विकासन्युज

७९ लाख कित्ता आइपीओ ल्याउँदै घोराही सिमेन्ट, बिक्री प्रबन्धकमा हिमालयन र नबिल नियुक्त

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने भएको छ । पश्चिम नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योगको रुपमा रहेको घोराहीले ७९.४३ लाख कित्ता आइपीओ प्रिमियम मुल्यमा सार्वजनिक गर्न लागेको हो । कम्पनीले उक्त सेयरकाे निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गसँग सम्झौता गरेको छ । सम्झौता समारोहमा हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र निष्काशन कम्पनी घोराही सिमेन्ट इन्डस्ट्रिको तर्फबाट संचालक आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । वि.सं २०६४ सालमा दर्ता भई २०६९ सालदेखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । बिशाल समूहबाट संयुक्त रुपमा प्रवर्धित घोराही सिमेन्ट इन्डस्ट्रि क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योगमा पर्दछ । हाल कम्पनीले सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

१९ बाट ९ वटामा झरेपछिका बीमा कम्पनी, कसको पुँजी कति ?

काठमाडौं । असार महिनामा बीमा कम्पनीहरू १९ वटा बीमा कम्पनीहरूले मर्जर सम्झौता गरे । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएर असार मसान्तभित्र मर्जरमा जाने कम्पनीलाई कर छुटको घोषणा गरेसँगै असारमा अधिकांश कम्पनीहरूले मर्जर सम्झौता गरेका हुन् । समितिबाट कर छुट लगायत विभिन्न सेवा सुविधा पाउने आशले कम्पनीहरुले अन्तिम समयमा भटाभट मर्जरको लागि एमओयू गरे । पुनर्बीमा कम्पनी बाहेक ३९ वटा बीमा कम्पनीहरुमध्ये १९ वटा कम्पनी मर्जरमा जाने भएका छन् । असार महिनामा निर्जीवन बीमाका १० वटा र जीवन बीमाका ९ वटा कम्पनीले मर्जरमा जान प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । जुन तीन महिनाभित्रमा बीमा क्षेत्रमा देखिएको उपलब्धी पनि हो । एमओयू गरिसकेका निर्जीवन बीमा कम्पनीमा हिमालयन जनरल, एभरेष्ट, प्रिमियर, सगरमाथा, लुम्बिनी जनरल, सिद्धार्थ, जनरल र सानिमा जनरल इन्स्योरेन्स तथा प्रभु र अजोड इन्स्योरेन्स रहेका छन् । जसमध्ये हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले भने मर्जरमा जानको लागि बीमा समितिबाट सैद्धान्तिक सहमति समेत पाइसकेका छन् । अब यी कम्पनीले साउनदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार गर्दै छन् । जसको चुक्ता पुँजी २ अर्ब २३ करोड रुपैयाँ नाघेको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भइसकेको छ । मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने गरी दुई कम्पनीबीच सहमति भएको हो । तर स्वाप रेसियो भने हालसम्म तय भइसकेको छैन । यदि डीडीएलले फरक नपारे दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा मर्ज हुने सहमति भएको छ । सो अनुसार दुई कम्पनी मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । उक्त रकम निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी हो । त्यसपछि सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच सानिमा जनरलको इन्स्योरेन्सको नाम रहने गरी मर्जर सम्झौता भएको छ । दुई कम्पनीबीच बराबर हैसियत अर्थात १ बराबर १ को अनुपातमा सम्झौता भएको हो । यससँगै नयाँ बन्ने कम्पनीको पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ । जुन समितिले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स पनि १०० बराबर ८० को स्वाप रेसियोमा मर्जरमा जाने भएका छन् । उक्त स्वापमा मर्ज भएपछिको कम्पनीको पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार