विकासन्युज

एकैदिन एक हजार बढीमा कोरोना संक्रमण

काठमाडौं । मंगलबार एकैदिन एक हजार ९० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६० र एन्टीजेनबाट परीक्षण गर्दा ५ सय ३० मा संक्रमण पुष्टी भएको हो । योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनबाट मंगलबार दुई जनाको मृत्यु भएको छ ।

निजी कलेजमा कृषि र पशुविज्ञान पढ्ने विद्यार्थीकाे संख्या ५० प्रतिशतसम्म घट्यो, समस्यामा लगानीकर्ता

काठमाडौं । पछिल्लो समयमा निजी स्तरबाट सञ्चालन गरिएका कृषि कलेज तथा इन्स्ट्च्यिुटहरुमा पढ्ने विद्यार्थीको संख्या घट्न थालेको छ । कृषि तथा पशुविज्ञानका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सञ्चालकहरुले पछिल्लो समयमा पढ्न आउने विद्यार्थीको संख्यामा आधा कटौती भएको बताएका छन् । नेपाल पोलीटेक्निकल इन्स्ट्च्यिुट, भरतपुर चितवनले कृषि विज्ञान, पशु विज्ञान, इन्जिनियर, नर्सिङ र पब्लिक हेल्थ विषयहरुमा अध्यापन गर्दै आएको छ । कलेजले सञ्चालन गर्दै आएको कृषि तथा पशुविज्ञानका कार्यक्रममा पछिल्लो समयमा विद्यार्थीको संख्या कोटा भन्दा झण्डै ५० प्रतिशत कम भएको इन्स्ट्च्यिुटका प्रमुख कार्यकारी अधिकृत शिव सुवेदीले विकासन्युजलाई बताए । अधिकृत सुवेदीकाअनुसार इन्स्ट्च्यिुटले सिटिइभिटीको १८ महिने भेटेनरी र कृषि कार्यक्रम सञ्चालन गरेको छ । जसमा ४०/४० वटा कोटा रहेको छ । तर, पढ्ने विद्यार्थीहरु ५० प्रतिशत मात्रै रहेको सुवेदीले बताएका छन् । यस्तै स्नातक तहको कृषि विज्ञान विषयमा ९६ जना विद्यार्थीको कोटा रहेको छ । पढ्ने विद्यार्थी भने ५० प्रतिशत मात्रै रहेको उनी बताउँछन् । सुवेदीका अनुसार स्नातक तहको पशु विज्ञान पढ्ने विद्यार्थीको संख्या भने पूर्ण रुपमा रहेको छ । यस्तै, झण्डै १ दशकदेखि सिटिइभिटीका विभिन्न प्राविधिक विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको काठमाडौं अल नेपाल कलेज अफ टेक्निकल इन्स्ट्च्यिुटमा पनि पछिल्लो समय कृषि तथा पशुविज्ञान पढ्ने विद्यार्थीको संख्या आधा घटेको छ । विगत ३/४ वर्षसम्म इस्ट्च्यिुटमा १०/१२ जना विद्यार्थीले मात्रै १८ महिने कृषि तथा पशुविज्ञान पढ्ने गरेको र पछिल्लो शैक्षिक सत्रमा मात्रै सो संख्या बढेर २२ पुगेको इस्ट्च्यिुटका सञ्चालक निर्मल सापकोटाले बताए । ०७५ सालसम्मको अवधिमा कोटा अनुसार नै विद्यार्थी हुने गरेकोमा कोभिड महामारीपछि कोटाअनुसार विद्यार्थी पढ्न नआएको सापकोटाको भनाइ छ । मदन भण्डारी स्मिृति प्रतिष्ठान अन्तर्गत स्कुल अफ एग्रिकल्चर उर्लावारीमा पनि कोटा अनुसार विद्यार्थीको संख्या नभएको स्कुलका सहायक प्रधानाध्यापक डा. मोदराज आचार्यले बताए । आचार्यले अन्यत्र जस्तो ठूलै संख्यामा विद्यार्थी कम नभएतापनि कोभिडपछिको अवस्थामा विद्यार्थीकाे संख्या कम देखिने संकेत देखिएको बताए । कोटा अनुसार किन विद्यार्थी पढ्न आएनन् ?  