विकासन्युज

माओवादी अध्यक्ष प्रचण्डद्वारा भाजपा अध्यक्ष नाड्डासँग भेटघाट

काठमाडौं । भारत भ्रमणमा रहेका पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाबीच भेटवार्ता भएको छ। भाजपा मुख्यालयमा उनीहरूबीच भेटवार्ता भएकाे हाे । भेटमा भारतीय विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाला पनि सहभागी भएको जनाइएको छ । भेटमा द्वीपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको जनाइएको छ ।

पेट्रोलका बाइक/स्कुटीलाई बिना अनुमति विद्युतीय बनाइँदै, कार्यविधि नबन्दा समस्या

काठमाडौं । पुराना डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिवर्तन गर्न सरकारले अनुमति दिएसँगै पछिल्लो समय धेरैले सवारी परिवर्तन गर्न थालेका छन् । गत चैतमा सरकारले तीन वर्षका लागि डिजेल तथा पेट्रोलबाट सञ्चालीत चार तथा दुई पाँग्रे सवारी साधनलाई विद्युतीय बनाउन अनुमति दिएको हो । सरकारले सवारी परिवर्तनको अनुमति दिएसँगै पछिल्लो समय धेरैको ध्यानमा विद्युतीय सवारी साधन बनाउने तर्फ केन्द्रित भएको छ । सरकारले उक्त व्यवस्था ल्याएसँगै हाल सुन्दर अटो इन्जिनियरिङ कम्पनीले दुईपाँग्रे सवारीलाई विद्युतीयमा बदल्ने काम सुरु गरिसकेको छ । चैतदेखि अहिलेसम्म पेट्रोलबाट चल्ने १७१ वटा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गरिसकेको कम्पनीको दाबी छ । कसैले लिएनन् अनुमति डिजेल तथा पेट्रोलका साधनलाई विद्युतीयमा रुपान्तरणका लागि सम्बन्धित सबारी धनीले सरकारबाट अनुमति लिनुपर्ने हुन्छ । आफ्नो सवारी साधन परिवर्तन गर्न इच्छुक सवारी धनीले यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट अनुमति लिनुपर्ने हुन्छ । तर, रूपान्तरणका लागि कुनै पनि सवारीले स्वीकृति नलिएको यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधाराले जनाएको छ । कार्यालयका प्रमुख दीपक पोखरेल सवारी परिवर्तनका लागि अहिलेसम्म कुनै निवेदन नआएको बताउँछन् । ‘धेरै सवारी साधन परिवर्तन भए भन्ने सुनिएको छ, तर अहिलेसम्म कार्यालयमा कसैले पनि निवेदन लिएर आउनुभएको छैन, अनुमति बेगर परिवर्तन भएको पाइए तत्काल कारवाही हुन्छ’, उनले भने । यातायात व्यवस्था ऐन अनुसार बिना अनुमति सवारी साधन मोडिफाई गर्ने २०० सीसीसम्मका दुईपाँग्रे सवारीलाई ७ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ । पेट्रोलका सवारी साधनलाई विद्युतीयमा रुपान्तरणका लागि सवारी धनीले यातायात कार्यालयबाट स्वीकृति लिनुपन हुन्छ । कार्यालयले स्वीकृति दिएपछि मात्रै सम्बन्धित सवारी धनीले तोकिएको मापदण्ड भित्र रहेर परिवर्तन गर्नुपर्छ । सवारी परिवर्तन भएपछि पुनः यातायातका अधिकारीहरुले परीक्षण गरेर मात्रै उक्त सवारी सञ्चालनको अनुमति दिनेछन् । बिना अनुमति सवारी परिवर्तन गरेर चलाएको भेटिएमा नेपाल प्रहरीले तत्काल समातेर कारवाही गर्नेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी साधन परिवर्तनका लागि राजपत्रमा सूचना प्रकाशन गरेतापनि हालसम्म कार्यविधि बनिनसकेको मोटरसाइकल कार्यालयका सूचना अधिकारी लेखनाथ खतिवडाले बताए । उनका अनुसार कार्यविधि बन्ने प्रक्रियामा रहेका कारण बिना अनुमति सवारी परिवर्तन गर्ने सवारी धनीलाई कस्तो कारवाही गर्ने टुङ्गो लाग्नेछ । परिवर्तन गर्नेको भीड सरकारले सवारी परिवर्तनको अनुमति दिएसँगै पछिल्लो समय आफ्नो सवारीलाई विद्युतीयमा रुपान्तरण गर्नेको भीड नै लाग्ने गरेको सुन्दर अटोले जनाएको छ । सुन्दर अटोका अध्यक्ष भेषबहादुर थापा पछिल्लो समय सवारी परिवर्तन गर्न कम्पनीका रहेका कामदारलाई भ्याइनभ्याइ हुन थालेको बताउँछन् । ‘पुराना, काम नै नगर्ने साधनलाई समेत हामीले इभीमा परिवर्तन गछौँ, सस्तो र सुपथ मूल्यमा परिवर्तन गर्न मिल्ने भएपछि अहिले हाम्रा प्राविधिकलाई भ्याननभ्याई छ’, उनले भने, ‘हामीले यातायातको नियमभन्दा बाहिर गएर बनाउन पाइदैन, नियम सबैलाई एउटै हो, तर अहिले हामीले थाम्नसक्ने अवस्था नै छैन, ग्राहकको संख्या बढ्दा पेट्रोलियम पदार्थको मूल्य बढ्दा धेरै असर गरेको देखियो ।’ उनले उपभोक्ताको माग बढ्न थालेपछि भारतीय तथा चिनियाँ कम्पनीसँग थप ५०/५० हजार किट आवश्यक रहेको जानकारी गराइसकेको बताए । नेपालमा मात्र नभएर चीन तथा भारतमा समेत विद्युतीय सवारीको किटको माग उच्च भएको पाइएको उनको भनाई छ । सुन्दरले हाल चिनियाँ तथा भारतीय प्राविधिक तथा उक्त देशका पास्र्टबाट विद्युतीय सवारीमा परिवर्तन गर्दै आएको छ । कम्पनीले १ लाख रुपैयाँमा नै पेट्रोलबाट चल्ने स्कुटर तथा बाइकलाई विद्युतीयमा रुपान्तरण गर्ने गरेको छ ।

