मुस्ताङबाट हरेक वर्ष ७० करोडको स्याउ निर्यात
गलेश्वर । रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरुले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् । मुस्ताङका स्याउ उत्पादक कृषकहरुले आर्थिक वर्ष २०७७/७८ मा ‘एप्पल जोन’को ५० प्रतिशत अनुदानमा कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्न थालेपछि बेसिजनमा पनि स्याउ खान पाइने भएको हो । मुस्ताङ घरपजोङ गाउँपालिका–५ का कर्म गुरुङले १६ लाखको कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्दै आएका छन् । उनले एप्पल जोन कार्यक्रमबाट आठ लाख अनुदान पाएपछि आठ लाख थपेर कोल्डस्टोर खरिद गरेको जानकारी दिए । ‘कोल्डस्टोर नहुँदा बिक्री नभएका स्याउहरु कुहिएर खेर जाने र लामो समयसम्म राख्न नहुने समस्या हुन्थ्यो तर अब त्यो समस्या हटेको छ’, उनले भने । सरकारले मुस्ताङलाई स्याउ जोनका रुपमा परिभाषित गरी अनुदानका कार्यक्रम उपलब्ध गराउन थालेपछि सो जिल्लाका स्याउ कृषकहरु हौसिएका छन् । मल, बिरुवा, कोल्डस्टोर, ढुवानी तथा औषधी खर्च अनुदानमा प्राप्त गर्न थालेपछि स्याउ उत्पादक कृषकहरुलाई सजिलो भएको किसान गुरुङले बताए । स्याउका लागि मल खरिद गर्न आफूले यो वर्ष कृषि ज्ञान केन्द्रबाट १७ हजार, एक हजार पाँच सय स्याउका बिरुवाहरु र ढुवानी तथा औषधोपपचारका लागि भनेर ३५ हजार पनि अनुदान पाएको उनको भनाइ छ । मुस्ताङको एक हजार दुई सय हेक्टर जमिनमा अहिले व्यावसायिकरुपमा स्याउ खेती गरिएको छ । करिब छ सय हेक्टर जमिनमा रहेका बोटबाट किसानले उत्पादन लिन थालेका र बाँकी सात हेक्टर जमिनमा नयाँ बिरुवा लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मुस्ताङमै स्याउका बिरुवासमेत उत्पादन हुन थालेपछि सजिलो भएको किसानहरुको भनाइ रहेको छ । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रङ्गको हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छन् । २०२३ सालमा मुस्ताङको मार्फामा बागवानी केन्द्र स्थापना भएपछि मुस्ताङमा स्याउ खेतीप्रति आकर्षण बढेको हो । सोही केन्द्रसँगको सम्पर्कमा आएका किसानले काश्मिरे स्याउको प्रतिस्थापन गर्न मुस्ताङमा स्याउ फलाउन थाले । मुस्ताङबाट सुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ । मुस्ताङ जिल्लामा स्याउ उत्पादन गर्न कठिन नभए पनि बजारीकरणका लागि यातायातको निकै समस्या रहेको स्याउ कृषक टीका शेरचनले बताए । ‘सरकारले पछिल्लो समय अनुदान वृद्धि गरेर सजिलो त भएको छ तर, कठिन भूगोलका कारण ढुवानी र बजारीकरणमा समस्या छ’, शेरचनले भने । हिमालपारिको जिल्ला मुस्ताङलाई देशका विभिन्न सहरहरुसँग जोड्ने एक मात्र स्थलमार्ग बेनी–जोमसोम सडक स्तरोन्नतिकै चरणमा रहेकाले ढुवानीका लागि सजिलो नभएको कृषकहरुको गुनासो छ । मुस्ताङमा हिउँ पहिरो जाने, पहिरो र बाढीका कारण सडक अवरुद्ध हुने जस्ता समस्याले गर्दा यहाँ उत्पादित स्याउ उपभोक्ताले चाहेको समयमा पाउन नसकेका गुरुङले बताए । एक सिजनमा एक सय ५० टनदेखि दुई सय टनसम्म स्याउ उत्पादन गरी बिक्री गर्दै आएको गुरुङले बताए । स्याउ बिक्रीबाट नै अहिलेसम्म एक करोड जतिको सम्पत्ति जोडेको उनको भनाइ छ । कृषि ज्ञान केन्द्रका अनुसार हरेक वर्ष मुस्ताङी किसानले कम्तीमा पनि पाँच हजार पाँच सय मेट्रिकटन स्याउ उत्पादन गर्दै आएका छन् । उत्पादनका हिसाबले ५० देखि ७० करोडको स्याउ मुस्ताङबाट हरेक वर्ष निर्यात हुने गरेको तथ्याङ्क छ । नेपालमा वर्षमा झण्डै छ अर्ब रुपैयाँभन्दा धेरैको स्याउको कारोबार हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कले देखाउँछ । रासस
