विकासन्युज

युनिलिभरमा एक लाख लगानी गर्नेको सम्पत्ति झण्डै १ करोड, यस्तो छ ११ वर्षको लाभांश

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सबैभन्दा धेरै मूल्य भएको कम्पनी हो युनिलिभर नेपाल । यस कम्पनीको सेयर मूल्य नेप्सेमा सूचीकृत अन्य कम्पनीको तुलनामा धेरै छ । सन् २००७ जुलाई २९ तारिखका दिन नेप्सेमा सूचीकृत भएको पुरानो कम्पनीमध्येमा युनिलिभर पनि पर्छ । कम्पनीको चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ । नेप्सेमा यस कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सेयर सूचीकृत छन् । सोमबारको सेयर कारोबारका आधारमा बजार पूँजी १८ अर्ब १८ करोड ३८ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य सोमबार १९ हजार ७५० रुपैयाँ छ । यसअघि कम्पनीको सबैभन्दा धेरै सेयर मूल्य ५८ सयकाे हाराहारीमा पुगेको थियो । थोरै पूँजी भएको कम्पनीले बजारमा सेयर मूल्यका आधारमा सबैलाई चुनौति दिँदै आएको छ । यस कम्पनीको सेयर मूल्यसँग प्रतिस्पर्धा गर्दै आएको राष्ट्रिय बीमा कम्पनी भने धेरै तल झरिसकेको छ । राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य घटेर १३ हजार ९२५ रुपैयाँमा झरेपछि सेयर मूल्यका आधारमा युनिलिभर पूँजी बजारमा एक नम्बर बनेको छ । कम्पनीले ११ वर्षको अवधिमा हालसम्म नगद लाभांश मात्रै वितरण गर्दै आएको छ । कम्पनीले ११ वर्ष अघि १ लाख रुपैयाँ लगानी गर्ने लगानीकर्तालाई करोडपति बनाएको छ । कम्पनीमा ११ वर्ष अघि १ लाख रुपैयाँमा १ हजार कित्ता सेयर किनेको ब्यक्तिले ८३ लाख ९० हजार रुपैयाँ प्रतिफल प्राप्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६६/०६७ मा ५९० प्रतिशत, आर्थिक वर्ष २०६८/०६९ मा ६८० प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा ७६० प्रतिशत, आर्थिक वर्ष २०७०/०७१ मा ८६० प्रतिशत, आर्थिक वर्ष २०७१/०७२ मा ९९० प्रतिशत, २०७२/०७३ मा १०२० प्रतिशत, २०७३/०७४ मा १२७० प्रतिशत, २०७४/०७५ मा ७ सय प्रतिशत, २०७५/०७६ मा ७७० प्रतिशत, २०७६/०७७ मा १ सय प्रतिशत र २०७७/०७८ मा ६५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यद्यपि, ११ वर्ष अगाडि युनिलिभरको १ हजार कित्ता सेयर पाउन असम्भव नै थियो । यदि कम्पनी नेप्सेमा सूचीकृत संस्थापक सेयरधनीसँग एक हजार कित्ता सेयर थियो भने २०६६/६७ पछिको नगद लाभांश मात्रै गणना हुँदा सो सम्पत्ति देखिन आउँछ । कम्पनीले सो समयभन्दा अगाडि पनि लाभांश दिएको थियो । सो लाभांशलाई तथ्यांकमा राखिएको छैन । तर, ११ वर्ष अगाडि युनिलिभरको वास्तविक सेयर मूल्य ५ हजार ८ सयको हाराहारीमा थियो । सोही मूल्यलाई आधार मान्दा एक हजार कित्ता सेयर खरिद गर्ने लगानीकर्तालाई ५८ लाख रुपैयाँ लागत पर्न जान्छ । यो हिसाबले भने ११ वर्ष अगाडि मात्रै सेयर खरिद गर्ने लगानीकर्तालाई २५ लाख ९० हजार रुपैयाँ मात्रै प्रतिफल आएको देखिन्छ । युनिलिभर नेपाल २८ बर्षभन्दा लामो इतिहास बोकेको एक एक कम्पनी हो । यस कम्पनीमो होम केयर (घरगृहस्थ उपयोगका वस्तु), ब्यूटि एण्ड पर्सनल केयर (सौन्दर्य प्रशाधन तथा वैयतिक उपयोगका बस्तु), फुड्स एण्ड रिफ्रेसन्ट (खाद्य तथा पेय)–अन्तर्गत लगानी–व्यवस्थापन श्रृङखलाका ब्रान्डहरु उपलव्ध छन् ।

