विकासन्युज

रिचेत जलविद्युत कम्पनी आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । रिचेत जलविद्युत कम्पनीले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने भएको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३ कित्ता सार्वजनिक गर्ने भएको हो । कम्पनीले यसको लागि सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । उक्त सम्झौतापत्रमा रिचेत जलविद्युत कम्पनीका अध्यक्ष अर्जुन प्रसाद पौडेल, कम्पनी सचिव शिशिर खनाल तथा एनआईबिएल एस क्यापिटलका नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र  मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् । २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत कम्पनीको प्रमुख कार्यालय ललितपुरको महालक्ष्मीस्थानमा रहेको छ ।

मनोहरा खोलाको बाढीले ७५ लाख बराबरको क्षति

काठमाडौं । काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा मंगलबार रातिलआएको बाढीले ७५ लाख बराबरको क्षति भएको छ । बाढीले सुकुम्वासी बस्ती, खोला आसपासका अन्यबस्ती, काँडाघारी प्रहरी प्रभाग, दिव्यश्वरी जग्गा एकीकरण आयोजनाभित्रका विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ । सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले बाढीपीडित बस्तीको अवलोकन गरी पीडितको समस्याको तत्काल सम्बोधन गर्न सरकारसंग माग गरे । यसैगरी मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठ सहितको टोलीले दिव्यश्वरी जग्गा एकीकरण आयोजना, मनोहरा सुकुम्वासी बस्तीलगायतको बाढीपीडित क्षेत्रमा अवलोकन गरी क्षतिको बारेमा जानकारी लिए। भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बाढीग्रस्त क्षेत्रको अवलोकन गरी क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरे । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बाढीले बङ्गुर, हाँस, कुखुरा लगायतका पशु चौपया बगाउँदा र खाद्यान्न डुबानमा रु ७५ लाख बराबरको क्षति पुगेको जानकारी दिए । यसबाहेक सुकुम्वारी बस्तीकै पाँच घर भत्किएको, दिव्यश्वरीको एक घर बगाएको, काँडाघारी प्रहरी प्रभागको मेस नै भत्किएको, दिव्यश्वरी आयोजनाका खोला किनाराको कालोपत्र सडकनै कतै बगाएको र कतै चिरिएर भासिएको उनले जानकारी दिए । खोला किनारामा रहेको काठमाडौँ तर्फ पाँच घर बगाएको छ । बस्तीमा पानी पसेपछि नेपाल रेडक्रस सोसाइटी भक्तपुरको विपद् व्यवस्थापन टोली रातिनै परिचालन भएर बाढीपीडित क्षेत्रमा राहत वितरण तथा उद्धारकार्य गरेको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिए । रेडक्रसकर्मी धर्मराज कार्कीको नेतृत्वमा रातिबाट नै स्वयंसेवक टोली परिचालन गरी खोज तथा उद्धारलगायतका काम गरेको, बुधबार दिउँसो क्षतिको विवरण सङ्कलन गरेको र आज राहत वितरण गर्ने कार्य अगाडि बढाएको सभापति थापाले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका कार्यालय प्रमुख उमा थापाले रेडक्रसले गरेको क्षति विवरण सङ्कलनमा सुकुम्वासी बस्तीमा पाँच , बस्ती भन्दामाथि ११ गरी १६ घर तथा हटरा भत्किएको, सुकुम्वासी बस्तीको ३०० घर टहरामा क्षति पुगेको, जस्ताले काटेर एकजना घाइते भएको र खानेपानीको अभाव रहेको बताइन् । उनले भनिन्, ‘सुकुम्वासी बस्तीमा बाढी पसेपछि हैंजाको सङ्क्रमणको जोखिम बढेको छ, त्यहाँ ट्युबवेलबाट निकालेको पानी परीक्षण गर्दा पिउनयोग्य छैन, पानी शुद्धिकरणका लागि यसअघि पनि रेडक्रसले सहयोग गरेको थियो, बाढी पसेपछि पानी झन खराब भएको छ, त्यसैले त्यहाँ हैजाको सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको छ ।’ सुकुम्वासी बस्तीभित्र टहरा र एक तले घर भएका करिब ३०० घरमा खाद्यान्न, लत्ताकपडा र सुत्ने ओछ्यानसमेत अभाव भएको जनाउँदै उनले रेडक्रसले आज खाद्यान्न, गैर खाद्यान्न सामग्री राहतस्वरुप वितरण गर्ने बताइन् । रासस

चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० नाघ्यो

चितवन । पछिल्ला दिन जिल्लामा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये छ अस्पतालमा छन् भने एक सय दुई होम आइसोलेशनमा छन् । सक्रिय सङ्क्रमितमध्य ९० भरतपुर महानगरपालिका, सात खैरहनी नगरपालिकाका छन् । यस्तै माडी नगरपालिकामा एक, रत्ननगर नगरपालिकामा दुई, राप्ती नगरपालिकामा एक, कालिका नगरपालिकामा एक जना सङ्क्रमित रहेको कार्यालयले जनाएको छ । इच्छाकामना गाउँपालिकामा छ जना सक्रिय सङ्क्रमित रहेका छन् । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार २२ गतेदेखि जिल्लामा सङ्क्रमण देखिएको हो । यही साउनमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार सय ५० पुगेको कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्लामा हालसम्म ३३ हजार आठ सय १४ मा कोरोना पुष्टि भएको छ । ती मध्ये ३३ हजार दुई सय ५६ निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले कोरोना फैलन सक्ने भएकाले यसबाट बच्नका लागि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने बताए । भीडभाडमा नजाने, नियमित साबुनपानीले हात धुने, मास्कको नियमित प्रयोग गर्ने, सामान्य रुघाखोकी र ज्वरो आएमा चिकित्सकसँग परामर्श लिनुपर्ने उनले सुझाव दिए । अहिले भरतपुर अस्पतालमा दैनिक आउने एक हजार पाँच सय बिरामीमध्ये पाँच सय मेडिसिन विभागका बिरामी रहने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । उनका अनुसार पाँच सयमध्ये दुई सय बिरामी ज्वरोको छन् । तीमध्ये ५० जनालाई कोरोनाको लक्ष्यण देखिएर परीक्षणका लागि पठाउने गरिएको उनले बताए । रुघाखोकी, ज्वरो, डेँगु, स्क्रफटाइफसका बिरामी अस्पताल आउन थालेका छन् । कतिपयलाई जापानिज इन्सेफ्लाइटिसको लक्षण देखिएपछि परीक्षणका लागि पठाइएको छ । रासस

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । बिहीबार सुनको मूल्य तोलाको ५ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९६ हजार १०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महांसघको अनुसार चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार २२५ रुपैयाँ कायम भएको छ ।

कैलालीका बाढीको जोखिममा रहेका साढे ४ हजार परिवारले राहत पाउने

कैलाली । विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका परिवारले राहत पाउने भएका छन् । टीकापुर र जानकीका चार हजार पाँच सय १९ परिवारलाई राहत उपलब्ध गराइने भएको छ । नेपाल रेडक्रस सोसाइटीका अनुसार टीकापुरका तीन हजार १२ परिवार र जानकीका एक हजार पाँच सय सात परिवारले नगद सहयोग पाउने भएका छन् । उनीहरुलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले वितरण गरिने भएको छ । मौसम पूर्वानुमानमा आधारित विपद् पूर्व सूचनाअनुसार बाढी आउने सूचना आएपछि जोखिममा रहेका समुदायले नगद सहयोग पाउनेछन् । बाढी आउनुपूर्व सुरक्षित स्थानमा सर्न, सुरक्षित स्थानमा आवश्यक दैनिक उपभोग्य सामान खरिदमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त सहयोग तीन चरणमा वितरण गरिनेछ । पहिलो चरणमा ६० प्रतिशत परिवार, दोस्रो चरणमा २० र तेस्रो चरणमा २० प्रतिशतलाई रकम दिइने नेपाल रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशीले जानकारी दिए । ‘मौसम विज्ञान विभागको बाढी आउने पूर्वसूचनापछि कर्णाली नदीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सर्नका लागि नगद रकम सहयोग गरिनेछ,’ उनी भन्छन्, ‘यसले जोखिममा रहेका परिवारलाई सुरक्षित हुन र अत्यावश्यक सामान खरिदमा सहयोग पुग्नेछ ।’ विगतमा बाढी पीडितलाई बाढीपछि राहतका लागि सामान दिइन्थ्यो । बाढीपछि उद्धार गरिने, राहतका सामग्री दिने अभ्यास छ । अब सामानभन्दा नगद दिएमा आवश्यक सामान आफैँ खरिद गर्न सहयोग होस् भनी सहायता गर्न थालिएको रेडक्रस कैलालीका कार्यक्रम संयोजक हेमराज उप्रेती बताउँछन् । उनले भने, ‘हामीले स्थानीयस्तरमै गएर, नदीको जोखिममा रहेका तटीय क्षेत्रको अनुगमन गरेर तथ्याङ्क तयार गरेका छौं ।’ टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले रेडक्रसले तथ्याङ्क सङ्कलन गर्दा नगरपालिकासँग समन्वय नगरेको गुनासो गरे । ‘पालिकासँग समन्वय गरेर तथ्याङ्क सङ्कलन गरेको भए सहज हुन्थ्यो,’ उनले भने, ‘अब सहायता दिँदा समुदायमा समुदायमा द्वन्द्व निम्तने डर रहन्छ । कसैले पाउने, कसैले नपाउने हुँदा पालिकामा गुनासो बढ्छ ।’ नगर प्रमुख रामलाल डगौरा थारुले ६० प्रतिशतलाई पहिलो चरणमा दिने ४० प्रतिशतले पछि पाउने भएमा समस्या हुनसक्ने बताए । ‘बरु रकम सहायता कम गरौँ, केही परिवारले पहिलो चरणमा पाउने, केहीले दोस्रो चरणमा दिएमा नागरिकलाई सम्झाउन गाह्रो हुन्छ,’ उनले भने । रेडक्रस कैलालीका सभापति उत्तम जोशीले विश्व खाद्य कार्यक्रमले धेरै अनुरोधपछि कैलालीलाई छनोट गरेको उल्लेख गर्दै बाढी आउनु पहिला दिँदाको प्रभाव र पछि दिँदा समुदायमा पर्ने प्रभावबारे अध्ययन गर्न पनि यसो गर्न थालिएको बताए । विश्व खाद्य कार्यक्रमका ऋतेश श्रेष्ठले बाढी आउनुपूर्वको सूचनालाई आधार मानेर कर्णाली नदीको जोखिममा रहेकालाई सहयोग गर्न थालिएको बताए । उनले भने, ‘नगद सहायता कार्यक्रम अन्य जिल्लामा पनि छ । देशभरिका २८ हजार परिवारले नगद सहायता पाउने भएका छन् ।’ रासस

कलेजमा पास हुने पनि हराए, फेल हुने पनि हराए

