शुक्रबारको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । रातको समयमा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली तथा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा र बाँकी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव छ डिग्री र अधिकतम तापक्रम ३० दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव दुई डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । रासस
अपर हेवाखोला हाइड्रोको सेयर कारोबार खुला, मूल्य रेञ्ज कतिदेखि कतिसम्म ?
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आज (बिहीबार) बाट सेयर कारोबार गर्न सकिने छ । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएसँगै कम्पनीको सेयर आजबाट किनबेच गर्न मिल्ने भएको हो । जसको लागि नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १०० देखि ३०० रुपैयाँसम्म मूल्य तोकेको छ । यससँगै लगानीकर्ताले यूचएईडब्लुए को स्टक सिम्बोलबाट उक्त रेञ्जभित्र रहेर पहिलो कारोबार गर्न सक्नेछन् । नेप्सेमा कम्पनीको ५० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । सेयर रजिष्ट्रारको रुपमा एनएमबि क्यापिटल रहेको छ । यससँगै अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु एनएमबि क्यापिटल मार्फत हुने छ । कम्पनीले सङ्खुवासभा जिल्लामा ८.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।
सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिकाको ‘ड्राफ्ट’ तयार, लगानीकर्ताका सुझावपछि मात्रै लागू गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ल्याउन लागेको सेयर रोक्का सम्बन्धी निर्देशिका तयार गरेको छ । बोर्डका अनुसार सेयर रोक्का सम्बन्धी निर्देशिका तयार भएर अब त्यसको अन्तिम रुप दिन बाँकी छ । बोर्डका प्रवक्ता रुपेश केशीले मर्जर तथा प्राप्तिको समयमा हुने सेयर कारोबार रोक्काको बारेमा बन्न लागेको नयाँ निदेशिका अन्तिम चरणमा पुगेको बताए । ‘हाम्रो टोलीले यसमा काम गरिरहेको छ, अब फाइनलाइज्ड गर्ने क्रममा छौं,’ उनले विकासन्युजसँग भने । तर, यसलाई लागू गर्नुभन्दा अघि विज्ञ लगानीकर्ताको राय सुझाव लिने तयारीमा पनि बोर्ड रहेको छ । ‘अब कारोबार कति दिन रोक्का गर्ने, कहिलेदेखि खुला गर्ने भन्नु भन्दा पनि यता लगानीकर्तालाई अफ्ठ्यारो पनि नपरोस्, कारोबार खोल्दा लगानीकर्तालाई भोलि मर्का पनि नपरोस् भन्ने हिसावले उहाँहरुसँग राय सुझाव लिने क्रममा छौं,’ उनले भने । बोर्डका अध्यक्ष रमेश कुमार हमालले भनेको समयमा भने बोर्डले उक्त निर्देशिका ल्याउन सकेन । अध्यक्ष हमालले गत साउन १२ गते बोर्डको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेयर रोक्का सम्बन्धी निर्देशिका दुई साताभित्र लागू गर्ने बताएका थिए । ‘मौद्रिक नीति सार्वजनिक भएको दिनदेखि नै विज्ञ टिम बनाएर निर्देशिका तयार पारिरहेका छन्, अबको १० दिनभित्रमा जारी गर्छाैं, दुई सातामा लागू गर्छौं, यसमा विभिन्न विषयहरु हेर्नुपर्ने भएकाले यसमा हतार गर्नु हुँदैन,’ कार्यक्रममा बोल्दै अध्यक्ष हमालले भनेका थिए । हाल निर्देशिका अन्तिम चरणमा रहेको भनिएपनि अब लगानीकर्ताहरुसँग राय सुझाव लिने भएपछि थप समय लम्बिने बुझिन्छ । तर, बोर्डका प्रवक्ता भने त्यति