हुने छ । त्यस्तै, प्रभु र अजोड इन्स्योरेन्सले अन्तिम घडीमा मर्जरमा जानको लागि सम्झौता गरेका छन् । यी कम्पनीले मर्जरपछि सेवा सुविधामा छुट पाउनको लागि असार ३२ गते राती बजेतिर एमओयूमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार मर्जरपछि प्रभु इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने र चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्ने भएको छ । ४ वटामा सीमित भए ९ जीवन बीमा कम्पनी यता जीवन बीमातर्फ ९ वटा कम्पनीले मर्जरमा जानको प्रारम्भिक समझदारी गरिसकेका छन् । जसमा प्रभु र महालक्ष्मी लाइफ, सूर्या र ज्योति लाइफ, रिलायन्स र सानिमा लाइफसहित प्राइम, गुराँस र यूनियन लाइफले एक आपसमा मर्जरमा जानको लागि पहिलो चरणमा सम्झौता गरेका हुन् । जसमध्ये प्रभु र महालक्ष्मी लाइफले स्वाप रेसियोसहित मर्जर पछि बन्ने कम्पनीको नामसमेत तय गरिसकेका छन् । यी दुई बराबर अनुपातमा मर्जरमा जान लागेको हुन् । जसअनुसार मर्जरपछि बन्ने प्रभु महालक्ष्मी लाइफको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्ने छ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जान असार १२ गते एमओयू गरेका हुन् । यदि १ बराबर १ को अनुपातमा स्वाप रेसियो तय भए कम्पनीको चुक्ता पुँजी करिब ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ र ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ पुँजी छ । सूर्या लाइफ इन्स्योरेन्सका सीईओ पवन खड्काका अनुसार कम्पनीको मर्जर समितिले गरेको डीडीएको आधारमा स्वाप रेसियो, नयाँ बन्ने कम्पनीको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र कर्मचारी समायोजनको विषय टुंगो लाग्ने छ । रिलायन्स र सानिमा लाइफ पनि १ बराबर १ को अनुपातमा मर्जरमा जान लागेका छन् । यससँगै दुई कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ । तर हालसम्म भने मर्जर पछि बन्ने कम्पनीको नाम तय भइनसकेको कम्पनीहरुले जनाएका छन् । त्यसैगरी, प्राइम, गुराँस र युनियनले जीवन बीमा क्षेत्रमा सबैभन्दा पहिला मर्जरमा जानको लागि एमओयू गरे । तर हालसम्म पनि स्वाप रेसियो तय भएको छैन । स्वाप रेसियोसँगै मर्जपछि बन्ने कम्पनीको नाम, सीईओ लगायत अध्यक्षको केही पनि टुङ्गो नलागेको यूनियन लाइफका सीईओ मनोज कुमार लालले बताए । ‘हाल मर्जर सम्झौता मात्र गरेका हौं, डीडीए गर्न बाँकी छ, क्लोजिङ् पछि सबै निर्णय गर्ने छौं,’ सीईओ लालले विकासन्युजसँग भने । यी तीन कम्पनीको कूल चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ । कम्पनीहरु मर्जरमा जानुको उद्देश्य भनौं या बाध्यकारी परिस्थिति एउटै हो, चुक्ता पुँजी वृद्धि गर्ने । बीमा समितिले एकाएक निर्जीवन बीमा कम्पनीको न्यूनतम पुँजी साढे २ अर्ब रुपैयाँ र जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब पुर्याउने व्यवस्था गरेको थियो । जसको लागि पहिलो प्राथमिकतामा मर्जर नै थियो । यद्दपि पुँजी पुर्याउनकै लागि गरिएको मर्जरपछि बन्ने अधिकांश कम्पनीहरुको चुक्ता पुँजीले समितिको व्यवस्थालाई मिट गर्न सकेको छैन । अर्थात् तोकिएको न्यूनतम पुँजी भन्दा कम छ । भलै, यो छोटो समयमा बीमा कम्पनीहरुले समितिको निर्देशन अनुसार गरेको यो प्रयासलाई भने सकारात्मक रुपमा लिन सकिन्छ । तोकिएको पुँजी पुर्याउनको लागि कम्पनीहरुलाई आगामी चैतसम्मको समय छ । उक्त समयभित्रमा मर्जरमा गएका कम्पनीहरुले हकप्रद तथा बोनस सेयरमार्फत न्यूनतम पुँजी पुर्याउन सक्ने देखिएको छ । र, त्यसपछिको बीमा क्षेत्रले छुट्टै रुप लिएर बजारमा फड्को मार्ने नियामक निकाय बीमा समितिको विश्वास छ ।

