क्रिप्टो करेन्सीको कारोबार गरेको भन्दै विशाल सिमेन्टका पूर्वसञ्चालक श्रेष्ठलाई थुनामा पठाउन आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा)को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मङ्गलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उक्त कारोबार गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठविरुद्ध ४८ करोड रुपैयाँबढी बिगो माग दाबीसहित मुद्दा दायर भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एक समूहले गत असार २९ गते श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा श्रेष्ठले हुण्डीमार्फत विदेशमा रकम पठाएको पत्ता लागेको थियो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको उल्लेख गर्दै श्रेष्ठविरुद्ध बिगोको तीन गुणासम्म जरिवाना र सात वर्ष कैद सजायको समेत मागदाबी गरिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्णरूपमा गैरकानुनी रहेको उल्लेख गर्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो । रासस
सङ्क्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द
भोजपुर । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गाँउपालिकामा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबारसम्म जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ । सङ्क्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । रासस
उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकाङ्क्षी
काठमाडौं । उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकाङ्क्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो । परिषद्ले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो । त्यसमध्ये जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट एक सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदनमा परेको छ । कूल आवेदन परेकामध्ये दुई सय ५५ पुरुष र १९ महिला रहेका छन् । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार आवेदन परेकाहरूको प्रारम्भिक छनोटमा गरीे सूची प्रकाशित हुनेछ । रासस
बोनसदरमा तीन बीमा कम्पनी : कसको बढ्यो ? कसको घट्यो ?
काठमाडौं । हालै विभिन्न तीन जीवन बीमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । जसमध्ये दुईले आर्थिक वर्ष २०७७/७८ को र अर्को एक इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरेका हुन् । जसमा एशियन लाइफ र ज्योति लाइफले आर्थिक वर्ष २०७७/७८ को र गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरी लागू गरेका छन् । यी तीन वटै कम्पनीले बीमा समितिको स्वीकृति पश्चात विभिन्न बीमालेखका बीमितलाई नयाँ बोनसदर लागू गरेका हुन् । एशियन लाइफले बढायो एशियन लाइफले आर्थिक वर्ष २०७७/७८ को नयाँ बोनसदर अघिल्लो वर्षको तुलनामा बढाएको छ । कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म दिने भएको छ । जबकी कम्पनीले अघिल्लो वर्ष बीमितलाई न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिएको थियो । नयाँ बोनसदर अनुसार इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमालेखबाट बीमितलाई अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । त्यस्तै, बालबालिकाको सावधिक जीवन बीमालेख, सावधिक जीवन बीमालेख र नव