लामो समय नलाग्ने बताउँछन् । ‘अब चाँडै नै हामीले हाम्रो भर्सनमा लगानीकर्ताको राय सुझाव लिन्छौं, सम्भवत ५/७ दिनमा उहाँहरुबाट सुझाव आउला, राम्रो सुझाव आयो भने त्यसलाई एड्रेस गरेर अघि बढ्छौं, धेरै समय नलाग्ला,’ उनले थप प्रष्ट पार्दै भने । लगानीकर्तासँग सम्बन्धित नै विषय भएको हुनाले अहिले हतारमा ल्याउनु भन्दा दीर्घकालसम्म लगानीकर्ताको हित हुने हिसाबले ल्याउँदा सबै सरोकारवालाहरुलाई फाइदा हुने उनको भनाइ छ । यो विषयमा लगानीकर्तासँग राय सुझाव लिने भनेको बोर्डले हालसम्म कुन मोडालिटीबाट सुझाव लिने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन । सम्भवतः कुनै कार्यक्रम मार्फतभन्दा पनि सूचना निकालेरै लगानीकर्ताबाट सुझाव लिने सम्भावना धेरै रहेको प्रवक्ता केशी बताउँछन् । अध्यक्ष हमालले पनि अब केही दिनभित्रै निर्देशिका जारी हुने बताए । अहिले निर्देशिकाको ड्राफ्ट निर्माणको अन्तिम तयारी भइरहेको बताउँदै उनले २/३ दिनभित्रै निर्देशिका सार्वजनिक हुने बताए । ‘अहिले निर्देशिकाको ड्राफ्ट निर्माणको अन्तिम तयारीमा छौं, भोलि वा पर्सी सर्वसाधारणको सुझावको लागि निर्देशिकाको ड्राफ्ट सार्वजनिक गर्छौं, उहाँहरुको सुझावका आधारमा निर्देशिकालाई अन्तिम रुप दिन्छौं,’ उनले विकासन्युजसँग भने । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर कारोबार रोक्का सम्बन्धमा राष्ट्र बैंकले गरेको नीति खारेज गर्दै त्यसको सम्पूर्ण अधिकार धितोपत्र बोर्डलाई दिएको थियो । ‘बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिमा भनिएको छ । राष्ट्र बैंकले यो व्यवस्था गरेसँगै बोर्डले सेयर कारोबार रोक्का सम्बन्धीको टोली बनाएको हो । जसमा बोर्डका कानुनको उपकार्यकारी कृष्णप्रसाद पोखरेल, कार्यकारी निर्देशक विनयदेव आर्चाय र प्रवक्ता रुपेश केशी रहेका छन् ।
एनएमबि क्यापिटलले ल्यायो १० वर्षे सुलभ इन्भेष्टमेन्ट फण्ड, लगानी गर्नेलाई ९०% प्रतिफल
काठमाडौं । एनएमबि क्यापिटलले बिहीबार (साउन २६ गते) देखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गतको ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२’ निष्काशन गर्ने भएको हो । १० वर्ष अवधि रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ बन्दमुखी योजना हो । क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गर्ने भएको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रबद्र्धक एनएमबि बैंकलाई, १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधाण लगानीकर्तालाई छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । फण्डमा लगानीकर्ताले मेरो सेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । योजना व्यवस्थापकको परिचय म्युचुअल फण्डको योजना व्यवस्थापक एनएमबि क्यापिटल हो । कम्पनी रजिष्ट्रारमा वि.स. २०६७ जेठ ५ मा दर्ता भएको थियो । कम्पनीले मिति २०६७ भदौ ७ मा मर्चेन्ट बैंकरको रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको थियो । क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति तथा सेयर रजिष्ट्रार सेवा लगायत मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । वि.स. २०७० जेठ १० गते धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य गर्ने र वि.