मोदीले बैंकमा मात्रै राख्छन् पैसा, घरजग्गा छैन, सम्पति २६ प्रतिशतले बढ्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति २ अर्ब २३ करोड रुपैयाँ भारु पुगेकाे छ । उनको यो सबै नगद सम्पत्ति हो । उनले सबै रकम बैंकमा जम्मा गरेका छन् । घरजग्गा समेत नभएका उनले यसअघि भएको आफ्नो गुजरातको घर दान गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनीसँग ३१ मार्च २०२२ सम्म ३५ हजार २५० रुपैयाँ नगद थियो । यस्तै, हुलाक कार्यालयमा राष्ट्रिय बचत प्रमाणपत्र (एनएससी) को रूपमा रु ९ लाख ५ हजार रुपैयाँ छ । यसका साथै उनीसँग १६ लाख रुपैयाँको बीमा पोलिसी छ । एक वर्ष अघिको तुलनामा प्रधानमन्त्री मोदीको सम्पत्तिमा २६.१३ लाख रुपैयाँले वृद्धि भएको छ । तर, एक वर्षअघि उनीसँग १.१ करोडको अचल सम्पत्ति थियो । जुन अहिले छैन । प्रधानमन्त्रीको ऋणपत्र, म्युचुअल फण्ड र सेयरमा कुनै लगानी छैन । प्रधानमन्त्री मोदीसँग निजी कार पनि छैन । तर, उनीसँग १ लाख ७३ हजार रुपैयाँ मूल्यका चारवटा सुनको औंठी छ । भारतीय प्रधानमन्त्री कार्यालयको वेबसाइटका अनुसार मार्च ३१, २०२२ सम्म पीएम मोदीसँग २ करोड २३ लाख ८२ हजारको सम्पत्ति थियो । प्रधानमन्त्रीसँग एउटा आवासीय जग्गा थियो । जुन उनले गुजरातको मुख्यमन्त्री हुँदा अक्टोबर २००२ मा किनेका थिए ।

कालीकोट र मुगुका ५ जना कर्मचारीविरुद्ध भ्रष्टचारको मुद्धा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा एकै दिन पाँचवटा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७०/०७१ मा कालीकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत कर्मचारीले भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । मुगुको डिभिजन वन अधिकृत भरतबहादुर बुढथापा, जिल्ला विकास समितिको कार्यालय कालीकोटका तत्कालीन खरिदार राजबहादुर बम, जिल्ला विकास समिति कालीकोटका तत्कालिन ‘एलएपीए’ कार्याक्रम संयोजक कमलप्रसाद खनाल, अल्लो भाँगो प्रशोधन केन्द्र, कालीकोटको भवन निर्माण उपभोक्ता समितिका पदाधिकारी र केषि विकास कार्यालय कालीकोटका तत्कालीन प्रास रत्नप्रसाद पाण्डेविरुद्ध अख्तियारले आज छुट्टाछुट्टै मुद्दा दर्ता गरेको हो । मुगुको छायानाथ रारा नगरपालिका–१४ अन्तर्गत पर्ने चङ्खेली हिमालदेखि दूधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्ने क्रममा रकम हिनामिना गरेको भेटिएपछि आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरतबहादुर बुढथापासहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । त्यस्तै साविक जिल्ला विकास समितिको कार्यालय, कालीकोटबाट आर्थिक वर्ष २०७०/०७१ मा जिल्ला कृषि विकास कार्यालय, कालीकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्दै कालीकोटका तत्कालीन प्राविधिक सहायक हाल गुठीचौर गाउँपालिका जुम्लाका अधिकृत छैटौँ तह रत्नप्रसाद पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको हो । आयोगले कालीकोटबाट आर्थिक वर्ष २०७०/०७१ मा सञ्चालन भएका विभिन्न कार्यक्रमअनुरूप अल्लो भाँगो प्रशोधन केन्द्र कालीकोटको भवन निर्माण कार्यमा झुट्टा बिल बनाई स्रेस्तामा समावेश गरी रकम हिनामिना भएको भन्दै भवन निर्माण उपभोक्ता समिति र सोका जिम्मेवार पदाधिकारी अध्यक्ष नन्दप्रसाद पाण्डे, सचिव नरेन्द्रप्रसाद पाण्डे र कोषाध्यक्ष विनिता राना पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको हो । कालीकोटबाट आर्थिक वर्ष २०७०/०७१ मा सञ्चालन भएका उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिअन्तर्गतको कार्यक्रममा सिलाइ मेसिन खरिद र उक्त सामानको ढुवानी गरेको खर्च देखाई पेश्की फछ्र्योट गर्ने कालीकोटका तत्कालीन खरिदार राजबहादुर बमविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले कालीकोटबाट आव २०७०/०७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमअन्तर्गत प्रचारप्रसारको लागि होर्डिङ बोर्ड निर्माण गरेको भनी नक्कली भर्पाइ स्रेस्तामा समावेश गरी भुक्तानी लिने कार्य गरेको अभियोगमा जिल्ला विकास समिति कालीकोटका तत्कालीन ‘एलएपीए’ कार्यक्रम संयोजक कमलप्रसाद खनालविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ज्योति र सूर्या लाइफको मर्जर प्रस्ताव पारित, १९ प्रतिशत संस्थापक सेयर साधारणमा परिवर्तन गरिने

काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीकाे विशेष साधरण सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग गाँभ्ने प्रारम्भिक सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको छ । मंगलबार बसेकाे सभाले उक्त सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको हाे । सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, सेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गरेको छ । यस्तै, कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरिक्षकको नियुक्ती गर्ने सम्बन्धमा कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन कार्य  गर्नका लागि संचालक समितिबाट मुल्याङ्कनकर्ता नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने गरी भएको निर्णय सभाले अनुमोदन गरेकाे छ । साथै, सभाले कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना क्रमश ७०:३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरी कम्पनीको सेयर स्वमित्व संरचना ५१:४९ प्रतिशतको अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ।

नेपाल एसबिआई बैंक युनीफाईड पेमेन्ट इन्टरफेस नेपालमा आवद्ध

काठमाडौं । नेपाल एसबिआई बैंकले गेट वे पेमेन्ट सर्भिससँग अन्तरआवद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपालको नेटवर्क नेपालमा विस्तार गर्न सम्झौता गरेको छ । उक्त सम्झौतामा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान अलम तथा गेट वे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् । बैकिङ प्रणालीमा प्रविधिको उपयोग गराई नेपाललाई विश्व मापदण्ड अनुरुपको सेवा प्रवाह गराउने विश्वसनीयताका साथ यस कम्पनीले अझै सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने युपिआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बैंकले जनाएकाे छ । यस बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२९ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