नेपालमा विद्यमान अवस्थामा रहेका उद्योग तथा व्यवसायहरुलाई हेर्दा विषयगत रुपमा धेरै प्रकारका जनशक्तिहरुको आवश्यकता रहेको देखिन्छ । उद्योगहरुको प्रकृतिअनुसार आ–आफ्नो विशेषता अनुसारको जनशक्तिको आवश्यकता हुने गर्दछ । कृषि क्षेत्र अहिले पनि परम्परागत रुपमा चलिरहेको छ । यो क्षेत्रमा काम गर्ने जनशक्ति साइन्स जानेको भयो भने राम्रो हुन्छ । कृषि क्षेत्रमा अहिले माटो नै नभएको ठाउँमा पनि धेरै उत्पादन गर्ने प्रविधि जडान गरेर काम गरिरहेको हामीले देखेका छौं । त्यसैले कृषक भनेको कुशल व्यवस्थापन र विज्ञानमा ज्ञान भएको व्यक्ति त भने झनै सफल हुन सक्छ । अहिले यहाँ हामीले कृषकले भन्दा विचौलियाले कृषि उपजको व्यवसायमा धेरै पैसा आर्जन गरिरहेको देखेका छौं । यो अवस्था सिर्जना हुनुमा कृषकको सम्बन्धित विषय वस्तुको ज्ञानमा कमी भएर नै हो । जसले बजार बुझ्छ, जसले बजारको भाउ बुझ्छ, बजारको पार्टीहरुसँग समन्वय गर्छ, आफ्नो सामानलाई प्याकेजिङ गर्छ, रिकलरिङ गर्छ, जे जस्तो चिज छ त्यसलाई राम्रो भाषामा लेख्छ र त्यसलाई खाउँ–खाउँ लाग्ने बनाउँछ, उसको सामान बिक्छ । यो विषय यहाँका सिधासाधा किसानहरुले गर्न सक्दैनन् । यहाँनेर सही व्यवस्थापन नपुगेको देखिन्छ । यो कुरा की त ठूला बिग हाउसहरुले गर्नुपर्छ वा किसानहरु नै सक्षम हुनुपर्छ । तर, प्रविधिको प्रयोग र व्यवस्थापनको लागि विग हाउसमा जानु नै पर्ने हुन्छ । ट्रयाक्टर, डोजरदेखि धेरै प्राविधिक ज्ञानमा आधारित काम गर्नको लागि आवश्यक जनशक्ति अहिलेपनि भारतबाट ल्याउनुपरेको अवस्था छ । तर, रोजगार तथा आयआर्जनको समस्या मध्यम र निम्नवर्गमा उच्च रुपमा रहेको छ । जसको संख्या धेरै भएको, पढाइ राम्रो नभएको र प्राविधिक क्षमता पनि कम भएको अवस्था छ । हाम्रोमा सिटिइभिटी जस्तो संस्था छ, उसले पढाउँछ, तर उसले पढाएका कति मान्छेहरु रोजगारमा जोडिए वा जोडिएनन भन्ने कुनै लेखाजोखा छैन । पैसा खर्च भइरहेको छ, तर, सो खर्च अनुसारको उपलब्धिको पाटोमा ध्यान गएको छैन् । विदेशमा शिक्षा प्रदान गर्ने कलेजमा सरकारको लगानी कति छ, करदाताको लगानी कति छ, त्यहाँ को पढेका छन्, त्यहाँको उपलव्धि जाँच गर्ने, रेकर्ड गर्ने जिम्मेवारी व्यवस्थापन र बोर्डको हुनेगर्छ । हाम्रो कलेजमा यति जनालाई पढायौं, अहिले उनीहरुले यो–यो ठाउँमा काम गर्दैछन् भनेर रिपोटिङ गर्नुपर्छ । त्यहाँ एउटा संस्था कसले कतिलाई तालिम दिएर रोजगार वा उद्यममा प्लेसमेन्ट गर्यो भन्ने कुरालाई सबैभन्दा ठूलो मापदण्ड बनाइन्छ । तर, हामीकहाँ पढ्नेले पढ्छ, फेल हुनेले केही पनि पाउँदैन । पास हुनेले सर्टिफिकेट लिन्छ, हिँड्छ । को कता जान्छ, कसैलाई ख्याल हुँदैन । कसैसँग तथ्यांक छैन । उच्च स्तरका स्कूल कलेज पढ्नेहरुको अवस्था त राम्रो भैहाल्छ, तर, मध्यम र तल्लो आर्थिक स्तर भएका मानिसहरुको हकमा भने ठूलो समस्या छ । उनीहरुले उद्यम गर्न पनि सक्दैनन् । उनीहरुले तालिम लिने र आफ्नो अपग्रेड गर्न सक्दैनन् । यीनै मध्येको ठूलो संख्या मध्य पूर्वका देशहरुमा अर्धदक्ष कामदार भएर जाने अवस्था बनेको छ । त्यहाँ गएर सिक्दै काम गर्नुपर्ने कठिन परिस्थिति उनीहरुको अगाडि छ । एउटा उद्योग वा रोजगारदाता व्यवसायीलाई धेरै पैसा खर्च गरेर पनि दक्ष कामदारलाई काम गराउनुपर्ने हुन्छ । तर, हामीकहाँ दक्ष कामदारकै अभाव रहेकोले समग्र उद्यम तथा व्यवसाय क्षेत्रको उपलव्धी नै कमजोर अवस्थामा रहेको देख्न सकिन्छ । आजको दिनमा एसएलसी फेल, प्लस टु फेल वा स्नातक तहमा पढेर फेल भएका विद्यार्थी कति छन भनेर तथ्यांक कसैसँग छैन । त्यस्ता कति विद्यार्थीले रोजगारको लागि पासपोर्ट बनाएर विदेश गए भन्ने कुराको तथ्यांक कसैसँग छैन । कुनै विद्यार्थी कुनै विषयमा पास हुन सकेन भनेपनि त्यो विद्यार्थी अरु कुनै विषयमा राम्रो हुनसक्छ । त्यो विद्यार्थीलाई उसको क्षमताअनुसारको अवसर प्रदान गर्ने हो भने उनीहरुले आफ्नो क्षमतामा राम्रो गर्न सक्छन । त्यतातर्फ राज्यको ध्यान अलिकति पनि छैन । कलेजहरुले पनि यसतर्फ काम गरेका छैनन् । तर, हामीकहाँ पढ्नेले पढ्छ, फेल हुनेले केही पनि पाउँदैन । पास हुनेले सर्टिफिकेट लिन्छ, हिँड्छ । को कता जान्छ, कसैलाई ख्याल हुँदैन । कसैसँग तथ्यांक छैन । उच्च स्तरका स्कूल कलेज पढ्नेहरुको अवस्था त राम्रो भैहाल्छ, तर, मध्यम र तल्लो आर्थिक स्तर भएका मानिसहरुको हकमा भने ठूलो समस्या छ । अहिले विदेशतिर श्रमको मूल्य निकै महंगो छ । नेपालमै पनि आइटी सेक्टरमा जनशक्तिको विकास भइरहेको छ । उनीहरुले निकै राम्रो काम गरिरहेका छन् । सरकारले अहिले आइटी सेक्टरबाट विदेशी मुद्रा आर्जन गर्ने व्यवसायीलाई ल्याउनेहरुलाई कर पनि १ प्रतिशतमा झारेको छ । विदेश नै जानै जनशक्तिलाई पनि कुन देशमा जाने, कुन पेशामा जाने र त्यसलाई कुन तालिम दिँदा बढी पैसा कमाउन सक्छ ? त्यो तालिम राज्यले उच्चस्तरको तालिम दातामार्फत् दिन सक्छ । तालिमको सन्दर्भमा यहाँ के समस्या छ भने सरकारले वा एनजिओहरुले औपचारिक रुपमा तालिम दिने तर उपलव्धी नहुने अवस्था छ । अल्पकालिन र जनशक्तिलाई एकछिनको लागि अल्मल्याउने बाहेक केही हुन सकेको छैन् । यस्तो कुरामा राज्यले राम्रोसँग योजना बनाएर खर्च गर्नुपर्छ । बरु आवश्यक पर्छ भने ऋण लिएर पनि काम गर्नुपर्छ । राज्यको जनशक्ति विकासको लागि जति लगानी गरेपनि त्यो पैसा भोलि जनशक्तिले फिर्ता गर्छ । यस्ता विषयमा पूर्ण रुपमा केन्द्रीत भएर लाग्ने