विकासन्युज

भेञ्चर क्यापिटल लगायत विभिन्न कोषको व्यवस्थापन गर्न ग्लोबल इक्विटी फण्डले पायो अनुमति

काठमाडौं । ग्लोबल इक्विटी फण्डले विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम उक्त फण्डलाई कोष व्यवस्थापकको अनुमति दिएको हो । सो व्यवस्था बमोजिम ग्लोबल इक्विटी फण्डको योग्यता पुगेकोले बोर्डले यसलाई अनुमति दिएको हो । उक्त फण्डलाई अनुमतिपत्र प्रदान गर्दै बोर्डका अध्यक्ष रमेशकुमार हमालले कम्पनीका सम्वद्धपक्षलाई व्यवसायिक र सुशासित रुपमा काम शुरु गर्न निर्देशन दिएका छन् । यससँगै विभिन्न कोषको व्यवस्थापकको अनुमति पाउने यो पहिलो फण्ड हो । अनुमति पाएसँगै यसलाई भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज फण्ड विभिन्न कोषको व्यवस्थापन गर्नको लागि बाटो खुलेको छ । त्यस्तै, सोको अनुमति माग्दै हाल १६ वटा फण्डहरु पाइपलाइनमा छन्, जसको अध्ययन भइरहेको बोर्डका प्रवक्ता रुपेश केशीले बताए । बोर्डबाट अनुमति पाएसँगै फण्डलाई विशिष्टीकृत कोष व्यवस्थापकको कार्य संचालन गर्ने बाटो खुलेको छ । बोर्डले नवीनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न उक्त अनुमति दिएको हो । यसबाट नयाँ व्यवसायहरु शुरुवात गर्न, स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज भण्ड जस्ता उपकरणमार्फत् लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने बोर्डको विश्वास छ ।यसबाट बजारको थप विकास तथा विस्तार हुने बोर्डको अपेक्षा छ।

अब सेयर कारोबार १५ दिन मात्रै रोक्का हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर कारोबार १५ दिनमात्रै रोक्का गर्नु पर्ने निर्देशिकाकाे मस्याैदा तयार गरेको छ । धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीहरुको सेयर कारोबार निर्देशिका १०७९ को ड्राफ्ट तयार गर्दै अब  कम्पनीकाे मर्जर सम्झाैता भएपछि मात्रै अधिकतम् १५ दिन मात्रै सेयर काराेबार राेक्का हुने व्यवस्था गर्न लागेकाे हाे । ‘एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ,’ निर्देशिकाको मस्यौदामा भनिएको छ ।’ तर, प्रारम्भिक समझदारी भए पश्चात धितोपत्र बजारले गाभ्ने/गाभिने वा लक्षित संगठित संस्थाका आधारभूत सेयरधनीको कारोबार मर्जर सम्झाैता भएपछि भने राेक्का हुनेछ । यस्तै, बोर्डबाट गाभ्ने/गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारी सहित एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्ने व्यवस्था बोर्डले गरेको छ । यस्तै, मर्जरपछि प्राप्ति गर्ने कम्पनीको नाम परिवर्तन नभएमा सेयर कारोबार रोक्का नहुने व्यवस्था बोर्डले गरेको छ । ६ महिनाभित्र एकिकृत कारोबार गर्नु पर्ने नेपाल धितोपत्र बोर्डले अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीले ६ महिनाभित्र एकिकृत कारोबार गर्नु पर्ने व्यवस्था गरेको छ । ‘संगठित सस्थाको गाभ्नेरगाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको छ महिनाभित्र सम्पन्न गरि सक्नुपर्नेछ,’ मस्यौदामा लेखिएको छ । लगानीकर्ताको सल्लाह सुझावपछि यसले अन्तिम रुप लिनेछ । बोर्डले सुझावको समय सात दिन तोकेको छ । सूचना चुहाउन नपाइने मर्जर तथा एक्विजिशनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने भएका छन् । ‘गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी जानकारी राख्ने संगठित संस्थाका संचालक, कर्मचारी, तथा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गर्न पाइनेछैन,’ उक्त मस्यौदामा भनिएको छ । साथै, यो सम्बन्धमा कुनै पनि सूचना सार्वजनिक नगर्ने सम्बन्धमा संगठित संस्थाका संचालक, कर्मचारी तथा अन्य सम्बन्धित पक्षले संगठित संस्थाको कम्पनी सचिवसमक्ष लिखित प्रतिवद्धता पेश गर्नु पर्ने समेत बोर्डले जनाएको छ । लगानीकर्ताको सल्लाह सुझावपछि यसले अन्तिम रुप लिनेछ । बोर्डले सुझावको समय सात दिन तोकेको छ । सम्बन्धित सामाग्री सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिकाको ‘ड्राफ्ट’ तयार, लगानीकर्ताका सझावपछि मात्रै लागू गर्ने

आईएमई लाइफ इन्स्योरेन्सले सातवटै प्रदेशमा गर्यो स्वास्थ्य शिविर

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा मंगलबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको अनुसार उक्त स्वास्थ्य शिविरमा १३ सय २ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौ वर्ष पुरा भएको अवसरमा सामाजिक उत्तरदायित्व अनुरुप सातवटा प्रदेशका विभिन्न आठ स्थानमा स्वास्थ्य शिविर कार्यक्रम गरेका बताए  । कम्पनीले सुनसरी चक्रघट्टिमा आँखा शिविर, बाराको कलैयामा दन्त शिविर, चितवनको नारायणघाटमा पाठेघरको मुखको क्यान्सर शिविर, मजुङको सोतिपसलमा जनरल स्वास्थ्य जाँच शिविर, गुल्मी र बाँकेको राप्ती सोनारीमा आँखा शिविर, सुर्खेतको गुमीमा महिला स्वास्थ्य शिविर र कैलालीस्थित टिकापुर नारायणपुरमा पनि जनरल स्वास्थ्य जाँच शिविर संचालन गरेको थियो ।  यस अघि कम्पनीले गत शुक्रवार मुलुकभर गरेको रक्तदान कार्यक्रममा ५७१ जनाले रक्तदान गरेका थिए । त्यस्तै शनिबार गरिएको अभिकर्ता तालिममा सहभागी ७४८ जनालाई तालिम दिई प्रमाणपत्र पनि वितरण गरिएको थियो । २०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

हरियालीसहितको अपाङ्गमैत्री फुटपाथ निर्माण गर्दै प्राधिकरण, पालिकाले प्रस्ताव पेश गर्नु पर्ने

