विकासन्युज

एक महिना यार्सागुम्बा टिपेर ४ लाख कमाई, वर्षभरिको जोहो

दार्चुला । अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन् । उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउछन् । पढाइ सामान्य साक्षर मात्र गर्नुभएका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउँछन् । घरमा दुई बूढाबूढी छन् । आयस्रोतका रुपमा यार्सागुम्बा मात्रै हो । खेतीपाती गरेर वर्षभरि खान नपुगे पनि यार्सागुम्बाका कारण एक महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उनी सुनाउँछन् । ‘एक महिना यार्सागुम्बा गरेर झण्डै चार लाख कमाइ भयो’, उनले भने, ‘जङ्गलमै वर्षभरिको कमाइ हुन्छ भने मजदुरी गर्न भारत किन जानुप¥यो, त्योबाहेक सानातिना काम गाउँका योजनामा गरिन्छ ।’ यार्सागुम्बाकै कारण पछिल्लो समय भारतमा मजदुरी गर्न जाने कोही हुँदैनन् । यार्सागुम्बाको समयमा महिला, पुरुष, स्कुले बालबालिका यार्सागुम्बा सङ्कलनमा लेकतिर जाने गर्छन् । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा सङ्कलनमा समेत असर प¥यो । यस वर्ष यार्सागुम्बा वैशाखमै सङ्कलन भयो । सङ्कलन गरेकाहरुले अहिले यार्सागुम्बा बिक्री गरिसकेका छन् । अपिहिमाल–१ का ललित जाग्रीले भने, ‘एक महिना मेहनत ग¥यो भने वर्षभरि खान लगाउन पुगिहाल्छ, भारतमा मजदुरी गर्न वा बाह्यमूलक किन जानुप¥यो ? यार्सागुम्बा मात्र नभई सतुवा, वन लसुनलगायतका थुप्रै जडीबुटी यो क्षेत्रमा पाइन्छन् ।’ यार्सागुम्बा खरिद गर्न व्यापारी गाउँगाउँमा व्यापारी पुगेका छन् । व्यापारी आफैँ घरघरमा पुगेर स्थानीयबाट यार्सागुम्बा खरिद गर्ने गर्छन् । यस वर्ष व्यापारीले प्रतितोला १५ हजारदेखि १८ हजार हालेर यार्सागुम्बा खरिद गरेका छन् । विगतको भन्दा स्थानीयले यस पटक यार्सागुम्बाको मूल्य राम्रो पाएका छन् । यार्सागुम्बा खरिद गर्न व्यापारीको प्रतिस्पर्धा नै चल्छ । स्थानीय धनसिंह जाग्री जिल्लाभरिबाट अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको बताउछन् । जिल्लाबाट सबैभन्दा बढी यार्सागुम्बाको व्यापार गर्दै आएका जाग्री यस पटक व्यापारी पनि विगतको तुलनामा गाउँमा बढी पुगेको बताउँछन् । यार्सागुम्बा निकासी बढ्यो, दुई करोड राजस्व सङ्कलन अपि नाम्पा संरक्षण क्षेत्रबाट यस वर्ष यार्सागुम्बा निकासी बढेको छ । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा निकासी घटेकामा यस वर्ष दोब्बरले बढेको हो । एकदेखि डेढ महिना अपि हिमाल गाउँपालिकाको सातगङ्गा, चाइमेटला, लोलु, रोखापु, धरमघर र काटै तथा व्यास गाउँपालिकाको अपि फेद, दूधीवनलगायतका वनमा यार्सागुम्बा सङ्कलन भएको हो । जिल्लाबाट यस वर्ष असारसम्म ७२२ किलोग्राम यार्सागुम्बाको छोडपूर्जी जारी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बाको छोडपुर्जीबाट प्रतिकिलो ३० हजारका दरले कूल दुई करोड १६ लाख ६० हजार राजस्व सङ्कलन गरेको अपि नाम्पा संरक्षण क्षेत्रका सूचना अधिकारी इन्द्रसिंह नगारीले जानकारी दिए । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले सबैभन्दा बढी यार्सागुम्बाबाटै राजस्व सङ्कलन गर्ने गरेको छ । दुई वर्ष कोरोना भाइरसको महामारीका कारण यार्सागुम्बा सङ्कलन र निकासी घटेको थियो । यार्सागुम्बा सङ्कलन र निकासी घट्दा राजस्व पनि घट्दै गएको कार्यालयको यस वर्ष राजस्वदर अझै बढ्ने अनुमान गरिएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ६६९ किलो, २०७४/७५ मा ७६४ किलो, २०७५/७६ मा ५४५ किलो, २०७६/७७ मा ३२७ किलो र २०७७/७८ मा ३०५ किलोग्राम यार्सागुम्बा जिल्लाबाट निकासी भएको थियो । रासस