हो भने राज्यलाई चाहिने जनशक्ति विकास गर्न गाह्रो छैन । धेरै समय पनि लाग्दैन । हाम्रो देशमा कति मान्छेहरु के कामका लागि अन्य देशबाट आइरहेका छन् ? त्यसको पनि लेखाजोखा छैन । उदाहरणको लागि घरमा लगाउने टायलको काम गर्न अधिकांश मानिसहरु भारतबाट आएर गरेको देखिन्छ । उनीहरुले मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । जुन जनशक्ति यहिँ नै उत्पादन गर्न सम्भव छ । त्यस्तै यस्ता धेरै कामहरु छन् जो हामी नेपालीहरुले नै गर्न सक्छौं तर गरिरहेका छैनौ । त्यो अनुसारको सोंच र वातावरण निर्माण गर्नेतर्फ राज्यको ध्यान गइरहेको छैन । केही सीमित कलेजहरुले राम्रा शिक्षकको व्यवस्था गरेर राम्रो जनशक्ति उत्पादन गर्ने प्रयत्न पनि गरिरहेका छन् । यहाँनेर एउटा महत्वपूर्ण विषय के हो भने स्नातक वा स्नातकोत्तर पास गरेरपनि केही समय तालिम दिएर मानिसलाई क्षमतावान बनाउन सकिँदैन । शिक्षाको मुख्य आधार भनेको स्कूल तह नै हो । स्कूलमा एउटा मान्छेले १०÷१२ वर्ष पढेको हुन्छ । त्यसैले बढी ध्यान दिनुपर्ने भनेको नै स्कूल तहमा हो । उदाहरणको लागि काठमाडौंमा केही राम्रा स्कूलहरु छन्, त्यहाँ पढ्ने विद्यार्थीलाई जागिरको कुनै समस्या नै हुँदैन । उनीहरु ग्लोबल लेबलमा नै प्रतिस्पर्धा गर्न सक्छन् । उदाहरणको लागि रातो बंगालाको विद्यार्थी पढाई सकिएपछि काम नपाएर हिँडेको कोही छैन । त्यो लेवलको विद्यार्थीहरु देशभरबाट हर्ने हो भने १ प्रतिशत पनि छैन । सरकारी विद्यालयहरुमा शिक्षकको गुणस्तरमा समस्या छ । शिक्षाको गुणस्तर राम्रो हुनको लागि मुख्यतः शिक्षकको गुणस्तर राम्रो हुन जरुरी हुन्छ । त्यहाँ शिक्षकले प्रर्याप्त तालिम नै पाएका छैनन् । निजी लगानीबाट सञ्चालित स्कूल कलेजले आन्तरिक तालिम र सूचना प्रविधिलाई बढी उपयोगितामा ल्याएका छन् । गर्नुपर्छ भन्ने जिम्मेवारीबोध छ तर सरकारी विद्यालयमा जिम्मेवारी वोधको पनि तुलनात्मक रुपमा अभाव देखिन्छ । अहिलेको सन्दर्भमा प्रविधिको पहुँचको कारणले शिक्षक भन्दा पनि विद्यार्थीहरु नै धेरै जान्ने भइसकेको हुन्छ । मोवाइल, ट्याब र ल्यापटपमार्फत घरमै बसेर धेरै कुरा सिकिरहेका हुन्छन । अहिले अनलाइन शिक्षा पनि सर्वशुलभ पहुँचमा छ । थोरै लगानी गरेर धेरै कुराहरु सिक्न सकिने कुराहरु पनि छन् । जुन देशहरु धनी छन् वा राम्रो विकास गरेका छन्, त्यहाँको सरकारले सबैभन्दा धेरै लगानी शिक्षामा गरेको छ । शिक्षकलाई सबैभन्दा धेरै सेवा सुविधा दिएका छन् । त्यहाँ अरु भन्दापनि म शिक्षक हुन्छु भन्नेको संख्या धेरै हुन्छ । यहाँ हाम्रोमा अलि पढेलेखेको र राम्रो मान्छे शिक्षक हुन्छु नै भन्दैन । हामीले शिक्षकलाई सबैभन्दा कम प्राथमिकतामा राख्छौं, अनि जनशक्ति चाहिँ राम्रो उत्पादन हुनुपर्यो भन्ने अपेक्षा राख्छौं । नेपाली शिक्षाको आधारभूत तहमा नै समस्या छ । राजनीतिक र व्युरोक्रेसीका मानिसहरुले यो विषयलाई राम्रोसँग बुझेका छन् । तर गर्न चाहेको देखिँदैन् । अहिले सरकारी विद्यालयबाट उत्पादन भएको विद्यार्थी नै धेरै संख्यामा बेरोजगार भएको अवस्था छ । यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ । यहाँको मध्यम वा निम्नस्तरको आर्थिक अवस्था भएको समूदायसँग निर्वाचन अगाडि होइन, निर्वाचन पछाडि प्रधानमन्त्री तथा मन्त्रीहरु नजिक हुनुपर्ने हो । राज्यमा सही दिशानिर्देश गर्ने भनेको प्रधानमन्त्री तथा मन्त्रीहरुले हो । एउटा कूचीकारलाई पनि प्रधानमन्त्री तथा मन्त्रीहरुले भेटेर के छ अवस्था भनेर सोध्ने संस्कार हुनुपर्ने हो । कामप्रतिको सम्मानको संस्कार विकास गर्नुपर्छ । कामलाई आदर नगर्ने संस्कार भएको कारणले गर्दा सानो काम ठूलो काम भन्ने अवस्था हामीकहाँ जकडिएको छ । हामीकहाँ नयाँ ढंगले संस्कार सिकाउन र स्थापित गर्न जरुरी छ । काम भनेको काम हो । टाई लगाउने मात्रै ठूलो मान्छे हुँदैन अथवा ठूलो गाडीमा चढ्ने मान्छे ठूलो हुँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्छ । सार्वजनिक यातायात र सेवाका क्षेत्रहरुमा पनि प्रधानमन्त्री, मन्त्री तथा अन्य उच्च तहका व्यक्तिहरु हिँड्ने तथा सेवा प्रयोग गर्ने गर्नुपर्छ, जसले गर्दा ती क्षेत्रहरु पनि थप व्यवस्थित हुन मद्दत गर्छ । यहाँ मजदूरी गर्दा विदेशको तुलनामा मनोवैज्ञानिक र सुविधाको पक्षमा निकै कमजोर छ । जसले गर्दा धेरै युवाहरु यहीँ काम गर्न भन्दा विदेशमा गएर काम गर्न तयार भइरहेका छन् । यहाँ राम्रो वातावरण सिर्जना गर्नको लागि हरेक क्षेत्रलाई समान ढंगले सकारात्मक रुपमा विकास गर्नुपर्छ । सबैभन्दा धेरै मजदूरी गर्ने मान्छेलाई धेरै तलबको व्यवस्था गर्नुपर्छ । त्यसो गर्न सकियो भने मानिसहरुले यहीँको कामलाई रोज्छन् । देशभरी भएका स्कूल तथा कलेजको अवस्था के छ ? त्यसको पहिला तथ्यांक निकाल्न जरुरी छ । त्यसपछि योजनावद्ध रुपमा विद्यार्थीहरुलाई आइटी, गणित र हाम्रो भाषा संगै अंग्रजी भाषामा कसरी विश्वकै लेवलको