विकासन्युज

आइतबारदेखि एकीकृत कारोबार गर्दै हिमालयन र एभरेष्ट इन्स्योरेन्स, अध्यक्ष सिलवालले उद्घाटन गर्ने

काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको आगामी साउन १ गतेदेखि एकीकृत कारोबार हुने भएको छ । मर्जरमा गएका दुई कम्पनीले ‘हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । उक्त एकीकृत कारोबार बीमा क्षेत्रमै सबैभन्दा पहिलो हो । जसको उद्घाटन बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्नेछन् । इन्स्योरेन्सले साउन १ गते आइतबार होटल एक एण्ड यतिमा एक कार्यक्रम आयोजना गर्दै नयाँ कम्पनीको नामबाट एकीकृत कारोबार गर्न लागेको हो । बीमा समितिले सैद्धान्तिक सहमति दिएसँगै दुबै इन्स्योरेन्सले नयाँ आवको पहिलो दिनदेखि नै एकीकृत कारोबार गर्ने लक्ष्य लिएका थिए । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको स्वाप रेसियो १०० बराबर ८५ मा गाभिएका हुन् । यससँगै, मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । दुई इन्स्योरेन्स मर्जर पश्चात बीमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार यस मर्जरले कम्पनीको पुँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै लगानी समेत अभिवृद्धि हुनेछ । र, यसबाट नेपालको बीमा क्षेत्रको विश्वशनियतामा अभिवृद्धि भई समग्र बीमा क्षेत्र नै सुद्धढ हुने कम्पनीको विश्वास छ । नेपालको बीमा सम्बन्धी नियमकारी निकाय बीमा समितिबाट बीमा कम्पनीहरुको पुँजी वृद्धि सम्बन्धी निर्देशन बमोजिम दुई कम्पनी मर्जरको प्रकृयामा गई सबैभन्दा पहिले एकीकृत कारोबार गर्न सफल भए ।

प्रभु-अजोड मर्जर : पुँजी २ अर्ब, नाम प्रभु नै, सीईओ बज्राचार्य र अध्यक्षमा श्रेष्ठ

काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन् । एक आपसमा मर्जरमा जानको लागि दुई कम्पनीबीच असार ३२ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुई इन्स्योरेन्सबीच १०० बराबर ७० को स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता भएको प्रभु इन्योरेन्सका अध्यक्ष कुशुम लामाले बताईन् । यससँगै अजोड इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेले प्रभु इन्स्योरेन्सको ७० कित्ता सेयर पाउने छन् । मर्जपछि बन्ने कम्पनीको नाम भने प्रभु इन्स्योरेन्स नै हुने छ ।  त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि प्रभुकै सञ्चित बज्राचार्य हुने छन् भने अध्यक्षमा अजोडका अजाद श्रेष्ठ बन्ने छन् । हाल प्रभुको चुक्ता पुँजी १ अर्ब २८ करोड छ भने अजोडको १ अर्ब रुपैयाँ छ । १०० बराबर ७० को रेसियोमा मर्ज भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्ने छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम साढे २ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसँगै यी दुई कम्पनी एक आपसमा मर्जरमा गएका हुन् ।

एनआईसी एशिया बैंकको १० गुणा मुद्दती योजना श्रावण मसान्तसम्म

काठमाडौं । एन आई सी एशिया बैंकले ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ लाई निरन्तरता दिएको छ । बैंकले यही आषाढ १२ गतेदेखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको थियो । व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक महानुभावहरू लक्षित गरेर ल्याइएको सो योजनामा देश एवं विदेशमा बस्ने ग्राहकको सहभागीता, रुची एवं चासोलाई सम्मान गर्दै बैंकले यस योजनालाई २०७९ श्रावण मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो । आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको हो । उक्त योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउँनेछन् । यस्तै, आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्ने बैंकले जनाएकोे छ । यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ल्याएको थियो । बैंकले हाल देशभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

जलविद्युत् प्रवद्र्धनका लागि भारतीय लगानीकर्तालाई आह्वान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत्को क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवद्र्धकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन् । तीनदिने भारत भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले आज ‘फाउन्डेशन फर पब्लिक अवेयरनेस एन्ड पोलिसी’ (एफपिएपि) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, पूर्वाधार, सम्पर्क सञ्जाल, निर्यातजन्य लघु, साना तथा मझौला उद्योगलगायत उच्च सम्भावना भएका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए । जलविद्युत् उत्पादनमा नेपालमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उनले भारत विश्व अर्थतन्त्रको मुख्य केन्द्र बन्दै गरेको अवस्थामा विद्युतीय ऊर्जाको माग बढी रहेको बताए। ऊर्जा क्षेत्रमा भएका द्विपक्षीय सहकार्यमार्फत दुवै देशले सामूहिक लाभ लिन सक्ने जनाउँदै उनले ऊर्जा सुरक्षा र हरित विकासमा नेपालको जलविद्युत् महत्वपूर्ण हुने बताए । ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र भारत गत अप्रिलमा सहमति भएको उल्लेख गर्दै उनले सोही आधारमा दीर्घकालीन रुपमा जलविद्युत्को विकास गरिने बताए। नयाँ प्रसारण लाइनमार्फत अन्दरदेशीय प्रशारण लाइनको सवलीकरण गरिएको र यसबाट दुई देशबीचको ऊर्जा व्यापारको सम्भावना थप विस्तार भएको उनको भनाई थियो । “नेपालबाट ३६० मेगावाट विद्युत् भारत निर्यात भइरहेको छ, यसलाई दीर्घकालीन रुपमा विस्तार गर्न चाहन्छौँ”, पूर्वप्रधानमन्त्री दाहालले भने, “नेपाल–भारतबीच भएको पछिल्लो समझदारीका आधारमा बङ्गलादेश, भूटान, भारत र नेपाल सम्मिलित ९बिबिआइएन० मार्फत क्षेत्रीय विद्युत् व्यापारका लागि मार्ग प्रसस्त भएको छ ।” रासस

