विकासन्युज

‘कसिलो’ मौद्रिक नीति : सर्वसाधारणले ऋण नै नपाउने, मूल्यवृद्धि झन् चर्किने

काठमाडौं । गत साता मंगलबार नेपाल व्यवस्थापन संघ (म्यान)ले आयोजना गरेको मौद्रिक नीतिको छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति कसिलो आउन सक्ने संकेत गरे । उनले अहिले अर्थतन्त्रमा दबाब सिर्जना भएको बताउँदै अर्थतन्त्रको माग अनुसारको मौद्रिक नीति आउने उल्लेख गरे । ‘अनिवार्य नगद मौज्दात (सीआरआर) घटेर ३ प्रतिशतमा आइसकेको छ, वैधानिक तरलता अनुपात (एलएसआर) पनि बढाइएको छैन, पोलिसी रेट ५ बाट ७ प्रतिशत पु¥यायौं, अझै पनि विचार गर्नु पर्ने बेला आएको हो वा होइन, अर्थतन्त्रले के डिमाण्ड गरिरहेको छ, यस विषयमा हामी अध्ययन गरेर मौद्रिक नीति ल्याउने तयारीम छौं,’ उनले कार्यक्रममा भने । हिजो अर्थात आइतबार पनि उनले नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा मौद्रिक नीति कसिलो आउने धारणा व्यक्त गरे । ‘अहिले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा छ, अहिलेको परिस्थितिले माग गरे अनुसारको मौद्रिक नीति आउँछ, मौद्रिक नीतिले कसैलाई असर पनि गर्न सक्छ, कुनैले नाफामा कम्प्रमाइज गर्नु पर्ने अवस्था पनि आउन सक्छ तर, मौद्रिक नीति सम्पूर्ण अर्थतन्त्रको भलाइका लागि आउने विषय हो, व्यक्तिगत महाप्रसाद अधिकारीको भलाइका लागि मौद्रिक नीति आउने होइन,’ उनले भने । उनले पछिल्ला विभिन्न कार्यक्रममा मौद्रिक नीति कसिलो किसिमको आउने बताउँदै आएका छन् । उनले कसिलो मौद्रिक नीति कार्यान्वयनका लागि तयार हुन पनि बैंकर तथा व्यवसायीहरूलाई बताउँदै आइरहेका छन् । गभर्नर अधिकारीले मात्रै होइन पूर्व गभर्नरहरू, अर्थविज्ञ तथा निजी क्षेत्रका केही प्रतिनिधिहरू र बैंकरहरूले पनि मौद्रिक नीति कसिलो आउनु पर्ने बताउँदै आएका छन् । आइतबार महासंघले आयोजना गरेको कार्यक्रममै नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले ब्याजदर बढ्ने मौद्रिक नीति आउनु पर्ने धारणा राखे । ‘अहिले बैंकहरुको औसत ब्याजदर ११.४७ छ, यो कोरोनाअघिको तुलनामा पनि कम हो, प्रिकोभिड तुलनामा जोखिम बढेको छ, बैंकको कस्टभन्दा बेसरेट कम छ, राष्ट्र बैंकले सो विषयमा सोच्नु पर्ने हुन्छ,’ एनएमबी बैंकका सीईओ समेत रहेका केसीले भने । विदेशी दातृ निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले समेत मौद्रिक नीति कसिलो ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएको छ । आईएमएफले राष्ट्र बैंकलाई बैंकरहरुको माग पूरा गर्नतर्फ नभइ अर्थतन्त्र बचाउनतर्फ केन्द्रित हुन सुझाएको छ । आईएमएफले राष्ट्र बैंकलाई ब्याजदर बढाउन पनि सुझाव दिएको बताइएको छ । के हो कसिलो मौद्रिक नीति ? विभिन्न अर्थशास्त्री, बैंक विज्ञ तथा पूर्व गभर्नरहरूले समेत कसिलो मौद्रिक नीति ल्याउन सुझाव दिइरहेको बेला सर्वसाधारणहरूलाई भने ‘कसिलो’ शब्दमै अन्योलता देखिएको छ । कसिलो मौद्रिक नीति ल्याउनु पर्ने सुझावले कस्तो खालको मौद्रिक नीति आउँछ भन्ने अड्कलबाजी सर्वसाधाधरण मात्रै होइन उद्योग व्यवसायीमा पनि हुन थालेको छ । नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल बजारमा पैसा सप्लाईमा कडाइ गर्नु नै कसिलो मौद्रिक नीति भएको धारणा राख्छन् । उनका अनुसार कसिलो मौद्रिक नीति ल्याउँदा बजारमा पैसाको अभाव हुने स्थिति आउँछ । ‘कसिलो मौद्रिक नीति भनेको बजारमा पैसा फालाफाल नहुनु हो, खुकुलो भनेको बजारमा पैसा धेरै पठाउने हो, बजारमा पैसा पठाउन कडाइ गर्नु नै कसिलो मौद्रिक नीति हो,’ उनले भने । यस्तै, सिडी रेसियो घटाएर, नेट एलडी रेसियो बढाएर, सीआरआर र एसएलआर बढाएर र सबैभन्दा महत्वपूर्ण विषय ब्याजदर बढाएर लगायतका मौद्रिक उपकरणहरू प्रयोग गरेर कसिलो मौद्रिक नीति बनाइने उनी बताउँछन् । यस्तै, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री व्यक्तिको खल्तिमा पैसाको अभाव हुने खालको नीति ल्याउनु नै कसिलो मौद्रिक नीति भएको धारणा राख्छन् । ‘कुनै मानिसले खल्तिमा चाउचाउ खानको लागि पैसा राखेको छ भने त्यो अब बैंकिङ च्यानलमा हुन्छ, कसिलो