विकासन्युज

विदेशमा पढाइ : सेवा सुविधा र भिसा प्रकृयामा कुन देश राम्राे ?

काठमाडौं । कक्षा १२ को नतिजा आउन केही समय मात्रै बाँकी छ । कक्षा १२ को परिक्षा दिएर बसेका मध्ये ठूलो संख्याका विद्यार्थीहरुले विदेश गएर पढाई र आम्दानीलाई सँगसँगै अगाडि बढाउँछन् । स्नातक तह पढ्दै गरेका र कक्षा १२ को परिक्षा दिएर नतिजाको प्रतिक्षामा रहेका हजारौं विद्यार्थीहरुले विदेशमा पढ्न जानको लागि विभिन्न विदेशी भाषा परिक्षा दिने तयारी गरिरहेका छन् । कन्सल्टेन्सीहरुका अनुसार यतिबेला सबैभन्दा धेरै विद्यार्थीहरुले आइएलटिस, टोफेल, पिटई जिआरई, जिएमएटी, एसएटी लगायतका भाषा पढ्ने गरेका छन् । साथै जापान गएर पढ्न चाहने विद्यार्थीहरुले जापानी भाषाको पनि अध्ययन गरिरहेका छन् । जापान पछिल्लाे समय नेपाली विद्यार्थीका लागि जापान पढाइ र काम गर्नका लागि सबैभन्दा बढी राेजाइमा पर्छ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका कोषाध्यक्ष अनिल शर्मा पौडेलले जापान अध्ययन गर्न जानको लागि कम्तिमा कक्षा १२ पास भएको विद्यार्थी हुनुपर्ने बताउँछन् । जापान पढ्नको लागि उमेरको कसिलो हद नभएको तर, जापानमा गएर पढेर नै केही गर्छु भन्ने आकांक्षा भएको विद्यार्थी हुनुपर्ने उनको भनाइ छ । जापान पढ्न जान चाहेको स्कुल वा कलेजले नै अन्तर्वार्ता लिने हुँदा त्यसमा उत्तिर्ण हुनु पर्छ । जापानमा अध्ययन भिसामा जाने विद्यार्थीले हप्तामा २८ घण्टा भन्दा धेरै काम गर्न नपाइने व्यवस्था छ । साथै डिस्को, डान्सबार जस्ता क्षेत्रहरुमा विद्यार्थीहरुले काम गर्न पाउँदैनन् । विद्यार्थी भिसामा गएका विद्यार्थीले कामको लागि तोकिएको समय र क्षेत्रलाई उलंघन गरेमा त्यसलाई गैरकानूनी मानी कारवाही हुने पौडेल बताउँछन् । उनका अनुसार जापानको कलेजमा अध्ययन गर्दा वार्षिक ५ देखि ८ लाखसम्म शुल्क बुझाउनुपर्ने हुन्छ । त्यस्तै होस्टेल वापत वार्षिक १ लाख ८० हजार देखि २ लाख ८० हजार सम्मको शुल्क बुझाउनुपर्ने हुन्छ । भिसा प्रकृया शुल्क ५ हजार रुपैयाँ लाग्ने गर्दछ । तर, जापानमा अध्ययन गर्न जान चाहने विद्यार्थीले कम्तिमा ६ महिनाको भाषा कोर्ष गरेर जाँदा मात्रै राम्रो हुने पौडेल बताउँछन् । त्यसरी भाषा अध्ययन गरेर जाँदा मात्रै अध्ययन र कामको लागि सहज हुने उनको तर्क छ । अष्ट्रेलिया यतिबेला धेरै नेपाली विद्यार्थीको आकर्षणको केन्द्र अष्ट्रेलिया बनेको छ । आइएलटिस र पिटिई भाषा परीक्षा दिएर हजारौं नेपाली विद्यार्थीले अष्ट्रेलियाको लागि भिसा आवेदन गरिरहेका छन् । ३ महिना अघिको अवधिसम्म आवदेन गरेका धेरै विद्यार्थीको भिसा लागेपनि अहिले भने झण्डै ९८ प्रतिशत विद्यार्थीको भिसा लागको छैन । चेरब एजुकेसन कन्सल्टेन्सीका सञ्चालक इश्वर श्रेष्ठका अनुसार अष्ट्रेयामा पढ्न जान चाहेको विद्यार्थीले कक्षा १२ मा कम्तिमा ५५ प्रतिशत