सवारी साधनका सब-डिलरको व्यापार धरापमा

काठमाडौं । विदेशी मुद्राको सञ्चितीमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न वस्तुको आयातमा कडाई गरेको छ । उद्योग मन्त्रालयले गत बैशाखमा राजपत्रमा सूचना नै जारी गर्दै विभिन्न १० वस्तुको आयात असार मसान्तसम्म पूर्ण रुपमा रोक लगाएको थियो । मन्त्रालयले आईतबार पुनः राजपत्रमा सूचना जारी गर्दै आगामी भदौ १४ गतेसम्म उक्त प्रतिबन्धलाइ निरन्तरता दिएको छ । यस्तैगरी, राष्ट्र बैंकले विभिन्न ४७ वस्तु आयातमा कडाई गरेको छ । दुई निकायसँगै बैंक तथा वित्तीय संस्थाले समेत तरलता अभावलाई देखाउँदै लोनमा कडाई गर्न थालेका छन् । सरकारले सवारी साधन आयातमा प्रतिबन्ध लगाउनु र बैंक तथा वित्तीय संस्थाले अटो लोनमा कडाई गर्दा समस्यामा परेको अटोमोबाइल्स व्यवसायीहरुले भन्दै आएका छन् । ठूला अटो व्यवसायीको तुलनामा साना सबडिलर कम्पनीको अवस्था झनै नाजुक अवस्थामा रहेको व्यवसायीहरुको भनाई छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का सचिव अनुपकुमार बराल अन्य व्यवसायीको तुलनामा हाल अधिकांश सबडिलर व्यवसायीहरु समस्यामा परेका छन् । ‘अहिले गाडी बिक्री ठप्प जस्तै छ, बिक्री नै बन्द जस्तै हुँदा व्यवसाय जोगाउनै मुस्किल हुन थालेको छ’, उनले भने, ‘विदेशी मुद्रा सञ्चितीलाई देखाउँदै गाडीको आयात बन्द हुँदा बैंक तथा वित्तीय संस्थाले अटो लोनमा कडाइ गरेका छन्, ८ देखि १० प्रतिशतसम्मको व्याजदरमा ऋण लिएका डिलरसिपहरुले हाल १६ देखि १८ प्रतिशत ब्याजदरमा काम गर्नुपर्ने बाध्यता रहेको छ ।’ बैंकले समयमा लोन नदिँदा व्यवसायीहरुले फोर्स लिनुपर्ने अवस्था रहेको उनको भनाई छ । ‘फोर्स लोन लिएर व्यवसाय जोगाउनु परेको छ, यसअघि सस्तो व्याजादरमा फोर्स लोन लिन पाइएकोमा हाल १९ देखि २५ प्रतिशतसम्म बैंकहरुले ब्याज लिने गरेका छन्, जसका कारण सबैभन्दा बढी समस्यामा डिलरसीपहरु परेका हुन् ।’ नामसारी भएका गाडीको पनि बैंकले पैसा दिएन सचिव बरालले बैंकले नामसारी भएका गाडीहरुको समेत रकम नदिएको आरोप लगाए । उनले व्यवसायीले तोकिएको समयमा ब्याज रकम भुक्तानी नगर्दा फोर्स लोन लिएर समेत भुक्तानी गर्नुपरेको भन्दै बिक्री भएका गाडीको समेत तीन महिनासम्म बैंकले पैसा नदिएको उनले बताए । ‘डिलरहरुले एलसी खोलेर गाडीहरु ल्याएका हुन्छन्, बिक्री भएपनि नभएपनि निश्चित समयमा बैंकले व्याज लिइहाल्छ, आयातकर्ता कम्पनीलाई समयमै रकम भुक्तानी गर्नुपर्छ, तोकिएको समयमा डिलरले आफूसँग पैसा भएपनि नभएपनि भुक्तानी गर्नुपर्छ’, उनले भने, ‘नामसारी भएका गाडीको पनि बैंकहरुले तीन महिनादेखि पैसा दिएका छैनन्, आफ्नो आउनुपर्ने रकम नामसारी गरिसकेपनि आएको छैन, तिर्नुपर्ने रकम फोर्स लोन लिएर भएपनि बुझाउनु परेको छ ।’ उनले बैंकको किस्ता, घरबेटीलाई घरभाडा, कर्मचारीलाई तलब भुक्तानी लगायतका काम गर्दा सबडिलर व्यवसायीहरुलाई व्यवसाय जोगाउन समेत मुस्किल भएको बताए । अटो लोनमा कडाई गर्दा बिक्री भएनन् नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले अटो लोनमा कडाइ गर्न निर्देशन दिएको छ । आयातमा प्रतिबन्ध र अटो लोनमा समेत कडाइ गर्दा व्यवसायीहरुले स्कटमा भएका गाडी समेत बिक्री गर्न सक्ने अवस्था नभएको उनीहरुको भनाइ छ । ‘नयाँ गाडी नभएपनि स्कटमा भएका गाडी बिक्री भएपनि हामी व्यवसायीलाई केही राहत हुन्थ्यो, बैंकले लोन नदिदा भएका गाडी समेत बिक्री भएनन्’, उनले भने । देशभर ठूलो लगानी र नेटवर्क भएकै क्षेत्रमा सरकारले उपेक्षा गर्दा अर्बाै लगानी गरेका डिलरहरु डुब्ने अवस्थामा पुगेको उनको भनाइ छ । ‘अर्बौं लगानी डुब्ने र लाखांैको रोजगारी गुम्ने अवस्था देखिएको छ, एउटै सानो डिलरमा मात्रै २५ देखि ३० करोड लगानी रहेको हुन्छ, सामान्य अवस्थामा तीन चार महिना धान्नसक्ने क्षमता व्यवसायीसँग हुन्छ, लामो समयसम्म अहिलेकै अवस्था हुने हो भने पर्खन सक्ने अवस्थामा नै छैन्’, उनले भने । अनावश्यक वस्तुको लिष्टमा सरकारले अटो मोबाइल्स क्षेत्रलाई राख्दा सरकारको रावश्वदेखि देशभर ठूलो नेटवर्क रहेको क्षेत्रमा गरिएको लगानी नै धरासायी बन्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले देशभर चार पाँग्रे सवारीका १ हजार र दुई पाँग्रे सवारीको २ सय गरी १२ सयभन्दा बढी सबडिलरहरु सञ्चालित अवस्थामा पुगेको बताए । दुई पाँग्रेको अवस्था पनि नाजुक सचिव बरालले पछिल्लो समय चारपाँग्रे सवारी साधनसँगै दुई पाँग्रे सवारीका सबडिलहरहरु समेत समस्यामा परेको बताए । धान्न सक्ने अवस्था नै नभएपछि दुई पाँग्रे सवारीका डिलरहरु समेत समस्यामा पर्न थालेको उनको भनाइ छ । उनका अनुसार एउटा दुई पाँग्रे सवारीको सब डिलरमा २ देखि ५ करोड रुपैयाँसम्म लगानी रहेको छ । एउटै ठूला ब्राण्डका गाडीहरुका मात्रै देशभर ३ सयसम्म सबडिलर रहने गरेको उनको भनाइ छ । विदेशी कम्पनीले हर्ने नजर फेरियो नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष धुब्रवहादुर थापा सरकारले सवारी साधन आयातमा रोक लगाउँदा विदेशी अटो कम्पनीले नेपाली कम्पनीलाई हेर्ने नजर नै नकारात्मक हुन थालेको बताउँछन् । ‘अटोमोबाइल्स क्षेत्रको अवस्था भयावह छ, सरकारले मौद्रिक नितीमा व्यवसायीको माग सम्बोधन नगरे ठूलो नोक्सानी व्यर्होनुपर्ने अवस्था देखिएको छ, उनले भने’, हामीले गर्भनरलाई समेत भेटेर हाम्रो समस्या देखाएका छौँ, तर मौद्रिक नीति झन कडा ल्याउने बुझिएको छ, जोखिम भार ७५ बाट १५०, फाइनान्सको सीमा ५० प्रतिशत, एलसीमा ५० देखि सतप्रतिशतसम्मको मार्जिनको व्यवस्था करेक्सन गर्न हामीले पटक पटक आग्रह गर्दै आएका छौँ ।’ आयातलाई नै प्रतिबन्ध लगाउँदा सरकारलाई समेत नोक्सान हुन्छ, तर सरकारी अधिकारीले बुझेर पनि नबुझे जस्तो गरेको उनको भनाइ छ ।

