कर्जा निश्चित व्यवसायीहरुले लिँदा भविष्यमा अर्थतन्त्रमा एक खालको जोखिम निम्त्याउनसक्ने बताए । विगतदेखि व्यवसायी र बैंकर्स छुट्याउने प्रयास गरे पनि सफल नभएको उनी बताउँछन् । ‘एउटै व्यवसायीक घरणा बैंक,इन्स्योरेन्स,धितोपत्र र अन्य व्यवसायमा सहभागिता भएको हुन्छ । यसरी व्यापारमा सबै कर्जा निश्चित व्यवसायीहरुले लिँदा भविष्यमा अर्थतन्त्रमा एक खालको जोखिम निम्त्याउँछ । राष्ट्र बैंकले विगत देखि बैंकर्स र व्यवसायी छुट्उयाउने काम गरेको तर विविध कारणले हुन सकेको छैन । अब हामीले कुनै एउटा व्यवसायीक घरण डुब्दैमा अर्थतन्त्रलाई असर नपर्ने स्थिति सिर्जना गर्नुपर्छ ।’ उनले चालु आर्थिक वर्षमा केन्द्रिय बैंकले साढे ६ प्रतिशत मुद्रास्फिर्ति राख्ने लक्ष्य लिएको भएपनि अन्तर्राष्ट्रिय बजारमा समेत मूल्यवृद्धि अत्याधिक रुपमा बढेकाले लक्ष्यभन्दा बाहिर जाने अवस्था रहेको बताए । गभर्नर अधिकारीले विश्वका अधिकांश मुलुकका केन्द्रिय बैंकहरुले मूल्यवृद्धि नियन्त्रण गर्ने मौद्रिक नीति ल्याएकाले नेपालले पनि त्यसतर्फ ध्यान दिनुपर्ने बताए । गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा मूल्यवृद्धि सीमा भित्र राख्न कठिन रहेको बताए । मूल्यवृद्धि नियन्त्रण गर्न बैंकको ब्याजदर बढाउने तथा कोभिडको समयमा दिएका सहुलित हटाउँदै लैजाने नीति ठूला र विकसित अर्थतन्त्र भएका मुलुकले गरेकाले नेपालले पनि त्यसमा ध्यान दिनुपर्ने देखिएको उनकाे भनाइ छ । यस्तै उनले वाह्य क्षेत्र चापको कारणले मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै गएको बताए । उनले यो वर्ष ठूलो रकम आयातमा खर्च हुँदा १० महिनाको अवधिमा २.४७ अर्ब डलरले कमि आएको जानकारी दिए । गभर्नर अधिकारीले ९.२८ अर्बको विदेशी मुद्रा सञ्चिति रहेको र त्यसले साढे ६ महिनाको वस्तु तथा सेवा दुवै धान्नसक्ने अवस्था रहेको बताए । ‘अहिले ९.२८ अर्बको विदेशी मुद्रा सञ्चिति रहेको छ । यो सञ्चितिले साढे ६ महिनाको वस्तु तथा सेवा दुवै धान्न सक्ने अवस्था रहेको छ । अन्तर्राष्ट्रिय रुपमा हेर्दा यो राम्रो फिगर हो । आयात धान्ने ठूलो सहयोग रेमिट्यान्स नै रहेको छ । यो सालको १० महिनासम्म ८ सय ११ अर्ब ७९ करोड रेमिट्यान्स आएको छ । रेमिट्यान्स ल्याउने विषयमा समेत चुनौती बन्दै गएको अवस्था छ,’ उनले भने ।
अभिभावक गुमाएका बालबालिकालाई गाउँपालिकाले कक्षा १२ सम्म पढाउने
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको हो । अभिभावकविहीन कतिपय बालबालिकाले शिक्षा माध्यमिक तहसम्म पूरा गर्न सकेका छैनन् । शिक्षा आर्जनबाट वञ्चित ती बालबालिकाका लागि गाउँपालिकाले अभिभावकीय भूमिका निभाउन लागेको हो । शिक्षाबाट वञ्चित हुनुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नीतिगतरुपमा व्यवस्था गर्न लागेको छ । अभिभावक गुमाएकै कारण आर्थिक बोझले शिक्षाबाट वञ्चित रहेकालाई पढाउन लागिएको गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले बताए । अभिभावक गुमाएका तथा अभिभावक हराएका परिवारका सन्तानले विद्यालय शिक्षा पूरा नगरी कक्षा छाड्न बाध्य भएका छन् । विशेषगरी छोरा रोजगारीका लागि जाने तथा छोरी आफन्तकहाँ आश्रय लिनुपर्ने अवस्था छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालका अनुसार अभिभावक विहीन बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ । तथ्याङ्क सङ्कलन भएपछि काम अगाडि बढ्नेछ । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम गापास्तरीय एक नमूना विद्यालय निर्माण गरिनेछ । हाल नेपाली माध्यममा मात्र पठनपाठन हुँदै आएकामा विद्यालय शिक्षालाई गुणस्तरीय र समयसापेक्ष बनाउन अङ्ग्रेजी र मातृभाषामा शिक्षा दिने बहुभाषिक नीति अवलम्बन गरिने छ । गाउँपालिकाभित्रका विद्यालयमा घट्दै गएको विद्यार्थीको सङ्ख्या बढाउन शिक्षालाई गुणस्तरीय र शिक्षकको मनोबल वृद्धि गर्न पालिकामा उत्कृष्ट हुने शिक्षकलाई सम्मानसमेत गर्ने नीति गाउँपालिकाको रहेको छ । रासस
गभर्नरलाई सभापति दाहालको प्रश्न : ४/१२ को नीति के गर्नुहुन्छ ?
काठमाडौं । सोमबार अर्थसमितिमा आगामी आवको मौद्रिक नीतिका विषयमाथि छलफल भयो । छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि उपस्थित थिए । बैठकमा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले अहिले सेयर बजार र सेयर लगानीककर्ताले उठाउँदै आएको ४÷१२ करोडको नीतिको विषयमा केही भूमीका बाध्दै गभर्नर अधिकारीमाथि प्रश्न गरे । सभापति दाहालले सेयर बजार घट्दै गएको र यस विषयमा के गर्न सकिन्छ भन्ने प्रशनमा गभर्नर अधिकारीले सेयर बजारको नियामक निकाय छुट्टै भएकाले यस विषयमा आफू बोल्न नमिल्ने जवाफ दिए । ‘सेयर बजारको नियामक अर्कै नै छ, मैले बोल्दा केही असर गर्न सक्छ, मैले बोल्न मिल्दैन,’ उनले भने । सभापति दाहालले लगानीकर्ता समस्यामा रहेको गुनासो आएकोले उनीहरुको माग सम्बोधन गर्नका लागि गभर्नरलाई निर्देशन दिएका छन् ।
१३ करोडको आईपीओ ल्याउँदै दुई लघुवित्त, पाए बोर्डको अनुमति
काठमाडौं । धितोपत्र बजारको प्राथमिक बजारमा १३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै दुई लुघवित्तले सो मात्राको आईपीओ निष्काशन गर्ने भएका हुन् । बोर्डले धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्तलाई उक्त अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै यी दुई लघुवित्तले एक सय रुपैयाँ अंकित दरका १३ लाख ६ हजार कित्ता सेयर निष्काशन गर्ने छन् । दुईमध्ये सबैभन्दा बढी अभियान लघुवित्तले निष्काशन गर्ने छ । संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो । यससँगै संस्थाले मुक्तिनाथ क्यापिटल मार्फत सो मात्राको सेयर बजारमा बिक्री गर्ने छ । त्यस्तै, धौलागिरी लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर बिक्री तथा निष्काशन खुला गर्ने छ । संस्थाले मुक्तिनाथ क्यापिटल मार्फत सो मात्राको आईपीओ जारी गर्ने छ । धौलागिरीले जारी पूँजी १० करोड ३१ लाखको ३२.१०५ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका-२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ । यससँगै इच्छुक लगानीकर्ताले अब छिट्टै यी दुई लघुवित्तको आईपीओमा आवेदन दिन पाउने छन् ।
मेलम्चीवासीकाे पुनःस्थापनाको लागि हालसम्म २३ करोड ९८ लाख खर्च
