विकासन्युज

थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं । एकैदिन ८१५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ हजार ५३४ जनामा परिक्षण गर्दा ८१५ जनामा संक्रमण देखिएको छ । आज ४७६ जना संक्रमणमुक्त भएका छन् । योसँगै, नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण ५ जनाको मृत्यु भएको छ ।

एनएमबि बैंकले ल्यायो साढे २ करोड अमेरिकी डलर कर्जा, एसएमईमा लगानी गर्ने

काठमाडौं । एनएमबि बैंकले विश्व बैंक समहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । एनएमबि बैंकका प्रमख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आङ्गबीच उक्त समझदारी आदान प्रदान भएको थियो । यस कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बढाउन मदत पुग्नेछ केसीले बताए । एनएमबि बैंक चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ। यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड-१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपुर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको जनाएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सेयर कारोबार रोक्कासम्बन्धी यस्तो छ सेबोनको नयाँ व्यवस्था (पूर्णपाठ)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिशन सम्बन्धी सेयर कारोबार रोक्का निर्देशिकाको प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ । लगानीकर्ता तथा सर्वसाधारणको राय सुझाव लिनको लागि बोर्डले बिहीबार उक्त मस्यौदा सार्वजनिक गरेको हो । मस्यौदाका अनुसार अब मर्जर तथा एक्विजिशनमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोक्का हुने भएको छ । आधारभूत सेयरधनीहरुको सेयर कारोबार भने मर्जर सम्झौता लगत्तै रोक्का हुने मस्यौदामा उल्लेख छ । उक्त मस्यौदा अनुसार मर्जर तथा एक्विजिसनमा जाने कम्पनीले ६ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै, बोर्डबाट गाभ्ने/गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारी सहित एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्ने व्यवस्था बोर्डले गरेको छ । यस्तै, मर्जरपछि कम्पनीको नाम परिवर्तन नभएमा प्राप्ति गर्ने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था बोर्डले गरेको छ । मर्जर तथा एक्विजिशनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने भएका छन् । साथै, यो सम्बन्धमा कुनै पनि सूचना सार्वजनिक नगर्ने सम्बन्धमा संगठित संस्थाका संचालक, कर्मचारी तथा अन्य सम्बन्धित पक्षले संगठित संस्थाको कम्पनी सचिवसमक्ष लिखित प्रतिवद्धता पेश गर्नु पर्ने समेत बोर्डले जनाएको छ । यस्तो छ पूर्णपाठ [pdf id=345192]

मर्जर तथा एक्विजिशनको सूचना चुहाउन नपाइने

काठमाडौं । मर्जर तथा एक्विजिशनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) सार्वजनिक गर्दै सो व्यवस्था गरेको हो । ‘गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी जानकारी राख्ने संगठित संस्थाका संचालक, कर्मचारी, तथा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गर्न पाइनेछैन,’ उक्त मस्यौदामा भनिएको छ । साथै, यो सम्बन्धमा कुनै पनि सूचना सार्वजनिक नगर्ने सम्बन्धमा संगठित संस्थाका संचालक, कर्मचारी तथा अन्य सम्बन्धित पक्षले संगठित संस्थाको कम्पनी सचिवसमक्ष लिखित प्रतिवद्धता पेश गर्नु पर्ने समेत बोर्डले जनाएको छ । लगानीकर्ताको सल्लाह सुझावपछि यसले अन्तिम रुप लिनेछ । बोर्डले सुझावको समय सात दिन तोकेको छ ।

नाडाले विद्युतिय गाडीको एक्सपो गर्ने

काठमाडौं । नाडाले पहिलो पटक विद्युतिय गाडीको एक्सपो गर्ने भएको छ । बिहीबार अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बसेको कार्य समितिको आठौं बैठकले नाडा इभि एक्सपो गर्ने भएको हो । उक्त इभि एक्सपो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको जनाएको छ । नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ । नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले भदौ १ गते देखि ५ गतेसम्म स्टल बुकिङ्कका लागि सूचना समेत प्रकाशित गरिने जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सबैलाई एक्सपोमा सहभागि हुन अनुरोध गरेका छन् ।

मर्जर सम्झौता गरेको ६ महिनाभित्रै एकिकृत कारोबार गर्नै पर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीले ६ महिनाभित्र एकिकृत कारोबार गर्नु पर्ने व्यवस्था गरेको छ । बोर्डले निर्देशिकाको मस्यौदा सार्वजनिक गर्दै ६ महिनाभित्र एकिकृत कारोबार गर्नु पर्ने व्यवस्था गरेको हो । ‘संगठित सस्थाको गाभ्ने/गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको छ महिनाभित्र सम्पन्न गरि सक्नुपर्नेछ,’ मस्यौदामा लेखिएको छ । लगानीकर्ताको सल्लाह सुझावपछि यसले अन्तिम रुप लिनेछ । बोर्डले सुझावको समय सात दिन तोकेको छ ।

कल्याणपुर–गाईघाट सडक निर्माणका लागि वनको जग्गा प्रयोग गर्न दिइने

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको कल्याणपुर–गाईघाट निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजना निर्माणकार्यका लागि सप्तरी र उदयपुर जिल्लाको वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेका छन् । मन्त्री यादवले वन ऐन, २०७६ को दफा ४२ को उपदफा (१) र वन नियमावली, २०७९ को नियम ९० बमोजिम प्रवद्र्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका शर्तहरू पालना गर्ने गरी कल्याणपुर–गाईघाट सडकखण्ड निर्माण गर्न सप्तरी र उदयपुर जिल्लाको राष्ट्रिय वनको १५.८३१ हेक्टर वन प्रयोग गर्न दिइने निर्णय गरेकाे उनको सचिवालयले जनाएको छ । यसैगरी उक्त राष्ट्रिय वनमा रहेका करिब तीन हजार दुई सय १९ वटा रुख हटाउनका लागि स्वीकृत दिने निर्णय भएकोसमेत मन्त्रालयले जनाएको छ । वनको जग्गा प्रयोग गर्न नपाएका कारण उक्त सडक निर्माणमा समस्या भएको जानकारी पाएपछि मन्त्री यादवले वनको जग्गा प्रयोग गर्न दिने निर्णय गरेका हुन् । मन्त्रालयले सडक निर्माणका लागि वनको जग्गा प्रयोग गर्न दिने र रुख हटाउन दिने विषयमा स्वीकृति दिएपछि अब उक्त सडक निर्माणमा सहज हुने बताइएको छ । रासस

नेप्से परिसूचक १९.०६ अंकले गिरावट

काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार पनि गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले घटेको छ । बिहीबार कोरोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता सेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बुधबार १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेकका १२ वटा उपसमूको परिसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २.३८ प्रतिशतले घटेको छ । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । नेप्से ओरालो लागेपनि बिहीबार दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता युनिलिभर नेपालको सेयरमूल्य ८.२३ प्रतिशत घटेको छ । त्यस्तै, बुद्धभूमि हाइड्रोपावर र हिमालयन एभरेष्ट इन्स्योरेन्सको पनि सेयर मूल्यमा गिरावट आएको छ । शिवम सिमेन्ट्को बिहीबार ७ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ ।