संघीयताको कार्यान्वयनमा संघीय सरकार नै बाधक – डा. देवकोटा

<p>काठमाडौं । पछिल्लो समयमा संघीयताको विपक्षमा आवाजहरु बढ्दै गएको देखिन्छ । प्रदेश तहको संरचनाको विषयलाई लिएर सामाजिक सञ्जालदेखि विभिन्न राजनीतिक तहका नेतृत्वहरुले समेत ३ तहको संघीयताको विषयमा विपरित मत राख्न थालेको पाइन्छ । मुलुकमा कार्यान्वयन भइरहेको संघीयताको मोडेल खारेज गर्ने विषय उठ्नु अवश्य पनि व्यवस्था अस्थिरताको संकेत हो । फेरि अर्को कोणबाट हेर्दा विगतको व्यवस्थाको [&hellip;]</p>

काठमाडौं । पछिल्लो समयमा संघीयताको विपक्षमा आवाजहरु बढ्दै गएको देखिन्छ । प्रदेश तहको संरचनाको विषयलाई लिएर सामाजिक सञ्जालदेखि विभिन्न राजनीतिक तहका नेतृत्वहरुले समेत ३ तहको संघीयताको विषयमा विपरित मत राख्न थालेको पाइन्छ । मुलुकमा कार्यान्वयन भइरहेको संघीयताको मोडेल खारेज गर्ने विषय उठ्नु अवश्य पनि व्यवस्था अस्थिरताको संकेत हो । फेरि अर्को कोणबाट हेर्दा विगतको व्यवस्थाको विकल्पमा संघीय व्यवस्थाको माग गरी युद्ध वा आन्दोलन गर्ने राजीतिक शक्तिहरु नै संघीयताको प्रभावकारी कार्यान्वयनमा अनिच्छुक देखिँदै गएका छन् ।

महालेखापरीक्षको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनले संघीयता कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको भन्दै सो सन्दर्भमा विभिन्न कुराहरु औंल्याएको छ । महालेखाकाे प्रतिवेदनमा अधिकार क्षेत्र अनुरुप कानून निर्माण नभएको, वित्तीय संघीयताले मुर्त रुप लिन नसकेको, संघद्वारा अनुदान उपलब्ध गराउने परिपाटी संघीयता अनुरुप नभएको र प्रदेश र स्थानीय सरकार संघमा परानिर्भर भएको विषयलाई उठाएको छ । साथै संविधानमा व्यवस्था गरिएको साझा अधिकारको विषयलाई स्थानीय र प्रदेश तहमा हस्तान्तरण नगरिएको विषय महालेखाले आफ्नो प्रतिवेदनमा महत्वकासाथ उठाएको छ । साथै सबै तहको प्रशासनिक खर्च उच्च रहेको र अनुदानलाई बढावा दिएको जस्ता विषयलाई पनि महालेखाले औंल्याएको छ ।

विशेषगरी वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विपक्षमा रहेका राजनीतिक दलहरु, मुख्य राजनीतिक दलभित्र रहेका केही नेतृत्वहरु र खासगरी वेथितिपूर्ण भारी प्रशासनिक खर्च देखिरहेका आम नागरिकहरुले प्रदेश तहको खारेजीको विषयलाई विभिन्न मञ्चमार्फत उठाइरहेका छन् । तर संघीय र गैर संघीय व्यवस्थाको वास्तविक तथ्यांकीय तुलना गरेर समर्थन वा विरोध भने गरेको पाइँदैन ।

संविधान निर्माण गरिसकेपछि वर्तमान व्यवस्थाको सञ्चालन भएको झण्डै एक आवधिक समय वा ५ वर्ष वित्न लागेको छ । संघीयताको मोडेल अनुरुप निर्माण गर्नुपर्ने थुप्रै कानूनहरु निर्माण हुन बाँकी नै रहेको अवस्था छ । त्यस्तै संघीयता अनुरुप साधन, शक्ति र स्रोतको बाँडफाँड गरी सो अनुरुप कार्यान्वयन नै हुन सकेको छैन । अर्थात् संघीय सरकारले प्रदेश र स्थानीय सरकारले कार्यान्वयन गर्नुपर्ने विकासका आयोजनाहरुलाई आँफै हस्तक्षेप गरेर कार्यान्वयन गरिरहेको छ ।