टेलिकमको समर अफर, पहिलेकै मूल्यमा थप ४ गुण डेटा सेवा

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गतेदेखि नयाँ दर लागु हुने भएको छ । नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागु हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो । कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने छ । यसैगरी साउन १ देखि समर अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको छ । पहिले उपलब्ध सबै अफरहरुलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ । त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफर समेत थप गरिएका छन् । यस अनुसार केही अफरहरुमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम थप भएका छन् । यस बाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरुमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ । उदाहरणको लागि सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरुमा पनि थप रिसोर्स प्रदान गरिएको छ । समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले  *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने जनाएको छ ।

साइकलिङ च्यालेन्जको सस्टेनेविलिटी पार्टनरमा नेपाल इको प्यानल

काठमाडौं । नेपाल इको प्यानलले भक्तपुरमा शनिबार बिहानदेखि सुरु भएको कोरा भक्तपुर साइकलिङ च्यालेन्जका सहभागीलाई खानाको प्रायोजन गरिदिएको छ । बिहानदेखि भक्तपुरको दरवार स्क्वायरबाट सुरु भएको साइकल च्यालेन्जका सहभागीहरुलाई नेपाल इको प्यानलले नगरकोटमा पुगेपछि खाना खुवाएको हो । नगरकोटको एउटा होटलमा खाना खाएर च्यालेन्जमा सहभागीहरु त्यहाँंबाट हिडेका छन् । च्यान्लेजको सस्टेनेविलिटी पार्टनर रहेर नेपाल इको प्यानलले सहयोग गरेको हो । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले सामाजिक उतदायित्व अन्तर्गत आफूहरुले सहयोग गरेको बताए । उनले स्वच्छ वातावरणका लागि साइकल अभियानलाई अगाडि वढेको भएर आफूहरुले साइकल च्यालेन्ज कार्यक्रमलाई सहयोग गरेको जनाए । निर्माण सामाग्री उत्पादन गर्दै आएको आफूहरुले आफूहरुको अभियानमा सहयोग गर्ने भएकोले सहयोग गर्दै आएको सीईओ ईन्जिनियर दुवालले जनाए । कम्पनीले वातावणमैत्री निर्माण सामाग्रीलाई जोड दिंदै त्यही अनुसारको निर्माण सामाग्री अर्थात् इको प्यानल उत्पादन गर्दै आएको छ । च्यालेन्ज आज शनिबार नै सकिने छ ।

हिमालय एयरलाइन्सको काठमाडौँ–कुवेत उडान सुरु

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ सिधा उडान सुरु गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रुपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ । छैठौँ गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा आज बिहान ०९ः१७ बजे काठमाडौँ अवतरण गरेको थियो । उडान उद्घाटन कार्यक्रममा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिको उपस्थिति रहेको थियो । एअरलाइन्सले एयरबस ३२० विमानले हरेक शुक्रबार काठमाडौँदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौँ उडान सञ्चालन गर्ने जनाएको छ । अरबी प्रायद्वीपको देश कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीका लागि महत्वपूर्ण गन्तव्य हो । नेपाल र कुवेतबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध रहेकामा हिमालय एअरलाइन्सद्वारा काठमाडौँ–कुवेत–काठमाडौँ सेक्टरको उद्घाटनले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने कम्पनीको विश्वास छ । नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो । हिमालय एयरलाइन्स काठमाडौँलाई कुवेतसँग सिधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी भएको कम्पनीले जनाएको छ कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले यात्रुलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै हिमालयको काठमाडौँ–कुवेत–काठमाडौँ सेक्टरको सुरुआत पनि सोही भावनाअनुरुप रहेको बताए ।

सिसिटिभी फुटेजमाथि संसदीय छानबिन विशेष समितिको अध्ययन शुरु

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन शुरु गरेको बताएको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मुल गेटदेखिका सिसिटिभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले शनिबार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताउनु भयो । उहाँले आज नै अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुसँग छलफल गर्ने कार्यतालिका रहेको बताए । सचिव अर्यालले आज प्राविधिक विषय सिसिटिभीको बारेमा केन्द्रित भएर छलफल गर्ने र अध्ययनलाई समयसीमा भित्र नै टुंगोमा पुयाउने गरी अघि बढेको बताए । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।