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यका भित्र हरियाली सहितको अपाङ्गमैत्री फुटपाथ निर्माण गर्ने भएको छ । प्राधिकरणले उपत्यका भित्रका पालिकाहरूसँग साझेदारी गरेर सो फुटपाथका निर्माण गर्ने भएको हो । उपत्यकका ३ शहर काठमाडौं, भक्तपुर र ललितपुर भित्रका पालिकामा हरियाली सहितको अपाङ्गमैत्री फुटपाथ निर्माण गर्ने योजना रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रवक्ता नारायण प्रसाद भण्डारी बताए । प्राधिकरणले सो योजना चालु आर्थिक वर्ष २०७९/८० मा समावेश गरेको छ । प्रवक्ता भण्डारीका अनुसार यही वर्षभित्र फुटपाथ निर्माणको काम सुरु भई सम्पन्न हुनेछ । उपत्यका भित्रका विभिन्न सडकमा हरियाली सहितको फरक क्षमता मैत्री फुटपाथ निर्माण हुनेछन् । सबैको लागि हिँड्न उपयुक्त हुने गरी फुटपाथ निर्माण गर्ने लक्ष्य लिएको पनि भण्डारीले बताए । उक्त फुटपाथ निर्माण गर्नको लागि प्राधिकरणले १४ करोड रुपैयाँ विनियोजन गरेको छ । उनका अनुसार अपाङ्गमैत्री फुटपाथका निर्माण गर्नको लागि प्राधिकरणले काठमाडौंमा ६ करोड, भक्तपुरमा ३ करोड र ललितपुर जिल्लामा ५ करोड रुपैयाँ गरी कुल १४ करोड रुपैयाँ विनियोजन गरेको छ । सो फुटपाथ उपत्यका पालिकाहरूसँग प्राधिकरणले साझेदारी गरेर निर्माण गर्ने पनि भण्डारीले बताए । केही दिनअघि मात्र प्राधिकरणले फुटपाथ बनाउन इच्छुक पालिकाहरूलाई प्रस्तावको आव्हान गरेको थियो । जसमध्ये केही पालिकाले प्राधिकरणलाई प्रस्ताव पेश गरेको पनि भण्डारीले बताए । अपेक्षा अनुसारको प्रस्ताव चाहिँ पेश भएको छैन । भण्डारीका अनुसार सोही किसिमका फुटपाथ निर्माण गर्न इच्छुक पालिकाले साउन अन्तिमसम्म प्रस्ताव पेश गर्न सक्ने छन् । प्रस्ताव पेश भएका पालिका भित्र सम्पुर्ण अध्ययन तथा डिपिआर तयार गरी फुटपाथ निर्माणको कार्य अगाडि बढाइने प्राधिकरणले जानकारी दिएको छ । पालिकाको आवश्यकता हेरेर फुटपाथको निर्माण हुने पनि भण्डारीले बताए । कुन ठाउँमा कति किलोमिटर फुटपाथको निर्माण हुन्छ भनेर यकिन छैन । ‘गाडी चढेर हिँड्नेले इन्धनको खपत गर्छ, पैदल हिँड्ने मान्छेले स्वास्थ्य राम्रो बनाउँछ, त्यसैले हिँड्ने मान्छेलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेर हरियाली सहितको अपाङ्गमैत्री फुटपाथ निर्माण गर्ने योजना बनाएका हौं,’ उनले भने । प्राधिकरणले यसको सम्पूर्ण अध्ययन गरेर मात्र फुटपाथ निर्माण गर्ने योजना बनाएको छ । सर्वसाधारणको लागि हिँड्ने उपयुक्त ठाउँ फुटपाथ बनाउने सोचका साथ सो योजना समावेश गरेको पनि भण्डारीले बताए । ‘फुटपाथ शहरका हरेक ठाउँमा निर्माण भएको छन्, तर व्यवस्थित फुटपाथ भने कतै छैन, फुटपाथमा हिँड्दा पनि सर्वसाधारण सास्ती भइहरेको छ, नगरपालिका भित्रका अव्यवस्थित फुटपाथलाई प्राथमिकता दिएर काम गर्न लागेका हौं,’ उनले भने । प्राधिकरणका अनुसार पालिकाको अति आवश्यक ठाउँमा मात्र फुटपाथको निर्माण हुनेछ । यो योजना प्राधिकरणले छिटै अगाडि बढाउने तयारीमा छ ।

नयाँ सहर योजना मन्त्रिपरिषद्मा पुग्यो

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार रोपनी क्षेत्रफलमा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव तयार पारी सहरी विकास मन्त्रालयले मन्त्रिपरिषद् लगेको हो । स्थानीय तह निर्वाचनअघि नै मन्त्रिपरिषद् पुगेको प्रस्तावका विषयमा अर्थ मन्त्रालयको राय लिने काम भइरहेको पूर्वी सहरी आयोजना प्रमुख दीपक श्रेष्ठले जानकारी दिए । शङ्खरापुर नगरपालिका– ९, कागेश्वरी मनोहरा नगरपालिकाका–१, २, ३ र ४ गोकर्णेश्वर नगरसपालिकाका–१, २ र ४ गरी आठ वटा वडाका खाली जग्गामा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ नमूना सहर बनाउने योजना तीन वटै नगरपालिकाले पारित गरी संयुक्त संयन्त्र निर्माण गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा नयाँ सहर निर्माणको काम भइरहेको छ । यस क्षेत्रको २३ हजार रोपनी क्षेत्रफल जग्गामध्ये बस्ती एवं जङ्गल क्षेत्र छोडेर १६ हजार रोपनी क्षेत्रफलमा नयाँ सहर निर्माण गर्न लागिएको हो । जग्गा एकीकरणका माध्यमबाट सबै घडेरीमा सडक, बत्ती, ढल, इन्टरनेटलगायत पूर्वाधार लैजाने योजना आयोजनाको छ । आयोजनाको अवधारणा प्रस्तुति लगत्तै शङ्खरापुर नगरपालिका–९ का स्थानीयवासीले कृषियोग्य जमिन मासिने भन्दै विरोध जनाएका थिए । जग्गा एकीकरण गर्दा जग्गा धनीको करिब ४५ प्रतिशत जग्गा जाने भएकाले पनि कतिपय स्थानीयवासीले पारदर्शी नभएको भन्दै विरोध जनाएका थिए । तीनै वटा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडा अध्यक्षलगायत सरोकार भएका समितिको सदस्यका रुपमा रहेको आयोजनाले जनाएको छ । आयोजनाकोबीच भाग भएर बग्ने वाग्मती नदीको हाइड्रोलोजी अध्ययन पनि भइरहेको छ । दसैँअघिसम्म अध्ययन प्रतिवेदन पनि सार्वजनिक हुने आयोजना प्रमुख श्रेष्ठले बताए । आयोजनाको काम विसं २०७४ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले सुरु गरेका थिए । प्रस्ताव गरेको तीन वर्षसम्म आयोजनाले मूर्तरुप नलिएपछि खाली जग्गा भरिने, जग्गा खण्डीकरण भई अव्यवस्थित सहर निर्माण हुने भन्दै छिटो काम हुनुपर्ने माग स्थानीयवासीले राख्दै आएका छन् । रासस