दक्ष बनाउन सकिन्छ त्यो विधिलाई लागू गर्नुपर्छ । त्यसको लागि अहिलेको अवस्थामा धेरै नेपालीहरु सक्षम भएर विदेशका युनिभर्सिटीहरुमा वा प्रोजेक्टहरुमा काम गरिरहेका छन् । उनीहरुलाई राज्यले अनुरोध गरेर स्कूल तथा कलेजहरुको लागि निश्चित समय माग गर्न सक्छ । अहिलेको सिंगापुर बनाउनको लागि लि क्वान यु ले पनि अंग्रेजी भाषालाई पहिलो प्राथमिकतामा राखेर काम गरेका थिए । जसले गर्दा त्यहाँका नागरिकहरु संसारको जुनसुकै देशमा गएर काम गर्न सक्ने भए । त्यस्तै, एसईई दिएर बसेका सबै विद्यार्थीलाई समेटेर सरकारले भोकेसनल तालिमको व्यवस्था गर्नुपर्छ । हामीलाई कुन क्षेत्रको लागि कस्तो र कति जनशक्ति चाहिएको छ ? त्यसको राम्रो तथ्यांक निकालेर सो अनुसारको जनशक्ति तयार गर्नको लागि लागि निजी तथा अन्तर्राष्ट्रिय स्तरको संस्थाहरुलाई जिम्मेवारी दिन सकिन्छ । ठूलो रोजगार सिर्जना गरिरहेका वा राम्रा उद्यमीहरुलाई पनि प्रोत्साहन गर्ने हो भने उनीहरुले पनि धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । ५ वर्षको अवधिमा ती राम्रो प्रविधि र जनशक्ति सम्पन्न भएका संस्थाहरुले विद्यार्थीहरुलाई सक्षम बनाउन सक्छन् । एकेडेमिक रुपमा कमजोर विद्यार्थीहरुलाई उनीहरुको क्षमताअनुसारको प्राविधिक तालिमको व्यवस्था गर्न सकिन्छ । यसको लागि राज्य सञ्चालको तहमा रहेका मानिसहरुमा गर्ने इच्छाशक्ति हुनुपर्यो । राज्यको उच्च तहमा रहेकाहरुले गर्नुपर्छ र गर्न सकिन्छ भन्ने कुरालाई पनि निरन्तर रुपमा शन्देश प्रवाह गर्ने, आफ्नो स्थानबाट इमान्दारिता र अनुशासन पदर्शन गर्ने काम हुन जरुरी छ । यदि नीतिगत रुपमा राम्रो शैक्षिक अवस्था सिर्जना गर्नको लागि कुनै निजी क्षेत्र, एनजिओ क्षेत्र वा कसैले अवरोध गरिरहेको छ भने त्यसलाई पन्छाएर अगाडि बढ्न सकिन्छ । तर, राम्रो काम गरिरहेका संस्था तथा व्यक्तिहरुलाई थप प्रोत्साहन गरेर जिम्मेवारी पनि दिन सकिन्छ । त्यसो गर्दा कुल अवस्थामा सकारात्मक अवस्थाको सिर्जना हुनपुग्छ र काम गर्नपनि धेरै समय लाग्दैन । (वार्तामा आधारित, शर्मा नेपाल उद्योग परिसंघको केन्द्रीय सदस्य, एजुकेशन काउन्सिलको सभापति, अल्फाबिटा ग्रुपको सिइओ र सिएनआई रोजगार तथा सीप मेला २०७९ को संयोजक हुन् ।)

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णाली । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ । यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेशा विषय अलि बढी अभाव रहेको जानकारी दिए । जनक शिक्षाले छपाइमा ढिलाइ गर्दा यस वर्ष पनि विद्यार्थीले समयमै पुस्तक पाउन नसकेका हुन् । कर्णालीका हिमाली जिल्लामा फागुन र पहाडी जिल्लामा वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । अर्धवार्षिक परीक्षाको समय नजिकिँदै गर्दा अझै पुस्तक नपाएकामा विद्यार्थी र उनीहरुका अभिभावक आक्रोशित छन् । नयाँ पुस्तक नपाएपछि कतिपय विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गरिरहेको बताएका छन् । जनक शिक्षाले पहिलो चरणमा दुर्गम एवं हिमाली जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री वितरण गरेको छ । कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटमा मागअनुसार सबै पुस्तक पठाइएको छ । ‘ती जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पहिलो प्राथमिकतामा राखेर ढुवानी गरिएको हो,’ कार्यालय प्रमुख केसीले भने, ‘हुम्ला, सल्यान, रुकुम पश्चिममा नेपालगञ्जस्थित गोदामबाटै ढुवानीको व्यवस्था मिलाइएको थियो ।’ सुर्खेत, दैलेख र जाजरकोटमा वीरेन्द्रनगर गोदामबाटै बिक्री वितरण गरिने बताइएको छ । जनक शिक्षाका अनुसार कर्णालीमा हालसम्म कक्षा चारदेखि १० सम्मका १४ लाख एक हजार सात सय ८९ थानमध्ये १३ लाख २९ हजार एक सय ४१ बिक्री भइसकेका छन् भने ७१ हजार छ सय ३८ थान मौज्दात छन् । गोदाममा मौज्दात पुस्तकमध्ये कतिपय सडेका, पानीले भिजेका र अधुरा सेट छन् । बिक्रेताले पूरै सेट पाएपछि मात्र खरिद गर्ने अडान लिएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कर्णाली प्रदेशले पुस्तक ढुवानी पारदर्शी नभएको भन्दै बुधबार जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयको ध्यानाकर्षण गराएका थिए । जनक शिक्षाले समानुपातिक र न्यायिक हिसाबले पुस्तक बिक्री नगरेको महासङ्घको आरोप छ । ‘बढी जनसङ्ख्या र बढी विद्यार्थी भएका जिल्लामा अझै पुस्तक दिइएको छैन, चाहे जति पुस्तक गोदाममा उपलब्ध नभएसम्म पुस्तक खरिद नगर्ने निर्णय गरेका छौं,’ अध्यक्ष नेपालले भने, “यसअघि जारी गरिएका बिलबिजक पनि रद्द गर्ने सहमति गरेका छौं ।’ रासस

चार दशकसम्म मृगतृष्णा बनेको पश्चिम सेतीले जगाएको आशा