वैदेशिक रोजगारमा जाने विद्यार्थीको संख्या बढ्ने गरेको र पछिल्लो समयमा धेरै सरकारी कलेज तथा स्कुलहरुमा प्राविधिक शिक्षाको सम्बन्धन गएको कारणले आफ्नो कलेजमा आउने विद्यार्थी संख्या घटेको नेपाल पोलिटेक्निकल इन्स्ट्च्यिुट भरतपुर चितवनका कार्यकारी अधिकृत बताउँछन् । त्यस्तै, अल नेपाल कलेज अफ टेक्निकल एजुकेशन काठमाडौंका सञ्चालक निर्मल सापकोटाले पनि प्राविधिक शैक्षिक कार्यक्रमको सम्बन्धन धेरै संख्याका कलेज तथा विद्यालयमा दिएपछि विद्यार्थी विकेन्द्रित भएको बताए । उनले पछिल्लो ४/५ वर्षमा सिटिइभिटीले मुलुकका ५५० भन्दा धेरै सरकारी स्कुलहरुमा आफ्नो कार्यक्रम विस्तार गरेको बताए । कृषि तथा भेटेनरीका कार्यक्रम आवश्यकता भन्दा धेरै जथाभावी रुपमा बाँड्दा अहिलेको परिस्थिति आएको भन्दै सापकोटाले कृषि तथा पशुविज्ञानमा विद्यार्थीको आकर्षण भने नघटेको बताए । विगतमा १८ महिने कृषि तथा पशुविज्ञानको कार्यक्रममा विद्यार्थीसँग १ लाख ५० हजार सम्म शुल्क लिने गरेकोमा विद्यार्थी नआएपछि अहिले ५० हजारमा मात्रै पढाउने गरेको सापकोटाको भनाइ छ । स्कुल अफ एग्रिकल्चर उर्लाबारीका सह प्रधानाध्यापक डा. मोदराज आचार्यले विदेश जाने बढ्दो प्रवृत्ति र प्राविधिक शिक्षाको विस्तारले नै विद्यार्थीको संख्या प्रभावित भएको हुनसक्ने बताए । निजी क्षेत्रका प्राविधिक कलेजहरुकाे भविश्य के हाेला ?  युवाहरु विदेश जाने प्रवृत्ति बढेको कारणले गर्दा स्नातक तहमा विद्यार्थीको संख्या घटेको र डिप्लोमा लेवलमा आवश्यकता भन्दा धेरै संख्यामा सम्बन्धन वितरण गर्दा कसैलाई पनि विद्यार्थी संख्या नपुगेको नेपाल पोलिटेक्निकल इन्स्ट्च्यिुटका कार्यकारी अधिकृत सुवेदीको भनाइ छ । सुवेदी अहिलेको ढांचामा जथाभावी सम्बन्धन बाँड्दा कसैलाई पनि सर्भाइव हुन गाह्रो पर्ने बताउँछन् । अल नेपाल कलेज अफ टेक्निकल एजुकेसनका सञ्चालक सापकोटाले भने जथाभावी कार्यक्रम बाँडिएका स्कुलहरुले प्राविधिक विषयलाई राम्रोसँग दिन नसक्ने भएकाले फेरि विद्यार्थीहरु आफ्ना कलेजहरुमा आउने अवस्था उत्पन्न हुने बताउँछन् । उनले प्राविधिक विषय ब्ल्याक बोर्डमा अध्ययन गराएर नहुने भएकाले स्कुलहरुमा यसको दिगोपनामा शंका रहेको बताए । त्यस्तै, स्कुल अफ एग्रिकल्चर उर्लाबारीका सह-प्रधानाध्यापक डा. मोदराज आचार्यले स्कुलहरुमा विस्तार भएका प्राविधिक शिक्षा विस्तार भएमा निजी क्षेत्रबाट सञ्चालित कलेज तथा इन्स्ट्च्यिुटहरुले नयाँ ढंगले सोच्न पर्ने अवस्था पनि आउन सक्ने बताए । तर, अहिलेसम्मको अवस्थामा समस्या आइनसकेको उनको भनाइ छ । सम्बन्धित सामग्री : इन्जिनियरिङ पढ्ने विद्यार्थी पाइन छाडे, आकर्षण विदेशतर्फ