स. २०७५ मंसिर १७ मा लगानी परामर्शको कार्य गर्ने अनुमति प्राप्त गरेको हो । क्यापिटलमा एनएमबि बैंकको सेयर स्वामित्व २० लाख कित्ता रहेको छ । कम्पनीको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । क्यापिटलको आगामी योजना क्यापिटलका आगामी दुई योजना रहेका छन् । क्यापिटलका अनुसार बजारको अवस्था हेरेर अन्य विभिन्न योजना संचालनमा ल्याउने तयारी गरेको छ । इन्भेष्टमेन्ट तथा मर्चेन्ट बैंकिङ्ग क्षेत्र अन्तर्गत नयाँ सेवाहरु संचालन गर्ने, समय सापेक्ष नयाँ प्रविधिहरुको प्रयोग गरी देशभर आफ्नो सेवा विस्तार गर्ने योजना रहेका छन् । बजारबाट उच्च प्रतिफल आर्जन गर्ने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ एक डाइन्यामीक इक्विटी फण्ड हो । सूचीकृत कम्पनीहरुमध्ये उत्कृष्ट प्रतिफल दिने कम्पनीहरुमा लगानी गर्नेछ । फण्डले बजारको वर्तमान अवस्था अध्ययन गरी तथा भविष्यमा हुनसक्ने परिस्थितिलाई मध्यनजर गरेको छ । पोर्टफोलियोको संरचना डाइन्यामीक रुपमा परिवर्तन गर्ने र बजारबाट उच्च प्रतिफल आर्जन गर्नेमा क्यापिटलले काम गर्नेछ । कहाँ लगानी गर्छ ? फण्डबाट संकलन भएको रकम विभिन्न योजनाहरुमा लगानी गर्ने तयारी गरेको छ । सेबोनमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएका धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्रमा लगानी गर्ने छ । यस्तै, नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी वील तथा मुद्रा बजार र अन्य साधना, बैंक निक्षेप, मुद्रा बजार उपकरणमा, बोर्डले तोकिदिएका अन्य क्षेत्रमा लगानी गर्ने क्यापिटलले बताएको छ । इकाईधनीले ९० प्रतिशत प्रतिफल पाउने क्यापिटलले फण्डबाट संकलन भएको रकम विभिन्न क्षेत्रमा लगानी गर्नेछ । सोही क्षेत्रमा लगानी पश्चात् हुने आम्दानीलाई इकाईधनीहरुलाई सबै खर्च कटाएर प्रतिफल वितरण गर्नेछ । फण्डका इकाईधनीहरुलाई पहिलो वर्ष प्रतिफल वितरण नगर्ने भएको छ भने आगामी प्रत्येक वर्षमा १० प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । साथै १० वर्षको अवधिमा इकाईधनीहरुलाई कूल ९० प्रतिशत प्रतिफल दिने अनुमान गरिएको छ । संचालन पूर्व खर्च विवरण कम्पनीको फण्ड निष्काशन गर्नु पूर्व ५४ लाख ८० हजार ९ सय रुपैयाँ जम्मा खर्च हुने भएको छ । जसमा निष्काशन व्यवस्थापन शुल्क वापत ३० लाख रुपैयाँ, योजना दर्ता शुल्क वापत १० लाख रुपैयाँ, धितोपत्र दर्ता आवेदन शुल्क वापत २० हजार रुपैयाँ, विवरणपत्र प्रशोधन शुल्क वापत २५ हजार रुपैयाँ, सिडिएस दर्ता शुल्क वापत १ लाख ५० हजार रुपैयाँ, नेप्से सूचीकरण तथा निवेदन शुल्क वापत १ लाख ५० हजार रुपैयाँ, विज्ञापन, सूचना, विवरणपत्र, अन्य वापत ४ लाख ५६ हजार रुपैयाँ र अतिरिक्त खर्च वापत ७ लाख १४ हजार ९ सय रुपैयाँ खर्च हुने क्यापिटलले जनाएको छ । ३ वटा फण्डको प्रतिफल नेपाली पूँजी बजारमा सामूहिक लगानी कोषको संचालन भएको करिब ८ वर्ष भएको छ । एनएमबि क्यापिटलले पनि आफै संचालन गरेको पहिलो योजना परिपक्क भई हाल ३ योजना संचालनमा छन् । क्यापिटलले एनएमबि हाइब्रीड फण्ड एल-१, एनएमबि ५०, एनएमबि सरल बचत-इ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ संचालन गरिरहेको छ । पहिलो म्यूचूअल फण्ड रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले ५ बर्षको अवधिमा इकाईधनी हरुलाई ७७.