ल्याएर उत्तिर्ण भएको हुनुपर्छ । अष्ट्रेलिया अध्ययन भिसा लाग्नको लागि विद्यार्थीले आइएलटिएस, टोफेल, पिटिई जस्ता भाषा परीक्षामा ६० प्रतिशत ल्याएर उत्तिर्ण हुनुपर्दछ । त्यस्तै र १२ कक्षा पास गरिसकेपछि ३ वर्षभन्दा धेरै ग्याब भएको विद्यार्थीले अष्ट्रेलियामा अध्ययनको लागि आवदेन गर्न सक्दैनन् । श्रेष्ठकाअनुसार अष्ट्रेलियामा इन्स्ट्च्यिुट, कलेज र विश्वविद्यालय गरी तीन प्रकारका शैक्षिक क्षेत्र हुन्छन् । इन्स्टिच्युटहरुमा पढ्नको लागि वार्षिक रुपमा ८ हजार देखि १२ हजार अष्ट्रेलियन डलर सम्म शुल्क लाग्छ । कलेजमा वार्षिक रुपमा १४ हजार देखि २२ हजार सम्म र विश्वविद्यालयहरुमा २६ हजार देखि ३५ हजार अष्ट्रेलियन डलर शुल्क लाग्छ । विद्यार्थीहरुलाई इन्स्टिच्युटले १ हजार डलर सम्म, कलेजले २० प्रतिशत सम्म र विश्वविद्यालयले ३० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने गरेको श्रेष्ठले बताए । कलेजको शुल्क बाहेक विद्यार्थीले होस्टेल, खाना लगायतका शिर्षकमा समेत खर्च गर्नुपर्ने हुन्छ । अष्ट्रेलिया अध्ययनको लागि जान ६३५ डलर भिसा शुल्क तिर्नुपर्ने र स्वदेशमा नै बायोमेट्रिक र मेडिकल रिपोर्ट बनाउनुपर्ने हुन्छ । अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीले कानूनी रुपमा दिनको २ घण्टा र हप्तामा २० घण्टा काम गर्न पाउँछन् । तर, अहिले कोभिड महामारीसँगै त्यहाँको सरकारले विद्यार्थीलाई काम गर्नको लागि समयलाई कसिलो नबनाएको श्रेष्ठको भनाइ छ । युरोपियन मुलुक वर्षेनी ठुलो संख्यामा नेपाली विद्यार्थीहरु युरोपका विभिन्न मुलुकमा अध्ययन भिसामा जाने गर्दछन् । अन्य मुलकहरुमा अध्ययन गर्न जाने जाने प्रकृया जस्तै युरोपका मुलुकमा जानको लागि पनि केही सिमित प्रकया अवलम्बन गर्नुपर्ने हुन्छ । डाइरेक्सन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक शिबु रानाले युरोपियन मुलुकमध्ये धेरै विद्यार्थीको रोजाइको मुलुक युके भएको बताए । युकेमा १ वर्षमा नै डिप्लोमा कोर्ष पूरा गर्न सकिने उनको भनाई छ । युरोपका जुनसुकै देशमा अध्ययन भिसा लाग्नको लागि कक्षा १२ पास गरेको हुनुपर्ने साथै कम्तिमा २ दशमलब ४ जिपिए ल्याएको हुनुपर्छ । तर, मेडिकल लगायत अन्य प्राविधिक विषयको हकमा भने धेरै ल्याउनुपर्ने उनको भनाई छ । त्यस्तै युरोपियन मुलुकमा अध्ययन भिसा प्राप्त गर्नको लागि विद्यार्थीले टोफेल, आइएलटिएस र पिटिइ जस्ता भाषा परीक्षा कम्तिमा ५ दशमलब ५ अंक ल्याउनुपर्दछ । युरोपका मुलुकमा पढ्न जाने विद्यार्थीले अन्यत्र जस्तै हप्तामा २० घण्टा काम गर्न पाउने र मास्टर्स तहको अध्ययन पश्चात २ वर्षको काम गर्ने स्वीकृति प्राप्त गर्न सक्छन् । तर, डेनमार्कमा अध्ययन पश्चातको काम गर्ने भिसा प्राप्त गर्नको लागि भने विद्यार्थीले त्यहाँको मुलुकको आधिकारिक डेनिस विश्वविद्यालयमा