बालाजुस्थित जुत्ता कारखानामा लागेको आगलागीमा साढे ४ करोडको क्षति
काठमाडौं । काठमाडौंको बालाजुस्थित जुत्ता कारखानामा बुधबार दिउँसो भएको आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको छ । वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगलागीमा करिब साढे ४ करोड रुपैयाँ क्षति भएको अनुमान गरिएको बताइएको छ । प्रहरी वृत्तका अनुसार कारखानामा विद्युत् सट भएर आगलागी भएको थियो । क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी रहेको बताइएको छ ।
मुग्लिन पोखरा सडक : तनहुँको पूर्वी खण्डमा ५७ करोड खर्च
दमौली । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको पूर्वी खण्डमा ५७ करोडभन्दा बढी खर्च भएको छ । जिल्लाको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा एक वर्षको अवधिमा ५७ करोड चार लाख ४२ हजार ९६ खर्च भएको छ । आर्थिक वर्ष २०७८/७९ मा उक्त खण्डका लागि दुई अर्ब ५१ करोड ४७ लाख ८२ हजार विनियोजन भएको थियो ।सडक योजनाले आँबुखैरेनीदेखि जामुनेसम्मको सडक विस्तारका लागि काम गरिरहेको योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार उक्त खण्ड अन्तर्गत विभिन्न ठाउँमा भित्ता काट्ने काम भइरहेको छ, भने सडक चौँडा पार्ने काम पनि निरन्तर चलेको छ । उक्त खण्ड अन्तर्गत सडक दायाँबायाँका रुख कटान गरिएको छ । तनहुँ खण्डमा मात्रै छ हजार ५०० रुख कटान गरिएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्ड छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५र२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । पश्चिम खण्डमा १३८ संरचना हटाइने जामुनेदेखि कोत्रेसम्म (पश्चिम खण्ड) तर्फ १३८ संरचना हटाउनका लागि मुआब्जा प्रक्रिया सुरु भएको छ । जामुनेदेखि कोत्रेसम्मका व्यक्तिगत तथा सार्वजनिक घर टहरा, पर्खाललगायतका संरचना हटाउन दुई करोड ४५ लाख ३९ हजार ६३३ मुआब्जा वितरण गर्न लागिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजकत्वमा गठित उपसमितिले म्याग्दे गाउँपलिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्मका एक सय ३८ वटा संरचनाको क्षतिपूर्ति रकम वितरण गर्ने निर्णय गरेको छ । एसियाली विकास बैंकको ‘सेफगार्ड पोलिसी स्टेटमेन्ट’ अनुसार आयोजना प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले मुआब्जा वितरण गर्न लागिएको जनाइएको छ । आयोजना कार्यान्वयनमा आइपर्ने गुनासोको सुनुवाइ गर्नका लागि आयोजनाको दस्तावेज (पुर्नवास योजना) बमोजिम कार्य गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरिएको छ । समितिको सदस्यमा आयोजना प्रमुख, शुक्लागण्डकी नगरपालिकाका प्रतिनिधि, म्याग्दे गाउँपालिकाका प्रतिनिधि, आयोजनाको परामर्शदाताका वातावरण विज्ञ र सामाजिक विज्ञ रहेका छन् । रासस
काठमाडौं वर्ल्ड स्कुल : जहाँ विदेशी विद्यार्थी पढ्न आउँछन्