नेपालमै पहिलोपटक नयाँ विधिबाट पाखुराको जोर्नी खुस्किएको अपरेशन

काठमाडौं । किष्ट मडिकल कलेजमा नेपालकै पहिलोपटक पाखुराको जोर्नी खुस्किएको व्यक्तिको नयाँ विधिबाट अपरेशन भएको छ । बरिष्ठ आर्थ्रोस्कोपिक एण्ड स्पोर्टस सर्ज डा. अमित जोशी नेतृत्वको टिमले नेपालमै पहिलोपटक कन्जुरेन्ट आर्क लाटारजेट विधिबाट जोर्नी खुस्किएको व्यक्तिको अपरेशन गरेको हो । जोशीको नेतृत्वमा डा श्रीराज श्रेष्ठ र सौरभ दाहालको टिमले ४० वर्षिय सागर उप्रेतीमा सो अपरेशन सफलता पुर्वक गरेको हो । टिमले एक्स रे, सिटी स्क्यान र एमआरआइको सहायताले उप्रेतीको पाखुराको जाँच गरेर हेर्दा जोर्नीको ग्लिनोइड भन्ने भागमा ठुलो मात्रामा हड्डी धसेको तथा गेडीमा पनि केहि मात्रामा हड्डी नभएको पाएपछि पहिलोपटक कन्जुरेन्ट आर्क लाटारजेट विधिबाट अपरशेन गरिएको अस्पतालले जनाएको छ ।

आजबाट लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा ओपिडी र बेड निःशुल्क

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बहिरङ सेवा र जनरल बेड सेवामा निःशुल्क व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई बहिरङ सेवा र जनरल बेड सेवामा शुल्क नलिने व्यवस्था गरेसँगै उक्त निर्णय आजदेखि कार्यान्वयनमा ल्याइएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले जानकारी दिए । ‘लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट २०७९ साउन १ गतेदेखि बहिरङ सेवा र जनरल बेड सेवा निःशुल्क हुने छ’, उनले भने, ‘प्रदेश सरकारले दुवै अस्पतालमा ओपिडी र बेड निःशुल्क गर्न एक करोड ५० लाख बजेट विनियोजन गरेको छ ।’ यस्तै साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि अब रगत पनि निःशुल्क हुने भएको छ । रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सरकारले बजेटमा निःशुल्क रगतका लागि रु तीन करोड बजेट विनियोजन गरेको छ ।

