काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीलाई हटाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
उनले भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई हटाउन खोज्नु निन्दनीय भएको बताएका छन् ।
आङ्देम्बेका अनुसार सरकारले व्यवस्थापन र लालपुर्जा दिने आश्वासन दिएर महिनौँसम्म सुकुम्बासीलाई अनिश्चिततामा राखेको छ । अहिले जाडोको समयमा उनीहरूलाई होल्डिङ सेन्टरबाट समेत हटाउन खोजिएको उनको भनाइ छ ।
उनले देशभर आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र सुकुम्बासीको पहिले जग्गाको टुंगो लगाउनुपर्ने बताएका छन् । उनीहरूको आवास सुनिश्चित गरेपछि मात्रै व्यवस्थापनको प्रक्रिया अघि बढाउनुपर्ने उनको माग छ ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको छ । प्रशासनले घरभाडाबापत सरकारले उपलब्ध गराउने १५ हजार रुपैयाँ लिएर सेन्टर छाड्न भनेको छ ।
आङ्देम्बेले सरकारको निर्णय संविधानप्रदत्त आवासको हकविपरीत रहेको बताएका छन् । संविधानको धारा ३७ (१) ले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले राज्यले नागरिकको आश्रय खोस्न नहुने बताएका छन् ।
उनले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक तथा दिगो पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा तथ्यांक संकलन गरेर मात्रै व्यवस्थापन गर्नुपर्ने कांग्रेसको सुझाव सरकारले बेवास्ता गरेको पनि उनको आरोप छ ।