नै पढेको हुनुपर्ने हुन्छ । युरोपका अन्य मुलुकहरुमा पनि नेपाली विद्यार्थीहरु अध्ययनको लागि जाने गरेको तर, त्यस्तो संख्या तुलनात्मक रुपमा कम हुने गरेको राना बताउँछन् । अमेरिका विदेश अध्ययन गर्न जाने सन्दर्भमा धेरै नेपाली विद्यार्थीहरुको पहिलो रोजाइको मुलुक अमेरिका हो । तर, सहज पहुँचको अभावमा थोरै मात्रै नेपाली विद्यार्थीहरु अध्ययनको लागि अमेरिका जाने गर्दछन् । कन्सल्टेन्सी सञ्चालक अमर लिम्बुका अनुसार केही विश्वविद्यालय वा कलेजले बाहेक अमेरिकाका अधिकांश विश्वविद्यालय तथा कलेजहरुले भाषा परिक्षामा आइएलटिएस, पिटिई र टोफेललाई मान्यता दिएका छन् । अमेरिकामा स्नातक तह अध्ययनको लागि कम्तिमा ५ दशमलब ५ र स्नातकोत्तरको लागि कम्तिमा ६ अंक ल्याएको हुनुपर्छ । अमेरिकाका धेरै विश्वविद्यालयरुले स्नातक तहमा अध्ययन गर्नको लागि २ वर्षसम्मको ग्यापलाई कारण खुलाएर लिने र स्नातकोत्तरको लागि ग्याप तथा उमेरको हदको घेरै कडाइ नरहेको लिम्बु बताउँछन् । अमेरिकाका धेरै विश्वविद्यालयहरुले छात्रवृत्ति प्राप्त गर्नको लागि भाषा परीक्षामा एसएटी र जिएमएटीलाई अनिवार्य गरेको हुने लिम्बुको भनाई छ । अन्यत्रको तुलनामा अमेरिकामा राम्रो विद्यार्थीले छात्रवृत्ति पाउने सम्भावना धेरै हुने र कतिपय विद्यार्थीले सय प्रतिशत नै छात्रवृत्ति प्राप्त गर्ने गरेको लिम्बु बताउँछन् । अमेरिकाका कलेज तथा विश्वविद्यालयहरुमा अध्ययन गर्नको लागि औसतमा हेर्दा वार्षिक शुल्क झण्डै १२ हजार डलरबाट शुरु भएको पाइन्छ । तर, क्षमतावान विद्यार्थीहरुले त्यो शुल्कमा छात्रवृत्ति प्राप्त गर्न सक्छन् । लिम्बुका अनुसार धेरै विश्वविद्यालयहरुले विद्यार्थीहरुलाई विश्वविद्यालयभित्र नै आंशिक समयको काम उपलब्ध गराउने गर्दछ । सँगै कतिपय विद्यार्थीहरुले कानूनअनुसार विश्वविद्यालयभन्दा पनि बाहिर पार्टटाइम काम गर्न पाउने अवस्था रहेको उनी बताउँछन् । कलेज वा विश्वविद्यालयमा लाग्ने शुरुको ६ महिनाको मात्रै शुल्क बुझाएर पनि अध्ययनको लागि अमेरिका जान सकिन्छ । साथै अन्य मुुलुकहरुमा जस्तै अमेरिकामा पनि आफ्नो अध्ययन पुरा गरीसकेपछि विद्यार्थीले कामको लागि अवसर पाउने अवस्था रहेको लिम्बुको भनाइ छ । खासगरी नेपाली समाज मध्यम वर्गीय आर्थिक अवस्थाको परिवारले भरिएको हुँदा सिमित लगानी र राम्रो प्रतिफल प्राप्त गर्नेगरी उच्च शिक्षा प्राप्त गर्ने तरिका धेरैले खोजिरहेका हुन्छन् । त्यसको लागि विश्वका माथि उल्लेख भएका बाहेक न्युजिल्याण्ड, चीन, रसिया, आदि लगायत ५० औं मुलुकमा नेपाली विद्यार्थीहरु आफ्नो सुन्दर भविष्य निर्माण लागि अध्ययनको लागि जाने गरेको पाइन्छ । गुणस्तरको शिक्षा, कम शुल्क र काम प्राप्तिको सम्भावनालाई हेरेर धेरै नेपाली विद्यार्थीहरुले मुलुक र विश्वविद्यालय राज्ने गरेको कन्सल्टेन्सी सञ्चालकहरुको भनाई छ ।