रन्त, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमालेखका बीमितले न्यूनतम ४० रुपैयाँ बोनस पाउने छन् । ज्योति लाइफले घटायो ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनस दिने भएको छ । कम्पनीले जारी गरेको विभिन्न बीमालेखमध्ये सावधिक र सावधिक तथा आजीवन बीमालेखका बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने छन् । तर उक्त बोनस २५ वा सोभन्दा बढी अवधिको लागि उक्त बीमालेख खरिद गर्नेले मात्रै पाउने छन् । त्यस्तै, १० देखि १४ वर्ष अवधिको ज्योति ईजी पे जीवन बीमा गर्नेले न्यूनतम २० रुपैयाँ बोनस पाउने भएका छन् । ज्योति लाइफले सार्वजनिक गरेको बोनसदर अघिल्लो आर्थिक वर्षको तुलनामा घटी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ बाट बीमितलाई न्यूनतम नै प्रतिहजार ४३ रुपैयाँ बोनस दिएको थियो । अधिकतम बोनसदर भने बराबर अर्थात ७५ रुपैयाँ नै थियो । गुराँस लाइफको बीमालेख बढ्यो, बोनसदर घट्यो गुराँस लाइफले हालै आर्थिक वर्ष २०७६/७७ को बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृति पाए पश्चात इन्स्योरेन्सले सो आवको बोनसदर सार्वजनिक गरेको हो । नयाँ बोनसदर अनुसार बीमितले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने छन् । जुन अघिल्लो वर्षको तुलनामा घटी हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५र७६ बाट बीमितलाई न्यूनतम २३ रुपैयाँदेखि अधिकतम ८१ रुपैयाँसम्म वितरण गरेको थियो । गुराँस लाइफले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार सावधिक तथा आजीवन बीमाललेखका बीमितले सबैभन्दा बढी अर्थात ७५ रुपैयाँसम्मको बोनस पाउने भएका छन् । अघिल्लो आवमा यो बीमालेखका बीमितले अधिकतम ८१ रुपैयाँ बोनस पाएका थिए । त्यस्तै, गुराँस सुरक्षीत भविष्य जीवन बीमालेखका बीमितले सबैभन्दा कम अर्थात प्रतिहजार २० रुपैयाँ बोनस पाउने छन् । जुन अघिल्लो आवमा २३ रुपैयाँ थियो । समीक्षा अवधिमा इन्स्योरेन्सले बीमालेखको संख्या भने बढाएको देखिन्छ । अघिल्लो आवमा ५ वटा मात्रै बीमालेख बिक्री गरेको इन्स्योरेन्सले आव २०७६/७७ मा थप एउटा (वार्षिक नगद फिर्ता नामक) बीमालेख बीमितलाई बिक्री गरेको थियो । उक्त बोनसदर कम्पनीले भुक्तानी गर्ने बीमालेख अनुसारको दावीहरुमा तथा चालु बीमालेखहरुमा लागू हुने छ । साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्को व्यवस्था नभएसम्म कम्पनीहरुले सोहि अनुसारको बोनसदर कायम गर्ने छन् ।
पाँच महिनामै निर्माण भयो ५० मिटर लामो पुल, लागत दुई करोड ५० लाख
फाइल फोटो जनकपुरधाम । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासस्थित भपसीखोलामा पाँच महिनामै ५० मिटर लामो पुल निर्माण सम्पन्न गरिएको छ । ठेक्का लिएर पनि ठेक्केदार कम्पनीले लामो समयसम्म काम सम्पन्न नगर्ने प्रवृत्ति मौलाइरहेका बेला सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाकै अवधिमा सो पुलको निर्माण सम्पन्न गरेको हो । सो पुल कुल दुई करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ । गत २०७८ मङ्सिरमा सम्झौता गरी पुसबाट पुल निर्माण सुरु गरेको र गत २०७९ वैशाखमा काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख ई सञ्जयकुमार मिश्रले जानकारी दिए । यस्तै धनुषा र महोत्तरी जिल्लालाई जोड्ने महत्वपूर्ण रातुखोलाको पुल पनि सम्झौता