मौद्रिक नीतिले ब्याजदर बढाउँछ, अर्थतन्त्रलाई सहयोग पुर्याउनका लागि आयातमा कडाइ गर्छ, यसले निक्षेपमा वृद्धि हुन्छ र बैंकिङ प्रणालीमा निक्षेप बढ्छ,’ उनले भने । यस्तै, उनले पनि कसिलो मौद्रिक नीति आयो भने सीआरआर र वैधानिक तरलता अनुपात बढ्न सक्ने बताए । उनले अहिले भएको ७ प्रतिशतको बैंकदर कसिलो मौद्रिक नीति आएमा बढ्न सक्ने पनि धारणा राखे । वाह्य क्षेत्रमा दबाब पर्दै गएकोले त्यसको सन्तुलन, मुद्रास्फीति नियन्त्रण र वित्तीय स्थायित्वका लागि पनि कसिलो मौद्रिक नीति आवश्यक भएको उनको तर्क छ । हुन त यसअघि नै नेपाल राष्ट्र बैंकले बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर मर्जर तथा एक्विजिसनमा दिइरहेको सुविधा कटौति गर्ने सँगै पुनर्कर्जाका सुविधा पनि विस्तारै घटाउँदै लैजाने बताइसकेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई दिँदै आएको सेवा सुविधाहरू कटौति गरेर केही नीतिगत कडाइ गर्न सक्ने बुझाइ धेरैको छ । त्यसैले पनि बैंकर, उद्योगी व्यवसायी तथा सेयर लगानीकर्ताले चाहे जस्तो मौद्रिक नीति नहुने विश्लेषण पनि गर्न थालिएको छ । कस्तो पर्छ इप्याक्ट ? नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीति ल्याएपछि त्यसको प्रभाव बजारमा अवश्य नै पर्छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् गरेको ४/१२ करोड रूपैयाँको सेयर धितो कर्जाको व्यवस्थाले सेयर बजार र ९० प्रतिशतको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को व्यवस्थाले तरलतामा असर परेको धेरैको बुझाइ छ । अहिले पनि ती दुवै व्यवस्थालाई खारेज गर्न विभिन्न निकायबाट राष्ट्र बैंकमाथि दबाब छ । बैंकविज्ञ तथा अर्थशास्त्रीहरूले समेत कसिलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाएको बेला कसिलो मौद्रिक नीतिको प्रभाव भने के कस्तो पर्छ भन्ने विषयलाई प्राथमिकताका साथ हेरिएको छ । पूर्वबैंकर दाहाल कसिलो मौद्रिक नीति आएमा बजारमा पैसाको अभाव हुने र बैंकको ब्याजदर पनि बढ्ने बताउँछन् । कसिलो मौद्रिक नीतिले सर्वसाधारणले बैंकबाट ऋण नपाउनुका साथै महँगो ब्याजदरमा ऋण लिन सक्ने क्षमतामा ह्रास आउन सक्ने बताउँछन् । उनले बैंकको ब्याजदर बढेपछि वस्तुको मूल्य पनि बढ्ने र सजिलै तथा सस्तोमा वस्तु खरिद गर्न सक्ने उपभोक्ताको क्षमता घट्ने बताए । ‘ब्याजदर बढेपछि वस्तुको मूल्यवृद्धि हुन्छ, ब्याजदर बढेपछि आयातमा केही संकुचन आउँछ, आयात कम भएपछि भएको वस्तुको मूल्य बढ्छ, महँगो मूल्य सर्वसाधारणले खरिद गर्न सक्दैनन् तर, विस्तारै माग कम भएपछि भने मूल्य घट्न थाल्छ,’ उनले भने । यस्तै, पूर्व गभर्नर क्षेत्रीले वैधानिक तरलता अनुपात र अनिवार्य नगद मौज्दात बढाएमा बजारमा तरलता प्रवाह थप घट्ने बताए । राष्ट्र बैंकले बैंकदर बढाउँदा त्यसको असर ब्याजदरमा पनि पर्ने र केही समय असाध्यै मूल्यवृद्धि हुन सक्ने उनको धारणा छ । यद्यपि, अर्थतन्त्रलाई सुधारको दिशामा लिनको लागि कसिलो मौद्रिक नीति नै आवश्यक भएको उनको राय छ । ‘अहिले पनि महँगी बढिरहेको छ, शोधनान्तर घाटा उच्च हुँदै गएको छ भने विदेशी मुद्राको सञ्चितिमा चाप पर्दै गएको छ, यो अवस्थामा बजारमा मनि सप्लाइ रोक्नु पर्छ, कर्जा लगानीमा कडाइ गर्नुपर्छ,केही समय मूल्यवृद्धि भएपनि पछि लयमा फर्किँन्छ,’ उनले भने । नेपाल राष्ट्र बैंकका सह—प्रवक्ता नारायण पोखरेल भने राष्ट्र बैंक ब्याजदर पनि नबढ्ने र अहिलेको अवस्थालाई सम्बोधन गर्ने खालको मौद्रिक नीति आउने बताउँछन् । ‘राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउँदैन तर, सहज पार्नु पर्ने क्षेत्रलाई केही सहज गरिन्छ, कडाइ गर्नु पर्ने क्षेत्रमा कडाइ पनि हुन्छ, सबै सिद्धान्तहरूको मिसावटमआ मौद्रिक नीति आउँछ,’ उनले भने । यस्तै, उनले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न मौद्रिक नीतिले ध्यान दिने बताए । उनका अनुसार अहिले तत्काल राष्ट्र बैंकले चलाउने मौद्रिक औजाररू बैंकदर, सिआरआर, एसएलएफ, एलडी रेसियो लगायत हुन् । यिनै मौद्रिक औजारहरूको अध्ययन गरेर मौद्रिक नीति आउने उनी बताउँछन्।