काभ्रेमा तीन वर्षपछि देखियो डेङ्गु सङ्क्रमण

काठमाडौं । जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो । पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेङ्गुको सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा दुई दिनदेखि उपचारत छन् । पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार सङ्क्रमित ती पुरुषको स्वास्थ्य अवस्था उपचार सुरु गरिएपछि सुधारोन्मुख रहेको छ । उनले जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्यको टिमले संयुक्तरुपमा आज पनौतीमा भएको सङ्क्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गर्ने बताए । ‘हाम्रो टिमले रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्नेछ’, उनले भने । यस्तै केही दिनअघि सदरमुकाम धुलिखेलमा पनि एक पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएपछि उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । ‘धुलिखेललगायतको स्थानका डेङ्गु रोगको सङ्क्रमणको केशमा निकै गम्भीरतापूर्वक अनुसन्धान गर्नेछौँ’, कार्यालयप्रमुख डा पुरुषोत्तम सेढाईंले भने । उनका अनुसार पाँचखालमा दुई साताअघि भेटिएका डेङ्गु सङ्क्रमित जिल्ला बाहिरका हुन् । ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेङ्गु रोगको सङ्क्रमण भेटिएको थियो । पाँखालमा भेटिएका सङ्क्रमितको काठमाडौंमा उपचार भइरहेको सेढाईंले बताए । लामो समयपछि पाँचखालमा पहिलो डेङ्गु रोगको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको सेढाईंले बताए । उनका अनुसार डेङ्गु रोगको सङ्क्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा जिल्ला स्वास्थ्य कार्यलयको ‘¥यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिने छ । लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र माँसपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ । काभ्रेमा यसअघि विसं २०७६ भदौ दोस्रो साता डेङ्गुको सङ्क्रमण देखिएको थियो । त्यसबेला खानीखोला गाउँपालिकामा सङ्क्रमित एक पुरुष भेटिएसँगै जिल्लाका छ जनामा सङ्क्रमण देखिएपछि तत्काल उपचारमा लगिएको थियो । छ सङ्क्रमितमध्ये चारको टेकु अस्पताल र दुईको धुलिखेल अस्पतालमा उपचार गराइएको थियो । त्यतिबेलाको अनुगमन/निरीक्षणबाट खानीखोलाका सङ्क्रमित पुरुष कामको सिलसिलामा छिमेकी मकवानपुरको हेटौँडालगायत तराईका विभिन्न जिल्लामा आवतजावत गर्ने क्रममा डेङ्गु रोगका लक्षण देखिएको जिल्ला कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । हाल जिल्लाका तीन स्थानमा डेङ्गु सङ्क्रमित व्यक्ति भेटिएपछि कार्यालयले डेङ्गु रोगबाट बच्ने उपायबारे जानकारी लिई सतर्क रहन सबैलाई अपिल गरेको छ । ‘जिल्लामा डेङ्गु रोगको सङ्क्रमण देखिएपछि अन्य सबै स्थानीय तहमा ¥यापिट टिम बनाउने तथा स्थानीय स्वास्थ्यकर्मीलाई हाइअलर्ट रहन भनिएको छ’, कार्यलयप्रमुख सेढाईंले भने । उनका अनुसार जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेङ्गुविरुद्धको कीटसहितको टोलीसमेत परिचालन गरिने योजना बनाइएको छ ।