अवधिअगावै निर्माण सम्पन्न भएको छ । कुल रु १४ करोडको लागतमा पप्पु दिवा जेभी प्रालिले दुई सय मिटर लामो पुल निर्माण सम्पन्न गरेको प्रमुख मिश्रले बताए । आव २०७५/७६ मा सम्झौता भई २०७९ वैशाखमा निर्माण सम्पन्न गरेको हो । आव २०७८/७९ मा निर्माण सम्पन्न भएका यी दुवै पुलको गत २०७९ वैशाखमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले उद्घाटन गरेका थिए । अत्यन्तै महत्वपूर्ण मानिएको दुवै पुल निर्माणसँगै यातायात आवागमनमा सहजता भएको स्थानीयले बताएका छन् । कम रकममा ठेक्का सम्झौता गर्ने र वर्षौसम्म योजना अलपत्र छाड्ने प्रवृृत्ति बढिरहेका बेला यसरी समयअगावै पुल निर्माण सम्पन्न गरेर राम्रो उदाहरण प्रस्तुत गरेको बर्दिबासका स्थानीय तारणी लामगादेले बताए । ‘ठेकेदारको प्रवृत्ति देख्दा यो पुल पनि वर्षौसम्म बन्दैन कि भन्ने हाम्रो चिन्ता थियो,’ लामगादेले भने, ‘तर निर्माण कम्पनीले सोचेभन्दा थोरै समयमा पुल निर्माण सम्पन्न गरेको छ ।’ यो अरु निर्माण कम्पनीका लागि पनि उदाहरणीय कार्य भएको उनको भनाइ छ । यी दुई पुलमात्र होइन, आव २०७८/७९ मा धनुषा र महोत्तरीका ११ वटा पुल निर्माण सम्पन्न भएको छ । दुवै जिल्लाका विभिन्न सडकमा निर्माणाधीन ५३ वटा पुलमध्ये यस आवमा ११ पुलको निर्माण सकिएको र बाँकी पुलको निर्माणकार्य भइरहेको प्रमुख मिश्रले बताए । ठेक्का लिएर पनि लामो समयदेखि काम अलपत्र छाड्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु गरेपछि धमाधम पुल निर्माण भएको प्रमुख मिश्रको भनाइ छ । उनका अनुसार योजना अलपत्र छाड्ने ८८ निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । यस्तै सडक डिभिजन कार्यालय जनकपुरधाम धनुषाद्वारा निर्माणाधीन धनुषा र महोत्तरीका रणनीतिक सडकमध्ये आव २०७८/७९ मा २५ किलोमिटर सडक कालोपत्र गरिएको छ । कुल ८८ किलोमिटर सडकमध्ये आव २०७८/७९ मा २५ किलोमिटर सडक कालोपत्र गरिएको सडक डिभिजन कार्यालय जनकपुरधामले जनाएको छ । गत आव २०७७र७८ मा धनुषा र महोत्तरीमा १७ वटा पुल निर्माण भएको थियो भने ८८ किलोमिटर सडक कालोपत्र भएको थियो । बजेट आभावका कारण अघिल्लो आव २०७७/७८ को तुलनामा आव २०७८/७९ मा कम सङ्ख्यामा पुल निर्माण र सडक कालोपत्र भएको प्रमुख मिश्रको कथन छ । यस्तै आव २०७८/७९ मा तराई मधेस विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत धनुषा र महोत्तरीमा विभिन्न ८८ वटा सडक पूर्वाधारका योजना प्रदेश सरकारमा हस्तान्तरण गरिएको प्रमुख मिश्रले बताए । रासस
खोटाङमा सम्बन्धविच्छेदका एक सय ८४ मुद्दा
खोटाङ । जिल्ला अदालत खोटाङमा आर्थिक वर्ष २०७८/७९ मा सम्बन्धविच्छेदका एक सय ८४ मुद्दा दर्ता भएको छ । एक वर्षको अवधिमा अदालतमा दर्ता भएका एक सय ८४ मुद्दामध्ये एक सय ३८ मुद्दा फछ्र्योट भएको छ भने ४६ वटा मुद्दा आर्थिक वर्ष २०७९र८० का लागि जिम्मेवारी सरेको जनाइएको छ । गत वर्षको तुलनामा यस वर्ष सम्बन्धविच्छेद गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको जिल्ला अदालत खोटाङका श्रेस्तेदार रामाकान्त यादवले जानकारी दिए । ‘आव २०७७/७८ मा ७० मुद्दा दर्ता भएको थियो,’ उनले भने, ‘जिल्लामा सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ ।’ दश स्थानीय तह रहेको खोटाङ जिल्लामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि हुँदै जानुको मुख्य कारण गरिबी देखिएको छ । जिल्लाका अधिकांश महिला आफूले भनेअनुसार खान, लाउन नपाएको तथा श्रीमान् वैदेशिक रोजगारीमा गएको समयमा सासू–ससुराले हेरविचार नगरेको भन्दै सम्बन्धविच्छेद गर्न अदालत पुग्ने गरेको पाइएको छ । मादक पदार्थ सेवन तथा झैझगडाका कारण पनि सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि भएको पाइएको श्रेस्तेदार यादवले बताए। ‘कतिपय सम्बन्ध एक वर्ष पनि टिक्न नसकेको देखिएको छ,’ उनले भने, ‘आफूखुसी विवाह गरेका २० वर्ष उमेर समूहका तथा मागी विवाह गरेर ४५ वर्षसम्म श्रीमान/श्रीमती मिलेरसँगै जीवन बिताएका जोडीहरूसमेत सम्बन्धविच्छेद गर्न अदालत आउने गरेका छन् ।’ पछिल्लो समय कानुनीरूपमा मात्रै सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको अधिवक्ता कुवीरकाजी राईले बताए। ‘केही जोडीहरू युरोपियन मुलुक जानका लागि सहमतिमै सम्बन्धविच्छेद गर्छन् । तर उनीहरुको आपसी सम्बन्ध बिग्रिएको हुन्न,’ उनले भने, ‘श्रीमान/श्रीमती दुवैले हामी सम्बन्धविच्छेद गर्न तयार छौँ भनेपछि सहयोग गर्नुप¥यो १ तर, उनीहरुले कानुनीरूपमा मात्रै सम्बन्धविच्छेद गरेका हुन्छन् । यसैबीच जिल्ला अदालत खोटाङमा गत आव २०७८र७९ मा विभिन्न शीर्षकमा तीन सय १९ मुद्दा दर्ता भएको छ । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएको एक सय २९ गरी चार सय ४८ मुद्दा हेरिएकामा दुई सय ६९ मुद्दा फछ्र्योट भएको छ भने एक सय ७९ मुद्दा आव २०७९/८० का लागि जिम्मेवारी सारिएको छ । सम्बन्धविच्छेदमा एक सय ८४, अङ्शवण्डामा ३६, अपुतालीसम्बन्धी एक, जग्गासम्बन्धी दुई, लेनदेनसम्बन्धी १६, लिखत बदरसम्बन्धी १३, मानाचामलसम्बन्धी ११, भूमिसम्बन्धी एक मुद्दा दर्ता भएका छन् । यस्तै राज्यविरुद्धको कसुर एक, हातहतियार तथा खरखजना १४, बहुविवाह सात, बालविवाह एक, कर्तव्य ज्यान १३, ज्यान मार्ने उद्योग १२, आत्महत्या दुरुत्साहन एक, जबर्जस्ती करणी १६, हाडनाता करणी ११, जबर्जस्ती करणी उद्योग १०, बाल यौन दुरुपयोगसम्बन्धी आठ मुद्दा परेका छन् । चोरी तथा डाका कसुरमा २३, ठगी दुई, आपराधिक प्रवेश चार, पशुपक्षीसम्बन्धी कसुर पाँच, नागरिकता कसुर एक, लागुऔषधसम्बन्धी कसुर चार, सवारी ज्यान वा अङ्गभङ्ग १६, कुटपिट वा अङ्गभङ्ग, जालसाजी पाँच, लुटपाट एक, गाली बेइज्जतीसम्बन्धी कसुर १६ र चेक अनादरसम्बन्धी चार वटा मुद्दा जिल्ला अदालतको तथ्याङ्कमा उल्लेख छ । आव २०७८/७९ मा अदालतमा दर्ता भएका ६० प्रतिशत मुद्दा फछ्र्योट भएको श्रेस्तेदार यादवले जानकारी दिएका छन् । । रासस ।
जुम्लामा प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल
जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन । अहिले यी विद्यालयलाई विद्यार्थी भर्ना गराउनै मुस्किल परेको छ । जिल्लाको तिला गाउँपालिका–१ स्थित रारामा रहेको सीता माध्यमिक विद्यालयमा तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जीनियरिङ तहमा ११ मात्रै विद्यार्थी अध्ययनरत छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरबाट मान्यताप्राप्त सो विद्यालयमा प्राविधिक धारमा अध्ययन गर्ने ४८ विद्यार्थीको कोटा हुँदा पनि अहिले छ जना पूर्णशुल्क र पाँच छात्रवृत्ति कोटामा मात्रै विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पाण्डेले बताए। प्राविधिक विषयका विद्यार्थी नहुँदा