इण्डियाको सीआईपीईएलसहित ११ निर्माण कम्पनी सरकारको कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

कार्यालयका अनुसार नेपाल खानेपानी संस्थान, बुटवल खानेपानी आयोजना रुपन्देहीको सिफारिसमा दार्चुलाको मालिकार्जुन गाउँपालिका-३ स्थित बीएमआर कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति विष्णु सिंह धामी हुन् ।

त्यस्तै, कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको सिफारिसमा हेभन-निशान जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त संयुक्त उपक्रममा हेभन कन्स्ट्रक्सन प्रालि र निशान निर्माण सेवा आबद्ध छन् । हेभन कन्स्ट्रक्सन प्रालिको ठेगाना काठमाडौं महानगरपालिका-३१ र निशान निर्माण सेवाको ठेगाना कालीकोटको खाडाचक्र नगरपालिका-१ रहेको छ । उक्त संयुक्त उपक्रमका मुख्य व्यक्ति सुजन खड्का र अवराज शाही हुन् ।

उदयपुरको पूर्वाधार विकास कार्यालयको सिफारिसमा नबिता एन्ड लोप्चन कन्स्ट्रक्सन प्रालिलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । त्रियुगा नगरपालिका-११, गाईघाट, उदयपुरस्थित उक्त कम्पनीका मुख्य व्यक्ति दीपक लामा तामाङ हुन् ।

झापाको कमल गाउँपालिकाको सिफारिसमा आरयुपीएस कन्स्ट्रक्सन प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । दमक नगरपालिका-५, झापास्थित उक्त कम्पनीकी मुख्य व्यक्ति पार्वता ढकाल हुन् ।

त्यसैगरी, बझाङको थलारा गाउँपालिकाको सिफारिसमा धनगढी उपमहानगरपालिका-८, कैलालीस्थित बाल्ट्रा पेट्रोकेमिकल प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति विक्रमबहादुर बुढा हुन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सिफारिसमा ललितपुरको खुमलटार-१५ स्थित सीआईपीईएल-शैलुङ जेभीलाई दुई वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ । उक्त संयुक्त उपक्रमका मुख्य व्यक्ति रमेश सुवेदी हुन् । यसमा आबद्ध सीआईपीईएल भारतको तेलङ्गाना राज्यस्थित हैदराबादमा रहेको कम्पनी हो । उक्त कम्पनीका मुख्य व्यक्ति परवेज खान हुन् । ललितपुरको सुनाकोठी-८ स्थित आर. शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिका मुख्य व्यक्ति शारदा प्रसाद अधिकारी रहेका छन् ।

ओखलढुंगाको हर्कपुरस्थित सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको सिफारिसमा वीरगञ्ज, पर्सास्थित जीबी मेटल क्राफ्ट इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रालिलाई २ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति रोहितकुमार गाडिया हुन् ।

कार्यालयको मंसिर १० गतेको निर्णयअनुसार मंसिर ११ गतेदेखि लागू हुने गरी सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनी तथा व्यवसायीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

Share News