सेञ्चुरी बैंकको निक्षेप खर्बभन्दा माथि, सीडी रेसियो ८८ प्रतिशतमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आव २०७८/०७९ को चौथो त्रैमाससम्म कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार २६६ रुपैयाँ निक्षेप संकलन गरेको छ । २०७८ असार मसान्तसम्ममा बैंकको निक्षेप ९६ अर्ब ९९ करोड रुपैयाँ थियो । यस्तै, २०७९ असार मसान्तसम्ममा बैंकले कुल ९१ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ । यो रकम एक आर्थिक वर्ष अघिको तुलनामा १३ अर्ब ३७ करोड रुपैयाँले बढी हो । समिक्षा वर्षमा बैंकको कर्जा विस्तार करिव १७ प्रतिशतले भएको छ । साथै, बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८७.९८ प्रतिशत कायम भएको छ भने तरलता अनुपात (एलडी रेसियो) २५.०६ प्रतिशत कायम भएको छ । बैंकको खुद तरल सम्पत्ति (एनएलए) २५ प्रतिशतभन्दा बढी छ । देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं । सङ्घीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन् । परिषद्को शनिबार भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनामा शर्मा अर्का अध्यक्षका उम्मेदवार धुव्र अधिकारीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । अध्यक्ष शर्माले ७७२ मत प्राप्त गरे भने अधिकारीले ५६८ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा प्रश्रय राजभण्डारी (६९६), गीता गुरुङ (५७८) र सहदेव धमला (६८३), महासचिवमा राजीव पाण्डे (६८१), सचिवमा रामचन्द्र गिरी (६५३) र कोषाध्यक्षमा पुण्यराम लगेजु (६३४) मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत पुष्पराम पौडेलले जानकारी दिए । यस्तै आठ सदस्यमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला शिङ्खडा, चेतनाथ पुडासैनी, पूर्णिमा मालाकार, तेञ्जिन लामा र लालबाबु चौधरी विजयी भएका छन् । कूल १५ सदस्यका लागि भएको निर्वाचनमा एक हजार ५९८ मतदातामध्ये झण्डै एक हजार ४०० मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए । मतगणना सम्पन्न भएसँगै सञ्चारकर्मीसँग कुरा गर्दैै नवनिर्वाचित अध्यक्ष शर्माले समग्र ठमेल क्षेत्रको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले हाम्रो ठमेल, राम्रो ठमेल निर्माणका लागि आफू कटिवद्ध भएर लाग्ने बताए । एक कार्यकाल आमन्त्रित केन्द्रीय सदस्य, एक कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भइसक्नुभएका शर्माको स्थायी घर बाग्लुङ हो । उनी लामो समयदेखि ठमेलमा स्पा, होटललगायत पर्यटकीय गतिविधिमा सङ्लग्न छन् ।

ब्रिटिस एजुकेशन ग्रुपको मदरल्याण्ड स्कुलमा छात्रा सशक्तिकरण कार्यक्रम

काठमाडौँ । द ब्रिटिस कलेजको भगिनी संस्था मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले एजुकेशन एण्ड डिजिटल फर गल्स एजुकेशन (इड्ज) प्रोगाम सुरु गरेको छ । यो कार्यक्रम छात्राहरुको सशक्तिकरणका लागि लक्षित रहेको स्कुलले जनाएकाे छ । स्कुलकाे अनुसार इड्ज कार्यक्रम किशोरीहरुको अंग्रेजी, आइटी र सामाजिक सीपको विकास गर्नेमा लक्षित रहेको छ । मदरल्याण्ड स्कुलमा यो कार्यक्रम जुन २९ देखि सन् २०२३ को अप्रिलको अन्त्यसम्म चल्नेछ । यस कार्यक्रमका लागि २० जना किशोरीहरु छनोट गरिसकेको स्कुलले जनाएको छ । उनीहरुको समुहलाई अंग्रेजीको मुल्यांकनपछि छनोट गरिएको स्कुलले जनाएको छ । स्कुल म्यानेजर शंकर पुडासैनीले प्रत्येक हप्ताको दुई घण्टाको सेसनलाई सम्बोधन गर्नेछन् । उनले भने,‘हामी छात्राहरुलाई उनीहरुको अधिकार र जिम्मेवारीको पहुँचबारे जानकारी दिन चाहन्छौँ । उनीहरुको भविष्यको सम्भावनालाई सुधार गर्न समान अवसर उपलब्ध गराउन चाहन्छौँ ।’ मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल, चितवन सन् १९९७ मा स्थापना भएको हो । सन् २०२१ मा द ब्रिटिस कलेजले आफ्नो स्वामित्वमा लिएको थियो । दुरदराजमा रहेका विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उदेश्यले ब्रिटिस कलेजले मदरल्याण्ड स्कुल आफ्नो स्वामित्वमा लिएको थियो ।

उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

काठमाडौं । पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ । उपत्यकाका सडकमा थुपारिने फोहर हप्तौँसम्म नउठ्ने र त्यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका लागि काँडो झैँ बिझेको छ । कहिले आन्दोलन त कहिले वर्षालगायत विविध कारणले उपत्यकाका चोक गल्लीमा दुर्गन्धित फोहरका डङ्गुर भेटिँदै आएको छ । यसले वातारवरण र मानव स्वास्थ्यलाई नै नराम्ररी प्रभावित पारेको छ । विकसित मुलुकले शहरबाट निस्कने फोहरलाई व्यवस्थित रुपमा विसर्जन गरी आन्दानीको स्रोतका रुपमा उपयोग गरिरहेका छन् । तर काठमाडौंको फोहर व्यवस्थापनको विकराल समस्याले मुलुकलाई नै गिज्याइरहेको छ । त्यसो हुनुमा दीर्घकालीन योजनाको अभाव देखिएको छ । काठमाडौं महानगरपालिकाले प्रमुख बालेन्द्र शाहको योजना मुताविक साउन १ गते (आज आइतबार) देखि उपत्यकाको फोहर स्रोत (घरघर) बाटै कुहिने र नकुहिने छुट्याएर व्यवस्थापन कार्यको शुरुआत गरेको छ । कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरिएको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकिएको छ । व्यक्तिले घरमै फोहर नछुट्याए प्रयेकपटक रु ५०० जरिवाना लगाइने नीति महानगरले लिएको छ । त्यसरी उठेको फोहर, कहाँ÷कसरी व्यवस्थापन गर्ने, कुहिनेलाई कहाँ राख्ने ? नकुहिनेलाई कहाँ राख्ने ? त्यस विषयका अन्योलताहरु कायमै छ । फोहरमैलाविज्ञ तथा इन्जिनियर सुनिल लम्साल नागरिकबाट वर्गीकरण गरेर सङ्कलन गरिएको फोहरलाई बञ्चरेडाँडामा पनि केही समयका लागि छुट्टाछुट्टै स्थानमा राख्ने गरी तयारी गरिएको बताउँछन् । बन्चरेडाँडाका स्थानीयवासीले विकल्प खोजिरहेको र फोहरलाई स्रोतबाटै व्यवस्थापन गरी उपयोग गर्नुपर्ने माग आइरहेका बेला दुबै प्रकृतिका फोहर वर्गीकरण गरेर फेरि त्यही ठाउँमा विसर्जन गर्दा समस्या ज्यूँका त्यूँ रहने महानगरबासीको भनाइ छ । महानगरले फोहर व्यवस्थापनका लागि उपत्यकाको पाँच स्थानमा जग्गा पहिचान गरेको जनाएको छ । तीन महिनापछि हानिकारक फोहर बन्चरेडाँडामा नलगिने गरी कार्य अघि बढाइएको दाबी कामपाको छ । कुहिने फोहरलाई जैविक मल बनाउने सोच महानगरको हो । यसको भरपर्दाे योजनाको अभाव देखिएकाले स्रोतमै फोहर वर्गीकरण अन्योलमा पर्ने हो की भन्ने आशङ्का पनि गरिएको छ । विज्ञका अनुसार फोहरको स्रोतमै वर्गीकरणका साथै उत्पादनमा समेत कमी ल्याउने, प्लाष्टिकको विकल्पमा झोलाको प्रयोग बढाउने, शून्य फोहोर (जिरो वेस्ट) अवधारणाको प्रवद्र्धन गर्ने र आधुनिक प्रविधिको प्रयोग गर्न सके केही व्यवस्थापन गरी उपत्यकाभित्रको फोहर व्यवस्थापनका एकै किसिमका आधुनिक विधि अपनाउनु जरुरी छ । काठमाडौंको कुल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२ सै वडामा लागू गरिएको छ । स्रोतदेखि नै व्यवस्थापनको समस्या देखिएको उपत्यकाको फोहर विसर्जनस्थलमा झन् विकराल समस्या बन्दै गएको छ । केही समयअघि स्थानीय तहको निर्वाचनको मुखमा सिसडोलका बासिन्दाले फोहर उठाउन रोकेका कारण काठमाडौं दुर्गन्धित बन्न पुगेको थियो । नगरप्रमुख