त्रिविका विद्यार्थीले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउने, थेसिस लेख्न पैसा पनि
काठमाडौं । नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउनेछन भने सो विभागका विद्यार्थीहरु र प्राध्यापकहरु मार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ्ग क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु संचालन गर्नेछ । बैंकको अनुसन्धान सम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ र सो सूची अन्तर्गतका प्राध्यापकहरुलार्ई आवश्यकताअनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रूपमा नियुक्त गर्नेछ । त्यसैगरी, बैंकले गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट(जिआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम ५ जना विद्यार्थीहरूलाई बैंकले प्रति विद्यार्थी तीस हजार रुपैयाँ प्रदान गर्नेछ । बैंकले व्यवस्थापन विभागमा एमबिए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडलसहित ‘नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड’ समेत प्रदान गर्नेछ ।
अमेरिकामा ९९ प्रतिशत मङ्कीपक्सको सङ्क्रमण पुरुषमा
लस एन्जलस । अमेरिकामा देखिएका मङ्कीपक्सका सङ्क्रमितहरुमध्ये ९९ प्रतिशत सङ्क्रमित पुरुष रहेका एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा सो तथ्य भेटिएको बताइएको छ । यही अगष्ट ५ मा सार्वजनिक गरिएको सो रिपोर्टमा उक्त कुरा देखिएको हो । सो अनुसन्धान रिपोर्टमा देखाइएअनुसार यसरी पाइएका ९९ प्रतिशत मङ्कीपक्सका सङ्क्रमितहरुमा पनि पुरुषबाट पुरुषमा नै सरेका पाइएको समाचारमा उल्लेख गरिएको छ । अमेरिकामा देखिएको यो भाइरसको मे १७ देखि जुलाई २२ सम्मको तथ्याङ्का गरिएको अनुसन्धानमा यो तथ्य भेटिएको हो । अमेरिकामा पछिल्लो समयमा मङ्कीपक्सका सङ्क्रमितहरु भेटिने क्रम बढ्दो रहेको छ । अहिले विश्वका दर्जनौँ देशमा यो सङ्क्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको सङ्क्रमण बढ्दो छ । पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा मात्र मङ्कीपक्सका आठ हजार नौसय भन्दा बढीमा यो सङ्क्रमण भेटिएको पाइएको छ । रासस
सिभिल बैंकका ग्राहकलाई न्युरोडमा मोबाइल तथा ल्यापटप किन्दा छुट
काठमाडौं । सिभिल बैंकले न्युरोडको ९पिपुल्स प्लाजा० थ्रिकम नेटवर्क टेक्नोलोजीसँग सम्झौता गरेको छ । बैंकले आफ्ना कर्मचारी र ग्राहकहरुलाई थ्रिकम नेटवर्क टेक्नोलोजीमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट नयाँ बानेश्वर शाखाकी प्रमुख अनुसा श्रेष्ठ र थ्रिकम नेटवर्क टेक्नोलोजीको तर्फबाट प्रोपाईटर विपीन जयसवालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त थ्रिकम नेटवर्क टेक्नोलोजीमा, ल्यापटप खरिदमा ५ प्रतिशत, मोबाइल खरिदमा २।५ प्रतिशत, मोबाइल एण्ड ल्यापटप एक्सेसरिजमा १० प्रतिशत तथा मोबाइल एण्ड ल्यापटप मर्मतमा ५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन । बैंकले मुलुकभर ११५ शाखा कार्यालय, १३ एक्सटेन्सन काउन्टर र १०० एटिएमका साथ वित्तिय सेवा प्रदान गर्दै आएको छ ।
प्राइम र इन्भेष्टमेन्ट बैंकका कर्मचारीबीच उत्पादकत्वमा टक्कर, कुन बैंकका कर्मचारीको उत्पादकत्व कति ?
