विकासन्युज

आजदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा

काठमाडौं ।  देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन थालेको हो । ती जिल्लाका बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ । उनीहरुलाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो । दोस्रो मात्रा लगाउनका लागि पहिलो मात्रा लगाएको खोप कार्ड बोकेर जान भनिएको छ । पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेकाले सबै बालबालिकालाई खोप लगाउनका आग्रह गरे । ती जिल्लामा प्रदेश नं १ को झापा, इलाम, सुनसरी र मोरङ, मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा, बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर छन् । यस्तै गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । खोप अभियान यही साउन ८ गतेसम्म सञ्चालन हुने छन् । यस्तै दोस्रो चरण ५० जिल्लामा अगामी भदौ ५ देखि ११ गतेसम्म खोप लगाइने छ । सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।

पहिराले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ । अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि डुम्रे –बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । वैकल्पिक सडकको रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको उनको भनाइ छ । लेदोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ । मर्स्याङ्दी नदीले तलबाट कटान गर्नुका साथै माथिबाट बगेर आएको लेदोले करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ । सडक अवरुद्धका कारण बिहानैबाट कुनै पनि सवारी साधन आवतजावत हुन सकेको छैन । डुम्रे बेँसीसहर सडक खण्डअन्तर्गत उक्त देउराली डाँडामा गत वर्ष समेत पहिरा गएपछि वैकल्पिकरुपमा सो स्थान नजिकै माथिबाट सडक सञ्चालन गरे पनि गत पहिरो हप्तामा आएको बाढी पहिराले उक्त सडकसमेत बगाएपछि उक्त सेनाको सडक हुँदै सवारी सञ्चालन हुन थालेको छ । सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँलगायत जाने सो स्थानबाट बेँसीसहर आउने सवारी साधन सञ्चालन हुन सकेको छैन । यसअघि समेत गत असार २८ गते सोही स्थानमा सडक अवरुद्ध भएको थियो भने, सो अघि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । ४२ किलोमिटर दूरी रहेको यस सडकमा पहिराले यात्रुलाई समस्या उत्पन्न गराउँदै आएको छ । रासस