बालेन्द्र साहले सपथ खाएकै दिन सिसडोल र बन्चरेडाँडा भ्रमण गर्दा स्थानीयहरुले आन्दोलनसहित कडा प्रतिवाद गर्दै फोहर ल्याउन नदिने चेतावनी दिए । त्यसपछि महानगर र स्थानीयबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति भयो । सहमतीपत्रमा रातिको समयमा फोहर व्यवस्थापन गर्ने, वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, त्यहाँको दुर्गन्ध हटाउनुपर्ने, फोहर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था मिलाउनुपर्नेलगायतका विषय समावेश छ । उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहर उठाउँदै आएको छ । फोहर उठाउन नागरिकबाट पैसा समेत असुल गर्ने गरिएको छ । निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमित रुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ । आफूले लिएको जिम्मेवारी पुरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । त्यसैले महानगर प्रमुख बालेन्द्र शाह प्रत्येक दिन सडकको अनुगमन गर्न थालेका छन् । कामपाले एकलौटी रुपमा फोहर उठाइएका स्थानमा गुनासो नआएको भन्दै जुनजुन स्थानमा निजी कम्पनी सामेल भएका छन् ती स्थानमा मात्रै नियमित फोहर व्यवस्थापनमा समस्या रहेको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ । काठमाडौं महानगरपालिको कल सेनटरमा पनि नियमित रुपमा फोहर उठ्न नसकेको गुनासो आउने गरेको बताइएको छ । कल सेनटरमा आउने गरेको गुनासामध्ये ८० प्रतिशत फोहर उठ्न नसकेको विषयमा छ । हाल कामपामा ३२ वटा कम्पनीले फोहर व्यवस्थापनमा सहजीकरण गर्दै आएको छ । यसरी सहजीकरण गरेको कुनै पनि कम्पनीले कामपासँग लिखित सम्झौता नगर्नुले पनि महानगरको योजना कति फितलो छ भन्ने कुराको पुष्टि हुन्छ । के स्रोतमै फोहर वर्गीकरण अन्तिम समाधान हो त ? स्रोतमा नै फोहर वर्गीकरण गर्ने कार्य व्यवस्थापनको हिसाबले अन्तिम समाधान हो त ? अहिलेको टड्कारो प्रश्न हो । वातावरण विज्ञहरु यो विधि अन्तिम समाधान नभएको तर यसले कुहिने फोहर कम गर्न सघाउन पु¥याउने बताउँछन् । वातावरण विशेषज्ञ प्रकाश अमात्य नागरिकलाई मात्रै फोहर वर्गीकरण गर्ने जिम्मा सही नहुने हुँदा सोही अनुरुप फोहरको अन्तिम व्यवस्थापन पनि फरकफरक किसिमले हुनु पर्नेमा सुझाव दिन्छन् । उपत्यकाको फोहर उपत्यकामा नै व्यवस्थापन गर्न नयाँ बाटो खोज्नुपर्ने धारणा उनको छ । ‘त्यसका लागि सम्बन्धित स्थानीय तहले नै आफ्नो फोहर व्यवस्थापनका लागि विकल्प खोज्नुपर्छ । पुनः प्रयोग गर्न सक्ने फोहरलाई प्रयोग गर्नेतर्फ स्थानीय तहले चासो दिनुपर्छ’, अमात्यले भने । काठमाडौं उपत्यकामा उत्पादन हुने फोहरमध्ये ४० प्रतिशत व्यवस्थापन गर्न सकिन्छ । त्यसको लागि प्रत्येक वडाले पुनः प्रयोग गर्न सक्ने वस्तुको खरिद गर्ने वातावण मिलाउनुपर्छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा २०० गाडीले फोहर ओसार्छ । कहिलेसम्म छोपेर राख्ने फोहर ? विसर्जनस्थलको समस्याका कारण स्थानीयको आन्दोलन फोहर नउठ्नुको एउटा कारण हो । यसका साथै वर्षात्का समयमा हुने फोहर व्यवस्थापनको समस्या महानगरका