काठमाडौं । पाँच महिना पहिले बनाएको घर गत वर्षको बाढीले बगाएपछि मेलम्ची नगरपालिका–११ फट्टेका धनबहादुर श्रेष्ठको परिवार अहिले भाडामा बसिरहेको छ । आफूले दुःख गरी कमाएको केही रकम र ऋण गरी बनाएको घर बगाएपछि उनी घरविहीन भएका हुन् । दुवाचौर जाने झोलुङ्गे पुल नजिकै कोठा भाडामा उनको परिवार बस्दै आएको छ । जसोतसो ऋण खोजेर जग्गा किनी बनाएको घरमा गत वर्ष असार १ गते मेलम्ची खोलामा आएको बाढी पसेको थियो । उनी अहिले बसेकाे बस्ती पनि सुरक्षित छैन । उनी भन्छन्, ‘दनुवार गाउँमा आएको पहिरोले फट्टेका बस्तीमा जोखिम बढेको छ ।’ धनबहादुर जस्तै फट्टेका रमेश श्रेष्ठ र रामबहादुर दनुवारको ब्यथा पनि उस्तै छ । असार १ र त्यसपछिको बाढीले कतिपयको घर बगायो । कतिको घर ढलेको जस्ताको तस्तै छ । कतिपय परिवार यस वर्ष पनि पोहोरको जस्तै बाढी आउने हो कि भन्ने त्रासले कुम्लो, कुटुरो बोकेर अन्तै गएर भाडामा बस्न थालेका छन् । बाढीले भएको जग्गा बगरमा परिणत गरिदिएपछि कतिपय परिवार चौतारा, काठमाडौं विस्थापित बनेका छन् । गत वर्ष बाढीका कारण घर बगाएर आश्रयविहीन बनेकाको पीडा एकाथरि छ भने घर भएर पनि असुरक्षित भएका स्थानीयबासीको पीडा बेग्लै छ । बाढीले नभत्काए पनि असुरक्षित बस्तीका घरमा नागरिक ढुक्कले बस्न पाएका छैनन् । गत वर्षको बाढीले बढी क्षति पु¥याएको हेलम्बु, पाँचपोखरी तथा मेलम्चीका बासिन्दालाई कतिबेला बाढी आउने हो भन्ने त्रासले छाडेको छैन । वर्षायाम लागेदेखि एक दिन पनि राम्रोसँग निदाउन नसकेको हेलम्बु–२ का गङ्गानाथ भण्डारीले बताए । खोला किनारमा रहेको घरमा कुन दिन खोला पस्छ भन्ने त्रास उनको परिवारमा छ । उनले भने, ‘अघिल्लो वर्ष घर नभत्किएपछि बसिरहेको छु तर कुन दिन केही हुन्छ कि भन्ने डर छ ।’ राति खोला बढ्दै गएपछि माथिल्लो क्षेत्र गएर रातभर जाग्राम बस्ने गरेको हेलम्बु–२ किउलका विमला भण्डारीले बताइन् । उनले भने, ‘बल्लबल्ल बनाएको घर छोडेर कहाँ जाने ? घर हेर्दा सग्लै छ छोड्न पनि गाह्रो र ढुक्क भएर बस्न पनि नसकिने छ ।’ सरकारले बाढीबाट घर पूर्ण क्षति भएकालाई पाँच लाख तथा जग्गा नहुनेलाई थप तीन लाख दिने बताए पनि अझै प्रभावितको हातमा पुग्न नसकेको यहाँका पालिकाहरुले जनाएका छन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बाढी प्रभावितलाई विभिन्न सङ्घसंस्था तथा पालिकाको सहयोगमा अस्थायी बासस्थान बनाएको बताए । उनले भने, ‘छिटोभन्दा छिटो प्रभावितलाई थप रकमसहित घर तथा जग्गा किन्न रकम दिन सङ्घीय सरकारले सहयोग गर्नुपर्छ ।’ मेलम्ची खोलामा आएको बाढीका कारण प्रभावित जस्तै याङ्ग्री बाढी प्रभावितको पीडा पनि उस्तै छ । उनीहरु पनि अझै पालमै बस्न बाध्य छन् । कतिपयको त घर बनाउने जग्गा समेत छैन । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सरकारले समयमै अनुदान उपलब्ध नगराउँदा प्रभावित झन पीडामा परेको बताए । यथाशीघ्र प्रभावितको हातमा रकम पार्ने व्यवस्था मिलाउनुपर्नेमा उनको जोड छ । मेलम्ची नगरपालिका विस्थापितलाई पुनःस्थापित गराउन र बचेका घर तथा संरचना जोगाउन लागिरहेको छ । प्रभावितले चाँडै रकम पाउने विश्वास प्रमुख आइतमान तामाङको विश्वास छ । उनले भने, ‘पुनःनिर्माणको काम चाँडो सुरु भएर उनीहरु चाँडै आफ्नै घरमा फर्कनेछन् भन्ने आशा छ ।’ मेलम्ची, हेलम्बुमा नदी नियन्त्रणका लागि ढिला गरी भए पनि बजेट आएर काम सुरु भएको छ । तर काम प्रभावकारी नभएको स्थानीयवासीले गुनासो गरेका छन् । रकम विनियोजन भएर काम सुरु भए पनि अपेक्षा गरिएअनुसार अघि बढ्न नसकेको स्थानीयवासी इन्दु दनुवारले बताए । सीमित व्यक्तिले मात्रै रकम पाएको उनको गुनासो छ । विगतमा जस्तै अहिले पनि वर्षाैं वर्ष कुर्नुपर्ने अवस्था नआओस् भन्ने उनको अपेक्षा छ । एकैपटक ठूलो क्षति हुने गरी मेलम्ची नदीमा बाढी आएको एक वर्ष बितेर अर्काे वर्ष लागिसक्दा पनि प्रभावितले राहतको महसुस गर्न नपाएका हुन् । यस वर्ष पनि वर्षासँगै आएको बाढीले फेरि स्थानीयवासीको बासोबास र जग्गा जमिनमा क्षति गर्न थालिसकेको छ । प्रभावितले सुरक्षित आवाससँगै आयआर्जनका कार्यक्रम र बाटो, पुल चाँडो निर्माणको माग गरेका छन् । घर बगाउँदा वा बाढीका कारण बस्न नमिल्ने हुँदा अरुका घरमा भाडामा वा अस्थायी संरचना बनाएर बसिरहेका नागरिक यो वर्षको वर्षाले सडकमा क्षति पुर्याउँदा आवतजावत गर्न गाह्रो भएको बताउँछन् । गत वर्ष असारमा मेलम्ची खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएपछि अस्थायीरुपमा ह्युमपाइप राखेर आवतजावत तथा यातायात सञ्चालन गरिएको थियो । हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी ५५१ घर बाढीले बगाएको थियो भने ५४ सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो । बाढीका कारण २६ जनाको मृत्यु भयो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै रेडियो मेलम्ची तथा ३३ वटा सार्वजनिक संरचनामा क्षति पुगेको थियो । बाढीका कारण घरबारविहीन हुने परिवारमध्ये ३३८ परिवारले आवास निर्माण अनुदानवापतको पहिलो किस्ता रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निजी आवास अनुदानतर्फ मेलम्चीमा १५६ लाभग्राही र हेलम्बुमा १८२ लाभग्राहीको खातामा केही रकम पठाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । गत वर्ष वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पालिकामा पुनःस्थापनाको काम अघि बढ्न छ । असारयता निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ । अस्थायीरुपमा बनाइएका सडक र पुलमा समेत क्षति पुग्दा स्थानीयबासीको दैनिकी कष्टकर बनेको छ । सडक अवरुद्ध हुँदा अहिले मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी गाउँपालिका–२ र हेलम्बु गाउँपालिका–२ र ३ का नागरिकले सास्ती भोगिरहेका छन् । मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा अहिले घण्टौँ समय लाग्ने गर्छ । गत वर्षको बाढीका कारण क्षतिग्रस्त भएका घरको पुनःनिर्माण र पुनःस्थापना गर्नका लागि प्रमुख जिल्ला अधिकारीमार्फत रकम विनियोजन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । निजी आवास पुनःनिर्माण अनुदानसम्बन्धी कार्यविधिबमोजिम नयाँ घर बनाउन अनुदान उपलब्ध गराइएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले बताए । स्थानीय तहबाट जिल्लामा र जिल्लाबाट प्राधिकरणमा सिफारिस