शैक्षिकसत्र २०७९ का लागि तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जीनियरिङ तहमा भर्नाका लागि अहिले विद्यार्थीको खोजीमा विद्यालय लागेको छ । विभिन्न माध्यमबाट विद्यार्थीलाई भर्ना गराउन विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति लागिपरेको छ । विद्यालयका प्रअ पाण्डेले भने, ‘विद्यालयमा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थी नहुँदा सिभिल इञ्जीनियरिङतर्फ पढाइमा विद्यालयलाई सकस भएको छ । शिक्षकलाई तलब दिन पनि गाह्रो भएको छ । विद्यालयको कुनै आन्तरिक स्रोत पनि छैन, स्थानीय सरकारले पनि सहयोग गरेको छैन ।’ गाउँमै सिभिल इञ्जीनियरिङ विषय पढाइ भइरहेको छ । तर विद्यार्थी भर्ना हुन मानेका छैनन्, कम पैसाले घरमै दक्ष जनशक्तिबाट पढाइ हुने गरेको छ । पूर्णशुल्क र छात्रवृत्ति कोटाबाट अध्ययन गर्न चाहने विद्यार्थीलाई यो वर्षबाट पालिकाका नौवटै वडालाई पत्रचारसमेत गरिएको विद्यालयका प्रअ पाण्डेले बताए। विद्यालयमा विद्यार्थी आकर्षण गर्नेका लागि प्राविधिकतर्फ चाहिने पुस्तकालय, कम्प्युटर, ल्याब तथा प्रविधियुक्त सुविधासम्पन्न प्रयोगशाला, सर्भे क्याम्प, शैक्षिक भ्रमण तथा अवलोकनका माध्यमबाट सम्बन्धित स्थानमै पुगेर प्रयोगात्मक शैलीको अध्ययनलाई विशेष जोडदेखि विद्यार्थीलाई बस्नका लागि निःशुल्क छात्राबासको समेत व्यवस्था विद्यालयले गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए। गाउँका विद्यालयभन्दा सहरका विद्यालयका दक्ष शिक्षक र विभिन्न सेवासुविधा समयमै उपलब्ध हुने भएकाले विद्यार्थीको रोजाइ गाउँभन्दा सहरमा हुने गरेको जुम्लाका विद्यार्थी बताउँछन् ।
३ हजार बैना लिएर १५ हजार उधारो चुक्ता, बैना पनि फिर्ता
काठमाडाैं । एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुगे । पर्यटकले ३००० रुपैयाँ होटेलको काउन्टरमा राख्दै भने–‘यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आँउछु ।’ पैसा पाउना साथ होटेल मालिक दौडेर घ्यूवालाको पसलमा पुग्यो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर घ्यूको हिसाव चुक्ता गरिदियो । ध्यूवाला दौडेर दुधवाला कहाँ गयो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो । दुधवाला दौडेर गाईवाला कहाँ पुग्यो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो । गाईवाला दौडेर दानावाला कहाँ गयो र तिर्नु पर्ने रकम मध्ये खातामा ३००० रुपैयाँ घटाएर आयो । अन्त्यमा, दानाबाला सोही होटेलमा पुग्यो, जहाँ उसले कहिलेकाँही उधारोमा खाना खाने गर्दथ्यो । उसले ३००० रुपैयाँ दिएर होटेलको हिसाव चुक्ता गरि दियो । त्यसै वेला पर्यटक कोठा हेरेर फर्केर आए र भने–‘मलाई कोठा मन परेन ।’ यति भनेर उनले पहिले जम्मा गरेको ३००० रुपैयाँ फिर्ता लगेर गए । हेर्नोस् त यत्रो दौडधुपमा न कसैले केही पाए, न कसैले केही दिए तर सबैको हिसाब भने चुक्ता भयो । यहाँ कहाँ भयो त गडबडी? कहीँ गडवड भएको छैन । ३००० हजार रुपैयाँ बुक (बैना) भएको हो । सबैले गरेर १५ हजार रुपैयाँ उधारो रकम भुक्तानी पनि भएकै हो र अन्तिममा बैना रकम पनि फिर्ता भएकै हो । पैसा कसैको होइन । यो केबल भुक्तानीको साधान मात्र हो । मान्छे जन्मदा पनि पैसा लिएर जन्मिएको हुँदैन । अन्तिम सत्य हो, मान्छे एक दिन मर्छ र सँगै पैसा लिएर पनि जाँदैन । (सामाजिक सञ्जालबाट)