काठमाडौं । अध्ययनकै लागि भनेर दैनिक धेरै विद्यार्थी विदेश गइरहेको बेला भक्तपुरको एउटा स्कुलले भने विदेशी विद्यार्थीको पनि आकर्षणको केन्द्र बनेको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुल विदेशी विद्यार्थीको आकर्षको केन्द्र बन्न सफल भएको हो । स्कुलले दिएको जानकारी अनुसार स्कुलमा यो स्कुलमा भारत, जापन, कोरिया, हङकङ, म्यानमार, सिंगापुर, बेलायत, अमेरिका तथा अन्य मुलुकका नागरिक तथा गैर नेपालीका सन्ततीहरु अध्ययनरत छन् । स्कुलका प्रिन्सिपल केशर खुलाल स्कुल निजी क्षेत्रकै उत्कृष्ट नमुना स्कुल भएको दाबी गर्छन् । ‘नेपाल सरकारको विशिष्ट श्रेणीमा दर्जित यस स्कुलले भौतिक, शैक्षिक, व्यवस्थापकीय तथा अन्य सबै पक्षमा अन्तराष्ट्रियस्तर कायम गरेको छ,’ प्रिन्सिपल खुलाल भन्छन्, ‘त्यसकारण हाम्रो स्कुलमा देशका सबै क्षेत्र तथा झण्डै एक दर्जन देशका विद्यार्थी अध्ययनरत छन् ।’ काठमाडौं उपत्याकाका जुनसकै कुनासम्म पुग्ने सुविधायुक्त बस सेवा तथा तारे होटेल बराबरको सुविधायुक्त अत्यन्त सुरक्षित आवाश गृहहरुको व्यवस्थाका कारण विदेशी विद्यार्थी पनि आकर्षित भएको खुलालको विश्लेषण छ । काठमाडाैं वर्ल्ड स्कुल ६ देखि १९ वर्षका बालबालिकालाई उच्च गुणस्तरको समग्र शिक्षा प्रदान गर्ने प्राथमिक उद्देश्यका साथ वरिष्ट नेपाली शिक्षाविद् र उद्यमीहरूको समूहको साझा पहलमा स्थापना भएको उनले बताए । शान्त वातावरण, अत्याधुनिक प्रविधि र सुविधाहरू तथा शिक्षामा पूर्ण समर्थित तथा दक्ष जनशक्ति स्कुलको प्रमख विशेषताहरु रहेको उनी बताउँंछन् । स्कुल करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ । स्कुलमा शिक्षण शिकाइका लागि अत्याधिक प्रविधियुक्त तथा वातावरण अनुकुलित ठूलाठूला कक्षा कोठाहरु, विशाल पुस्तकालय र भिआइपी तथा उत्कृष्ट शिक्षकहरुकाे व्यवस्था गरिएको छ । विद्यार्थीहरुका विभिन्न मनोविज्ञानिक समस्याहरुको उचित व्यवस्थापन गरी पढाइमा सहयोग गर्नका लागि विद्यालयमै बरिष्ट मनोचिकित्सकको व्यवस्था पनि गरिएको छ । त्यसका अलवा विद्यार्थीको समग्र वृत्ति विकासका लागि खेलकुद र अतिरिक्त क्रियाकलापका लागि पनि प्रसस्त सुविधाहरु उपलब्ध छन् । खेलकुदका लागि अर्धओलम्पिक साइजको स्विमिङ्घ पुल, सम्भवत काठमााडौंकै ठूलो फुटसल कोर्ट, ३ वटा अत्याधुनिक बास्केटबल कोर्टहरु, भलिवल कोर्ट, क्रिकेट नेट, इन्डोर बास्केटबल, नेटबलकोर्ट तथा बाडमिन्टन कोर्ट, टेबुलटेनिस र जिमनष्टिक हलसहितको कबर्ड हल छन् । अतिरिक्त क्रियाकलापका लागि संगित, नृत्य र कलाका विविध विधाका लागि छुट्टाछुट्टै हल तथा दक्ष प्रशिक्षकहरु उपलब्ध छन् । यहाँ भक्तपुरको मौलिक धिमेबाजा र माटोका भाँडा बनाउने कला पनि सिकाइन्छ । त्यसैगरी विभिन्न अन्तराष्ट्रिय भाषहरु पनि सिकाइन्छ । कक्षा ११ र १२ मा पढ्ने हरेक विद्यार्थीले खेलकुद र अतिरिक्त क्रियाकलापको कुनै एक विधा अनिवार्य सिक्नैपर्छ यहाँं । किनकि एक विद्यार्थी एक सीप विद्यालयको नारा हो । त्यसैगरी विभिन्न क्लब, विद्यार्थी नेतृत समूह तथा कार्यक्रममार्फत प्रत्येक विद्यार्थीहरुलाई नेतृत्व विकासको अवसर प्रदान गरिन्छ यहाँं । साथै प्रशस्त आन्तरिक, अनतर विद्यालयय र अन्तािरष्ट्रय प्रतियोगिताहरु तथा भ्रमणमा सहभागी गराई विद्यार्थीहरुको आत्मविश्वास र अनुकुलनक्षमता वृद्दि गराइन्छ । राष्ट्रियस्तरका खेलाडी तथा विशिष्ट क्षमतावान विद्यार्थीहरुका लागि पनि विशेष प्रावधान यहाँं गरिएको छ । स्कुलकी मार्केटिङ एण्ड एडमिसन