राष्ट्रिय सभाका सदस्य तथा संघीयताका विज्ञ डा. खिमलाल देवकोटा संघीय व्यवस्थाको अलोकप्रियता हुनुमा संघीय सरकार नै मुख्य जिम्मेवार रहेको बताउँछन् । देवकोटा भन्छन्, ‘हामीले त धेरै खालको शासन व्यवस्थाको अनुभव गर्यौं, राणा, पञ्चायत, ०४६ सालको परिवर्तनपछिको व्यवस्था र राजा ज्ञानेन्द्रको शासनकालको व्यवस्थाको पनि अनुभव गर्यौं, यी सबै खालका व्यवस्थाहरुको अनुभवपछि अहिलेको व्यवस्थामा गएका हौं ।’

राजनीतिक रुपमा नेपाल एउटा प्रयोगशाला जस्तो पनि बन्न पुगेको डा. देवकोटाको भनाइ छ । उनी भन्छन, ‘नेपाल एउटा प्रयोगशाला जस्तो बन्न पुग्यो, एउटा शासन व्यवस्था स्थापना गर्ने फेरि अर्को व्यवस्थामा जाने’, उनले प्रश्न गरे, ‘हामीले नेपाललाई कतिसमय प्रयोगशाला बनाउने ?’ शासन व्यवस्था आफैमा कुनै पनि खराब नभएको र शासन व्यवस्था भनेको साधन मात्रै रहेको उनको तर्क छ ।

आजको दिनमा जनताले खोजेको त विकास, समृद्धि, शुसासन, पारदर्शीता, स्रोत र साधनमा पहुँच, आफ्नो पहिचान र आफ्नो सम्मान खोजेको र त्यसको लागि नै वर्तमान संविधान जारी गरिएकाले सो दिशामा मुलुकको राजनीति अगाडि बढ्न सक्ने वा नसक्ने भन्ने कुरा महत्वपूर्ण रहेको डा. देवकोटाको भनाइ छ ।

अहिले सामाजिक सञ्जालमा वर्तमान शासन व्यवस्थाको विरोध हुनु स्वभाविक स्वभाविक भन्दै देवकोटा भन्छन्, ‘यो शासन व्यवस्थाबाट जनताले छोटो समयमा जे अपेक्षा गरेका थिए त्यो प्राप्त गर्न नसकेको विषयमा आक्रोश हो । यो व्यवस्थाबाट जनताले अपेक्षा गरेअनुरुपको शुसासनको अनुभुति, रोजगारी, शिक्षा, स्वास्थ्य, जस्ता कुराहरु प्राप्त नभएको महशुस गरेका छन् ।’ विगतको व्यवस्था र वर्तमान व्यवस्थामा अन्तर नभएकोमा निराशा पैदा भएको डा. देवकोटा बताउँछन् ।

उनी भन्छन्, ‘मानौं हिंड्दाखेरी बाटोमा कहीँ खाल्डाखुल्डी भयो भने दोष चाहिँ संघीयतालाई नै दिने काम भएको छ तर, संघीयता भनेको एउटा शासन व्यवस्था हो, त्यो पनि भर्खरै स्थापना गरिएको हो, यो एक प्रकारको बच्चा जस्तै हो, हिंडेकै छैन’, उनी प्रश्न गर्छन्, ‘भर्खरै कसरी नतिजा दिन सक्छ ? कम्तिमा १०/१५ वर्ष त समय लागिहाल्छ नी नतिजामा पुग्नको लागि पनि ।’

