विकासन्युज

सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसरमा ग्राहकलाई आकर्षक छुट दिने

भरतपुर । चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सव मनाउने भएको छ । सिजी ल्यान्डमार्कले यही साउन २७, २८ र २९ गते तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरेको हो । वार्षिकोत्सवको अवसरमा सिजी ल्यान्डमार्कमा ग्राहक र आगन्तुकले गेम, डान्स, मेहेन्दी, लाइभ म्युजिक, फुडलगायतको मज्जा लिन पाउने मलले जनाएको छ । वार्षिकोत्सवको अवसरमा मलमा आउने ग्राहकका लागि गिफ्टको समेत व्यवस्था गरिएको मलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० उज्वल केसीले जानकारी दिए । सहरभित्रको सहर नाराका साथ सञ्चालन भइरहेको सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसर पारेर मनसुन फेस्टिभ अफर पनि सार्वजनिक गरेको छ । मनसुन अफरअन्तर्गत मलमा सञ्चालित विभिन्न सामानका आउटलेटहरुले आकर्षक छुट दिनेछन् । ग्राहकले मलप्रति देखाएको मायाबाछ उत्साहित हुँदै उनीहरुलाई बेग्लै किसिमको अनुभव दिन भव्य कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन लागेको केसीले बताए । सिजी ल्यान्डमार्क चितवनमा विश्वविख्यात ब्रान्डका सामान एकै ठाउँमा पाइने मल हो । यहाँ सुविधासम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभा हललगायतका सुविधा उपलब्ध छन् ।

विभिन्न कोड प्रयोग गरी नेप्सेको डाटा तान्नेको बिगबिगी, मर्कामा लगानीकर्ता

काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को वेवसाइटबाट अनधिकृत रुपमा विवरण तान्नेको संख्या बढीरहेको पाइएको छ । बुधबार एक सूचना जारी गर्दै नेप्सेले उसैको साइटबाट कारोबार सम्बन्धी अनधिकृत रुपमा डाटा तान्नेको हावी भइरहेको बताएको हो । ‘नेप्सेको आधिकारिक साइटबाट कारोेबार सम्बन्धी विवरण विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा ठूलो परिमाणमा तान्ने अर्थात डाटा एक्स्ट्रायाक गर्ने प्रयास निरन्तर भइरहेको हुँदा नेप्सेको वेबसाइटमा विवरण हेर्न खोज्नेको संख्या बढेको छ,’ उक्त सूचनामा उल्लेख छ । जसले गर्दा सर्वसाधारण प्रयोगकर्तालाई असुविधा पुग्न गएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । साथै, यस्ता कार्य रोकथाम गर्न नेप्सेले विभिन्न प्रयास गरिरहेको जानकारी गराउँदै उनले आगामी दिनमा पनि यस्ता कार्य गर्नेलाई कानुनी कारवाहीको प्रक्रियामा जान नेप्से बाध्य हुने बताए । साथै, हाल नेप्सेले आधिकारिक रुपमा एपीआई मार्फत धितोपत्रको कारोबार राफसाफ तथा फछ्र्यौट प्रयोजनको लागि सिडिएस एण्ड क्लियरिङलाई मात्र तथ्यांक उपलब्ध गराउँदै आएको जानकारी गराएको छ ।