प्रमुख आरती आचार्यले सञ्चालनको पाँचौ वर्षमा प्रवेश गर्दै गर्दा यसले कक्षा १२ बाट तीनवटा ब्याचलाई सतप्रतिशत नतिजा सहित उतिर्ण गराई देशभित्र तथा बाहिरका उत्कृष्ट विश्वविद्यालयहरुमा पठाइसकेको जानकारी गराइन् । यसको आफ्नै पूर्णकालिन करियर तथा गाइडेन्स काउन्सिलर सहितको काउन्सिलिङ्घ सेवा भएको हुँदा यहाँबाट उत्तिर्ण धेरै विद्यार्थीहरु विभिन्न देशका प्रख्यात विश्वविद्यालयहरमा छात्रवृत्ति सहित अद्ययन गर्न सफल भएको उनले सुनाइन् । यसरी प्राकृतिक तथा मानवीय सृजनाको अद्वितीय समागम यो स्कुल ज्ञान तथा सिर्जनाका लागि अति उपयुक्त स्थान हुनका साथै योग्य विद्यार्थी तथा गुयास्तरीय शिक्षाको खोजी गर्ने अभिभावकहरुको रोजाइमा परेको उनको विश्लेषण छ । नेपालमै अन्तर्राष्टियस्तरको पढाई हुने स्कुल रहेका कारण नेपाली अभिभावकलाई विदेशमा पढाउन पठाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका साथै पढनकै लागि विदेशमा जाने वार्षिक करोडौं रकम विदेश जानबाट जोगाउन स्कुलबाट सहयोग मिलेको उनको भनाई छ ।
डाडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरु
म्याग्दी । जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको १३२ केभी क्षमताको प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ । आयोजना प्रमुख रोशन अग्रवालले पहिलो चरणमा ४७ कित्ता जग्गाका धनीलाई मुआब्जा दाबी गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए । ‘७७ मध्ये २० वटा टावर बन्ने जग्गा अधिग्रहण प्रक्रिया थालिएको छ,’ उनले भने, ‘थप टावर बन्ने जग्गाको पहिचानसँगै सार्वजनिक जग्गामा वन प्राविधिकसँग संयुक्त नापजाँचको काम पनि सुरु भएको छ ।’ १२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइन बनाउन लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको संयोजकत्वमा मुआब्जाको दररेट निर्धारण उपसमिति गठन गरेको छ । रघुगङ्गा गाउँपालिका–३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नं ६ र ७ मा करिब २५ किलोमिटर दुरीको प्रशारण लाइनको टावर निर्माण हुनेछन् । सवस्टेशन र प्रशारण लाइन निर्माणको काममा जग्गा अधिग्रहणलाई मुख्य उपलब्धि मान्ने गरिन्छ । डाडाँखेत र राहुघाटमा सवस्टेशन निर्माणसँगै प्रशारण लाइनका टावरका लागि प्रस्तावित जग्गा अधिग्रहण प्रक्रिया थालिएको आयोजना प्रमुख अग्रवालले बताए । उनका अनुसार डाडाँखेतको सवस्टेशन निर्माणस्थलमा अधिग्रहण भएको ५१ रोपनी जग्गामा घेराबार र भवन निर्माण भइसकेको छ । राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ । सवस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्माउने काम भइरहेको छ । सन २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको छ । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ । म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन र सवस्टेशन बनाउन लागिएको हो । डाडाँखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गरिने भएको छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सवस्टेशन जिआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताए । एशियाली विकास बैंकको ऋणमा प्रशारण लाइन र सवस्टेशन निर्माण गर्न लागिएको हो । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । संसारको सातौँ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई वटा आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुई वटा आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् । सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रर्वद्धक सक्रिय भएका छन् । गैरआवासीय नेपालीको अगुवाइमा धौलागिरि कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुुरुङ निर्माण थालेको छ । धवलागिरि गाउँपालिका–४ मा हाइड्रो इम्पायर प्रालि काठमाडाैंले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण गरिरहेको छ । धवलागिरि गाउँपालिका–४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना तयारी सुरु गर्ने तयारी गरेको छ । अप्पर हाइड्रोपावर प्रालि काठमाडौंलले धवलागिरि र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पु¥याउने काम भइरहेको छ । रासस
डण्डीको मूल्य घट्यो, सिमेन्टको ५० रूपैयाँसम्म बढ्यो
काठमाडौं । सामान्यतया वर्षाको समयमा सधैँ नै निर्माण सामाग्रीको माग तथा खपतमा कमी हुने गर्दछ । माग र खपतमा कमी हुने भएपछि निर्माण सामाग्रीकाे मूल्य पनि घट्छ । उत्पादकहरु (सिमेन्ट र छड) ले सधैँजसो नै निर्माण सामग्रीको मूल्य वर्षा मौसममा कटौती गर्ने गर्दथे । तर, यसपटकको वर्षा मौसममा भने सिमेन्टको मूल्य उद्योगीहरुले बढाएका छन् । बजारमा १ हप्तादेखि होङ्सी र ह्वासिन सिमेन्टको मूल्यमा ५० रुपैयाँ बढेर आएको निर्माण व्यवसायी महासंघका उपाध्यक्ष दीपक श्रेष्ठले बताए । अरु सिमेन्टको मूल्यमा पनि बढ्ने कुरा सुन्नमा आएको उनको भनाइ छ । तर, स्टिलको मूल्य भने निरन्तर रुपमा घट्दो क्रममा रहेको उनको भनाइ छ । ‘बजारमा जगदम्बा, सर्वोत्तम, हामा लगायतका छडको मूल्य १ सय १० रुपैयाँ सम्म आएको छ तर, हिमाल स्टिलको मूल्य भने १२८ रुपैयाँ सम्म छ, स्टिलको मूल्य निरन्तर रुपमा घट्दो क्रममा छ,’ श्रेष्ठले भने । सिमेन्टको मूल्य बढाउनुपर्ने अवस्था नभएको तर, कोइलाको मूल्य बढेको कारण देखाएर उद्योगीहरुले सिमेन्टको मूल्य बढाउन खोजेको उनले बताए । अहिले सिमेन्टकाे मूल्य बढाउन सान्दर्भिक नभएको उनको भनाइ छ । ग्रिल तथा स्टिल व्यवसायी संघका अध्यक्ष मोहन कटुवालले अहिले बजारमा स्टिलको मूल्य घटेको बताए । ‘मैले जगदम्बाको स्टिल ल्याउ गर्छु, पहिला यसको मूल्य १ सय ४० सम्म पुगेको थियो, तर, अहिले मैले १ सय १५ रुपैयाँमा किनेर ल्याएँ,’ अध्यक्ष कटवालले भने । कटवालका अनुसार अहिले निर्माणका वस्तुहरुको अर्डर असाध्यै कमी रहेको र बिक्री पनि कम भैरहेको अवस्था छ । सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेलले भने अहिले उद्योगीहरु सिमेन्टको मूल्य बढाउने वा घटाउनेतर्फ नभएको बताउँछन् । ‘अहिले बजारमा सिमेन्टको माग कमी छ, उद्योगहरु पनि ३० देखि ४० प्रतिशत मात्रै क्षमतामा सञ्चालन भएको अवस्था छ तर, मूल्य घटाउने विषयमा हामीले सोचेका छैनौं,’ उपाध्यक्ष पोखरेलले विकासन्युजलाई बताए । ‘मूल्य घटाएपनि बिक्री बढ्दैन, मूल्य घटाउने पनि थप घाटा खाएर नै घटाउने हो,’ पोखरेलले भने । सिमेन्ट उत्पादनमा प्रयोग हुने चुनढुंगा बाहेकका आइटमहरु भारतबाट ल्याउन पर्ने अवस्था रहेको र भारतबाट आयात हुने सबै वस्तुहरुको मूल्य बढेको पोखरेलको भनाइ छ । पहिलको अवस्थामा भारतका व्यापारीहरुले उधारोमा सामग्री दिनेगरेकोमा पछिल्लो समय त्यो अवस्था नरहेको र बैंकको ब्याज पनि बढेकोले उत्पादन लागत बढ्न पुगेको पोखरेलले बताए ।