मलाई सेतोदेखि डर लाग्छ

तपाईं कालोदेखि डराउनुहुन्छ कालो झन्डा मन पराउनुहुन्न सेतो विचार बोक्नुस् न सेतो देखाएर कालो कर्ममा रमाउनुहुन्छ मलाई त अचेल सेतोदेखि डर लाग्छ ।। सेताहरुले शोषण गरेको पढेको छु सेताहरुले शासन गरेको सुनेको छु।। सेता हात्ती पाल्न गाह्रो परिरहेछ देशलाई काला विचार बोकेर सेता प्रचार गर्नेहरु द्वैध चरित्र भएका ए सेता ब्वाँसाहरु हो मलाई सेतोदेखि डर लाग्छ ।। सेतै कपडामा बेरेर जब बालाई घाट पुर्‍याइयो सेतै वस्त्रमा फर्काइयो रुवाउदै घाटबाट मलाई सेतै वस्त्रमा जब आमाको मुर्झाएको मुहार र शिथिल तन देखेँ पहिलो पटक मलाई सेतोदेखि डर लाग्न थालेको हो यसपछि ।। विद्यालय जान सेतो सट लगाइदिँदै गर्दा छोरो रुन्छ अचेल ज्ञान आर्जनका निम्ति रमाउँदै जानुपर्ने हो स्कुल हामीले स्कुलका नाममा जेल बनायौँ सायद छोराछोरी सेतोमा सजिएर स्कुल जान मन गर्दैनन् गह्रौं झोलाजस्तै मन लिएर जान्छन् उनीहरु जब लेखिएका काला अक्षरहरु मेटाएर सेतोले आफ्नो प्रभुत्व जमायो अर्कै लेख्न मिल्ने बनाइदियो मलाई सेतोदेखि डर लाग्छ अचेल ।। सेता परेवाहरु मन पर्छन् सेता फूलहरु मन पर्छन् सेता किताबका पानाहरु मन पर्छन् सेतो हिमाल मन पर्छ सेतै फुलेको काँस मन पर्छ बाच्छाले चप्पचप्प दूध चुस्दा उसको मुखका निस्केको सेतो फिँज मन पर्छ तर मन पर्दैनन् सेता झन्डामुनि बसेर कालो बारुदको अहङ्कार प्रदर्शन गर्नेहरु । सेता दन्तलहर देखाएर सेतै पहिरनमा सजिएकी तिमीले सेतै गुलाफ दिएको केही दिनपछि तिमी बेखबर भयौ अचेल मलाई सेतोदेखि डर लाग्छ ।। सेतो चामल,सेतै पिठो सेतो चिनीको असर जब सुने तब कालो खाद्यान्नको फ्यान बढ्दै छन् सर्वत्र छलछाम छैन कालोसँग जस्तो हो उस्तै देखिन्छ मात्र कालोमाथि अनेक लाञ्छना लगाइएका हुन् सेता सपनाको पछि लाग्दा सेतै पर्दा पछाडि, सेतै विस्तारामा लुटिएकी हो ऊ सेता सपना देखाएर सेता बिटाले कालाधन्दा गर्नेहरु देखेपछि सर्वत्र मलाई सेतोदेखि डर लाग्छ ।।