महावीर पुनलाई गण्डकी रत्न सम्मान, अनुसन्धानका लागि प्रदेशले छुट्यायो १० करोड

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पुर्याउन सफल भएको भन्दै प्रशंसा गरे । शिक्षण पेसामा आवद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन साे स्थानमा पुगेको बताए । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको जानकारी दिए । उनले भने, ‘हामीले महसुस गरेका छौं, समृद्धिका लागि अनुसन्धानको महत्व कति छ भन्ने छिटै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने छ । विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगीमा २०११ सालमा जन्मेका हुन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन बायोमेडिकल, कृषि, शिक्षा, ड्रोन, लगायत क्षेत्रमा कार्य गर्दै आएका छन् । पुन रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित भइसकेका छन् । गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्य सरहको मर्यादाक्रम निर्धारण गरिएको छ । प्रदेशभित्रका सरकारी अस्पतालमा निशुल्क उपचार, विमानस्थलको भिआइपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने गरी कार्यविधि बनाइएको छ ।  

८४ करोडको हतियारले संसदमा हंगामा, कमिशनको लागि ३०० प्रतिशत मूल्य वृद्धि

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै बिरोध जनाएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद नवराज सिलवालले सरकारले ८४ करोड रुपैयाँ बराबरको हतियार किन्नका लागि बजेट रकमान्तर गरेको भन्दै त्यसप्रति आपत्ति जनाए । उनले देशमा आर्थिक संकट आउन लागेको बेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात गरेको बताए । उनले हाल नेपाल प्रहरीलाई हतियार नचाहिएको भन्दै विचौलिया र राजनीतिक व्यक्तिहरुलाई पैसा चाहिएकाले यो योजना अगाडि बढाइएको बताए । उनले हतियारको कमिशन तीन सय प्रतिशतसम्म बढाएर रकमान्तर गरिएको बताए । उनले भने–‘हालका उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई फसाउने, जेल हाल्ने र अख्तियार लगाएर कठघरामा ल्याउने ढंगले प्रपञ्चका साथ हतियार किन्ने रणनीति अगाडि बढेको छ । यसको हामी घोर भत्र्सना गर्न चाहन्छौँ । नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन । नेपाल प्रहरीलाई अहिले व्यारेक चाहिएको छ । नेपाल प्रहरीलाई अहिले प्रविधि चाहिएको छ । अहिले जिडिटल क्राइमहरु बढेका छन् । अर्गनाइज क्राइमहरु बढेका छन् । उसलाई अनुसन्धानमा योग्य बनाउनु पर्यो । नेपाल प्रहरीलाई हतियार होइन, प्रविधि चाहिएको छ । गठबन्धनमा बसेका साथीहरुलाई पैसा चाहिएको छ । यहाँ कमिशन चाहिएको छ । कमिशन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्रलाई तहसनहस गर्ने गरी ८४ करोडको हतियार किन्ने योजना आएको छ, यो राष्ट्रघात हो । हतियारको कमिशन दुई सय, तीन सय प्रतिशतसम्म बढाएर, कोटा बढाएर देशलाई लुट्ने, राज्यलाई लुट्ने ढंगले गठबन्धन अगाडी बढेको छ । यो धोका हो । मुलुकप्रतिको राष्ट्रघात हो ।’