आईटी विज्ञको विदेश पलायन र अर्बौको विदेशी सफ्टवेयर खरिद

काठमाडौं । देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन् । आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं । विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको अवस्था छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिका विषयमा निकै चिन्ता गरेको सुनिन्छ । तर हामीले हाम्रो पैसा बाहिरिन नदिनका लागि के गर्न सक्छौं भन्ने विषयमा खासै ध्यान दिइएको छैनाैं । अहिले हाम्रो देशबाट आईटीका लागि मात्रै वार्षिक ३ अर्ब हाराहारीमा रकम बाहिरिने गरेको छ । धेरै बैंकहरुले विदेशी कम्पनीको सफ्टवेयर प्रयोग गर्छन । एउटा बैंकले कोर बैंकिङ सफ्टवेयरको मात्रै ५ देखि ७ करोड रुपैयाँसम्म विदेश पठाउँछन् । यसबाहेक कागजात व्यवस्थापन होस् या कार्डहरुको सफ्टवेयरका लागि छुट्टै पैसा खर्च हुने गरेको छ । हामीसँग भएका श्रोत, साधन र जनशक्तिका विषयमा मात्रै ध्यान दिने हो भने पनि निकै ठूलो धनराशी बाहिर जानबाट जोगाउन सक्नेछौं । नेपाल बनाउनका लागि नेपालमै वस्तुहरु बनाउनु पर्छ । नेपाल बनाउनका लागि एउटा महत्वपूर्ण क्षेत्र हो, प्रविधि । हामीले प्रविधिको भरपुर उपयोग गर्न अझै पनि सकेका छैनौं । नेपाली आईटी विज्ञहरु एक सय एक छन्, तर पनि हामी विदेशी कम्पनीहरुको भरपर्नु पर्ने बाध्यता छ । सफ्टवेयरको माध्यमबाट हामीले नेपाललाई समृद्ध बनाउन सकिने सम्भावनाहरु प्रशस्त छन् । नेपालमा साँच्चिकै ध्यान दिने हो भने आईटी हब बनाउन सकिन्छ । तर यस विषयमा राज्य र नियम कानून बनाउने जिम्मा पाएकाहरुले खासै ध्यान दिएका छैनन् । नेपालीहरुको स्कील र नलेज बाहिर गएको छ । नेपाली स्कील र नलेज प्रयोग गरेर विदेशीहरुले राम्रा राम्रा सफ्टवेयर बनाएका छन् । नेपालीले बनाएका सफ्टवेयरहरु नै विदेशी कम्पनीहरु मार्फत नेपाल भित्रिएका प्रसस्तै उदाहरणहरु छन् । हामीले विदेशी कम्पनीहरुको सफ्टवेयर जसरी प्रयोग गर्छौ, त्यसलाई छाडेर नेपाली प्रयोग गर्ने हो भने स्वदेशमै रोजगारीका प्रशस्त अवसरहरु सिर्जना हुनेछन् । उद्यमशीलताको विकास स्वदेशमै हुन सक्ने सम्भावना छ । अहिले हामीले हाम्रा आइटी विज्ञहरुलाई समेत विदेश पलायन हुन बाध्य बनाएका छौं । स्वदेशमा पर्याप्त अवसर भएपछि धेरै एक्सपर्ट (विज्ञ) हरु विदेशिनु पर्ने बाध्यता छ । स्वदेशी सफ्टवेयर कम्पनीहरुलाई प्रोत्साहन गर्ने हो भने रोजगारीको समस्या समाधान हुने मात्रै होइन । ग्लोबल आर्यटी म्यापमा हाम्रो देशलाई देखाउन सक्नेछौं । अहिले हामी सगरमाथा र वुद्धको जन्म देश भनेर चिनाउँछौं । सगरमाथा र बुद्धको मात्रै होइन सूचना प्रविधिले सम्पन्न देश भनेर पनि विश्वमा चिनाउन सकिन्छ । आजसम्म नेपालमा आईटीलाई एउटा टुलको रुपमा मात्रै लिइएको छ । हामीले आईटीले विशेष ध्यान दिने हो भने भोलि आउने साइबर वारबाट देशलाई केही हदसम्म बचाउन सकिनेछ । के गर्ने त अब ? नेपालमा सफ्टवेयर बनाउन सकिन्छ । नेपालमा नेपाली कम्पनीहरुले नै बनाएका सफ्टवेयरहरु प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास हुनुपर्छ । यसलाई कानूनी संरक्षणको पनि अत्यन्तै जरुरी पर्छ । नेपालकै सफ्टवेयर प्रयोग गर्न गराउनका लागि एउटा स्वतन्त्र निकायको पनि जरुरी पर्छ । जसले सफ्टवेयरको क्वालिटी चेक गरी मान्यता दिन सकोस् । जस्तो आईएसओ प्रमाणित भन्ने हामीले सुनेका छौं, सफ्टवेयरका सन्दर्भमा पनि यस्तै कुनै निकाय बनाउनु पर्छ । यसले नेपाली सफ्टवेयर उद्यमीलाई प्रोत्साहन हुन्छ । केही स्वदेशमै गरौं भन्ने वातावरण बनाउनका लागि हामी सबै लाग्नु पर्छ । यस बाहेक आईटी क्षेत्रलाई पनि राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रको रुपमा राख्न सक्छ । आईटी उद्यमी बन्न चाहनेहरुका लागि बैंकहरुमार्फत सहुलियत ऋण दिएर पनि यस क्षेत्रलाई प्रोत्साहन गर्न सकिनेछ । अधिकारी कम्प्युटर संघ नेपाल महासंघ (क्यान)का अध्यक्षका प्रत्यासी हुन् । 