विद्युत प्राधिकरणको नाफा १६ अर्ब, निर्यातबाटै कमायो ४ अर्ब

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७/७८मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यो सँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ । ‘ऊर्जा खपत २७ प्रतिशत बृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत निर्यात बृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युतगृहरुबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले बृद्धि गर्न सफल भयौं, विद्युत चुहावट घट्यो, प्रभावकारी रुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो’, कार्यकारी निर्देशक घिसिङले भने । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो । तर, आव २०७७÷७८मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो । विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताए । प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । विद्युत महसुल संकलन विनियमावली वमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ । यसबाट विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो । विद्युत चुहावट १५.३८ प्रतिशतमा झर्यो प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न संचालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झारिएको छ । विद्युत प्रणालीमा आव ०७२/७३मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर आव २०७६/७७मा १५.२५ प्रतिशतमा झारिएकोमा आव ०७७/७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो । आव २०७८/७९मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ चुहावट अघिल्लो वर्षको तुलनामा एक दशमलव ८० प्रतिशत विन्दुले घटाएर १५.३८ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले बताए । ‘चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणलाई अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ, चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा अझै थप प्रभावकारी र व्यवस्थित रुपमा चलाउँछौं’, उनले भने । विद्युत निर्यात बढ्यो, खुद आयात घट्यो आव २०७८/७९मा भारतर्फको विद्युत निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रुपमा करिब ३६४ मेगावाटदेखि करिब ४०० मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ । आव २०७७/७८ मा ४ करोड ४० लाख युनिट विद्युत निर्यात भएकोमा आव २०७८/७९ मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ । विद्युत निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा आन्तरिक विद्युत खपत २१.२८ प्रतिशतले बृद्धि हुँदा समेत प्राधिकरण विद्युत आयातलाई घटाउन सफल भएको छ । आन्तरिक माग धान्न आव २०७७/७८मा २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत आयात गरिएकोमा आव २०७८/७९मा ४५.०५ प्रतिशत घटेर १ अर्ब ५४ करोड ३० लाख युनिटमा झरेको छ । आव २०७७/७८मा २१ अर्ब ८२ करोड रुपैयाँको विद्युत आयात भएको थियो । आव २०७८/७९मा आयात घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । प्राधिकरणले आयात गरेको विद्युतबाट निर्यात गरेको विद्युत घटाउँदा खुद आयात एक अर्ब ५ करोड युनिट हुन्छ । रकमका आधारमा ११ अर्ब ५८ करोड रुपैयाको मात्र खुद आयात भएको छ । प्रणालीमा उपलब्ध ऊर्जामध्ये खुद आयातको हिस्सा ९.४९ प्रतिशतमा झरेको छ । कार्यकारी निर्देशक घिसिङले चालु आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुने बताए । आव २०७८/७९मा विद्युत पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ । विद्युत प्रयोग गर्ने ग्राहकको संंख्या सामुदायिक सहित ५३ लाख पुगेको छ ।

अग्नि ग्रुपले महिन्द्राका गाडीमा ७० प्रतिशतसम्मकाे फाइनान्सिङ सुविधा दिने

काठमाडौं । अग्नि इन्कर्पोरेटले आफ्ना महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ । यो योजना ग्राहकहरूलाई राहत दिन र महिन्द्रा भेहिकलले विगतका वर्षहरूमा देखाएको उद्यमशीलतालाई सहयोग गर्ने ल्याएको कम्पनीले जनाएको छ । अग्नि इन्कर्पोरेटेडले यस योजनाका लागि अग्नि हायर पर्चेजसँग सम्झौता गरेको छ । बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै अग्निले व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोग गर्न अग्निले यस्तो योजना ल्याएको हो । कम्पनीले एकल प्रक्रियाका साथ ग्राहकहरुका लागि समग्र प्रक्रियालाई सहज र सरल बनाउन आन्तरिक समूह कम्पनीसँग मिलेर काम गरिरहेको बताएको छ । कम्पनीको अनुसार ग्राहकले आवेदन दिएको ७ कार्य दिनभित्र कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । कम्पनीको अनुसार ब्रान्ड न्यू फोर ह्वीलर्सका लागि कुल ऋण सीमा प्रतिष्ठानहरूका लागि कुल बिल राशिको ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका ब्रान्ड नयाँ फोर ह्वीलर्सको लागि कुल ऋण सीमा ५० प्रतिशतसम्म छ । ५ वर्षसम्मको फाइनान्सिङ अवधि रहको यो योजना नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।योो योजनामा ग्राहकहरूको भार कम गर्न मासिक किस्ताबन्दी सुविधा पनि रहेको छ ।

बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिन्नौं : वनमन्त्री यादव

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित भएपछि मात्रै रूख काट्ने अनुमति दिइने बताएका छन् । सामुदायिक वन दिवस, २०७९ का अवसरमा आज आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आफू व्यक्तिगत रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पक्षधर भएकाले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रूख पनि काट्न नदिने बताएकाे उनको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उनले भने, ‘विमानस्थल निर्माणका नाममा वन विनास गर्न दिइने छैन, सम्मानित अदालतलाई म धन्यवाद दिन चाहन्छु, रूख कटान गर्ने, विभिन्न नाटक गरेर पैसा खाइदिने तर विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता नहुने । यस्तो सड्यन्त्र हुन दिन्न ।’ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मन्त्रालय सधैँ सकारात्मक रहेकाले सबैभन्दा पहिले मुआब्जा पाइसकेको वनको कब्जा गरिएको करिब ५०० हेक्टर जमिन खाली हुनुपर्ने तथा विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता हुनुपर्ने मन्त्रालयको माग रहेको मन्त्री यादवले जानकारी गराए । उनले भने, ‘मुआब्जा पाइसकेको जमिन खाली गरियोस्, विमानस्थल निर्माणका लागि आवश्यक पर्ने रूख कटान गर्न मन्त्रालय अनुमति दिन तयार छ ।’ यसैगरी मन्त्री यादवले वन माफियालाई तह लगाउनका लागि आफू जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने बताए । सोही कार्यक्रममा मन्त्री यादवले सामुदायिक वनका क्रियाकलापले नेपालको वनजङ्गल क्षेत्रमा उल्लेख्य वृद्धि हुनाका साथै वनको विकासमा ठूलो योगदान पुगेको बताए । मन्त्री यादवले वन कर्मचारी, विभिन्न सामुदायिक वन तथा समुदायमा आधारित साझेदारी वन, कबुलियती वन, निजी वनहरुले गरेका राम्रा कामका कारण अहिले वन तथा वातावरण मन्त्रालय गालीको ठाउँमा ताली खाने मन्त्रालय भएको बताए । उनले भने, ‘वन कर्मचारी तथा विभिन्न सामुदायिक वनहरुले वनको जग्गा जमिन संरक्षण गर्नुका साथै वनजङ्गल जोगाउन ठूलो योगदान दिनु भएको छ, यसैकारण देशमा हरियालीे छ ।’ रासस

कोरोनाको कारण २४ घन्टामा तीन संक्रमितको मृत्यु

काठमाडौं । बुधबार एकैदिन ८ सय ६८ जना संक्रमित थपिएका छन् । ६ हजार ७०५ जनामा नमुना परिक्षण गर्दा ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ४१४ जना निको भएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८८५ पुगेको छ । मन्त्रालयको अनुसार २४ घन्टामा ३ संक्रमितको मृत्यु समेत भएको छ ।

सिभिल लघुवित्तद्वारा ऋणीको बीमा दाबी रकम भुक्तानी

काठमाडाैं । सिभिल लघुवित्त वित्तीय संस्थाकाे पर्सास्थित विरुवागुठी शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ । लघुवित्तले पर्सा जिल्ला पर्सागढी न.पा. वडा नं.४, भेडहा टोलमा रहेको केन्द्र नं. ५८ कि सदस्य श्रीमति अलमुन नेसाको श्रीमान् शेख अलाउदिनको मृत्यू पश्चातनिज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराएकाे हो । सदस्य अलमुन नेसाले संस्थाबाट एक लाख २० हजार रुपैयाँ कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम ३० हजार समेत फिर्ता गरी जम्मा रकम ५५ हजार निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए । संस्थाले आफना ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको नेशनल कन्फरेन्स चितवनमा सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नेशनल कन्फरेन्स चितवनमा सम्पन्न गरेको छ ।रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको उपस्थितीमा कन्फरेन्स सम्पन्न भयो । यो कनफरेन्स विशेष गरी कम्पनीको आगामी १ वर्षभित्र गनपर्ने कामहरु, कम्पनीको व्यापारिक धारणा, विभिन्न जिल्लाबाट आएका शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरुबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउँदै रिलायन्स लाइफ इन्स्योरेन्सको बजार विस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल एवं अन्तरक्रिया भएको थियो । दुइ दिनसम्म संचालन भएको सो नेशनल कन्फरेन्समा वर्षभरिमा उत्कृष्ट व्यवसाय गर्ने शाखा, उपशाखा, क्षेत्रिय कार्यालय साथै विभिन्न व्यवसायिक उपलब्धिको आधारमा समेत कर्मचारीलाई सम्मान गरिएको थियो ।  रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखा बिस्तार गरी जीवन बीमा क्षेत्रमा उल्लेख्य कार्य गदै देशभर जीवनबीमा सेवा प्रदान गर्दै आइरहेको छ ।