लागि अर्काे टाउको दुखाइको विषय हो । जसले अहिले टेकुमा फोहर छोपेर राख्नुपर्ने बाध्यता छ । शनिबार टेकुमा पुग्दा फोहरको दुर्गन्धले बस्न सकिने अवस्था थिएन । स्थानीयबासीहरु त्यही गन्ध सुँगेर दिन बिताउन बाध्य छन् । सडक राम्ररी सञ्चालन नहुँदा साविकको जति फोहर उठ्न सकेको छैन । बाटोमर्मतका कारण हाल दैनिक १०० मात्रै फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका छन् । सामान्य समयमा निजी र कामपाको गरी २५० गाडीले फोहर विसर्जन गर्थे । सबै गाडी जान नपाएकाले टेकुस्थित ट्रान्सफर स्टेसनमा फोहरलाई सेतो प्लाष्टिकले छोपेर राखिएको टाढैबाट देख्न सकिन्छ । दुर्गन्ध कम गर्ने उपायस्वरुप यसरी फोहर छोपिएको महानगरको दाबी छ । मनसुनको समय सुरु भएसँगै बाटो बिग्रिने हुँदा उपत्यकाका १८ स्थानीय तहको फोहर काठमाडौँमा थुप्रिनु नौलो होइन । बाटाकै कारण गाडी सिसडोल जान नसक्दा ठाउँठाउँमा फोहर थुप्रिने र टेकुमा छोपेर राख्नुपर्ने अवस्थाको अन्त्य गर्न महानगर सफल होला ? अर्काे गम्भीर प्रश्न खडा छ । यस्तो छ महानगरको फोहर वर्गीकरण योजना प्रारम्भिक चरणमा स्रोतमै फोहर वर्गीकरण गरी व्यवस्थापनको काम थालिएको छ । वर्गीकृत फोहर व्यवस्थापनका लागि उपत्यकाको अन्य स्थानीय तहले जग्गा उपलब्ध गराउने र कामपाले उक्त स्थानमा आवश्यक लगानी गर्ने गरी छलफल चलेको त छ तर ठोस निष्कर्ष आइसकेको छैन । यसले छुट्टयाइएका फोहर पनि सिसडोललै लैजानुको विकल्प नभएको देखाउँछ । महानगरसँग काठमाडौँ उपत्यकामा नै जग्गाको खोजी कार्य भइरहेको र जग्गा प्राप्त हुने वित्तिकै जैविक फोहर उपत्यकामा नै व्यवस्थापन गर्ने योजना रहेको महानगरको भनाइ छ । फोहोरमैला व्यवस्थापन सङ्घ, नेपाल (स्वमान) का महासचिव मित्र घिमिरे र वातावरण संरक्षण गैसस महासङ्घका अध्यक्ष टीकाराम दाहालले पनि फोहोर वर्गीकरण गर्ने महानगरको योजना, नीति र कार्यक्रमअनुसार दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उपत्यकाको फोहरमध्ये ५५ देखि ६० प्रतिशत घरमै व्यवस्थापन गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ । त्यस्ता फोहरलाई करेसाबारीमै व्यवस्थापन गर्न सके पनि धेरै हदसम्म समस्या कम हुने फोहर व्यवस्थापन विज्ञको भनाइ छ । ग्यास वा विद्युत् निकाल्न बढी खर्च फोहोरमैला व्यवस्थापनका लागि काठमाडौं महानगर र उपत्यकाका अन्य १७ वटा नगरबीच गहन छलफल भइरहेको छ । उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने योजनाका साथै छलफल भएको हो । अन्य पालिकासँग काठमाडौं महानगर प्रमुख साहले फोहोरमैलाका साथै ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता साझा समस्याका रुपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान गर्ने प्रस्ताव गर्नुभएको छ । त्यसमा मुख्य विषय फोहर व्यवस्थापन नै हो । उनको योजनानुसार घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै वर्गीकरण गरिने छ । जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त छ । फोहोरलाई ग्यासका रुपमा रुपान्तरण गर्दा ३० देखि ३५ प्रतिशत मात्र प्रभावकारी