१० प्रतिशत नगद लाभांस वितरण गरेको छ । यस्तै, एनएमबि हाइब्रीड फण्ड एल-१ का इकाईधनीहरुलाई ५९.०५ प्रतिशत नगद लाभांश र एनएमबि ५० ले ५६.०५ प्रतिशत नगद लाभांश वितरण गरेका छन् । क्यापिटलको संचालक र व्यवस्थापक टिम क्यापटलको संचालक समितिमा ३ जना संस्थापक र २ जना स्वतन्त्र संचालक गरी ५ जना छन् । क्यापिटलको अध्यक्षमा संस्थापकको तर्फबाट पशुपती मुरारका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष, स्वतन्त्र उर्जा उत्पादक संघका कार्यकारी सदस्य समते छन् । संचालकमा मनिष जैन, हरिशचन्द्र सुवेदी, योगेन्द्र बहादुर थापा क्षेत्री र सुनिती श्रेष्ठ हाडा छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपेश कुमार वैद्य कार्यरत छन् । ४७ वर्षिय वैद्य फाइनान्समा एमबिएसम्मको शैक्षिक योग्यता छ । माछापुच्छ्रे कृति क्यापिटलमा सीईओ, कृति क्यापिटल एण्ड ईन्भेष्टमेन्टसको संस्थापक/प्रबन्ध संचालक, भिबोर विकास बैंकको चिफ बिजनेश अफिसर, नाइट लिबर्टास, एलएलसिमा, अमेरिकामा रिसर्च असोसिएट र नेपाल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रमुख मर्चेन्ट बैंकिङ्गमा प्रमुख मर्चेन्ट बैंकिङ्ग भएर काम गरेको अनुभव छ । यस्तै, नायव महा-प्रबन्धकमा कमल प्रसाद नेपाल कार्यरत छन् । योजना व्यवस्थापकको रेटिङ्ग योजना व्यवस्थापकलाई इक्रा नेपाल लिमिटेडले इक्रा एनपी एएमसी क्वालिटी २ प्रदान गेको छ । जसले व्यवस्थापनमा क्षमतामा उच्चतम प्रतिवद्धता रहेको जनाउँछ । कोष सुपरिवेक्षक म्युचुअल फण्डको कोष सुपरिवेक्षकमा अशोक राज पाण्डे, डा. विपिनचन्द्र अधिकारी, कृष्ण ज्ञवाली, नन्द किशोर शर्मा र ऋषिकेश वाग्ले रहेका छन् ।
साल्ट ट्रेडिङले १० कित्ता सेयर भएका लगानीकर्तालाई बनायो लखपति
काठमाडौं । तत्कालीन समयमा नेपालमा नूनको व्यवथापन र बिक्री वितरणमा सहजता कायम गर्नका लागि वि.स. २०२० साल भाद्र २७ गते स्थापना भएको कम्पनी हो साल्ट ट्रेडिङ्ग कर्पोरेशन । नेपालमा नूनको स्रोत नभएको कारण सो समयमा यातायातको समस्याका कारण जनतालाई नून पुर्याउन ठूलो चुनौति थियो । नूनको आपूर्ति व्यवस्थालाई व्यवस्थित र नियमित गर्न तत्कालीन श्री ५ को सरकारले मुख्य व्यापारीहरूलाई समावेश गरी नूनको कारोबार गर्न साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड स्थापना गरेको हो । कम्पनीले आफ्नै लगानीमा गोरखकाली रबर उद्योग, नेपालकै प्रथम खाद्य उद्योग, नेपाल वनस्पति ध्यू उद्योग लगायत हिमालय खाद्य एवं प्याकिङ उद्योग, नेशनल फाईनान्स, सगरमाथा इन्स्योरेन्स जस्ता संस्थाहरू स्थापना गरेर देशलाई औद्योगिकरण तथा ब्यापार व्यवसायमा आफ्नो पकड बनाएको थियो । तर, विभिन्न कारणले केही संस्थाहरु हाल संचालनमा छैनन् । हाल कम्पनीले देशका जनतालाई ९३ कार्यालय (२२ कार्यालय र ७१ सम्पर्क कार्यालय) मार्फत सेवा उपलब्ध गराइ रहेको छ । ५९ अघि स्थापना भएको कम्पनी नेपालको सबैभन्दा ठूलो व्यापारिक संस्था हो । कम्पनीमा सर्वसाधारणको लगानी २१ प्रतिशत र सरकारको ७९ प्रतिशत लगानी रहेको छ । औधोगिक क्षेत्रमा आफ्नो छुट्टै छाप रहेको सो कम्पनी सन् २००७ साल जुलाई २६ तारिखमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । कम्पनीको