नबिल-एनबी बैंकबीच एकीकृत कारोबार शुरु

काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश (एनबी) बैंकबीच एकीकृत कारोबार शुरु भएको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । ‘क’ वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबैभन्दा ठूलो वितीय संस्था भएको छ । बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको बताए । बैंकका अनुसार प्राप्ति पछि बैंकको चुक्ता पुंजी २२ अर्ब ८३ करोड, कुल पुंजी ५६ अर्ब २ करोड, कुल निक्षेप ३ खर्ब २८ अर्ब तथा कुल कर्जा ३ खर्ब ८ अर्ब पुगेको छ । त्यस्तैगरि बैंककाे देशभरिको शाखा विस्तार भई २६७ शाखा सञ्जालहरु र २७४ एटिएम मेसिनहरुबाट सेवा प्रदान गर्नेछ ।    

कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ्ग सेवा थप तीन स्थानमा

काठमाडाैं । कामना सेवा विकास बैंकले थप तीन नयाँ स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले मोरङ्ग जिल्लाको केराबारी गा.पा. वडा नं. १० को थापाटारमा, सुन्दर सरैंचा न.पा. वडा नं. १२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गा.पा. वडा नं. ०१ को नमुना चोकमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले थापाटारकाे लागिकेराबारी भ्यु होटल एण्ड बार (प्रो. धन बहादुर लिम्बु), शुक्रबारेकाे लागि आरजु कस्मेटिक एण्ड रेडिमेड (प्रो. राजन भगत) र नमुना चोककाे लागि बबि सप्लायर्स (प्रो. नन्द कुमार याफु राई) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेकाे छ । शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएकाे छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको जनाएकाे छ ।

साउनदेखि माथिल्लो दोर्दी ‘ए’ बाट २५ मेगावाट बिजुली उत्पादन हुने

लमजुङ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ । कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । आयोजनाले पटक–पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद आगामी साउन महिनासम्म रहेको र सो भित्रै जसरी पनि बिजुली उत्पादन हुने उनको भनाइ छ । आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ । गतवर्ष दोर्दी खोलामा आएको बाढीले क्षति बनाएको खण्डको काम भइरहेको छ । ‘यतिबेला पेनस्टक पाइपमा, टनेलमा पानी भर्ने काम भयो, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएको आधा काम बाँकी छ’, प्रवद्र्धक वस्तीले भने, ‘आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा झारिने छ ।’ यसको सफल परीक्षणसमेत भइसकेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार उक्त लाइन निर्माण भएसँगै परीक्षण उत्पादन थाल्ने र सफल भएसँगै व्यावसायिक रुपमा बिजुली उत्पादन हुनेछ । आयोजना निर्माणका क्रममा तीन अर्ब ९६ करोड लगानीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । रासस

पूँजी र प्रविधि भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक संकटका संकेतहरुबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् । आइतबार नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाकाे अवसरमा लन्डनमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्ताे आग्रह गरेका हुन् । ‘विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन, त्यो समस्या हामी पनि झेलिरहेका छौँ,’ उनले भने । उनले नेपाललाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाईराख्न संसारभरमा रहेका नेपालीहरुले नेपालमा पूँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गरे । उनले भने, ‘नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ, यसबाट लाभ लिनुहोस् र नेपालमा बढीभन्दा बढी लगानी ल्याउनुहोस् भन्ने मेरो आग्रह छ ।’ लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक रहेको उनले बताए ।  

आधा घण्टामै ४२ अंकले घट्यो सेयर बजार

काठमाडौं । सेयर बजार ४२ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४२.०१ अंकले घटेको हो । यो समाचार तयार पार्दा सम्म अर्थात बिहान ११ बजेर ३९ मिनेट जाँदा ८ लाख ४२ हजार १६२ कित्ता सेयर खरिदबिक्रीबाट कुल ३६ करोड ६२ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।