भएर आउने उनले बताए । नागरिकलाई बसोबासका लागि घर र घर बनाउनका लागि जग्गा नभएमा त्यसका लागिसमेत प्राधिकरणले जग्गा उपलब्ध गराउँदै आएको छ । कसैको बस्ने बास घर छैन भने बासस्थानका जग्गा खरिद गर्न जिल्लाबाट माग गर्दा पठाउने गरिएको प्रवक्ता डा. भट्टराईले बताए । घर बनाउन तीन लाख र जग्गामा चार लाख गरी जग्गाविहीनलाई रु सात लाख उपलब्ध गराइने उनले बताए । घर बनाउन रकम कसैलाई दिने र कसैलाई नदिने सरकारको नीति नहुने डा भट्टराईले बताए । कताकता समस्या छ भनी प्राधिकरण आफैँलाई थाहा नहुने र आएको सिफारिसलाई नै आधार बनाएर विनियोजन हुने उनले जानकारी दिए । स्थानीय तहले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरेर पठाउने गरेको छ । पुनःनिर्माणमा सहजीकरण गर्ने काम जिल्लास्थित समिति र स्थानीय तह दुवैको हुने उनले बताए । मेलम्ची, हेलम्बु क्षेत्रमा अध्ययन सुरु भए पनि अन्तिम प्रतिवेदन आइसकेको छैन । कुनकुन जोखिमपूर्ण छन् र तीनलाई कताकता सार्नुपर्छ भनी अध्ययनको प्रतिवेदनका आधारमा गरिने उहाँले बताउनुभयो । मेलम्ची खानेपानी आयोजनामा पनि एशियाली विकास बैंकले अध्ययन गरिरहेको छ । त्यसमा प्रारम्भिक प्रतिवेदन आएकाले सोही आधारमा प्रारम्भिक काम अघि बढाइएको छ । त्यसको अन्तिम प्रतिवेदन आएपछि नै धेरै काम हुनसक्ने उनले बताए । अहिले देखिने गरी काम गर्न केही योजना अघि बढेको उनले बताए । उनले भने, ‘अहिले ठोसरुपमा यसरी गर्ने यकीन छैन । एकद्वार नीतिका आधारमा गर्नुपर्छ ।’ मेलम्ची र आसपासका क्षेत्रमा मनसुनका कारण जम्मा एक हजार ४१ प्रभावित भएका थिए । गत वर्षदेखि नै पुनःस्थापनाको काम सुरु गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । उनका अनुसार हालसम्म पुनःस्थापनाका लागि जम्मा २३ करोड ९८ लाख ९१ हजार २५० रकम खर्च भइसकेको छ । चालु आवमा १८ करोड ९१ लाख ५७ हजार ५०० र गत आवमा पाँच करोड सात लाख ३३ हजार ७५० रकम विनियोजन भएको थियो । मनसुन अस्थायी आवास निर्माणका लागि गत आवमा पहिलो किस्ताबापत एक करोड ९२ लाख ५८ हजार ७५० र दोस्रो किस्ताबापत ७१ लाख ५० हजार विनियोजन भएको प्राधिकरणले जनाएको छ । कुनै पनि बस्ती जोखिमपूर्ण हो भनी सिफारिस भएमा त्यसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्राधिकरणले सहयोग गर्दै आएको छ । जोखिमको अवस्था कस्तो छ त्यसका आधारमा सहयोग गर्ने गरिएको प्रमुख कार्यकारी पोखरेलले बताए । कुनै पनि बस्ती बस्नयोग्य छैन भनेर स्थानीय तहमा रहेका इञ्जिनीयरले हेरेपछि सोहीलाई आधार बनाइने गरिएको छ । ठूलो क्षेत्र नै जोखिमपूर्ण हो भन्ने लागेमा कहिलेकाहीँले प्राधिकरण आफैँ पनि अध्ययन गर्छ । कतिपय स्थानबाट अध्ययन गर्न प्राधिकरण आफैँलाई पनि अनुरोध हुने गरेको उनले बताए । आफैँले हेरेर सिफारिस गरेकामा मात्रै प्राधिकरण पूर्णरुपमा जिम्मेवार हुन्छ भने अरुमा जिल्लाको कार्यालय र स्थानीय तह पनि जिम्मेवार हुन्छन् । जोखिमपूर्ण भनी यकीन गरिएकामा प्राथमिकताका आधारमा घर स्थानान्तरण गरिने बताइएको छ । प्राधिकरणले घर निर्माणका लागि हिमाली जिल्लामा पाँच लाख, पहाडी जिल्लामा चार लाख र तराईमा तीन लाख रकम उपलब्ध गराउँदै आएको छ । जोखिम व्यवस्थापनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६, प्रधानमन्त्री दैवीउद्धार कोष सञ्चालन नियमावली, २०६३, विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति, २०७५ कार्यान्वयनमा रहेका छन् । रासस