चुक्ता पूँजी २३ करोड ४ लाख ४२ हजार रुपैयाँ रहेको छ । नेप्सेमा कम्पनीको २५ लाख ३५ हजार ३१२ कित्ता सेयर छन् । बुधबारको कारोबार अनुसार कम्पनीको बजार पूँजीकरण १० अर्ब ४६ करोड ५७ लाख ६७ हजार रुपैयाँ छ । जनतालाई नूनको सेवा दिइरहेको भएपनि नेप्सेमा कम्पनीलाई ‘हट केक’ सेयरका रुपमा लिइन्छ । यस कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै भएको कम्पनीका रुपमा चिनिन्छ । सेयरधनीहरुलाई मनग्य प्रतिफल दिइरहको कम्पनीको सेयर मूल्य बुधबारसम्म ४ हजार १२८ रुपैयाँ रहेको छ । उसो त यस कम्पनीको सेयरमूल्य केही वर्ष अघि १४ हजारसम्म पनि पुगेको थियो । कम्पनीको सेयरमा एक हजार रुपैयाँ लगानी गरेर १० कित्ता भएका सेयरधनीलाई ११ वर्षमा लखपति बनाएको छ । यदि कम्पनीमा आर्थिक वर्ष २०६७/२०६८ मा एक हजार रुपैयाँ लगानी गरेर १० कित्ता सेयर थियो भने आर्थिक वर्ष २०७७/२०७८ सम्म सेयरधनीले ३ लाख रुपैयाँ प्रतिफल प्राप्त गरेको छ । यद्यपि आर्थिक वर्ष २०६७/२०६८ मा कम्पनीको सेयर मूल्य धेरै भएकाले एक हजार रुपैयाँमा १० कित्ता पाउन मुस्किल थियो । २०६८ मा यस कम्पनीको सेयर मूल्य साढे २ सयको हाराहारीमा थियो । त्यसपछि कम्पनीले निरन्तर बोनस सेयर र नगद लाभांश दिँदै आएको छ ।११ वर्षको लाभांशलाई मात्रै हिसाव गर्दा एक हजार रुपैयाँ लगानी गर्ने सेयरधनीको १० कित्ताले बोनस र नगद लाभांशबाट ३ लाख रुपैयाँ प्रतिफल प्राप्त गरेका छन् । कम्पनीले प्रत्येक वर्ष नगद लाभांश पनि वितरण गर्दै आएको छ । तर, यस तथ्याङ्कमा नगद लाभांश समावेश गरिएको छैन । नगद लाभांश पनि जोड्ने हो भने १० कित्ते सेयरधनीले ११ वर्षमा ३ लाख रुपैयाँ बराबर पाएका हुन् । कम्पनीले ११ वर्षको अवधिमाम न्यूनतम १० प्रतिशतदेखि ४५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट १० बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद गरी कूल १०.५० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक बर्ष २०७६/७७ मा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले आर्थिक बर्ष २०७३/७४ मा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल ३५ प्रतिशत, आर्थिक बर्ष २०७२/७३ मा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, कम्पनीले आर्थिक बर्ष २०७१/७२ मा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत, आर्थिक बर्ष २०७०/७१ मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल २० प्रतिशत र आर्थिक बर्ष २०६९/७० मा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले आर्थिक बर्ष २०६८/६९ मा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत र आर्थिक बर्ष २०६७/६८ मा ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १० प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
लगानी बोर्डले स्थापना गर्ने परियोजना बैंकको मार्गदर्शन तयार, प्रधानमन्त्रीलाई बुझायो कार्यसम्पादनको प्रतिवेदन