अहिलेको व्यवस्था तलसम्मको जनतासँग जोडिएर काम गर्नुपरेकोले व्युरोक्रेसीले मन नपराएको र कतिपय राजनीतिकर्मीले पनि मन नपराएको उनको भनाइ छ । वर्तमान व्यवस्थामा राखिएका प्रावधानले धेरै राम्रो सुन्दरता प्रदान गरेको भन्दै देवकोटा भन्छन्, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता किन चाहियो, अथवा यो संविधान किन चाहियो ? सबै खालको विभेदहरुको अन्त्य गर्न भनेर हामीले किन संविधानको प्रस्तावनामा नै लेख्यौं ? भौगोलिक, जातिय, सांस्कृतिक, जस्ता विभेद छन् भनेर हामील संविधानमा लेख्यौं ? हामीले समावेशी र समानुपातिक भनेर व्यवस्था गर्यौं । संघीय संसद, प्रदेश संसद र राष्ट्रपति जस्ता कुराहरुमा हेरौं । अहिले महिलाहरुको कति राम्रो उपस्थिति छ । कति राम्रो समावेशी छ ।’

संघीय व्यवस्थाको प्रकृया अगाडि बढिसकेपछि हरेक पालिकामा विकासको प्रारम्भ भएको, वाणिज्य बैंकहरु पुगेको, तुलनात्मक रुपमा शान्तिको स्थापना भएको र बसाइसराईं पनि कम हुँदै गएको डा. देवकोटाको तर्क छ । तर, नागरिकले शासन व्यवस्थाको विषयमा प्रश्न गर्ने कुरा स्वभाविक भएको उनी बताउँछन् । जनताको प्रतिनिधिहरुबाट नै संविधान जारी गरेर वर्तमान व्यवस्था स्थापना गरिएको कुरा नै आम जनतालाई बुझाउन नसकिएको उनको भनाइ छ ।

अहिलेसम्म सरकारमा पुगेका राजनीतिक नेतृत्वमा नै संघीयतालाई सही ढंगले कार्यान्वयन गर्ने र यसलाई सफल बनाउने कुरामा सही नियत नभएको डा. देवकोटा बताउँछन् । उनी भन्छन्, ‘नेतृत्वको नियतमा नै समस्या छ । सबै काम यहीँबाट गर्ने भन्ने छ । तत्कालिन ओली नेतृत्वको सरकाले स्थानीय स्तरका सडक समेत संघीय सरकारले गर्ने भनेर शिलान्यास गर्ने काम गर्यो । अहिलेसम्म निजामति कर्मचारी र शिक्षक जस्ता धेरै कानूनहरु संघीय सरकारले नै ल्याउने काम गरेको छैन् । संघीयताको सही कार्यान्वयनको वाधक त संघीय सरकार नै हो । राजनीतिक तहको शिर्षस्थ नेतृत्वलाई नै बुझाउन बाँकी छ कि भन्ने लागेको छ ।’

संघीयताको कोणबाट हेर्दा सरकारले ५ वर्ष सम्म ल्याएको बजेट संघीय व्यवस्थामैत्री पनि नभएको उनको तर्क छ । आफुले निरन्तर रुपमा संघीय सरकारले ल्याएको बजेट संघीयतामैत्री नभएको कुराको विरोध गरेको डा. देवकोटा बताउँछन् ।

उनी भन्छन्, ‘स्थानीयस्तरको सडक र घर–घरमा धाराको काम स्थानीय सरकारले गर्ने हो की संघीय सरकारले गर्ने हो ? मेरो सबैभन्दा धेरै असन्तुष्टी र फरक मत नै यही विषयमा हो । सोही कारणले हामील राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरेको हो ।’ कुनै पनि तहको सरकारले अर्को तहको सरकारको लक्ष्मणरेखालाई क्रस गर्न नहुने र एक आपसमा मिलेर काम गर्नुपर्ने उनको भनाई छ । उनले भन्छन्, ‘संघीय सरकारले अन्तरप्रदेश स्तरको र प्रदेशले अन्तरपालिका स्तरको कार्यक्रम सञ्चालन गर्ने हो । एकआपसमा प्रतिस्पर्धा गर्ने होइन । मिलेर काम गर्ने हो । दलहरु र सरकार आउनेले पनि यो विषयमा भावना बोकेर आउन जरुरी छ ।’