बढे डेङ्गुका बिरामी

धादिङ । धादिङ जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेङ्गुका बिरामी पहिचान भएका हुन् । बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेङ्गुको सङ्क्रमण पुष्टि भएकोे हो । पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेङ्गुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ । धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मधुकर दहालले लामखुट्टेबाट बच्न ज्वरो आएमा, बान्ता भएमा वा डेङ्गुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गरेका छन् । रासस

पुनर्बीमा कम्पनीको ठूलो लगानीकर्ता हिमालयन एभरेष्ट इन्स्योरेन्स बन्यो : सीईओ रायमाझी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर कुमार रायमाझीले हिमालयन एभरेष्ट इन्स्योरेन्स पुनर्बीमा कम्पनीको ठूलो लगानीकर्ता बनेको बताएका छन् । आइतबार हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार कार्यक्रममा उनले बीमा कम्पनीहरूमध्ये सबैभन्दा ठूलो लगानीकर्ताको रूपमा हिमालयन एभरेष्ट कम्पनी बनेको जानकारी गराएका हुन् । यस्तै, उनले कार्यक्रममा नेपाल पुनर्बीमाकाे अब एउटा लगानीकर्ता घटेको पनि बताएका छन् । ‘हिमालयन जनरल र एभरेष्टको मर्जरले हामीले एउटा लगानीकर्ता गुमाएका छौं, तर बीमा कम्पनीको सुधार र सिनर्जीका लागि मर्जर हुनु राम्रो हो,’ उनले कार्यक्रममा भने । बीमा कम्पनीहरूले नेपाल पुनर्बीमा कम्पनीमा सेयरधनीका रूपमा रहेका छन् । हाल एनआरईसीमा ढेड दर्जन कम्पनीको लगानी छ ।