सीआईटीको ३० प्रतिशत बोनस समायोजन हुँदा ६६५ रुपैयाँ घट्यो सेयर मूल्य

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोष (सीआईटी) को बोनस सेयर समायोजन भएको छ । नेप्सेमा कोषको ३० प्रतिशत बोनस सेयर समायोजन भएको हो । नेप्सले कोषको मंगलबारको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पश्चात् २ हजार २१४.६२ रुपैयाँ कायम भएको छ । मंगलबार कोषको अन्तिम कारोबार २ हजार ८७९ रुपैयाम भएको थियो । यस आधारमा कोषको सेयर मूल्य प्रतिकित्ता ६६५ रुपैयाँले घटेको छ । कोषको मंगलबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको थियो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साउन २५ गते बुकक्लोज गर्ने भएकाले मूल्य समायोजन भएको हो । कोषले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत र १.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सोही लाभांश पारित गर्न भदौ ६ गते साधारण सभा बोलाएको छ ।

बर्डफ्लु प्रभावित किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम दिइने

चितवन । बर्डफ्लु प्रभावित किसानलाई छिट्टै राहत दिइने भएको छ । बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा एवं अन्य बस्तुको राहत दिने सम्बन्धी मापदण्ड, २०७९ ले गत वर्ष प्रभावित किसानले राहत नपाउने भएपछि यस पटक मन्त्रिपरिषद्मा निर्णय गरी राहत दिन लागिएको हो । मापदण्ड पारित भएपछि मात्र लागू हुने भएकाले यस अघिका प्रभावित किसानको तथ्याङ्क सङ्कलन गरी यस पटकका लागि मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको हो । पशुसेवा विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार देशभरका १६ जिल्लामा बर्डफ्लुको प्रभाव देखिएको छ । ती जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको समितिले दररेट निर्धारण गर्ने छ । चार जिल्ला बाहेक अन्य जिल्लाबाट क्षतिको विवरण विभागमा पुगिसकेको ढकालले बताउनुभयो । बाँकी ती जिल्लामा छिटो गर्न ताकेता गरिएको छ । बाँकी जिल्लाबाट विवरण आएसँगै विभागले कृषि तथा पशुपक्षी विकास मन्त्रालय फाइल पठाउने छ । ढकालले भने, ‘हामी सकेसम्म साउनमानै मन्त्रिपरिषद्मा फाइल लगेर राहत दिने गरी तयारीमा जुटेका छौँ ।’ आवश्यक कागजात तयार भएकाले चार जिल्लाको क्षतिपूिर्तको विवरण आएसँगै मन्त्रिपरिषद्मा पठाउने तयारी गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहत दिनेसम्बन्धी मापदण्ड–०७९’ पारित भएसँगै किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम उपलब्ध गराउने बाटो खुलेको हो । बर्डफ्लु देखिएपछि नियन्त्रणका क्रममा पक्षी, पक्षीजन्य पदार्थ र पक्षी उत्पादन सामग्री नष्ट गर्ने गरिन्छ । बर्डफ्लु नियन्त्रण नियमावली २०७८ मा राहतसम्बन्धी व्यवस्था उल्लेख भए पनि मापदण्ड स्वीकृत नहुँदा कार्यान्वयन हुन ढिलाइ भएको थियो । क्षतिको रकम निर्धारण गरी त्यसको ७५ प्रतिशत रकम राहत उपलब्ध गराउने व्यवस्था मापदण्डमा गरिएको छ । मापदण्डमा दररेट निर्धारण समितिले प्रत्येक आर्थिक वर्षको साउनभित्र प्रचलित बजार मूल्यका आधारमा मूल्य निर्धारण गर्ने व्यवस्था उल्लेख छ । मापदण्ड बनेसँगै क्षतिपूर्ति निर्धारण गर्ने बाटो खुलेको हो । गत वर्षको माघ ११ गते मोरङ्को ग्रामथान गाउँपालिकामा पहिलो पटक बर्डफ्लु देखिएको थियो । ढकालका अनुसार चितवन र काठमाडौं बर्डफ्लुूबाट बढी प्रभावित बनेको छ । बर्डफ्लुबाट ६५ करोड हाराहारीको क्षति भएको अनुमान गरिएको छ । सरकारले ७५ प्रतिशत क्षतिको रकम दिँदै गर्दा ५० करोड भन्दामाथि रकम आवश्यक पर्ने अनुमान रहेको छ । बाँकी चार जिल्लाको विवरण आएसँगै वास्तविक तथ्याङ्क आउने ढकालले बताए । क्षतिपूर्तिीका लागि सहमतिसहित थप रकम व्यवस्था गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागेको हो । मापदण्ड पारित भएपछि अब भने बर्डफ्लुबाट भएका क्षतिको राहत उपलव्ध गराउन सहज हुने छ । बर्डफ्लुुबाट कुखुरा मारिएको लामो समयसम्म राहत नपाउँदा किसानका खोर खाली रहेका छन् । बैंकबाट ऋण लिएर सञ्चालन भएका व्यवसायी थप प्रभावित बनेका छन् । रासस

