काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जना नेपाली नागरिकलाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार ९१५ जना नेपाली नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, सातवटा विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी नागरिकको विवरणसमेत बैठकमा प्रस्तुत गरिएको छ । विदेशी नागरिकको हकमा सम्बन्धित नियोगबाट प्राप्त विवरणका आधारमा प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३०) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था गरिएको छ । सोही कानुनी व्यवस्थाअनुसार बेपत्ता नागरिकको विवरण संकलन तथा प्रमाणीकरण गरी सरकारसमक्ष सिफारिस गरिएको हो ।
स्वदेशी नागरिकको हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरिएको थियो ।
विदेशी नागरिकको विवरण संकलनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित मुलुकका नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएका नियोगबाट सूची प्राप्त गर्न दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो ।
बेपत्ता नागरिकलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णयसँगै बैठकले विपद् व्यवस्थापनका अन्य महत्त्वपूर्ण नीतिगत योजना पनि स्वीकृत गरेको छ ।
बैठकले ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र, २०८३-२०८७’ स्वीकृत गरेको छ । उक्त मार्गचित्रले २०८७ सालसम्म नेपालका सबै समुदायमा विभिन्न प्रकारका प्रकोपसम्बन्धी पूर्वसूचना पुर्याउने लक्ष्य राखेको छ । यसका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालनमा जोड दिइनेछ ।
त्यसैगरी, वन डढेलोबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राष्ट्रिय रणनीति, २०८३ र कार्ययोजना २०८३/८४ देखि २०९१/९२ सम्मका लागि स्वीकृत गरिएको छ ।
बैठकले वायु प्रदूषणजन्य विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राष्ट्रिय कार्ययोजना, २०८३-२०८७ समेत स्वीकृत गरेको छ ।