सानिमा बैंकले आइएफसीबाट पायो साढे २ अर्ब, साना व्यवसायीलाई ऋण दिने
काठमाडाैं । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ । बैंकले रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गर्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बताएका छन् । तरलता अभावलाई मध्य नजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आइएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयास गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात उक्त रकम यस आर्थिक वर्षमा प्राप्त गरी सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरुको पंक्तिमा आफूलाई उभ्याएको छ । आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस। फइले सानिमा बैंकमा गरिएको लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको बताए । उनले नगद प्रवाहले नेपालको तरलता संकट र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुर्याउने विश्वास रहेको बताए । सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।
क्यानले आईटी विषय पढ्न २ करोडको छात्रवृत्ति दिने, कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)ले प्राविधिक शिक्षातर्फ प्रदान गर्दै आईरहेको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागी आवेदन खुल्ला गरेको छ । क्यानले बुधबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । क्यानले विगत ४ वर्षदेखि गरिब तथा जहेन्दार विद्यार्थीलाई सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा छात्रवृत्ति दिँदै आएको छ । क्यानले काठमाडौंको मैतिदेविस्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रवृत्ति प्रदान गर्न लागेको छ । क्यान महासंघ र कलेजबिच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले १ करोड ९५ लाख ५८ हजार रुपैयाँ दबराबरको छात्रवृत्ति पाउनेछन् । ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रबृति र बांकी ४२ जनालाई आंसिक छात्रवृत्ति प्रदान गरिन्छ । क्यानको अनुसार विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् । यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई र आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिने क्यानले जानकारी दिएको छ । छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको सम्बन्धनमा संचालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बिएससी आईटीको अध्ययन गर्न पाउनेछन् । क्यानको अनुसार नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन । छात्रवृत्तिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् । छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दिपेन्द्र कुमार सिंह तथा केन्द्रिय सदस्यद्वय सरिता सिंह र भिम मल्ल रहेको छात्रबृति छनौट समिति गठन गरेको छ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट भदौ ९ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेश गर्नुपर्नेछ । क्यानले छात्रवृत्तिका अनलाईन परीक्षा भदौ १० गते गर्ने र भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा गर्ने जानकारी दिएको छ ।