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार भोलिदेखि खुल्ने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार सम्भवतः साउन २५ गते (भोलि) देखि खुल्ने भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरपछि एकीकृत कारोबार शुरु गरेको कम्पनीको सेयर कारोबार भोलिदेखि खुल्ने गरी अन्तिम तयारीमा पुगेको हो । इन्स्योरेन्सले दोश्रो बजारमा सेयर कारोबार खुलाउनको लागि कम्पनीको तर्फबाट सबै काम भइसकेको कम्पनीको प्रवक्ता धुर्व न्यौपानले बताए । ‘हामीले हाम्रो तर्फबाट सबै काम सम्पन्न गरिसक्यौं र नेप्सेमा पत्र पनि पठाइसकेका छौं,’ उनले विकासन्युजसँग भने । यता नेप्सेले पनि कम्पनीबाट चिठी पाइसकेको बताएको छ । ‘कारोबार खुलाउन इन्स्योरेन्सबाट चिठी आइसकेको छ, तर स्वीकृत भने पाइसकेको छैन, अब सीईओ सरबाट स्वीकृत भएपछि दोश्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्छ, सम्भवतः भोलि खुल्ला,’ उक्त श्रोतले विकासन्युजसँग भन्यो । नेपाली बीमा बजारमा पहिलो पटक मर्जरमा गएका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी । यी दुई कम्पनीले गत बैशाख २२ गते एक आपसमा मर्जरमा जान प्रारम्भिक सहमति गरेका थिए । त्यसको भोलिपल्ट अर्थात बैशाख २३ गतेदेखि दुबैं कम्पनीको सेयर कारोबार रोक्का भएको थियो । हाल दुबै कम्पनीबीचको मर्जर प्रकृया सम्पन्न भइसकेको छ । र, साउन १ गतेदेखि नै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरु भएको छ । एकीकृत कारोबार शुरु गरेको करिब एक महिना पछि दोश्रो बजारमा सेयर कारोबार खुल्ने भएको छ ।

अभियान लघुवित्तको आईपीओमा साढे २ अर्ब संकलन, ९१ हजार ३७५ ले १० कित्ता पाउने

काठमाडौं । अभियान लघुवित्तको आईपीओमा अन्तिम दिन मागभन्दा २९ गुणा बढी आवेदन परेको छ । लघुवित्तको आईपीओमा २० लाख ७९ ७८८ जनाले आवेदन दिएको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ । क्यापिटलका अनुसार लगानीकर्ताले २ करोड ३५ लाख ६८ हजार ३६० कित्ता सेयरका लागि २ अर्ब ३५ करोड ६८ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिद गरेका हुन् । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ९१ हजार ३७५ जनाले मात्रै लघुवित्तको आईपीओ प्राप्त गर्नेछन् । आवेदन दिनएका बाँकी लगानीकर्ताको हात रित्तो हुने देखिन्छ । लघुवित्तले साउन १८ गतेदेखि साउन २३ गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

भायानेटको नयाँ शाखा महेन्द्रनगरमा, अल्ट्राफाई प्याकेजमा ल्यायो अफर

महेन्द्रनगर । भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको महेन्द्रनगरमा नयाँ शाखाको सुरुवात गरेको छ । यस अवसरमा कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्रि ओपेनिङ अफर उपलब्ध गराउने भएको छ । साथै, यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् । भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई धनगढीको माया मेट्रो अस्पतालमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र धनगढीमा रहेको माया मेट्रो अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन । माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिटरक्रेडिटरप्रिभिलेज कार्ड वा बैंकको परिचय पत्र पेश गर्नु पर्नेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरुसँग यस्ता सम्झौताहरु गर्दै आएको छ । मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।