अहिले प्रदेशका सरकारहरु सीमाभन्दा बाहिर गएको गुनासो पनि बढ्दै गएको देखिएकोले त्यसलाई रोक्नुपर्ने डा. देवकोटा बताउँछन् । उनले भने, ‘कमजोरीको पाटोतर्फ हेर्दा प्रदेश सरकारहरु पनि अलिकति सिमाभन्दा बाहिर गएकी भन्ने गुनासो देखियो । धेरै मन्त्रालय बनाउने, धेरै मन्त्री बनाउने, योजनाहरुको बाँडफाँड गर्दा आफ्नो परिवारको सदस्य सम्मलाई पनि बाँड्न तयार हुने आदि जस्ता विकृतिहरु देखिए ।’

अहिले नै संघीयताको विकल्प खोज्ने बेला नभएको डा देवकोटाको भनाइ छ । कसैले संघीयताको विकल्प खोजेर एकात्मक व्यवस्था स्थापना गर्ने प्रयत्न गरेमा त्यसमा सबैको नागरिक, समुदाय र दलको सहमति नहुने उनको भनाइ छ । अहिलेको व्यवस्थामा भएका कमजोरीलाई नै सुधार गरेर अगाडि बढ्नु नै उत्तम हुने उनको भनाइ छ ।

उनी भन्छन्, ‘कुनैपनि शासन व्यवस्था संसारमा आँफैमा पूर्ण त हुँदैन नी । कुनै देशमा कहीँ पनि हुँदैन । आजको दिनमा हामी फेरि एकात्मक व्यवस्थामा जाने हो भने फेरि कुनै राजनीतिक दलले आन्दोलन गर्दैन ? समाजले असन्तुष्टी प्रकट गर्ला । कसैले आगो बाल्न शुरु गर्यो भने त्यसले पुनः विस्तारित रुप लिनसक्ला । त्यसकारण यही व्यवस्थालाई नै मलजल गरौं । कहीँ कमिकमजोरी छन् भने त्यसलाई सुधार गरौं । कम्तिमा १५/२० वर्ष हेरौं । त्यसपछि पनि यो व्यवस्थाको आफ्नै कारणले असफल हुन्छ भने हामीले धेरै समय काँध थाप्न सक्दैनौं ।’

अहिलेको अवस्थामा भर्खरै स्थापना गरिएको व्यवस्थालाई सबै मिलेर सबल बनाउन जरुरी रहेको डा. देवकोटा बताउँछन् । ‘वास्तवमा हामी सबै मिलेर यो व्यवस्थाको खुट्टा टेकाउन प्रयत्न गर्ने हो, भर्खरै जन्मेको छ, मलजल हामीले गर्नुपर्छ ।’

अहिले व्यवस्थाको सानो–सानो छिद्र खोजेर समस्या बढाउन खोजिएको भन्दै डा. देवकोटा भन्छन्, ‘हामीले संविधान त राम्रो लेखेका छौं, तर त्यहाँबाट छिद्र खोजेर त्यहाँबाट हात्ती प्रवेश गराउन खोजियो भने कसरी सफलता मिल्न सक्छ ? छिद्र छ भने त्यसलाई पुर्न तर्फ लाग्नुपर्नेमा ठुलो बनाउने तिर लाग्ने काम भएको छ, यो नै महत्वपूर्ण विषय हो ।’ ‘शासन व्यवस्था आँफैमा खराब हुँदैन, तर नेतृत्व कस्तो छ त्यसको आधारमा व्यवस्थाको सफलता वा असफलता भन्ने कुरा हुन्छ ।’

Share News