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने, नछुट्याए नउठाइने

काठमाडौं । आजबाट काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्ने भएको छ । कुहिने र नकुहिने फोहोर नछुट्याएमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ । शनिबार एक सूचना जारी गर्दै महानगरपालिकाले कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तोकेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको थियो ।

सार्वधिक ओपिसि सिमेन्ट बिक्री गर्ने कम्पनी बन्यो शिवम्, ११ करोड बोरा बेच्न सफल

काठमाडौं । ओपिसि सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्सले ११ करोड बोरा सिमेन्ट बिक्री गर्न सफल भएकाे छ । याेसँगै शिवम् नेपालभरी सर्वाधिक बिक्री हुने ओ.पि.सि सिमेन्ट बन्न सफल भएको कम्पनीले जनाएकाे छ । ओ.पि.सि मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको चुनढुङ्गाबाट ओपिसि सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । यस कम्पनी नेपाली सिमेन्ट उद्याेगमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन. एस. क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो । कम्पनीले आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिवद्धता जनाएको छ ।

अब ३ सय डलर माथिको मोबाइल आयात गर्न नपाइने

काठमाडौं । अब ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्ट मोबाइल फोन आयात गर्न नपाइने भएको छ । असार मसान्तसम्म विभिन्न १० वस्तुको आयातमा रोक लगाएको सरकारले आयात प्रतिबन्धलाई लम्बाउँदै यस्तो निर्णय गरेको हो । आईतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशन गर्दै आगामी भदौ १४ गतेसम्म विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो । यसअघि ६०० अमेरिकी डलरभन्दा बढीका मोबाइल फोन आयातमा रोक लगाईएको थियो । अहिले यसलाई परिमार्जन गरेर ३ सय डलर बनाइएको हो ।  

बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ । बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्त रहेको साथै स्थायी दरबन्दीमा रहेका मेडिकल अधिकृत (आठौँ तह) दुवै अध्ययनमा रहेकाले गाउँपालिकाले मन्त्रालयसँग चिकित्सक माग गरेको हो । अस्पतालमा हाल करारमा कार्यरत चिकित्सकहरूको पनि सेवा समाप्त हुने अवधि नजिक रहेकाले दैनिक स्वास्थ्य सेवा प्रवाहमा अप्ठ्यारो परेको गाउँपालिकाका अध्यक्ष अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । ‘अस्पतालमा चिकित्सक अभाव र स्वास्थ्य सेवा प्रवाहमै समस्या आउने भएपछि स्वास्थ्य सचिवलाई भेटी चिकित्सकको माग गरेका हौँ’, उनले भने । अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टसहित छ मेडिकल अधिकृतको दरबन्दी रहेकामा अस्पताल लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्टविहीन छ । दुई जना मेडिकल अधिकृत छात्रवृत्तिमा अध्ययनका लागि बिदामा छन् । हाल तीन मेडिकल अधिकृत कार्यरत छन् । छात्रवृत्तिका लागि गएका दुई चिकित्सकको दरबन्दी प्रदेशमा स्थानान्तरण गरी दुई चिकित्सक नियुक्तिका लागि मन्त्रालयसँग अनुरोध गरिएको अस्पताल व्यवस्थापन समितिका थापाले बताए । ‘अस्पतालबाट सबै विवरणसहित पत्र लेखेर मन्त्रालयमा पठाएपछि उनीहरूलाई प्रदेशमा स्थानान्तरणका लागि सहयोग गर्ने स्वास्थ्य सचिवबाट प्रतिबद्धता आएको छ, त्यसपछि त्यस ठाउँमा अर्को चिकित्सक नियुक्ति हुनेछ’, उनले भने । विसं २०२२ मा स्थापना भएको बन्दीपुर अस्पतालका भवन जीर्ण भएकाले भवन निर्माणका लागि बजेट विनियोजन गरिदिन पनि मन्त्रालयसँग माग गरिएको छ । विसं २०७२ को भूकम्पका कारण पनि भवनमा थप क्षति भएकाले सेवा प्रवाहका कठिनाइ भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । ‘स्थापनाकालदेखि निर्मित भवनबाट नै हालसम्म सेवा सञ्चालन भइरहेको र भवन जीर्ण भइसकेको अवस्था छ, नयाँ भवन निर्माण गर्नुपर्ने आवश्यकता छ’, उनले भने । यस्तै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रसँग क्षयरोगी पहिचानका लागि जेनेक्सपर्ट उपकरण माग गरिएको छ । बन्दीपुर अस्पतालमा क्षयरोगीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको र बन्दीपुरमै डिआर होम सञ्चालनमा रहेकाले क्षयरोगी पहिचानका लागि उक्त उपकरण आवश्यक भएको जनाइएको छ । बन्दीपुर अस्पतालमा तनहुँका अतिरिक्त गोरखा, लमजुङबाट पनि क्षयरोगी उपचारका लागि आउने गरेका छन् । रासस  