जापानमा एकै दिन साढे २ लाख सङ्क्रमित थपिए, दुई सय ५१ को मृत्यु

टोकियो । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा यो सङ्क्रमण देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन् । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् । अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए । सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो । यहाँ कारोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ थप दू्रत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरुका तुलनामा यो उपप्रजाति दू्रत गतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीहरुले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ । जापानका ४७ मध्येका २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमितहरु भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ ।

क्यानडामा मङ्कीपक्सका बिरामीको सङ्ख्या हजारभन्दा बढी पुग्यो

ओटावा । क्यानडामा मङ्कीपक्सका बिरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका बिरामी भएका हुन् । ती मध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ । ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मङ्कीपक्स पुष्टि भएको छ । त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिक कोलम्बीयामा ८५ जना र अल्बेर्तामा १६ जना मङ्कीपक्सबाट बिरामी भएका छन् । मङ्कीपक्सका विरामीहरु दैनिक रुपमा बढ्दै गएकाले प्रदेश अनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ । रासस

यस्तो छ सेनाले जिम्मा लिएको गौरव र प्राथमिकता प्राप्त सडक आयोजनाको प्रगति

काठमाडौं । भौगोलिक जटिलता भएका राष्ट्रिय गौरवसहितका प्राथमिकता प्राप्त सडक आयोजना निर्माणमा नेपाली सेनाले जिम्मेवारी प्राप्त गरी कार्य अघि बढाएको छ । सरकारको विभिन्न समयमा भएको निर्णयबाट नेपाली सेनाको उच्च कार्यसम्पादन क्षमतालाई मध्यनजर गर्दै उक्त जिम्मेवारी सेनाले प्राप्त गरेको हो । नेपालको संविधान २०७२ को धारा २६७ मा नेपाली सेनालाई राष्ट्रिय सुरक्षाका साथै विकास निर्माण र विपद् व्यवस्थापनलगायतका कार्यमा लगाउन सकिने उल्लेख छ । त्यही धारामा टेकेर राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापनका साथै सेनाले ती जिम्मेवारी पाएको हो । सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना, कर्णाली करिडोर, महाकाली करिडोर, कोसी करिडोरका विभिन्न खण्डमा जिम्मेवारी प्राप्त गरेको छ । ती आयोजनाको निर्माण धमाधम चलिरहेको छ । सबै आयोजना प्राथमिकता प्राप्त रहेकाले पनि चाँडो सक्नुपर्ने दबाब कायमै छ । तीमध्ये राष्ट्रिय गौरवको आयोजना द्रुतमार्ग अति महत्वपूर्ण आयोजना हो । यसले तराईलाई राजधानीसँग सिधा सम्पर्क गराउँछ । तर त्यही आयोजनामा आशातित प्रगति हुन सकिरहेको छैन । खोकनाको जग्गा प्राप्तिमा देखिएको समस्याले खरिद प्रक्रिया नै अवरुद्ध हुन पुगेको रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले बताएका छन् । अन्य आयोजनामा पनि समस्या र चुनौती देखिँदै आएको छ । यी यावत कारणले ती आयोजना सम्पन्न