धेरै बिक्री हुने गाडी र बाइकमा नै प्रतिबन्ध, अनिश्चित बन्यो नाडा अटो शो

काठमाडौं । सरकारले सवारी साधनमा थप कडाइ गरेपछि नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने नाडा अटो शो अनिश्चित बनेको छ । नाडाले भदौमा आयोजना गर्ने तयारी गरेको यस वर्षको ‘नाडा अटो शो’ अनिश्चित बनेको हो । यसअघि दुई वर्षसम्म कोभिड १९ को संक्रमणको कारण गर्न नसकिएको अटो शो नाडाले यो वर्ष भदौ ७ गतेदेखि १२ गतेसम्म गरी पाँच दिनसम्म अटो शो भृकुटीमण्डपमा आयोजना गर्ने तयारी थालेको थियो । तर, सरकारले दुई पाँग्रेदेखि चार पाँग्रे सवारी साधन आयात प्रतिबन्धलाई निरन्तरता दिएसँगै अटो शो अनिश्चित बनेको हो । यसअघि गभर्नर, प्रधानमन्त्रीदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध हटाउने आश्वासन दिएपछि नाडाका पदाधिकारीहरुले अटो शो आयोजनाको तयारी थालेका थिए । तर, आइतबार उद्योग मन्त्रालयले यसअघिकै प्रतिबन्धलाई निरन्तरता दिँदै मोटरसाइकल तथा स्कुटर आयातमा झनै कडाइ गरेपछि अटो शो पोस्टपोन्ड वा स्थगितको तयारी थालिएको नाडाले जनाएको छ । नाडा अध्यक्ष धुब्र थापा अटो शोको तयारी थालिएकै समयमा सरकारले आयात प्रतिबन्धलाई निरन्तरता दिएपछि अटो शो को विषयमा छलफल गर्ने तयारी थालिएको बताउँछन् । उनले सरकारले भदौ १४ गतेसम्मलाई आयातमा प्रतिबन्ध लगाएको भन्दै त्यसपछि समेत निरन्तरता हुने आशंका व्यक्त गरे । आइतबार राजपत्रमा प्रकाशित सूचना अनुसार छिट्टै नाडाका पदाधिकारीले छलफल गरेर अटो शो पोस्टपोन्ड वा स्थगितको विषयमा निर्णय गर्ने उनले बताए । उनले अतिआवश्यक वस्तुको सूचिमा सवारी साधनलाई नराख्दा अर्बौंको लगानी गरेको अटो व्यवसायीहरू समस्यामा पर्न थालेको बताए । ‘सरकारले सुनलाई अति आवश्यक वस्तुको सूचिमा राखेको छ, अतिआवश्यक सूचिमा राख्नुपर्ने भेकल क्षेत्रलाई विलासितामा राखिन्छ’, उनले भने । धरौटीमा गाडी ल्याउन सकिने अध्यक्ष थापाले नाडा अटोे शोमा धरौटीमा गाडी ल्याउन सकिने विकल्प रहेकोे बताए । ‘आयातमा प्रतिबन्धले अटो शोमा खासै असर पर्दैन, गाडी निर्माता कम्पनीबाट हामीले धरौटीमा (पछि फिर्ता गर्न) वा भन्सार शुल्क पछि भुक्तानी गर्ने शर्तमा नयाँ मोडलका गाडी आयात गर्न सक्छौँ तर, सरकारले आयातको प्रतिबन्ध कहिलेसम्म लगाउने निक्यौल नहुँदासम्म गाडी बिक्री रोकियो’, उनले भने, ‘गाडीको शो गरेर बुकिङ भएका गाडी ल्याउन समस्या हुने देखेर शो नै अन्यौलमा भयो, शो मा देखाउनैका लागि धरौटीमा गाडी ल्याउन सकिदैन ।’ उनले सरकारले लामो समयसम्म गाडी आयातमा प्रतिबन्ध लगाउँदा विदेशी कम्पनीले नेपाली कम्पनीलाई हेर्ने नजर नै नकारात्मक हुन थालेको बताए । ‘सवारी साधनको आयात रोकिँदा विदेशमा नराम्रो असर परेको छ, नेपाली व्यवसायीलाई विदेशी अटोमोबाइल्स कम्पनीले हेर्ने नजरमा नकारात्मक असर पर्दा दीर्घकालसम्म यसको असर पर्ने देखिन्छ’, उनले भने । धेरै बिक्री हुने सीसी मै प्रतिबन्ध उद्योेग मन्त्रालयले आइतबार राजपत्रमा सूचना प्रकाशन गर्दै आगामी भदौ १४ गतेसम्मका लागि १५० सीसी माथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाएको छ । गत बैशाख १३ गतेदेखि असारमसान्तसम्मका लागि २५० सीसी माथिका मोटरसाइलमा मात्र प्रतिबन्ध लगाएको सरकारले मोटरसाइकल आयातमा झनै कडाइ गरेको हो । हाल बजारमा चल्तीमा रहेका र सबैभन्दा धेरै माग भएकै सीसीमा कडाइ गर्दा बजारमा मोटरसाइकलको अभावसँगै आयात ठप्प हुने अध्यक्ष थापाको भनाइ छ । सरकारी प्रतिबन्धसँगै बजारमा सर्वाधिक चल्तीमा रहेका ४० भन्दा बढी मोडलका मोटरसाइकलको अभाव हुने व्यवसायीहरुले बताएका छन् । सरकारको प्रतिबन्ध सँगै बजाज, यामाहा, टीभीएस, होन्डा, हिरो, सुजुकी, क्रसफायर, टेकन, सिएफ मोटो, केटीएम, हस्कभर्ना, बेनेली लगायात ब्राण्डले बिक्री गर्ने अधिकांश मोडलका मोटरसाइकल आयात प्रतिबन्धमा परेका छन् ।

गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ समिति सदस्यमा रहेको भन्दै सत्तारुण गठबन्धनका विद्यार्थी संगठनहरुले विरोध गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्रको सङ्गठन अखिल क्रान्तिकारीले विरोध स्वरुप आईतबार राष्ट्र बैंक अगाडी विरोध गरेका हुन् । विरोधको क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यमा खोटाङ घर भएका एम अधिकारी मनोनयन भएको समाचार सार्वजनिक भएपछि गभर्नर विवादमा तानिएका हुन् । स्थायी घर खोटाङ भएका गभर्नर अधिकारीले भने आफु सो व्यक्ति नभएको बताएका छन् । राष्ट्र बैंक ऐनको दफा २१ (क) मा राजनैतिक दलको सदस्य वा पदाधिकारीका रुपमा नियुक्त हुन नहुने उल्लेख छ ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच एकिकृत कारोबार शुरू, यस्तो हुनेछ कर्पोरेट लोगो

काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्यारेन्स कम्पनीको एकिकृत कारोबार शुरू भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दुई कम्पनीबीच एकिकृत कारोबार शुरू भएको हो । गत वैशाख २२ गते निर्जीवन बीमा कम्पनीहरू एभरेष्ट र हिमालयनले मर्जर सम्झौता गरेका थिए । उक्त मर्जर सम्झौता नेपाली बीमा क्षेत्रको इतिहासमै पहिलो हो । कम्पनीको नाम हिमालयन एभरेष्ट रहने भएको छ । नयाँ कम्पनीको कर्पोरेट लागो पनि सार्वजनिक गरेको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स १००ः ८५ मा गाभिएका हुन् । एकिकृत कारोबारपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । कम्पनीकाे ३ अर्ब २५ करोड प्रिमियम र ७५ वटा शाखा हुनेछन् । यस्तै, कुल कर्मचारीको संख्या ४४४ रहेनछ । दुई इन्स्योरेन्स मर्जर पश्चात बीमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार यस मर्जरले कम्पनीको पुँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै लगानी समेत अभिवृद्धि हुनेछ ।

७९ लाख कित्ता आइपीओ ल्याउँदै घोराही सिमेन्ट, बिक्री प्रबन्धकमा हिमालयन र नबिल नियुक्त

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने भएको छ । पश्चिम नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योगको रुपमा रहेको घोराहीले ७९.४३ लाख कित्ता आइपीओ प्रिमियम मुल्यमा सार्वजनिक गर्न लागेको हो । कम्पनीले उक्त सेयरकाे निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गसँग सम्झौता गरेको छ । सम्झौता समारोहमा हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र निष्काशन कम्पनी घोराही सिमेन्ट इन्डस्ट्रिको तर्फबाट संचालक आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । वि.सं २०६४ सालमा दर्ता भई २०६९ सालदेखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । बिशाल समूहबाट संयुक्त रुपमा प्रवर्धित घोराही सिमेन्ट इन्डस्ट्रि क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योगमा पर्दछ । हाल कम्पनीले सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।