काठमाडौं । आयोजना प्रभावितले कुनै पनि आयोजनाको प्रतीक्षा कति समय गर्नुपर्ने होला ? बैतडीको ढुङ्गाड क्षेत्रका बासिन्दालाई सोध्यो भने थाहा हुन्छ । विकास र समृद्धिको सपनामा झण्डै ४० वर्षदेखि पश्चिम सेतीको बहाव हेर्दै बसेका त्यस क्षेत्रका नागरिक यतिखेर खुसी छन् । अब आयोजना बन्ला भन्ने आशा उनीहरुमा पलाएको छ । एउटा सपनाजस्तै ठानिएको सो परियोजना नितान्त नयाँ स्वरुपमा अघि बढ्ने कुराले सिंहदरबार आसपासमा चर्चा पाएपछि बैतडी, डोटी, डडेल्धुरा र अछामका जनतामा केही आशा पलाएको हो । सो आयोजना बन्ला र सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना पूरा होला भनेर बसेका सेती किनारका धेरैले त आश मारिसकेका थिए । उनीहरुले पनि अहिले आशा पलाएको बताएका छन् । वर्षौंदेखि एउटै कुरा सुन्दै आएका ढुङ्गाड क्षेत्रका बासिन्दालाई पश्चिम सेतीको चर्चा सिंहदरबार आसपास चल्दा व्यङ्ग्यजस्तै लाग्थ्यो । निर्वाचनको समयमा अधिकांश राजनीतिक दलका नेताले आयोजनाको मीठो सपना देखाए । धेरैले त पश्चिम सेती नै देखाएर धेरै पटक सिंहदरबार पनि आए तर दुःखको कुरा यो छ कि यता आएपछि त्यो आयोजना बनाउनुपर्छ भन्ने बिर्सिए । लामो समयदेखि यस्तै चर्चा मात्रै चल्दै आएको सो आयोजना अब भने अगाडि बढ्ने भएको छ । लगानी बोर्डको यही साउन २३ गते बसेको बैठकले सो आयोजना अगाडि बढाउन भारतको सरकारी कम्पनी एनएचपीसीलाई जिम्मेवारी दिएको छ । कूल सात सय ५० मेगावाट क्षमताको सो आयोजनासँगै चार सय ५० मेगावाट क्षमताको सेती नदी छ आयोजनाको अध्ययनसमेत सोही कम्पनीले गर्नेछ । बोर्डमा भारतीय कम्पनीले वित्तीय तथा प्राविधिक व्यवस्थापनका अतिरिक्त बजार खोज्नेसम्मको प्रस्ताव गरेको छ । जानकारका अनुसार भारतको सरकारी स्वामित्वको सो कम्पनीसँग प्राविधिक समूह, वित्तीय व्यवस्थापन गर्नसक्ने हैसियत रहेको छ । सोही कम्पनीले उत्पादित बिजुली भारतीय बजारमा बिक्री गर्ने प्रस्तावसमेत गरेको बोर्डको भनाइ छ । आयोजना बन्नेमा विश्वस्त छुः पूर्वसचिव उपाध्याय पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय आयोजना निर्माणका लागि इच्छा व्यक्त गरेको भारतीय कम्पनीको प्राविधिक र वित्तीय क्षमता राम्रो रहेको तथा बजार समेत खोज्न सक्ने भएकाले आयोजना अगाडि बढ्छ भन्नेमा विश्वस्त छन् । सो आयोजना निर्माणका लागि धेरै मेहनत गर्नेमध्येका एक पूर्वसचिव उपाध्याय विगतको नकारात्मक पक्षबाट पाठ सिकेर अगाडि बढ्नुपर्नेमा जोड दिन्छन् । सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गरेको छ तर, प्रगति भने शून्य नै रहेको अवस्थामा पछिल्लो पकट गरिएको प्रयास आफैँमा महत्वपूर्ण छ । गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पन्न भारत भ्रमणपछि सो आयोजना नयाँ ढङ्गले अगाडि बढ्न खोजेको छ । कहिले फ्रान्सेली, कहिले अष्ट्रेलियन तथा कहिले चिनियाँ कम्पनीको ‘होल्ड’मा परेर सो आयोजना ४० वर्षसम्म अड्किन पुग्यो । अब भने सरकारले लगानीको स्पष्ट खाकासहित निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो । लगानी बोर्डका अनुसार सो आयोजना भारतीय कम्पनी एनएचपिसी लिमिटेडले वार्ताद्वारा कार्यान्वयनका लागि आवेदन दिएको थियो । बोर्डको ४७ औँ बैठकले पश्चिम सेती र सेती नदी–६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार पार्ने प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको थियो । समितिले तयार पारेको प्रतिवेदन बोर्ड बैठकमा पेश भएको थियो । समितिले आयोजनाका सम्बन्धमा पेश गरेको सिफारिससहितको प्रतिवेदन आवश्यकतानुसार कार्यान्वयन गर्दै लैजाने निर्णय भएको थियो । त्यसै आधारमा बोर्डको साउन २३ गते बसेको ५२ औँ बैठकले थप अध्ययनको जिम्मेवारी भारतीय कम्पनी एनएचपीसीलाई दिएको बोर्डका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले जानकारी दिए । भारतको सरकारी स्वामित्वको कम्पनी र विशेष गरी जलविद्युत् क्षेत्रमा नै दक्षता प्रदर्शन गरेका हिसाबले पनि महत्वपूर्ण रहेकाले योभन्दा अर्को उत्तम विकल्प अरु हुनै नसक्ने पूर्वसचिव उपाध्यायको भनाइ छ । विगतमा बजारको सुनिश्चितता नभएका कारणले पनि आयोजनामा सहज वातावरण बन्न सकेको थिएन । भारतीय कम्पनीको प्रवेशपछि त्यस विषयमा रहेको चिन्ताको समेत समाधान भएको छ । ठूला आयोजनामा पानीको विषय जोडिएर आउँछ । ठूला र साना जलाशययुक्त आयोजनामा एउटै मापदण्डले पानीको विषयमा काम नगर्ने भन्दै उहाँले विगतमा भएको अध्ययन र प्राप्त तथ्याङ्कले काम नगर्ने भएकाले थप अध्ययन गर्नुपर्ने बताए । “हाम्रो सामान्य तथ्याङ्क नै फेरबदल भइसकेको छ । पानीको ‘बेसलाइन डेटा’ नै परिवर्तन भएको छ । थप अध्ययन गर्नुपर्छ । छिमेकको बजार हेरेर आयोजनाको क्षमता बढाउन पनि दिनुपर्छ । कुन हदसम्म जाने हो भन्ने पनि हो । जलाशययुक्त आयोजना हो भने कति घण्टासम्म चलाउने भन्ने हो कुराको सुनिश्चिता भएपछि मात्रै थप भन्न सकिन्छ”, उनले भने । आयोजनाको समग्र पक्षको लगानी हेरेर मात्रै आयोजनाको मूल्य निर्धारण हुन जान्छ । सो मूल्यअनुसार छिमेकको बजारमा सहजै बिक्न सक्ने भयो भने आयोजना अगाडि बढ्छ । ‘वातावरणीय हिसाबले सम्बोधन नै गर्न नसकिने अवस्था आएको खण्डमा मात्रै अर्धजलाशयुक्त प्रकृतिको आयोजना बनाउनुपर्ने र अन्यथा जलाशययुक्त प्रकृतिको नै बनाउनुपर्छ,’ उनले भने ‘यी दुईवटै हिसाबले आयोजना बनाउने विषय खुल्ला राख्नुपर्छ ।’ उनले सो आयोजनाको नियन्त्रित पानीको प्रवाह के कति हो भन्ने विषय पहिले पत्ता लगाउनुपर्ने बताए । रानी जमरा कुलरिया सिँचाइ आयोजना सोही नदीसँग जोडिएको छ । सोही सिँचाइ प्रणालीमा नै जम्मा भएको पानी खपत हुन सक्छ । यो विषयमा भारतीय पक्षसँग कुरा गर्न सकिने पूर्वसचिव उपाध्यायको भनाइ छ । वर्षाकालको पानीभन्दा पनि सुक्खायामको पानीको विषयमा नै कुरा गर्न खोजिएको भए पनि ३५ देखि ७५ घनमिटर पानीको सन्दर्भ जोडिन्छ । भेरी बबई आयोजना पनि यसैमा अन्तरसम्बन्धित भएकाले पानीको हिसाब गरेर मात्र आयोजना हेर्नुपर्छ भन्ने आफुलाई नलागेको उनको भनाइ छ । उनी भन्छन्, “पानीको विषय उठाएर आयोजनालाई नै प्रभावित पार्नुपर्छ र भारतसँग त्यही कुरा गर्नुपर्छ भन्ने मलाई लाग्दैन ।” ठूला आयोजना अगाडि बढाउँदा पानीको विषय स्वभाविक रुपमा नै आउने भन्दै उनले भने, ‘यस आयोजनाका सन्दर्भमा भारतीय पक्षले पाउने पानीको हिसाब गर्नेतर्फ लाग्नुपर्छ जस्तो मलाइ लाग्दैन तर मुद्दाका रुपमा छलफलमा ल्याउन भने सकिन्छ ।’ पूर्वसचिव उपाध्यायले अब भने आयोजना बन्न सक्छ भन्ने आफूलाई लागेको बताए । ‘हाल इच्छा व्यक्त गरेको कम्पनीको प्राविधिक र आर्थिक क्षमता तथा छिमेकको बजार पनि उपलब्ध गराउन सक्ने क्षमता भएकाले अब यो परियोजना बन्न सक्छ भन्ने लाग्छ,’ उनले भने । यस्तो छ आयोजनाको विगत पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पहिलोपटक विसं २०४२ मा बैतडीको ढुङ्गाड र डोटीको तलारा जोड्ने सेती नदीमाथि बनाइएको झोलुङ्गे पुलको उद्घाटन गर्न पुगेका थिए । त्यतिबेला उहाँले सेतीबाट बिजुली निकालिने र त्यसले यस क्षेत्रको विकास र रोजगारीको विस्तार हुने बताएका थिए । ढुङ्गाडलगायतका क्षेत्र डुबानमा पर्ने भएकाले त्यस क्षेत्रका जनतालाई अन्यत्र सारिने भएकाले विकासका काममा थप खर्च नहुने उनले बताएका थिए । आयोजना बन्ने आशमा विसं २०३६ देखि लामो प्रतीक्षा गरेका त्यस क्षेत्रका जनताले आयोजनाको नाममा विकास कस्तो हो भन्नेसमेत देख्न पाएका छैनन् । लामो समयदेखि स्थानीयवासीको मृगतृष्णाजस्तै बनेको आयोजना अब भने नयाँ ढङ्गले निर्माण हुने आशा पलाएको छ । कूल सात सय ५० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवमा समावेश गरेको पनि लामै समय भयो तर, कहिले कुन कम्पनी, कहिले कुन कम्पनीको नाममा रहने, कुनै प्रगति नहुनेजस्ता व्यवधानका कारण आयोजना सपनाजस्तो मात्रै बनेको तथ्य कोही कसैबाट छिपेको छैन । चार दशकसम्म पनि आयोजनाका बारेमा कुनै निष्कर्ष ननिस्कनुका पछाडि लगानीको टुङ्गो नलाग्नु नै प्रमुख कारणका रूपमा रहेको सरोकारवालाले अर्थ्याउँछन् । त्यस्तै निर्माण ढाँचाका बारेमा स्पष्ट निर्णय नहुनु, प्रसारण लाइन निर्माण तथा विस्थापितबारे उपयुक्त निर्णय नहुनु र उत्पादित बिजुलीको बजारका बारेमा कुनै यकिन नहुनु पनि त्यसपछिका सहायक कारण हुन् । विसं २०७५ भदौमा चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिक्दै गर्दा पनि सोही कारण जनाएको थियो । आयोजनामा सम्बद्ध अधिकारीका अनुसार २०४६ भदौदेखि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउन लागिपरेको अष्ट्रेलियन कम्पनी स्मेक (स्नोइ माउन्टेन इञ्जिनियरिङ कर्पोरेसन) ले २०४९ मा प्रतिवेदन बुझाएको थियो । निर्माण, स्वामित्व ग्रहण, सञ्चालन र हस्तान्तरण ९बुट० मोडलमा आयोजना निर्माण गर्ने भनेर स्मेकले गरेको सम्झौता कहिल्यै कार्यान्वयन भएन । आयोजना बनाउँछौं भन्दाभन्दै स्मेकले १८ वर्षसम्म आयोजना होल्डमात्रै गर्यो । अति भएपछि सरकारले आयोजनाको स्वामित्व २०६८ सालमा आफैँ लियो । स्मेकले उत्पादित बिजुली भारतलाई बिक्री गर्ने र उत्पादन सुरु भएको ३० वर्षपछि चालु हालतमा सरकारलाई फिर्ता गर्ने बताएको थियो । स्मेकले कामै नगरेपछि तत्कालीन सरकारले आयोजना नेपाल सरकारको नाममा नै फिर्ता ल्याएको थियो । नेपाली समाजमा एउटा लोकप्रिय उखान छ-तावाबाट उफ्रेको माछा भुङ्ग्रामा । पश्चिम सेतीका हकमा पनि त्यस्तै भयो । स्मेक बाहिरिएको केही समय बित्न नपाउँदै विसं २०६८ मा चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्लयुई इन्भेष्टमेन्ट कर्पोरेशनलाई दिइयो । चिनियाँ कम्पनी आफैँमा २२ हजार पाँच सय मेगावाट क्षमताको थ्री गर्जेज जलविद्युत् आयोजना नै निर्माण गरेको चिनियाँ कम्पनीले आयोजना अगाडि बढाउनेमा आम नेपाली ढुक्क थिए । चिनियाँ कम्पनीको ७५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको २५ प्रतिशत बराबरको शेयर स्वामित्व रहने गरी संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको थियो । कूल रु एक खर्ब ८० अर्ब