काठमाडौं । कर्मचारीबाट बढी काम लिएर उच्च नाफा गर्ने चाहना जुनसुकै कम्पनी वा संस्थाको हुन्छ । जुन कम्पनीले कर्मचारीका लागि बढी सेवा सुविधा दिएर खर्च पनि बढी गर्छ, त्यो कम्पनीले नाफा पनि राम्रै कमाउन सक्छ । कम्पनीका कर्मचारीमा जति बढी उत्पादकत्व बढ्छ सो कम्पनीको नाफा पनि त्यति नै वृद्धि हुन्छ । त्यसका लागि कम्पनीले कर्मचारीका लागि कति खर्च गरेको छ भन्ने विषयमा पनि निर्भर हुन्छ । कम्पनीले जति बढी नाफा गर्छ सो कम्पनीले सेयरधनीलाई पनि लाभांश बढी नै प्रदान गर्छ । सेवा क्षेत्रका रूपमा लिइएको बैंकिङ क्षेत्रले पनि अहिले राम्रो नाफा गरिरहेका छन् । अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्रले राम्रो नाफा गरिरहेको छ भने सेयरधनीलाई लाभांश पनि राम्रै दिँदै आइरहेका छन् । पछिल्लो समय धेरैले कम्पनीको क्षमता हेर्ने अर्को महत्वपूर्ण पक्षमा रुपमा धेरैले सो कम्पनीमा काम गर्ने कर्मचारीको उत्पादकत्वलाई पनि लिने गरेका छन् । कर्मचारी कुनै पनि कम्पनीको एक महत्वपूर्ण पुँजी हो । जुन संस्थाले कर्मचारीमा राम्रो खर्च गर्छ, उनको वृद्धि विकास तथा क्षमता अभिवृद्धिमा बढी ध्यान दिन्छ त्यसमा आवद्ध कर्मचारीको उत्पादकत्वमा पनि त्यतिकै निखारता आउँछ । आज हामीले २६ वटा वाणिज्य बैंकमा कार्यरत कर्मचारीको उत्पादकत्व कति छ भनेर यो सामग्री तयार गर्ने प्रयास गरेका छौं । बैंकले गरेको खुद नाफा र उनीहरुमाथि बैंकले गरेको खर्चलाई आधार मानेका छौं । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा उल्लेखित खुद नाफालाई सोही अवधिको कर्मचारी खर्चले भाग गरेर कर्मचारीको उत्पादकत्व निकालिएको हो । बैंकले प्रति कर्मचारीमा १ रुपैयाँ खर्च गर्दा कति आम्दानी गर्छ, अर्थात् सो कर्मचारीको उत्पादकत्व कति हुन्छ भन्ने विषय स्पष्ट पार्न खोजेका छौं । यद्यपि खुद नाफा र कर्मचारीको संख्यालाई आधार मानेर पनि उत्पादकत्व निकाल्न सकिन्छ । २६ वटा वाणिज्य बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकहरले कुल ७४ अर्ब ८० करोड १४ लाख रुपैयाँ खुद नाफा गरेका छन् भने २६ वटै बैंकहरुले कर्मचारीका लागि कुल ५७ अर्ब ७२ करोड २४ लाख रुपैयाँ खर्च गरेका छन् । यस आधारमा बैंकिङ क्षेत्रका कर्मचारीको उत्पादकत्व १.२९ रुपैयाँ देखिन्छ । बैंकहरुले कर्मचारीका लागि एक रुपैयाँ खर्च गर्दा उनीहरुले कुल एक रुपैयाँ २९ पैसा नाफा गरेको देखिन्छ । प्राइम र नेपाल इन्भेष्टमेन्टबीच प्रतिस्पर्धा बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणलाई हेर्ने हो भने प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीबीच प्रतिस्पर्धा देखिएको छ । ती दुई बैंकका कर्मचारीबीच उत्पादकत्वमा प्रतिस्पर्धा देखिएको हो । सबैभन्दा बढी उत्पादकत्व भएका बैंकको रुपमा प्राइमका कर्मचारी देखिएका छन् । प्राइम बैंकले कर्मचारीलाई एक रुपैयाँ खर्च गर्दा सो बैंकका कर्मचरीले २ रुपैयाँ १५ पैसा नाफा गरेको देखिन्छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले पनि कर्मचराीलाई एक रुपैयाँ खर्च गर्दा २ रुपैयाँ ११ पैसा नाफा गरेको देखिन्छ । उत्पादकत्वमा दोस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी देखिएका छन् । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीको सबैभन्दा बढी उत्पादकत्व थियो । तर, अहिले प्राइम कमर्सियल बैंकका कर्मचारीको उत्पादकत्व बढेको हो । गत आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्टका कर्मचारीको कुल उत्पादकत्व २ रुपैयाँ १५ पैसा र प्राइम कमर्सियल बैंकका कर्मचारीको उत्पादकत्व २ रुपैयाँ १३ पैसा थियो । पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीको उत्पादकत्व घट्दै गइरहेको छ । विगतमा यस बैंकका कर्मचारीको उत्पादकत्व ५/६ रुपैयाँसम्म थियो । अर्थात् सो बैंकले कर्मचारीमा एक रुपैयाँ खर्च गर्दा कर्मचारीले ६ रुपैयाँसम्म नाफा गर्थे । १८ बैंकका कर्मचारीबीच टक्कर पछिल्लो समय सबै बैंकका कर्मचारीको उत्पादकत्व बराबरी नै देखिएको छ । विगतका वर्षहरुमा बैंकहरुबीच भिन्न भिन्नै उत्पादकत्व हुने भएपनि अहिले भने समानता देखिएको छ । उत्पादकत्वमा १८ वटा बैंकबीच प्रतिस्पर्धा छ । उत्पादकत्वमा तेस्रो नम्बरमा नबिल बैंक, चौथोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, पाँचौंमा राष्ट्रिय वाणिज्य बैंक र छैठौंमा ग्लोबल आइएमई बैंकका कर्मचारीको उत्पादकत्व देखिएको छ । यी बैंकका .कर्मचारीहरुको उत्पादकत्व क्रमशः एक रुपैयाँ ८२ पैसा, एक रुपैयाँ ७९ पैसा, एक रुपैयाँ ५५ पैसा र एक रुपैयाँ ५२ रुपैयाँ छ । हिमालयन, एनएमबी, सानिमा, बैंक अफ काठमाण्डू, मेगा, नेपाल बैंक, एभरेष्ट, एनसीसी, सिटिजन्स, कुमारी सिद्धार्थ, सनराइज, माछापुच्छ्रे र सेञ्चुरी बैंकका कर्मचारीको उत्पादकत्व पनि १ रुपैयाँभन्दा बढी नै छ । यी बैंकहरुले कर्मचारीहरुका लागि एक रुपैयाँ खर्च गर्दा कर्मचारीहरुले एक रुपैयाँभन्दा बढी नै नाफा गरेको देखिएको छ । यी बैंकहरुका कर्मचारीको उत्पादकत्व न्यूनतम १ रुपैयाँ ७६ पैसादेखि १ रुपैयाँ ८२ पैसासम्म छ । आधा दर्जन बैंकको न्यून गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणका अनुसार आधा दर्जन बैंकका कर्मचारीहरुको उत्पादकत्व भने खर्चभन्दा पनि न्यून देखिएको छ । ती बैंकहरुले कर्मचारीलाई खर्च गरे पनि कर्मचारीको उत्पादकत्व खासै प्रभावकारी देखिएको छैन । यी आधा दर्जन बैंकहरुले आफ्नो कर्मचारीहरुका लागि एक रुपैयाँ खर्च गर्दा पनि सोभन्दा कम अर्थात् रुपैयाँ नभएर पैसा मात्रै नाफा गरेको तथ्यांकले देखाउँछ । सबैभन्दा कम उत्पादकत्व भएका कर्मचारी कृषि विकास बैंकका छन् । कृषि विकास बैंकले आफ्नो कर्मचारीको लागि एक रुपैयाँ खर्च गर्दा ८० पैसा मात्रै कर्मचारीले नाफा गर्छन् । जुन सरकारी स्वामित्व रहेको बैंक हो । यस्तै, लक्ष्मी बैंकका कर्मचारीको उत्पादकत्व पनि खासै बढी नभएको तथ्यांकले देखाउँछ । लक्ष्मी बैंकले कर्मचारीका लागि एक रुपैयाँ खर्च गर्दा सो बैंकका कर्मचारीले ८९ पैसा मात्रै नाफा गरेको देखिन्छ । नेपाल एसबिआई बैंकका कर्मचारीमा एक रुपैयाँ खर्च गर्दा ८९ पैसा, प्रभु बैंकका कर्मचारीले पनि ८९ पैसा र सिभिल बैंकका कर्मचारीले ९८ पैसा नाफा गर्छन् भने एनआइसी एशिया बैंकका कर्मचारीहरुको उत्पादकत्व पनि ९९ पैसा देखिएको छ । एनआइसी एशिया बैंकले पनि कर्मचारीमा १ रुपैयाँ खर्च गर्दा कर्मचारीले ९९ पैसा मात्रै नाफा गरेको तथ्यांकले देखाएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ अहिले नेपाली