गभर्नरको राजीनामा माग गर्दै विद्यार्थी संगठनको विरोध, कार्यालय प्रवेशमा रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ समिति सदस्यमा रहेको भन्दै सत्तारुण गठबन्धनका विद्यार्थी संगठनहरुले विरोध गर्दै आएका छन् । विरोध स्वरुप आईतबार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्रको सङ्गठन अखिल क्रान्तिकारीले विरोध गर्ने भएका छन् । गभर्नर कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाईने व्यवस्था रहेता पनि गभर्नर अधिकारी एमालेको सदस्य भएको भन्दै सत्तारुण दलका विद्यार्थी संगठनहरुले विरोध गर्दै आएका हुन । विरोध स्वरुपमा दुबै विद्यार्थी संगठनले आइतबार बिहान १० बजे नेपाल राष्ट्र बैकको गेट घेरेर गभर्नर अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने तयारी गरेका छन् । विरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले सम्बोधन समेत बताईएको छ । एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीको रूपमा अधिकारीको नाम उनले राजीनामा दिनुपर्ने माग सहित विरोध सुरु भएको हो ।

लम्बियो आयात प्रतिबन्ध, मोटरसाइकलमा झन कडाई

काठमाडौं । सरकारले विभिन्न दश वस्तुको आयातमा पुनः प्रतिबन्ध लगाएको छ । यसअघि असार मसान्तसम्म विभिन्न १० वस्तुको आयातमा रोक लगाएको सरकारले आयात प्रतिबन्धलाई लम्बाएको हो । आईतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशन गर्दै आगामी भदौ १४ गतेसम्म विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो । सरकारले आयात प्रतिबन्धलाई निरन्तरता दिएसँगै अब कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), दुई पाँग्रे तथा चार पाँग्रे सवारी साधन, सबै प्रकारका खेलौना र तास आयात गर्न पाइनेछैन् । यसअघि ६०० अमेरिकी डलरभन्दा बढीका मोबाइल फोन आयातमा रोक लगाईएकोमा उक्त प्रतिबन्धलाई कडा बनाउँदै ३०० अमेरिकी डलरभन्दा माथिका महँगा फोन आयातमा रोक लगाएको हो । यसअघि २५० सीसी क्षमताका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाईएकोमा अब १५० सीसी माथिका साधन ल्याउन रोक लगाईएको छ । सरकारले उक्त वस्तु साउन १ गतेभन्दा अगाडी नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सुरु भएको अवस्थामा साधन ल्याउन कुनै रोक नभएको जनाएको छ ।