काठमाडौं । लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले प्रधानमन्त्री शेरबहादुर देउवालाई बाेर्डकाे प्रतिवेदन बुझाएका छन् । बुधबार प्रधानमन्त्री देउवालाई भेटेर भट्टले बाेर्डकाे प्रतिवेदन पेश गरेका बुझाएका हुन् । प्रधानमन्त्री देउवा र भट्टबीच साउन ३२ मा आ.व.२०७८/७९ को लागि ४२ वटा क्रियाकलापमा समयसारिणी सहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार भएको थियो । लगानी बोर्डका चार प्रमुख रणनीतिक खम्बाहरु परियोजना विकास र व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास र समन्वय सहकार्य र साझेदारीमा केन्द्रीत रही भएको करार, बमोजिम सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण समेटिएको उक्त प्रतिवेदनमा तोकिए अनुसारका सम्पूर्ण सूचकहरु पूरा भई शतप्रतिशत कार्यसम्पन्न भएकाे भट्टले बताए । उक्त आर्थिक वर्षमा एक खर्ब २२ अर्बभन्दा बढी लगानी स्वीकृत भएको व्यवसायिक योजना , सहितको पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी लागू गरिएको लगानी बोर्डको परियोजना बैंक, सम्बन्धी मार्गदर्शन तयार भएको र परियोजनाको अनुगमन सम्बन्धी ड्यासबोर्ड समेत तयार भएको उनले जानकारी दिए । त्यस्तै, पश्चिम सेती तथा सेती नदी संयुक्त जलविद्युत परियोजनाको विकास ढाँचा सम्बन्धी अध्ययन कार्य सम्पन्न भएको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थप सम्बन्धी अध्ययन कार्य सम्पन्न भएको र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न उपलब्ध प्रविधिहरुको तुलनात्मक विश्लेषण सम्बन्धी अध्ययन प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।
रियलमीको नार्जो ५० ए प्राइम बजारमा
काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको नार्जो ५० ए प्राइम बजारमा ल्याएको छ । अल्ट्रा–स्लिक डिजाइन, शक्तिशाली प्रोसेसर, ५ हजार एमएएच पावरको ब्याट्री र एआई–सक्षम क्यामेरा यसमा समावेश छ । रियलमी नेपालका हेड मुनिष गिरीका अनुसार यसमा ६.६ इन्चको एफएचडी डिस्प्ले र ५० एमपी क्यामेरा छ । यो ८.१ एमएमको अल्ट्रा स्लिम स्मार्टफोन हो, जसको तौल १९२.५ ग्राम रहेको छ । ५० एमपी प्राइमरी क्यामेराका अलवा सुपर क्लोज फोकस भएको म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजर सहितको बीएण्ड डब्लू लेन्स यसमा समावेश छ । यस स्मार्टफाेनमा सेल्फीका लागि अगाडि ८ एमपी एचडीआर क्यामेराछ । नार्जो ५० ए प्राइम शक्तिशाली युनिसोक टी ६१२ द्वारा संचालित छ, जुन स्मार्टफोन सेगमेन्टको उत्कृष्ट प्रोसेसर हो । यो एक अक्टा–कोर १२ एनएम प्रोसेसर हो, जसले २ गिगाहर्जसम्मको पावर र कोर्टेक्स ए ७५ संरचना समर्थन गर्दछ । २१ हजार ७९९ रुपैयाँ मूल्य रहेको रियलमी नार्जो ५० ए प्राइम फ्ल्यास ब्लू कलरमा उपलब्ध छ । ४ प्लस १२८ जीबी भेरियन्टमा साउन २३ गतेबाट बजारमा आएको हाे ।
सिद्धार्थ क्यापिटलको दुई म्युचुअल फण्डको लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ क्यापिटलको दुई म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले संचालन गरिरहेको सिद्धार्थ ईक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश घोषणा गरेको हो । बुधबार बसेको बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशत अर्थात साढे १३ करोड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२का इकाईधनीहरुलाई १० प्रतिशत अर्थात १२ करोड लाभांश दिने घोषणा गरेको छ । यस्तै, बैंठकले सिद्धार्थ व्यवस्थित लगानी योजनाको भने २०७८/७९ का लागि प्रतिफल घोषणा नगर्ने निर्णय गरेको छ ।