देखिएकाले त्यो घाटा हुने देखिएको छ । १०० लगानी गर्दा ३० देखि ३५ मात्र फिर्ता आउने अध्ययनले देखिएको बताइएको छ । बिजुली निकाल्दा २० देखि २५ प्रतिशतसम्म मात्र उत्पादन आउने देखिएकाले जैविक फोहोरलाई मल बनाउने भरपर्दो उपाय हो । त्यसका लागि करिब २०० देखि २५० रोपनी जग्गा आवश्यक पर्ने भएकाले उनले नगरप्रमुखहरुसँग सहकार्यको हात अघि बढाएका छन् । नगरप्रमुखहरुले उपत्यकाको एकीकृत र दिगो फोहोर व्यवस्थापनका लागि कामपाले अगुवाई गर्ने र सबै नगरले आआफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्ने बाँचा गरेका छन् । उनीहरुले उपत्यका नगरपालिका फोरमलाई जीवित गराउँदै उपत्यकालाई कस्तो बनाउने भनेर एकीकृत विकासको गुरुयोजना आवश्यक भएको औँल्याएका छन् । पानी पुनःभरण, नागरिक सचेतना, नदी किनारामा करिडोर बनाउने, नदीको सरसफाइ गर्ने, सडक सञ्जाल र ट्राफिक व्यवस्थापनजस्ता विषयमा साझा सङ्कल्प आवश्यक छ । महानगरकी उपप्रमुख सुनिता डङ्गोल भन्छिन्, ‘फोहर व्यवस्थापनमा पालिकाबाट खर्च भएको छ, तर नतिजा मापन गर्न सकिने खालको भएन, त्यसतर्फ ध्यान दिनु आवश्यक छ ।’ यसरी शुरु भएको थियो फोहर विसर्जन जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर २०६२ सालमा काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो । आज १७ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम जारी छ । सिसडोलमा ४३२ रोपनी जग्गामा फोहर फालिँदै आएको थियो । बन्चरेडाँडामा फोहर व्यवस्थापनका लागि भने एक हजार ७९२ रोपनी क्षेत्र छुट्याइएको छ । सिसडोलमा दैनिक एक हजारदेखि एक हजार २०० मेट्रिक टनसम्म फोहर जाने गरेको छ । विकल्प नहुँदा योजनाविहीन रूपमा त्यहाँ फोहर विसर्जन गरिँदै आइएको छ । गाउँ नै दुर्गन्धित हुँदा पटक–पटक स्थानीयवासीले आन्दोलन गरी फोहर रोके । सत्र वर्षसम्म आन्दोलन, सम्झौता, फेरि आन्दोलन अनि फेरि सम्झौताबाहेक दीर्घकालीन समाधानका उपायको खोजी भएन । नजिकै रहेको नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडामा विकल्पका रूपमा तयार पारिए पनि समस्याको दिगो समाधान आउन सकेन । यतीबेला कामठाडौँ महानगरको प्रमुख परिवर्तन भएको र फिल्डमै खटिएर कामपाका प्रमुख साहले फोहरको उचित व्यवस्थापन गर्ने आश्वासन दिएकाले स्थानीयको आन्दोलत तत्कालका लागि मत्थर भएको छ तर रोकिएको छैन । उनीहरु हेर र पर्खको स्थितिमा छन् । यता बन्चरेडाँडाका स्थानीयबासीको आक्रोस पनि कायमै छ । नगरप्रमुख साहले फोहरलाई कुहिने र नकुहिने गरी छुट्याएर व्यवस्थापन गर्ने र कुहिने फोहरलाई मलका रुपमा प्रयोग गरी आम्दानी गर्ने योजना अघि सारिएको योजनालाई सर्वत्र प्रशंसा भएको छ तर त्यो फोहर मोहर बनेर परिणत कहिले होला भन्ने प्रश्न खडा भएको छ । काठमाडौं उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा सिसडोलमा पुग्छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बन्चरेडाँडामा फोहर व्यवस्थापनका गरिएको छ । दुई वर्षअघि नै बन्चरेडाँडामा फोहर विसर्जनको काम सुरु हुनुपर्नेमा अहिलेसम्म राम्ररी सञ्चालन हुन सकिरहेको छैन । रासस