लागत रहने भनिएको सो आयोजनामा रु एक खर्ब ५० अर्ब वैदेशिक ऋणसमेत ल्याउने सहमति भएको थियो । तोकिएअनुसार काम भएको भए गत वर्ष नै सो आयोजनाले बिजुली बालिसकेको हुने थियो । निर्माण अवधि सात वर्ष हुने भनिएको आयोजना भने त्यति समय नै चिनियाँ कम्पनीले होल्ड गरेर राख्यो । अन्त्यमा बिजुलीको बजार नभएको, पुनर्वास तथा पुनःस्थापनाका विषयमा कुरा नमिलेको, प्रसारण लाइन निर्माण कसले गर्ने भन्नेजस्ता विषयमा कुनै सहमति हुन नसकेकोजस्ता कारण देखाएर चिनियाँ कम्पनीले हात झिक्यो । विसं २०७५ सम्म हरेक वर्ष सरकारले आयोजनाका लागि बजेटसमेत विनियोजन गर्ने गरेको थियो । त्यसपछि भने आयोजनाको उपयुक्त मोडालिटी तय गरेर निर्माण सुरु गर्ने भनिए पनि कुनै निष्कर्ष निस्कन सकेको थिएन । जबकि आयोजनाको पहिचान विसं २०३६ मा नै भएको थियो । सुरुमा कूल ३७ मेगावाट क्षमताको सो आयोजना निर्माण गर्ने भनिएको थियो । तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको फ्रान्स भ्रमणका क्रममा त्यहाँका कम्पनीलाई नेपालमा पनि जलविद्युत् आयोजना निर्माणका लागि आग्रह गरेका थिए । राजाको आग्रहअनुसार नै फ्रान्सेली कम्पनी सोग्रेह नेपाल आएको थियो । सो कम्पनीले अध्ययन गरी विद्युत् उत्पादन गर्न सकिने प्रस्ताव गरेको थियो । त्यस समयमा एक सय ५० मेगावाटसम्म बिजुली उत्पादन गर्ने योजना तय भएको थियो तर, सोग्रेह कन्सल्टले आयोजना निर्माणको अनुमति पाएन । विसं २०५१ अष्ट्रेलियन कम्पनी स्मेकलाई सर्भेक्षण गर्ने जिम्मा दिइयो । त्यसपछि आयोजनाको क्षमता सात सय ५० मेगावाट बराबर हुने निष्कर्ष निस्कियो । सरकारले विसं २०५४ मा स्मेकलाई नै निर्माणको अनुमति दियो तर उसले पनि अनेकन बहाना निकालेर आयोजनाको काम अगाडि बढाएन । सो कम्पनीले आयोजना निर्माण हुँदा १२ हजार घरपरिवार विस्थापित हुने निष्कर्ष सुनाएको थियो । हाल त्योभन्दा धेरै मानिस उठाउनुपर्ने भएको छ । त्यसपछि चाइना थ्री गर्जेजको सहायक कम्पनीले निर्माण अनुमति लियो तर काम भने सुरु हुन सकेन । आयोजना प्रभावित क्षेत्रका बासिन्दा त्यसैका बारेमा सुन्दासुन्दै बुढ्यौली उमेरमा प्रवेश गरिसकेका छन् । चार दशकसम्म आयोजनाको नाममा उनीहरुसमेत अनिर्णयको बन्दी बनेका छन् । सरकारले आयोजना प्रभावित क्षेत्रमा सडक, तटबन्ध, विद्यालय, खानेपानीजस्ता कुनै पनि परियोजनामा लगानी गरेको छैन । त्यसको मारमा स्थानीयवासी परेका छन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेका सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पश्चिम सेती र सेती नदी-६ आयोजना निर्माण सुरु गर्ने उल्लेख छ । त्यस्तै यही गत जेठ १५ गते सार्वजनिक भएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा समेत आयोजनाका बारेमा स्पष्टसँग बोलिएको छ । त्यस आधारमा पनि अब आयोजना कुनै न कुनै रूपमा अगाडि बढ्छ भन्ने विश्वास बढेर गएको छ । त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले पटक-पटक पश्चिम सेती र बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना अगाडि बढाएरै छाडिने दृढता व्यक्त गरिसक्नु भएको छ । उनले ठूला आयोजनाहरुमा देश यसरी दशकौँसम्म पछि हट्ने हो भने मुलुकले समृद्धि कसरी हासिल गर्छ भन्ने प्रश्न गर्ने गर्छन् । लगानी बोर्डको बैठकले भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँग आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यस निर्णयले अब आयोजनाले एउटा गति लिने विश्वास थप बढेको छ । एनएचपिसी भारतको सबैभन्दा ठूलो ऊर्जा उत्पादक कम्पनी हो । कूल सात हजार पाँच सय मेगावाट बराबरको बिजुली उत्पादन गरिसकेको सो कम्पनीले जलविद्युत् आयोजना, वायु तथा सौर्य ऊर्जामा समेत काम गरिसकेको छ । पश्चिम सेती अगाडि बढ्दासँगै रहेको सेती नदी-६ ले पनि गति लिने विश्वास बढेर गएको छ । सरकारले विसं २०७५ मा आयोजना गरेको लगानी सम्मेलनमा ती आयोजनालाई शोकेशमा राखेको थियो । पश्चिम सेती ७५० मेगावाट र सेती नदी-६ कूल ४५० मेगावाट क्षमतामा निर्माण हुने छ । सेती नदी बझाङमा पर्ने साइपाल हिमालबाट उत्पत्ति भएर बैतडी, डडेलधुरा र डोटी हुँदै अछाममा पुगेपछि कर्णालीमा मिसिन्छ । सोही नदीमा ती आयोजना निर्माण हुन्छन् । सरकारको उच्च राजनीतिक प्राथमिकतामा परेको जलाशयुक्त आयोजना निर्माणमा जाँदा त्यसले पार्ने प्रभाव दीर्घकालीन हुन्छ । विगतको जस्तै सहमति हुने र कार्यान्वयन नहुने अवस्थाको अन्त्य गरेर आयोजना निर्माणमा जाने वातावरण बनाउनु नै उपयुक्त हुन्छ । अरुण तेस्रोमा हामी तीन दशक अनाहकमा पछि परिसक्यौं, आखिर आयोजना त अघि बढाउनु नै थियो र बढाइयो । हामीले यी विगतबाट पनि पाठ सिक्नुपर्छ । पश्चिम सेतीले भारतको क्षमतावान् कम्पनी पाएकाले अब यसैबाट अघि बढ्नुपर्छ, पानी या अरु कुनै सामान्य विषयका तर्कहरु गरेर आयोजना निर्माण गर्ने कामलाई कसैले पनि प्रभावित गर्नुहुँदैन । रासस