हिमालयन एभरेष्ट मर्जर : कम्पनी मख्ख, नियामक प्रफुल्ल

काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु भयो । जुन नेपाली बीमा क्षेत्रमा पहिलो बीमा मर्जर हो । बैशाख २२ गते मर्जर सम्झौता भएको दुई कम्पनीबीच आइतबार एकीकृत कारोबार शुरु हुँदा कम्पनीका कर्मचारी र सेयरधनीमात्र होइन, कार्यक्रममा उपस्थित अतिथिको मुहारमा पनि बेग्लै किसिमको चमक देखिन्थ्यो । कार्यक्रमको शुरुमा एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिव सापकोटाले सबैलाई स्वागत गर्दै भने ‘आज नयाँ आर्थिक वर्षको पहिलो दिन बीमा क्षेत्रको लागि ऐतिहासिक दिन, हिमालयन जनरल र एभरेष्टको मर्जरले सबैमा उमंग छाएको छ, आगामी दिनमा बीमा कम्पनीबीच मर्जरको विशाल दिशानिर्देश यसले गरेको छ ।’ उनले स्वागत मन्तव्य दिए लगत्तै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पानसमा दीपप्रज्जवलन गर्दा सभाहलभरी तालीको गडगडाहट बज्यो । कार्यक्रममा मर्जर समितिका संयोजक अजय रत्न स्थापितले मर्जर प्रकृयामा भोग्नुपरेका चुनौति र गरेका कम कारवाहीको विषयमा कार्यक्रममा स-विस्तार पारे । उनले मर्जर सफल पार्नमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिए । मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ बनेका बिजयबहादुर शाहले कम्पनीको आगामी रणनीति र योजनाको विषयमा प्रकाश पारे । ‘हामीले आगामी वर्षमा व्यवसायलाई थप बढाउने योजना बनाएका छौं, शहर केन्द्रीत बीमा व्यवसायलाई प्रविधिमार्फत गाउँघर लगायत बढीबढी मानिसमा पुर्याउने हाम्रो लक्ष्य छ, बीमा कँही फालाफाल, कँही पहुँच नै नपुग्ने अवस्था छ, त्यसको अन्त्य गर्नुपर्छ, त्यसको लागि कम्पनीले डिजिटाइजेशनमा ठूलो लगानी गर्नेछ, बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको र बीमा क्षेत्रलाई पहिलो रोजाईको क्षेत्र बनाउनको लागि मानवीय श्रोत साधनको बढाउने कम्पनीको योजना छ, साथै, जोखिम बहन क्षमतालाई वृद्धि गर्दै लैजाने हाम्रो लक्ष्य छ,’ उनले भने । कार्यक्रममा आधा दर्जन बढीले कम्पनीलाई शभेच्छा प्रकट गर्दै नामजस्तै सफलताको उचाईमा रहिरहन शुभकामना दिए । शुभकामना दिने सबैले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमा नयाँ ट्रेण्डसेट स्थापना गरेको धारणा समेत राखे । नेपाल इन्स्योरेन्स सर्भेयर एशोसिएशनका अध्यक्ष मोहन पुरुश ढकालले मर्जरपछि कम्पनीको व्यापारसँगै छवि, साथ, प्रसनालिटी बढ्ने बताए । त्यसैगरी, जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले उचाईंबाट आएको ‘हिमालयन एभरेष्ट’ नामले सफलता पनि त्यहि लेभलमा हासिल गर्न कम्पनीलाई शुभकामना दिए । यस्तै, कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजीबजारमा मर्जर आवश्यक रहेको बताउँदै हिमालयन जनरल र एभरेष्टको मर्जरले बीमा क्षेत्रमा मर्जरको बाटो देखाएको धारणा राखे । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले हिमालयन एभरेष्ट नामलाई नामजस्तै गराउन पुनर्बीमा कम्पनीले सेवा सुविधामा सक्दो सहजीकरण गर्ने प्रतिवद्धता गरे । निर्जीवन बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पनि बीमा क्षेत्रमा मर्जरको विषय सजिलो नहुँदा नहुँदै पनि कम्पनीको शुरुवातलाई स्वागतयोग्य रहेको बताए । जनरल इन्स्योरेन्स एसोसिएसन अफ नेपालका अध्यक्ष रोजेन्द्र मल्लले बीमा समितिको पुँजी थप्ने निर्देशन समयमै आएको बताउँदै अब कम्पनीहरुले पुँजीलाई कसरी उपलब्धी क्षेत्रमा लगाउने भन्ने विषयमा ध्यान दिन आवश्यक रहने बताए । त्यस्तै, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानका अध्यक्ष युद्धराज ओलीले हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई शुभकामना दिँदै सक्दो सहयोग गर्न तयार रहेको बताए । अतिथिहरुको शुभकामना मन्तव्य पछि प्रफुलित मञ्चमा उक्लिए बीमा समितिका अध्यक्ष सिलवाल । कार्यक्रमको शुरुवातदेखि नै मुहारमा चमकपन देखिएका सिलवाल कार्यक्रममा ठट्यौलीपन पनि प्रस्तुत गरे । ‘आज म गर्वका साथ यो स्टेजमा बोलिरहेको छु, लामो समयदेखि हुन नसकेको बीमा मर्जर सम्झौता हिमालयन जनरल र एभरेष्टले छोटो समयमै सफल पारेका छन्, नीति बीमा समितिको भएपनि कम्पनीको पहल तथा कार्यान्वयन पक्षले मर्जर सम्भव भएकोमा मर्जर कमिटी प्रशंशाको पात्र बन्न सफल भएको छ, त्यस्तै, अन्य कम्पनीहरुले पनि मर्जर सम्झौता गरेका छन्, आशा छ तिनीहरुले पनि चाँडै एकीकृत कारोबार शुरु गर्ने छन्,’ उनले भने । बीमा समितिले हालसम्म कम्पनीहरुलाई मर्जरमा जान फोर्स नगरेको र गर्नै परे चैतदेखि गर्ने अध्यक्ष सिलवालले बताए । मर्जरपछि बीमा क्षेत्र तथा कम्पनीहरुमा थप विश्वसनीयता बढ्ने र बढेको पुँजीको उपयोग गर्न कम्पनीहरुलाई आग्रह गरे । यो पनि पढ्नुहोस् अब बीमा कम्पनीका पोलिसीहरु कपी पेस्ट हुँदैन : अध्यक्ष सिलवाल

