काठमाडौं । समस्याग्रस्त घोषणा गरिएका तीन सहकारी संस्थाको विभिन्न जिल्लामा रहेका २८ स्थानका जग्गा लिलाम बिक्रीमा राखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था र गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाको नाममा रहेका जग्गा बिक्रीमा राखेको हो ।
समितिले सहकारी संस्थाका नाममा रहेका घरजग्गा बिक्री गरी सहकारीका ऋणी सदस्य, जमानीकर्ता तथा सञ्चालकबाट असुल हुन बाँकी ऋण दायित्व भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । लामो समयदेखि ऋण दायित्व फरफारक नगरेका सम्बन्धित पक्षबाट साँवा, ब्याज र हर्जानासहितको रकम असुल गर्न कानुनी प्रक्रिया अघि बढाउँदा पनि दायित्व पूरा नभएपछि संस्थाको नाममा रहेको सम्पत्ति लिलाम गर्न लागिएको हो ।
समितिका अनुसार हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको गोरखामा रहेका दुई स्थानका जग्गा बिक्रीमा राखिएका छन् । त्यस्तै, लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको गोरखा, चितवन, ललितपुर र सिन्धुपाल्चोकका विभिन्न ६ स्थानका जग्गा लिलाम गरिने भएको छ ।
यसैगरी, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाको सिन्धुलीको जिनाखु–८ मा रहेका २० स्थानका जग्गा बिक्रीमा राखिएका छन् । तीनवटै सहकारीका गरी कुल २८ स्थानका जग्गा लिलाम बिक्री गर्न लागिएको समितिले जनाएको छ ।
जग्गा खरिद गर्न इच्छुक व्यक्ति, संस्था वा बचतकर्ताले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को व्यवस्थाअनुसार जग्गाको चलनचल्ती मूल्यका आधारमा न्यूनतम मूल्य निर्धारण गरी लिलाम प्रक्रिया अघि बढाइएको छ ।
बोलपत्रमा प्रस्ताव गरिने मूल्य समितिले तोकेको न्यूनतम मूल्यभन्दा कम हुन पाउने छैन । सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने जिम्मेवारी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दिएको छ । सहकारी ऐन, २०७४ को दफा १०५ अनुसार गठित समितिले संस्थाको सम्पत्ति व्यवस्थापन गरी बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउँदै आएको छ ।
