अर्काको जग्गा किर्ते गरी नामसारी, मालपोतका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सर्लाहीमा सरकारी कागजात किर्ते गरी जग्गा अर्कै व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले मंसिर १० गते भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादवसहितका प्रतिवादीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

सर्लाहीको साविक सोकनाहा गाविस–२(ख), कित्ता नम्बर ६२ को ११ धुर २ कन्वा जग्गा फर्जी जग्गाधनी पुर्जा बनाएर बिक्री गरिएको भन्दै आयोगमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा उक्त जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको भए पनि उनीहरूको नाम हटाएर किशोरी धामी थारू र भोला धामी थारूको नाममा दर्ता गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार जग्गा दर्ता गर्ने क्रममा हुँदै नभएको तथ्य खडा गरी कार्यालयका अभिलेख सच्याइएको र गलत व्यक्तिको नाममा जग्गाधनी स्रेस्ता तथा पुर्जा तयार गरिएको पाइएको छ ।

यस कार्यमा मालपोत कार्यालयका तत्कालीन प्रमुख यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला, तत्कालीन खरिदार राजेश कुमार झा, ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडा सचिव राम गुलाम राय, तत्कालीन वडा अध्यक्ष कपिलदेव चौधरी तथा जग्गा प्राप्त गर्ने किशोरी धामी थारू र भोला धामी थारू संलग्न रहेको आयोगको आरोप छ ।

आयोगले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाअनुसार कैद र जरिवानाको सजाय माग गरेको छ । जग्गा प्राप्त गर्ने व्यक्तिहरूलाई मुख्य कसुरदारको कसुरमा मतियारको भूमिका खेलेको आरोपमा मुख्य कसुरदारसरह सजाय माग गरिएको आयोगले जनाएको छ ।

आरोपपत्र दायर भएसँगै अब मुद्दाको निर्णय विशेष अदालतबाट हुनेछ । 

Share News