सस्तो ब्याजमा कोषले ७५ लाखसम्म सापटी दिने, घर बनाउन र छोराछोरी पढाउन सकिने

काठमाडौं । अब सामाजिक सुरक्षा कोषका लगानीकर्ताले कोषबाट ऋण पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरेसँगै कर्जा पाउने बाटो खुलेको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३२ को उपदफा (१) को खण्ड (ट) तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को व्यवस्था बमोजिम उक्त निर्देशिका तयार गरी स्वीकृत गरेको बताइएको छ । अब कोषका योगदानकर्ताले योगदानकर्ता घर सापटी योजना अन्तर्गत कर्जा पाउनेछन् । योगदानकर्ताले नयाँ घर निर्माण, घर खरिद गर्न, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न र मर्मत गर्न लगायत कामका लागि सापटी पाउनेछन् । धितोका आधारमा योगदानकर्ताले ७५ लाख रुपैयाँसम्म ऋण पाउनेछन् । तर, कोषबाट सापटी पाउनका लागि भने केही निश्चित मापदण्ड निर्धारण गरिएको छ । यस्तो कर्जाको ब्याज भने सस्तो पर्नेछ । कोषमा कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका, उमेर र सेवा अवधीको आधारमा अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी पाउनेछन् । यो सापटी योगदानकर्ता वा निजका पति, पत्नी, छोरा, छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लागि सापटी प्रदान गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

अब बीमा कम्पनीका पोलिसीहरु कपी पेस्ट हुँदैन : अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अब बीमा कम्पनीहरुको पोलिसीमा कपी पेस्टको अन्त्य हुने बताएका छन् । आइतबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । पछिल्लो समय कम्पनीहरुले ल्याउने बीमा पोलिसीको नाम मात्रै फरक तर विशेषता एउटै रहेकोमा मर्जर पछि त्यसको अन्त्य हुनेमा अध्यक्ष सिलवाल विश्वस्त रहेका छन् । ‘मर्जरपछि कम्पनीहरुले पोलिसीमा प्रतिस्पर्धा गर्नुपर्छ, सबैको एउटै खालको काम छैन, कपी पेस्ट गरेर बिजनेश हुँदैन, प्रविधिमैत्रीमा बढी जोड गर्नै पर्छ,’ उनले बताए । साथै, उनले मोबाइलबाटै गर्न मिल्ने खालको पोलिसी आवश्यक रहेको बताए । बीमा समितिको नीति भएपनि कम्पनीको पहल तथा कार्यान्वयन पक्षले मर्जर सम्भव भएको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । उनले यो सफलताको श्रेय कम्पनीको मर्जर कमिटीलाई दिँदै कम्पनी प्रशंशाको पात्र रहेको समेत जिकिर गरे । पछिल्लो समय बीमा मर्जरपछि बीमा कम्पनीको संख्या घट्दो क्रममा रहेको छ । यो अवस्थामा नेपालमा कतिवटा बीमा कम्पनीको चाहिन्छ भन्ने विषयमा बीमा समितिले बल्ल अध्ययन गर्ने अध्यक्ष सिलवालले बताए । ‘नेपालमा कति संख्यामा बीमा कम्पनी चाहिन्छ, अध्ययन गरेका छैनौं, यो वर्षभित्र गर्छौं,’ कार्यक्रममा बोल्दै उनले भने । बीमा समितिले हालसम्म कम्पनीहरुलाई मर्जरमा जान फोर्स नगरेको र गर्नै परे चैतदेखि गर्ने अध्यक्ष सिलवालले बताए । मर्जरपछि बीमा क्षेत्र तथा कम्पनीहरुमा थप विश्वसनीयता बढ्ने र बढेको पुँजीको उपयोग गर्न कम्पनीहरुलाई आग्रह गरेका छन् । अहिले बीमा कम्पनीहरुले स्थानीय सरकारसँग सहकार्य गरेर बीमाको पहुँच बढाउन कम्पनीहरुलाई आग्रह गरेका छन् । ‘पैसा स्थानीय तहसँग छ, तिनीहरुलाई समात्नुस्,’ अध्यक्ष सिलवालले भने ।

कामना सेवा विकास बैंकको डीसीईओमा विनय दाहाल, बैंकिङ्ग क्षेत्रमा ३ दशक अनुभव

काठमाडौं । कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विनय दाहाल नियुक्त भएका छन् । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त डीसीईओ दाहालसँग बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य गरेको अनुभव छ । विगत ५ वर्षदेखि एनएमबि बैंकको उच्च तहमा रही काम गर्दै आएका दाहालले पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । उनले एनआईसी एशिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरी सकेका छन् । बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउने बैंकले विश्वास लिएको छ ।