गर्न चुनौतीसँग थप समय र खर्च लाग्ने देखिएको छ । रक्षा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि द्रतमार्ग निर्माणका सवालमा बढी चासो व्यक्त गरेका थिए । सेनाको उच्च कार्यसम्पादन क्षमतालाई मध्यनजर गरी राष्ट्रिय गौरवको योजना निर्माणको जिम्मासमेत सेनालाई दिइएको उल्लेख गर्दै उनले तराईलाई राजधानीसँग छोटो दूरीबाट जोड्ने द्रुतमार्ग निर्माणलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकतातर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका थिए । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल दु्रतमार्गलगायतका आयोजना छिटो सम्पन्न गर्दा मुलुकलाई ठूलो आर्थिक लाभ हुने बताए । रक्षा सचिव किरणराज शर्माका अनुसार मन्त्रालय र मातहतको एकीकृतरूपमा विष्लेषण गर्दा आर्थिक वर्ष २०७८/७९ मा पूँजीगततर्फ ६१.९७ र भौतिक प्रगति ६५.०५ प्रतिशत हासिल भएको छ । कतिपय कार्यक्रम प्रगति उत्साहजनक भए पनि सुरक्षा प्रणाली तथा उपकरण प्राप्ति, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको पूर्वाधार निर्माण एवं बङ्करदेखि व्यारेकसम्म कार्यक्रममा अपेक्षित उपलब्धि कम हुँदा समग्रमा प्रगति कम देखिएको उनको दाबी छ । कार्यक्रम कार्यान्वयनका सन्दर्भमा काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनको खोकना इलाकाको जग्गा प्राप्तिसम्बन्धी विवाद पेचिलो बन्दा प्रभावित भएको छ । यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण कार्यक्रम बहुवर्षीय आयोजनाका रूपमा स्वीकृत हुन सकेन । विदेशी मुद्राको सञ्चितिमा परेको चापका कारण हतियार एवं उपकरणका लागि विनियोजित रकम खर्च हुन नसकेकाले अपेक्षित प्रगति हासिल नभएको रक्षा मन्त्रालयले जनाएको छ । बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाहरू समयमै निर्माण सम्पन्न गर्ने कोसिस भने जारी रहेको बताएका छन् । विभिन्न क्षेत्रमा पहुँच मार्गको अभाव, चिसो, जोखिम क्षेत्र, भौगोलिक वातावरणलगायतका कारणले कतिपय आयोजनामा समस्या हुने गरेको उनले सुनाए । प्रधानसेनापति शर्माले हुम्ला जाने कर्णाली करिडोरमा चट्टान रहेकाले थप चुनौती थपिँदा निर्माण ढिला हुने आशङ्का व्यक्त गरे । सेनाले जिम्मा लिएका प्राथमिकता प्राप्त आयोजनाको प्रगति सकारात्मक रहेको जनाइएको छ । काठमाडौं–तराई/मधेु द्रुतमार्ग सडक आयोजना खोकनाको जग्गा प्राप्ति विवादले प्रभावित भइरहेको काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाको भौतिक प्रगति जम्मा २१.१८ प्रतिशत र वित्तीय प्रगति १९.५८ प्रतिशत छ । विभिन्न ११ प्याककेजमा काम भइरहेकाले प्याकेज अनुसारको प्रगति फरक–फरक रहेको र सोहीअनुसार काम जारी छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन २०७६ भदौ १ मा स्वीकृत भएर काम अघि बढाइएको थियो । उक्त आयोजनाका लम्बाइ ७२.५ किलोमिटरको छ । तीनवटा (महादेवडाँडा, धेद्रे र लेनडाँडा)मा गरी ६.