बैंकिङ क्षेत्रको कर्मचारीहरुको उत्पादकत्व सन्तोषजनक नै रहेको बताउँछन् । उनका अनुसार कर्मचारीको उत्पादकत्व बैंकले उनीहरुलाई गर्ने खर्च, क्षमता अभिवृद्धिका तालिम लगायतका विषयले फरक पार्छ । ‘बैंकले के कस्तो आम्दानी गरेको छ, कति खर्च गरेको छ, उसको कति वटा कर्मचारी छन्, बैंक नाफामुलक क्षेत्र भएकोले नाफा बढी गरेर खर्च पनि बढायो भने सोही अनुसार हुन्छ, जब बैंकका कर्मचारी खुसी छन्, उनीहरुले काम गरेर राम्रो नतिजा पनि देखाउँछन्, बैंकहले तालिम क्षमता अभिवृपद्धिका विषयमा के कस्तो ध्यान दिइरहेको छ, यी सबै कुराले उत्पादकत्वमा प्रभाव पार्छ, अहिले नेपाली बैंकिङमा कर्मचारीको उत्पादकत्व सन्तोषजनक नै छ,’ उनले भने ।
घट्दो बजारमा सीआईटीको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटीरहेको छ । बजारमा घट्दो नेप्से परिसूचकसँगै कारोबार रकमले निरन्तरता पाएको हो । बुधबारको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ५.११ अंकले घटेर २०५७.६८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२५ प्रतिशतले घटी हो । त्यस्तै, बजारमा १ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जबकी मंगलबारको बजारमा २ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । घट्दो बजारमा नागरिक लगानी कोष (सीआईटी) को भने सर्वाधिक सेयर कारोबार भएको छ । मंगलबार सर्वाधिक कारोबार भएको कम्पनीको सेयर बुधबारको बजारमा पनि सर्वाधिक भएको छ । बुधबारको बजारमा १० करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा भने घटी हो । अघिल्लो दिनको बजारमा कम्पनीको १५ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै, कम्पनीको कारोबारसँगै सेयर मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा सीआईटीको सेयर मूल्य ३९.३८ रुपैयाँले बढेर प्रतिकित्ता २२५४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलामा १.७८ प्रतिशतले बढी हो । घटेको बजारमा हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर मूल्य २७.५० रुपैयाँले बढेर प्रतिकित्ता ३०३.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । बुधबार सबैभन्दा बढी सेयर मूल्य घट्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । पहिलो दिन दोश्रो बजारमा कारोबार भएको कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४५९.५० रुपैयाँमा झरेको छ । सो दिन इन्भेष्टमेन्ट र उत्पादनमूलक समूह क्रमशः ०.४७ र २७.१० रुपैयाँले बढेको छ । अन्य समूह भने राताम्मे देखिएका छन् ।
ललितपुरको नाम र काम नमिल्ने पसल सिल, २० हजार जरिवाना पनि तिराइयो
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गरी पाटन अप्टिकल नाम रहेको चस्मा पसल सिल गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी लगायतको गैरकानुनी कामको अनुगमन गर्न हिँडेको सो टोलीले आज चस्मा पसलको नाम राखेर जुत्ता तथा चप्पल एवं बच्चाको कपडा आदि समेत बिक्री वितरण गरेको पाएसँगै सिल गरेको हो । ललितपुरका सहायक प्रजिअ हरिप्रसाद पन्तले भने, ‘नाम एउटा काम अर्काे गर्ने भएसँगै कारबाही गरियो ।’ सो अप्टिकललाई सात दिनभित्र कागजपत्रसहित प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको पन्तको भनाइ छ । यसैगरी सो अनुगमन टोलीले आज पाटन अस्पताल परिसरमा सञ्चालन भइरहेको प्राप्ति चमेना गृहलाई पनि २० हजार जरिवाना गराएको छ । सो गृहको भान्छा असाध्यै फोहर भएसँगै त्यहाँ बिक्री गर्न राखिएका दही तथा दुनोट र सैंडविचमा उत्पादनका साथै सकिने म्यादसमेत उल्लेख नभएका कारण उक्त मूल्य बराबरको रकम तिराएको पन्तले सुनाए । ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले सरकारले हिजो जारी गरेको निर्देशनअनुसार बजार अनुगमन थालिएकोे बताए ।
पहिलो दिनको कारोबारमै १० प्रतिशतले घट्यो हिमालयन एभरेष्टको सेयर मूल्य
काठमाडौं । हिमालन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । बुधबार मात्रै दोश्रो बजारमा भित्रिएको इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर ४५९.५० रुपैयाँमा झरेको हो । जुन नेप्सेले पहिलो कारोबारको लागि तोकिदिएको रकमभन्दा प्रतिकित्ता ५०.९८ रुपैयाँले घटी हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ५१०.४८ रुपैयाँ तोकिदिएको थियो । तर, कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०९.६० रुपैयाँमा भयो । त्यसपछि दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्य निरन्तर रुपमा घट्यो । पहिलो दिनको कारोबारमा कम्पनीको १ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । २९२ पटकको कारोबारमा कूल ३९ हजार ९३५ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
२ हजार ५ सय महिला उद्यमीलाई ऋण दियौं, अझै १ हजारलाई दिन्छौं : सीईओ पाण्डे
काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल राज पाण्डेले २ हजार ५ सय जना महिलालाई सहुलियत ऋण प्रवाह गरिसकेको बताएका छन् । बुधबार इन्टरनेशनल फाइनान्स कर्पाेरेसन (आईएफसी) सँग सूक्ष्म वा साना, मझौला तथा मध्यम उद्यम (एमएसएमईएस) का लागि सम्झौता गर्दै सीईओ पाण्डेले यस्तो बताएका हुन् । उनले यो संख्या बढाएर अझै थप ऋण प्रवाह गर्ने बताए । ‘सानिमा बैंकले एमएसएमईएसलाई प्राथमिकतामा राखेको छ, २ हजार ५ सय जना महिला उद्यमीलाई ऋण प्रवाह गरिसकेको छ, यो वर्ष १ हजार जना महिलालाई दिन्छौं,’ सीईओ पाण्डेले भने । आईएफसीले एमएसएमईएस विस्तार र थप विकास गर्न २० मिलियन डलर ऋण दिने सीईओ पाण्डेले बताए । उनले हाललाई सो बराबरको रकम दिने बताए । आवश्यक परेमा आईएफसी तयार भएमा थप रकम पनि ऋण माग्ने उनको भनाइ छ । सीईओ पाण्डेले एमएसएमईएस क्षेत्र अर्थतन्त्रको एउटा हिस्सा मात्रै नभएर ब्याक बोन पनि रहेको बताए । एमएसएमईएसले अर्थतन्त्रलाई वृद्धि गर्नुका साथै रोजगारी समेत श्रृजना गर्ने उनको भनाइ छ । सानिमा बैंकले एमएसएमईएसलाई पहिलो प्राथमिकता दिएको उनले बताए । सानिमा बैंकले आफ्नो पोर्टफोलियोको ३५ प्रतिशत एमएसएमईएसलाई छुट्याएको उनको भनाइ छ । बैंकले एमएसएमईएसलाई सहयोग गर्न सानिमा वुमेन प्रोडक्ट संचालन गरिरहेको बताएको छ । उक्त योजना माईक्रो इन्टरप्राइजेजका लागि तयार पारिएको बैंकले जनाएको छ । रास्ट्र बैंकको सीमा भित्र रहेर २० मिलियन डलर ऋण लिएको बैंकले जनाएको छ । राष्ट्र बैंकले ४ प्रतिशतसम्म सीमा तोकेको छ । आईएफसीले नेपालमा ६ सय मिलियन डलर भन्दा बढी लगानी नेपालमा गरेको आईएफसीका कन्ट्री अफिसर सन्तोस पाण्डेले जानकारी दिए ।