विदेशबाट फर्किएका ५७ जनालाई व्यास नगरपालिकालाई दियाे अनुदान
तनहुँ । व्यास नगरपालिका कार्यालयले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई अनुदान दिएकोछ । रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउन कूल २४ लाख ७५ हजार अनुदानस्वरुप वितरण गरेको हो । नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा बसेर विभिन्न व्यवसायमा आवद्ध भएका व्यक्तिलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान गरेको नगरपालिका कार्यालयले जनाएको छ । विदेशबाट फर्किएर व्यवसाय सञ्चालन गर्दै आएका ५७ व्यक्तिलाई अनुदान प्रदान गरिएको व्यास नगरपालिकाका लेखा अधिकृत कुमार कञ्चन जिसीले जानकारी दिए । अनुदानका लागि १०१ जनाको आवेदन परेकोमा ५७ जनालाई अनुदान प्रदान गरिएको छ । आवेदन परेकामध्ये १२ जनाको सुरुमा नै आवश्यक कागजात नपुगेकाले फर्काइएको उनले बताए । यस्तै ८९ जनाको व्यवसायको स्थलगत अनुगमन गरी पूर्ण रुपमा मापदण्ड पूरा गर्ने ५७ व्यक्तिलाई अनुदान प्रदान गरिएको छ । नगरपालिकाले ६१ जनालाई अनुदान रकम, ५७ जनालाई प्रोत्साहन अनुदान प्रदान गरेको र तीन जनाले कृषि र पशुपालनबाट अनुदान पाएकाले दोहोरो नहुने गरी समावेश गरिएको छ । मापदण्ड पूरा गरेका व्यवसायको आकार अनुसार २५ हजारदेखि एक लाखसम्म अनुदान प्रदान गरिएको जिसीले बताए । एक लाख भन्दा बढी अनुदान दिन नपाउने प्रावधान रहेकाले क्षेत्राधिकारभित्र रहेर वैदेशिक रोजगारीबाट फर्किएर यही व्यवसाय गर्ने व्यक्तिलाई अनुदान प्रदान गरिएको सूचना अधिकारी जिसीले बताए । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउने उद्देश्यले अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । स्वदेशमा नै स्वरोजगार भएर बस्ने वातावरण तयार गर्ने नगरपालिका तथा जनप्रतिनिधिको प्रतिबद्धता अनुसार अनुदान प्रदान गरिएको हो । व्यास दूध र मासुमा व्यास नगरपालिका आत्मनिर्भर भइसकेकोले अन्य खाद्यवस्तुमा आत्मनिर्भर बनाउन युवाको जोस र लगनशीलताका सम्मान गर्न लागेको हो । विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्नुपर्छ, भन्ने उद्देश्यले समृद्ध व्यास नगर बनाउन आवश्यक देखिएकोले अनुदानका कार्यक्रम ल्याइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । कृषिजन्य र गैरकृषिजन्य भूमिको वर्गीकरण गर्ने तयारीमा व्यास नगरपालिका रहेको छ । विदेशमा सिकेको सीपलाई यही उपयोग गर्दै यहाँ उत्पादित बाँस, कसेल्टाको मुडा, चकटी लगायतका सामग्री निर्माण गरी विदेश निर्यात गर्ने विषयमा पनि छलफल भइरहेको नगरप्रमुख न्यौपानेले बताए । युवालाई तालिम र सीप प्रदान गरी उद्यमशील बनाउने योजना नगरपालिकाले लिएको छ । यसवर्षको अनुदानमा नसमेटिएका व्यवसायीलाई आगामी वर्ष प्रदान गर्ने गरी व्यवसायलाई विस्तार गर्ने योजना रहेको नगर प्रमुख न्यौपानेले बताए । रासस