४१ किलोमटिरको सुरुङमार्ग रहेको छ । कुल ८७ पुल निर्माण गर्नुपर्ने हुन्छ । आयोजनको कुल लागत एक खर्ब ७५ अर्ब १९ करोड ३५ लाख रहेको छ । चालु आवमा भने त्यसका लागि ३० अर्ब बजेट छुट्टिएको छ । यसको प्रस्थानविन्दु ललितपुरको खोकना र अन्तिम विन्दु बाराको निजगढ हो । कुल पाँच हजार एक सय ७२ रोपनी जग्गाको मुआब्जा वितरण गर्नुपर्नेमा चार हजार सात सय ४५ रोपनीको मुआब्जा वितरण भएको छ । उक्त आयोजना विभिन्न ११ प्याकेजमा विभाजन गरी निर्माणकार्य जारी रहेको छ । प्याकेज–१ र २ मा पर्ने सुरुङमार्गको ड्रइङ डिजाइन स्वीकृत भई निर्माणकार्य थालिएको छ । अन्य प्याकेजका पनि आवश्यक तयारीका काम सकेर कार्य प्रक्रिया अघि बढाइएको छ । तर प्याकेज ११ मा परेको खोकना इलाकामा रहेको जग्गा प्राप्तिसम्बन्धी विवादका कारण ठेक्का व्यवस्थापन कार्य नै हुनसकेको छैन । कर्णाली करिडोर मन्त्रिपरिषद्को २०७८ असोज ५ को निर्णयानुसार नेपाली सेनालाई उक्त करिडोरको लालीबगरबाट दुल्लीकुना (सात किमी) र घाटपारी चौर बद्रीगाउँबाट भुक्काखोलासम्मको कर्णाली किनारको १३ किलोमिटर ट्रयाक खोल्ने जिम्मेवारी छ । यस्तै मन्त्रिपरिषद्को २०७८ फागुन १६ को निर्णयसमेत गरेर कुल २२ किलोमिटर निर्माणको जिम्मेवारी सेनाको छ । जसअन्तर्गत सेनालाई आव २०७८/७९ मा प्राप्त जिम्मेवारीमा वित्तीय प्रगति ८९.७२ र भौतिक प्रगति १०० प्रतिशत पूरा भएको जनाइएको छ । कोसी कोरिडोर उक्त करिडोरअन्तर्गत खाँदबारी–किमाथाङ्का खण्डको १०.५१ किलोमिटर निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । सेनाले विसं २०७७ माघ २४ गतेबाट निर्माण सुरु गरेको उक्त आयोजनाको गत आर्थिक वर्षमा तीन किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी थियो । जसअनुसार वित्तीय प्रगति ८५.३५ र भौतिक प्रगति १०० प्रतिशत भएको छ । उक्त क्षेत्रको बरुणखोलामा बाढीले कल्भर्ट बगाएकाले सामान ढुवानीमा कठिनाइ भइरहेको जनाइएको छ । बेनीघाट आरुघाट लार्के भञ्याङ सडक विसं २०७३ को मन्त्रिपरिषद् निर्णयले त्यहाँको ९२ किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो । आव २०७८/७९ सम्म तीनवटा क्याम्प निर्माण तथा ३२.५ किलोमिटर ट्रयाक निर्माण सकिएको छ । त्यसमध्ये १८ किलोमिटर सडक विभागलाई हस्तान्तरणसमेत भइसकेको छ । चालु आवका लागि वित्तीय प्रगति ८७.३९ र भौतिक प्रगति १०० प्रतिशत रहेको छ । मनास्लु क्षेत्रको वातारवणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन प्राप्त नहुँदा काममा केही समस्स्य देखिएको जनाइएको छ । महाकाली करिडोर उक्त करिडोरको ७९ किलोमिटर सडक निर्माणको जिम्मा सेनाले प्राप्त गरेको छ । मन्त्रिपरिषद्को २०७७ वैशाख १४ को निर्णयले कोठेधार–टिङ्कर खण्ड ७५ किमी र २०७८ माघ १७ को निर्णयले तुषारपानीबाट कोठेधार खण्डको चार किमी सडक निर्माणको जिम्मा पाएको थियो । प्राप्त विवरणमा दार्चुला–टिङ्कर सडकको वित्तीय प्रगति ९१.५४ र भौतिक प्रगति ९९ प्रतिशत रहेको छ । उक्त क्षेत्रमा सडक निर्माणका लागि बम विस्फोट गराउनुपर्ने र त्यसरी विस्फोट गराउँदा टुक्राहरू भारतीय क्षेत्रमा जाने हुँदा समन्वय गरी काम गर्नुपर्ने आवश्यकता सेनाले औँल्याएको छ । यस्तै पहिरो जाने क्षेत्र परेकाले सडक विभागको क्षेत्रमा पर्ने ठाउँको आवश्यक व्यवस्थापन गरी आयोजना निर्माणको काममा समस्या नआउने अवस्था सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । रासस