आकर्षक फिचर भएको भिभो वाई१५सी नेपालमा सार्वजनिक

काठमाडौं । भिभोले आज वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा सार्वजनिक गरेको छ । सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ । युवा प्रयोगकर्ताहरुको जीवनशैलीसँग मिल्ने र दिनभरी चलिरहने शक्तिशाली ह्यान्डसेट चाहने उपभोक्ताहरूको जीवनशैली अनुरूप वाई१५सी लाई डिजाइन गरिएको कम्पनी बताउँछ । उत्कृष्ट क्लिकका लागि नयाँ युगको क्यामेरा वाई१५सी मा १३एमपी एआई डुअल क्यामेरा र २एमपी सुपर क्याक्रो क्यामेरा सेटअप जसबाट उच्चस्तरीय फोटोग्राफी अनुभव लिन सकिन्छ । साथै, उत्कृष्ट सेल्फीहरुका लागि यसमा ८एमपी फ्रन्ट क्यामेरा छ । वाई१५सी ले दैनिक सुटिङ अनुभवलाई सहज बनाउन फेस ब्यूटी, फोटो, भिडियो, लाइभ फोटो, टाइम–ल्याप्स, पानोरामा, र प्रो मोड प्रस्तुत गर्दछ । लामो समयसम्म टिक्ने शक्तिशाली ब्याट्री वाई१५सी मा ५०००एमएएच ब्याट्री छ जुन दैनिक कार्यका लागि पर्याप्त हुन्छ । यसलाई एक पटक पूर्ण चार्ज गरेपछि १८.७४ घण्टासम्म चलचित्र हेर्न वा ७.८९ घण्टा गेम खेल्न सकिन्छ । यसमा ५भोल्टको रिभर्स चार्जिङ छ, र पावर बैंक जस्ता अन्य उपकरण चार्ज गर्न प्रयोग गर्न सकिन्छ । इमर्सिभ प्रदर्शन र स्टाइलिश डिजाइन वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ जसले प्रयोगकर्ताहरूलाई भिडियो स्ट्रिमिङ, इन्टरनेट सर्फिङ र गेम खेल्दा इमर्सिभ अनुभव प्रदान गर्दछ । यसको आई प्रोटेक्सनले गर्दा दिनभरी फोन चलाए पनि आँखा थकित हुँन दिँदैन । प्रभावशाली विशेषताहरु भएको यो स्मार्टफोन ८.२८एमएम पातलो छ, हलुका तौल र फोन बोक्दा आरमदायी अनुभव प्रदान गर्दछ । आकर्षक रंगहरू तथा विशेषताहरु वाई१५सी दुईवटा आकर्षक रंगहरूमा ः मिस्टिक ब्लू र वेभ ग्रीनमा उपलब्ध छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, फेस एक्सेस, बोकेह मोड, औरा स्क्रिन लाइट, मल्टी टर्बो ३.०, आईम्यानेजर, इजीसेयर लगायतका विशेषताहरु छन् । यो फनटच ओएस १२ (एन्ड्रोइड १२) मा सञ्चालित छ । वाई १५सी ३जीवी र्याम र ३२जीवी रोममा रु १७,९९९ मा देशभरका रिटेल स्टोरहरुमा उपलब्ध छ ।

कतिमा खुल्छ हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर दोश्रो बजारमा सूचीकृत भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जर पश्चात बनेको हिमालयन एभरेष्टको सेयर साउन २४ गते नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको २ करोड २३ लाख ९९ हजार ३६७ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै इन्स्योरेन्सको सेयर भोलि अर्थात साउन २४ गतेदेखि दोश्रो बजारमा कारोबार हुने छ । इन्स्योरेन्सको सेयर कारोबार एचईआईको सिम्बोलबाट हुने छ । जसको लागि पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता ५१०.४८ रुपैयाँ तोकिदिएको छ । यससँगै भोलिको पहिलो कारोबारमा इन्स्योरेन्सको सेयर प्रतिकित्ता ५१०.४८ रुपैयाँमा किनबेच हुने छ । सम्बन्धित सामाग्री : हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार भोलिदेखि खुल्ने हिमालयन एभरेष्ट मर्जर : कम्पनी मख्ख, नियामक प्रफुल्ल हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच एकिकृत कारोबार शुरू, यस्तो हुनेछ कर्पोरेट लोगो हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जर पारित, साउनदेखि नै एकीकृत कारोबार गर्ने हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता, बीमा क्षेत्रमै पहिलो मर्जर