नागढुङ्गामा पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै, दुई करोड ५० लाख पर्ने

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशङ्का लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरुले नै गरिरहेका छन् । उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ सो स्थानमा राख्न गृहकार्य सुरुआत गरेको छ । यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसंँग संवाद गरिसकेको छ । नगरप्रमुख घनश्याम गिरीले भने, ‘काठमाडौं उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ राख्नु जरुरी छ । प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्ने ?’ उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ । यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । मेसिनको करिब दुई करोड ५० लाख पर्ने जनाइएको छ । उनका अनुसार मेसिन खरिदका लागि नगरपालिकाले उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वानसमेत गरेको छ । नगरप्रमुख गिरीले भने, ‘यो चन्द्रागिरि नगरपालिकालाई मात्र आवश्यक पर्ने कुरा होइन । यसबाट समग्र उपत्यकाको सबै पालिका एवं सङ्घीय सरकारलाई समेत फाइदा पु¥याउँदछ । यसले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहयोग गर्छ । सम्भव भए नगरपालिका आफैँले ‘भेइकल स्क्यानिङ मेसिन’ खरिद गर्छ नत्र अन्य उपाय अवलम्बन गर्छाै ।’

सनराइज बैंक र मोको वालेटबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं । सनराइज बैंक र मोको डिजिटल वालेटबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता सम्पन्न भइ सेवा सुरु भएको छ । यस सहकार्य पश्चात सनराइज बैंकका ग्राहकले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी बिल भुक्तानी जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न तथा १५०० भन्दा बढी मर्चेन्टहरुमा क्यूआर कोड मार्फत भुक्तानी गर्न सक्नेछन् । हालसम्म क्रेडिट कार्ड प्रयोगकर्ताले कार्ड मार्फत भुक्तानी गर्दा पिओएस मा वा इकमर्स मार्फत मात्र कारोबार गर्न सक्ने भएकोमा अब उप्रान्त क्रेडिट कार्डलाई मोको एपमा लिंक गरेपश्चात क्यूआर कोड स्क्यान गरेर समेत भुक्तानी कारोबार गर्न सक्ने भएकाले यो सेवाले डिजिटल भुक्तानीको वृद्धिमा थप सहयोग पुर्याउने बैंकले जनाएकाे छ ।

सिद्धार्थ बैंकले ल्यायो १० गुणा प्रतिफल दिने मुद्दती खाता, ९० प्रतिशतसम्मको कर्जा पाइने

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना ग्राहककाे लागि  निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । बैंककाे अनुसार व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ । यस मुद्दती खातामा ग्राहले बैंकले तोकेकाे समयावधि पश्चात् आफ्नो साँवा रकमको २ गुणा देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकले आफ्नो साँवा रकमको ९० प्रतिशतसम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशतसम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएकाे छ । सिद्धार्थ बैंकको १९० शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएकाे छ ।

नेपाल बैंकको एक्सटेन्सन काउन्टर नेपाली सेनाको जङ्गी अड्डामा

काठमाडौं । नेपाल बैंकले नेपाली सेनाको जङ्गी अड्डामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले साउन १ गतेदेखि सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौँमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । आइतबार एक कार्यक्रमको आयोजना गरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए । सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, सैनिक शाखाका शाखा प्रबन्धक  कृष्णहरि गौतम एवम् नेपाली सेनाका उच्च अधिकृतहरूको समेत सहभागिता रहेको थियो । नेपाल बैंकले नेपालभर २१९ शाखाहरू, १८२ एटिएमका साथै ४७ ओटा एक्सटेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याईरहेको छ ।

कामपाको प्रवक्तामा वडा नं १७ का अध्यक्ष नवीन मानन्धर

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ । उनी कामपाको सूचना प्रविधि समितिका संयोजकसमेत छन् । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ । यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले छवटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो । तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी हुनुभएको थियो । बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ । चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ । यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो । बैठकका राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थाने राजस्व नतिरेको जानकारी गराएका थिए ।