काठमाडौं । नेपालमा बौद्ध पर्यटन प्रवर्द्धन, मानवीय सेवा तथा स्थानीय समुदायको आर्थिक सशक्तीकरणका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स र ताइवानको मानवीय संस्था त्जु ची फाउण्डेसनबीच छलफल भएको छ ।
फाउण्डेसनका उपाध्यक्ष लिङ जीङ छयान र डा. ताङ लगायतले नाट्टाका अध्यक्ष भरतजंग पाण्डेसँग छलफल गरेका छन् । नाट्टाका प्रतिनिधिसँग उनीहरूले पर्यटन प्रवर्द्धन, सामाजिक कल्याण, शिक्षा, मानवीय सेवा तथा सामुदायिक विकासका विषयमा छलफल भएको हो।
छलफलमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित नेपालका महत्वपूर्ण बौद्ध सम्पदालाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थाटन, आध्यात्मिक अध्ययन तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास र प्रवर्द्धन गर्ने विषयमा जोड दिइएको अध्यक्ष पाण्डेले उल्लेख गरे ।
नेपालका बौद्ध सम्पदालाई एकीकृत पर्यटन सञ्जालमार्फत जोड्ने, बौद्ध धर्म, दर्शन, संस्कृति र शिक्षाबारे स्थानीय समुदायमा जनचेतना अभिवृद्धि गर्ने विषयमा छलफल भएको उनको भनाइ छ । पाण्डेले तालिम र क्षमता विकासका कार्यक्रममार्फत स्थानीयको सहभागिता बढाउने विषयमा समेत छलफल भएको बताए ।
त्यसैगरी बौद्ध पर्यटनसँग स्थानीय व्यवसाय, हस्तकला, आतिथ्य सेवा तथा सामुदायिक पर्यटनलाई जोडेर रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
सांस्कृतिक आदानप्रदान तथा आध्यात्मिक कार्यक्रममार्फत अन्तर्राष्ट्रिय बौद्ध समुदायलाई नेपालसँग जोड्ने सम्भावनाबारे पनि छलफल भएको छ।
नेपालमा त्जु ची फाउण्डेसनले पुर्याउँदै आएको मानवीय सहयोगको प्रशंसा गर्दै नाट्टाले संस्थाको योगदानलाई थप प्रोत्साहन गर्ने उनले बताए ।
फाउण्डेसनले सन् १९९३ को बाढीबाट प्रभावित परिवारका लागि १ हजार ८ सय घर निर्माण, २०७२ सालको विनाशकारी भूकम्पपछिको राहत तथा पुनर्निर्माण र कोभिड–१९ महामारीका बेला स्वास्थ्य सामग्री तथा अन्य विपद्का समयमा गरेको सहयोगलाई मानवीय सेवाको काम गरेको छ ।
बौद्ध पर्यटनलाई केवल धार्मिक तीर्थाटनमा सीमित नराखी ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, ज्ञान र चेतनाको विस्तार त्जु ची फाउण्डेसनले ( Tzu Chi Foundation ) बताएको छ ।
अन्तरसांस्कृतिक सम्बन्ध विस्तार तथा स्थानीय समुदायका लागि दिगो आर्थिक अवसर सिर्जना गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने संस्थाको भनाइ छ ।