संघीयताको कार्यान्वयनमा संघीय सरकार नै बाधक – डा. देवकोटा

काठमाडौं । पछिल्लो समयमा संघीयताको विपक्षमा आवाजहरु बढ्दै गएको देखिन्छ । प्रदेश तहको संरचनाको विषयलाई लिएर सामाजिक सञ्जालदेखि विभिन्न राजनीतिक तहका नेतृत्वहरुले समेत ३ तहको संघीयताको विषयमा विपरित मत राख्न थालेको पाइन्छ । मुलुकमा कार्यान्वयन भइरहेको संघीयताको मोडेल खारेज गर्ने विषय उठ्नु अवश्य पनि व्यवस्था अस्थिरताको संकेत हो । फेरि अर्को कोणबाट हेर्दा विगतको व्यवस्थाको विकल्पमा संघीय व्यवस्थाको माग गरी युद्ध वा आन्दोलन गर्ने राजीतिक शक्तिहरु नै संघीयताको प्रभावकारी कार्यान्वयनमा अनिच्छुक देखिँदै गएका छन् । महालेखापरीक्षको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनले संघीयता कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको भन्दै सो सन्दर्भमा विभिन्न कुराहरु औंल्याएको छ । महालेखाकाे प्रतिवेदनमा अधिकार क्षेत्र अनुरुप कानून निर्माण नभएको, वित्तीय संघीयताले मुर्त रुप लिन नसकेको, संघद्वारा अनुदान उपलब्ध गराउने परिपाटी संघीयता अनुरुप नभएको र प्रदेश र स्थानीय सरकार संघमा परानिर्भर भएको विषयलाई उठाएको छ । साथै संविधानमा व्यवस्था गरिएको साझा अधिकारको विषयलाई स्थानीय र प्रदेश तहमा हस्तान्तरण नगरिएको विषय महालेखाले आफ्नो प्रतिवेदनमा महत्वकासाथ उठाएको छ । साथै सबै तहको प्रशासनिक खर्च उच्च रहेको र अनुदानलाई बढावा दिएको जस्ता विषयलाई पनि महालेखाले औंल्याएको छ । विशेषगरी वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विपक्षमा रहेका राजनीतिक दलहरु, मुख्य राजनीतिक दलभित्र रहेका केही नेतृत्वहरु र खासगरी वेथितिपूर्ण भारी प्रशासनिक खर्च देखिरहेका आम नागरिकहरुले प्रदेश तहको खारेजीको विषयलाई विभिन्न मञ्चमार्फत उठाइरहेका छन् । तर संघीय र गैर संघीय व्यवस्थाको वास्तविक तथ्यांकीय तुलना गरेर समर्थन वा विरोध भने गरेको पाइँदैन । संविधान निर्माण गरिसकेपछि वर्तमान व्यवस्थाको सञ्चालन भएको झण्डै एक आवधिक समय वा ५ वर्ष वित्न लागेको छ । संघीयताको मोडेल अनुरुप निर्माण गर्नुपर्ने थुप्रै कानूनहरु निर्माण हुन बाँकी नै रहेको अवस्था छ । त्यस्तै संघीयता अनुरुप साधन, शक्ति र स्रोतको बाँडफाँड गरी सो अनुरुप कार्यान्वयन नै हुन सकेको छैन । अर्थात् संघीय सरकारले प्रदेश र स्थानीय सरकारले कार्यान्वयन गर्नुपर्ने विकासका आयोजनाहरुलाई आँफै हस्तक्षेप गरेर कार्यान्वयन गरिरहेको छ । राष्ट्रिय सभाका सदस्य तथा संघीयताका विज्ञ डा. खिमलाल देवकोटा संघीय व्यवस्थाको अलोकप्रियता हुनुमा संघीय सरकार नै मुख्य जिम्मेवार रहेको बताउँछन् । देवकोटा भन्छन्, ‘हामीले त धेरै खालको शासन व्यवस्थाको अनुभव गर्यौं, राणा, पञ्चायत, ०४६ सालको परिवर्तनपछिको व्यवस्था र राजा ज्ञानेन्द्रको शासनकालको व्यवस्थाको पनि अनुभव गर्यौं, यी सबै खालका व्यवस्थाहरुको अनुभवपछि अहिलेको व्यवस्थामा गएका हौं ।’ राजनीतिक रुपमा नेपाल एउटा प्रयोगशाला जस्तो पनि बन्न पुगेको डा. देवकोटाको भनाइ छ । उनी भन्छन, ‘नेपाल एउटा प्रयोगशाला जस्तो बन्न पुग्यो, एउटा शासन व्यवस्था स्थापना गर्ने फेरि अर्को व्यवस्थामा जाने’, उनले प्रश्न गरे, ‘हामीले नेपाललाई कतिसमय प्रयोगशाला बनाउने ?’ शासन व्यवस्था आफैमा कुनै पनि खराब नभएको र शासन व्यवस्था भनेको साधन मात्रै रहेको उनको तर्क छ । आजको दिनमा जनताले खोजेको त विकास, समृद्धि, शुसासन, पारदर्शीता, स्रोत र साधनमा पहुँच, आफ्नो पहिचान र आफ्नो सम्मान खोजेको र त्यसको लागि नै वर्तमान संविधान जारी गरिएकाले सो दिशामा मुलुकको राजनीति अगाडि बढ्न सक्ने वा नसक्ने भन्ने कुरा महत्वपूर्ण रहेको डा. देवकोटाको भनाइ छ । अहिले सामाजिक सञ्जालमा वर्तमान शासन व्यवस्थाको विरोध हुनु स्वभाविक स्वभाविक भन्दै देवकोटा भन्छन्, ‘यो शासन व्यवस्थाबाट जनताले छोटो समयमा जे अपेक्षा गरेका थिए त्यो प्राप्त गर्न नसकेको विषयमा आक्रोश हो । यो व्यवस्थाबाट जनताले अपेक्षा गरेअनुरुपको शुसासनको अनुभुति, रोजगारी, शिक्षा, स्वास्थ्य, जस्ता कुराहरु प्राप्त नभएको महशुस गरेका छन् ।’ विगतको व्यवस्था र वर्तमान व्यवस्थामा अन्तर नभएकोमा निराशा पैदा भएको डा. देवकोटा बताउँछन् । उनी भन्छन्, ‘मानौं हिंड्दाखेरी बाटोमा कहीँ खाल्डाखुल्डी भयो भने दोष चाहिँ संघीयतालाई नै दिने काम भएको छ तर, संघीयता भनेको एउटा शासन व्यवस्था हो, त्यो पनि भर्खरै स्थापना गरिएको हो, यो एक प्रकारको बच्चा जस्तै हो, हिंडेकै छैन’, उनी प्रश्न गर्छन्, ‘भर्खरै कसरी नतिजा दिन सक्छ ? कम्तिमा १०/१५ वर्ष त समय लागिहाल्छ नी नतिजामा पुग्नको लागि पनि ।’ अहिलेको व्यवस्था तलसम्मको जनतासँग जोडिएर काम गर्नुपरेकोले व्युरोक्रेसीले मन नपराएको र कतिपय राजनीतिकर्मीले पनि मन नपराएको उनको भनाइ छ । वर्तमान व्यवस्थामा राखिएका प्रावधानले धेरै राम्रो सुन्दरता प्रदान गरेको भन्दै देवकोटा भन्छन्, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता किन चाहियो, अथवा यो संविधान किन चाहियो ? सबै खालको विभेदहरुको अन्त्य गर्न भनेर हामीले किन संविधानको प्रस्तावनामा नै लेख्यौं ? भौगोलिक, जातिय, सांस्कृतिक, जस्ता विभेद छन् भनेर हामील संविधानमा लेख्यौं ? हामीले समावेशी र समानुपातिक भनेर व्यवस्था गर्यौं । संघीय संसद, प्रदेश संसद र राष्ट्रपति जस्ता कुराहरुमा हेरौं । अहिले महिलाहरुको कति राम्रो उपस्थिति छ । कति राम्रो समावेशी छ ।’ संघीय व्यवस्थाको प्रकृया अगाडि बढिसकेपछि हरेक पालिकामा विकासको प्रारम्भ भएको, वाणिज्य बैंकहरु पुगेको, तुलनात्मक रुपमा शान्तिको स्थापना भएको र बसाइसराईं पनि कम हुँदै गएको डा. देवकोटाको तर्क छ । तर, नागरिकले शासन व्यवस्थाको विषयमा प्रश्न गर्ने कुरा स्वभाविक भएको उनी बताउँछन् । जनताको प्रतिनिधिहरुबाट नै संविधान जारी गरेर वर्तमान व्यवस्था स्थापना गरिएको कुरा नै आम जनतालाई बुझाउन नसकिएको उनको भनाइ छ । अहिलेसम्म सरकारमा पुगेका राजनीतिक नेतृत्वमा नै संघीयतालाई सही ढंगले कार्यान्वयन गर्ने र यसलाई सफल बनाउने कुरामा सही नियत नभएको डा. देवकोटा बताउँछन् । उनी भन्छन्, ‘नेतृत्वको नियतमा नै समस्या छ । सबै काम यहीँबाट गर्ने भन्ने छ । तत्कालिन ओली नेतृत्वको सरकाले स्थानीय स्तरका सडक समेत संघीय सरकारले गर्ने भनेर शिलान्यास गर्ने काम गर्यो । अहिलेसम्म निजामति कर्मचारी र शिक्षक जस्ता धेरै कानूनहरु संघीय सरकारले नै ल्याउने काम गरेको छैन् । संघीयताको सही कार्यान्वयनको वाधक त संघीय सरकार नै हो । राजनीतिक तहको शिर्षस्थ नेतृत्वलाई नै बुझाउन बाँकी छ कि भन्ने लागेको छ ।’ संघीयताको कोणबाट हेर्दा सरकारले ५ वर्ष सम्म ल्याएको बजेट संघीय व्यवस्थामैत्री पनि नभएको उनको तर्क छ । आफुले निरन्तर रुपमा संघीय सरकारले ल्याएको बजेट संघीयतामैत्री नभएको कुराको विरोध गरेको डा. देवकोटा बताउँछन् । उनी भन्छन्, ‘स्थानीयस्तरको सडक र घर–घरमा धाराको काम स्थानीय सरकारले गर्ने हो की संघीय सरकारले गर्ने हो ? मेरो सबैभन्दा धेरै असन्तुष्टी र फरक मत नै यही विषयमा हो । सोही कारणले हामील राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरेको हो ।’ कुनै पनि तहको सरकारले अर्को तहको सरकारको लक्ष्मणरेखालाई क्रस गर्न नहुने र एक आपसमा मिलेर काम गर्नुपर्ने उनको भनाई छ । उनले भन्छन्, ‘संघीय सरकारले अन्तरप्रदेश स्तरको र प्रदेशले अन्तरपालिका स्तरको कार्यक्रम सञ्चालन गर्ने हो । एकआपसमा प्रतिस्पर्धा गर्ने होइन । मिलेर काम गर्ने हो । दलहरु र सरकार आउनेले पनि यो विषयमा भावना बोकेर आउन जरुरी छ ।’ अहिले प्रदेशका सरकारहरु सीमाभन्दा बाहिर गएको गुनासो पनि बढ्दै गएको देखिएकोले त्यसलाई रोक्नुपर्ने डा. देवकोटा बताउँछन् । उनले भने, ‘कमजोरीको पाटोतर्फ हेर्दा प्रदेश सरकारहरु पनि अलिकति सिमाभन्दा बाहिर गएकी भन्ने गुनासो देखियो । धेरै मन्त्रालय बनाउने, धेरै मन्त्री बनाउने, योजनाहरुको बाँडफाँड गर्दा आफ्नो परिवारको सदस्य सम्मलाई पनि बाँड्न तयार हुने आदि जस्ता विकृतिहरु देखिए ।’ अहिले नै संघीयताको विकल्प खोज्ने बेला नभएको डा देवकोटाको भनाइ छ । कसैले संघीयताको विकल्प खोजेर एकात्मक व्यवस्था स्थापना गर्ने प्रयत्न गरेमा त्यसमा सबैको नागरिक, समुदाय र दलको सहमति नहुने उनको भनाइ छ । अहिलेको व्यवस्थामा भएका कमजोरीलाई नै सुधार गरेर अगाडि बढ्नु नै उत्तम हुने उनको भनाइ छ । उनी भन्छन्, ‘कुनैपनि शासन व्यवस्था संसारमा आँफैमा पूर्ण त हुँदैन नी । कुनै देशमा कहीँ पनि हुँदैन । आजको दिनमा हामी फेरि एकात्मक व्यवस्थामा जाने हो भने फेरि कुनै राजनीतिक दलले आन्दोलन गर्दैन ? समाजले असन्तुष्टी प्रकट गर्ला । कसैले आगो बाल्न शुरु गर्यो भने त्यसले पुनः विस्तारित रुप लिनसक्ला । त्यसकारण यही व्यवस्थालाई नै मलजल गरौं । कहीँ कमिकमजोरी छन् भने त्यसलाई सुधार गरौं । कम्तिमा १५/२० वर्ष हेरौं । त्यसपछि पनि यो व्यवस्थाको आफ्नै कारणले असफल हुन्छ भने हामीले धेरै समय काँध थाप्न सक्दैनौं ।’ अहिलेको अवस्थामा भर्खरै स्थापना गरिएको व्यवस्थालाई सबै मिलेर सबल बनाउन जरुरी रहेको डा. देवकोटा बताउँछन् । ‘वास्तवमा हामी सबै मिलेर यो व्यवस्थाको खुट्टा टेकाउन प्रयत्न गर्ने हो, भर्खरै जन्मेको छ, मलजल हामीले गर्नुपर्छ ।’ अहिले व्यवस्थाको सानो–सानो छिद्र खोजेर समस्या बढाउन खोजिएको भन्दै डा. देवकोटा भन्छन्, ‘हामीले संविधान त राम्रो लेखेका छौं, तर त्यहाँबाट छिद्र खोजेर त्यहाँबाट हात्ती प्रवेश गराउन खोजियो भने कसरी सफलता मिल्न सक्छ ? छिद्र छ भने त्यसलाई पुर्न तर्फ लाग्नुपर्नेमा ठुलो बनाउने तिर लाग्ने काम भएको छ, यो नै महत्वपूर्ण विषय हो ।’ ‘शासन व्यवस्था आँफैमा खराब हुँदैन, तर नेतृत्व कस्तो छ त्यसको आधारमा व्यवस्थाको सफलता वा असफलता भन्ने कुरा हुन्छ ।’

सानिमा बैंकले ल्यायो ५ गुणा रकम बढ्ने मुद्धति योजना

काठमाडौं । सानीमा बैंकले बैंकले न्युनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्धति खाता ल्याएको छ । बैंकको यस योजना अन्तर्गत ३ वटा मुद्धति खातास् रेमिट्यान्स धमाका मुद्धति खाता, सानिमा धमाका मुद्धति खाता र सानीमा कर्पोरेट धमाका खाता रहेको छ । बैंकले सानिमा रेमिट्यान्स धमाका मुद्धति खाता अन्तर्गत ५।७९ वर्षमा दुई गुणा, ९.१८ वर्षमा तीन गुणा, ११.५८ वर्षमा ४ गुणा र १३.४५ वर्षमा ५ गुणा रकम दिने बताएको छ । बैंकले यसको न्युनतम मौजदात ५ लाख रुपैयाँ हुनुपर्ने जनाएको छ । बैंकले सानिमा धमाका मुद्धति खाता अन्तर्गत ६।३२ वर्षमा दुई गुणा, १०.०१ वर्षमा तीन गुणा, १२.३ वर्षमा ४ गुणा र १४.६६ वर्षमा ५ गुणा रकम दिने बताएको छ । बैंकले यसको न्युनतम मौजदात ५ लाख रुपैयाँ हुनुपर्ने जनाएको छ । यस्तै, बैंकले सानिमा कर्पोरेट खाता अन्तर्गत ६।९४ वर्षमा दुई गुणा, ११ वर्षमा तीन गुणा, १३.८८ वर्षमा ४ गुणा र १६.१२ वर्षमा ५ गुणा रकम दिने जनाएको छ । बैंकले यसको न्युनतम मौजदात १० लाख रुपैयाँ हुनुपर्ने जनाएको छ । साथै, बैंकले सम्पुर्ण निक्षेप खाताहरुमा ब्याज प्रदान गर्ने भएको छ । बैंकले नयाँ आर्थिक वर्षलाई लक्षित गर्दै नेपाली तथा विदेशी मुद्रा खातामा यस्तो सुविधा दिन लागेका जनाएको छ । बैंकको अनुसार यो योजना बचत खाता, कल खाता तथा सम्पर्ण खाताहरुमा लागु हुनेछ ।